भर्खरै :

अमेरिकाको बन्दुक राजनीति र हत्याको सिलसिला – ५

            विश्व प्रसिद्ध संरा अमेरिकाको वैज्ञानिक संस्था नासा (NASA – National Aeronautics and Space Administration) मा ६० प्रतिशत वैज्ञानिकहरू एसियाका विभिन्न मुलुकका नागरिकहरू छन् । त्यो संस्थालाई आजको अवस्थामा पुर्‍याउन उनीहरूको परिश्रम र योगदान अतुलनीय छ । त्यस अन्तर्राष्ट्रिय संस्थाको सफल सञ्चालनमा एसियाली जनशक्तिको अपार भूमिका रहे पनि रैथाने अमेरिकी गोराहरू बसोबास गर्ने स्थानहरूको तुलनामा आफ्नो समुदायमा सुविधा र स्रोत–साधनको उपलब्धता निकै कम र भेदभावपूर्ण भएको सत्यबारे आफ्नो जन्मभूमि छोडेर संरा अमेरिकामा बसोबास गर्दै आएका एसियाली–अमेरिकी नागरिकहरू तीतो गुनासो गर्छन् । सार्वजनिक यातायात, बिहान बेलुकी टहल्ने पार्क, हरियाली स्थान र आमोदप्रमोदका लागि निर्मित स्थलहरूको भौतिक अवस्था तुलनात्मकरूपले निकै नराम्रो भएको उनीहरूको गुनासो छ । दक्षता र क्षमताको हिसाबले हरेक क्षेत्रमा रैथाने गोराहरूभन्दा एसियाली–अमेरिकी नागरिकहरू अब्बल भए पनि आफ्नो पारिश्रमिक र सुविधाहरूमा समेत ठूलो पक्षपात कायमै रहेको उनीहरू दुःखेसो पोख्छन् । अचानक समस्याहरू आइपर्दा समाधानको लागि उजुरी गर्न जाँदा प्रहरी अधिकृतहरूले होस् या स्थानीय सार्वजनिक विद्यालयमा आफ्ना नानीहरू भर्ना गर्ने सिलसिलामा होस्, कर्मचारीहरूले गोरा र अन्यलाई छालाको रङ्गको आधारमा गर्ने व्यवहार धेरै तलमाथि भएको तीतो सत्य ती नागरिकहरू सुनाउँछन् ।
            प्रचारबाजीकै कारण नेपालमा मात्र होइन, गुणस्तरीय शिक्षाको लागि भनेर आफ्ना सन्तानलाई संरा अमेरिका पठाउने सपना देख्ने अभिभावक र मृत्युअगावै अमेरिका जाने अवसर एकपल्ट पाए राम्रो मनसाय राख्ने युवाहरू जापान र दक्षिण कोरियाजस्तो विकसित मुलुकहरूमा पनि कम छैनन् । प्रसङ्ग यसैसँग जोडौँ ।
            दक्षिण कोरियामा आफ्नै पुस्तक पसल सञ्चालन गरी स्वरोजगार भई तीन जना केटाकेटीसहित पाँच जनाको सानो परिवारमा सुखसँग जीवन बिताउँदै आइरहेको छो (Cho) दम्पत्तिलाई आफ्ना सन्तानहरूको उज्ज्वल भविष्यको लागि उत्कृष्ट उच्च शिक्षा र उत्तम अवसरको सोचले अचानक पिरोलिन थाल्छ । दुनियाँले विकसित मुलुकको रूपमा गने तापनि आफ्ना लालाबालाको लागि आफ्नै जन्मभूमि पनि छो दम्पत्तिलाई उपयुक्त गन्तव्य हो जस्तो लाग्न छोड्छ ।
            बच्चाहरू हुर्किएसँगै आधारभूत मागहरू परिपूर्ति गर्न सानो पुस्तक पसलको आम्दानीले धान्न गार्‍हो हुँदै जान्छ । सानो परिवार भए पनि उचित शिक्षा र स्वास्थ्यको लागि न्यून आयस्रोतको कारण दैनिकी चलाउन धेरै कुराको जोहो गर्न छो दम्पतिलाई असजिलो हुँदै जान्छ । तिनलाई पनि अन्य मातापितालाई जस्तै आफ्ना छोराछोरीको भारी माया लागिरहन्छ । पाँचै जनाको अझ सुन्दर भविष्यको मीठो सपना बुन्दै सन् १९९२ मा आफूसँग राम्रो परिचय भएको समाज, दुःख–सुख बाँड्ने साथीसङ्गी सबैलाई बिदाको अन्तिम हात हल्लाउँदै प्रफुल्लित मनसँगै अमेरिका लाग्छन् । सिङ्गो परिवारको लागि बिरानो लगभग १०,७६६ किमि टाढाको देश संरा अमेरिकामा बसाइ सर्छन् । सुरुका नयाँ जीवन मिसिगन राज्यको पुरानो राजधानी  डेट्रोइट अहिले ल्यानसिङ्ग (Detroit/Lansing) मा बस्छन् ।
            उत्तरी भर्जिनियाबाट नजिक पर्ने वाशिङ्गटन महानगरीय क्षेत्र वरपर कोरियन प्रवासीहरूको बाक्लो रहनसहन भएको जानकारी प्राप्त गरेपश्चात् छो परिवार फेरि उतैतिर लाग्छ । लुगा धुने व्यवसाय (Dry Cleaning) सञ्चालन गरी कडा परिश्रम गर्नमा व्यस्त हुन्छन् –छो दम्पत्ति जोडी । आखिरमा प्रतिस्पर्धा ज्यादै हुने अति विकसित देशमा पनि पापी पेटको लागि आरामले बस्न कहाँ पाइन्छ र !
            भर्जिनियाबाट ४० किमि टाढा वाशिङ्गटन डीसीको पश्चिमतिर पर्ने सेन्ट्रेभिल्ले (CentreVille) सहरको लामो बसाइको परिणामस्वरूप स्थायी निवासी (PR – Permanent Resident) को प्रमाण–पत्र हात लागेपछि कोरियाली अमेरिकी नागरिक हुन पाएकोमा छो दम्पत्तिको मन चङा हुन्छ । यो परिवारको बसाइ स्थानीय सरकार वा नगरपालिकासँग कुनै सम्बन्ध र सरोकार नभएको सेन्ट्रेभिला नगरको एउटा असङ्गत समुदाय (Unincorporated Community)मा जीवन बित्दै जान्छ । नयाँ संस्कार र परिवेशमा मिलिजुली बस्न आवश्यक भएकोले आफ्नै परम्परा र आस्था परिर्वतन गरी इसाई धर्म स्वीकार्न विभिन्न अवस्थाले बाध्य हुनुपरे पनि छो दम्पतीलाई त्यो कुरा ठूलो समस्याजस्तो लाग्न छोड्छ । आफ्नै थातथल्लो परित्याग गर्न मन नपराउने लज्जालु स्वभावका छोरा सेउरु छो होलाई भने आमाबुबाको धर्म परिर्वतनको यो छिनोफानो निको लागेको हुँदैन । तैपनि परिवारको मन राख्न आफ्नो इच्छाविपरीत ऊ चर्चमा पनि जाने गर्छ । कोरियाबाट संरा अमेरिकामा बसाइ सर्ने क्रममा यिनले धेरैपटक असन्तुष्टि पनि पोखेका हुन्छन् । कलेजमै अध्ययनरत छँदा गोराहरूले जिस्काउने, भाषाका कारण प्राध्यापकहरूले पनि मन नपराउने अवस्थाले घरिघरि उनलाई पिरोलिरहन्छ ।
            सामान्यतया भर्जिनिया टेक (Verginia Tech) नामले बढी परिचित Verginia Politecnic Institute and state University मा छोरो सेउ· हो छो  (Seung Ho Cho)  कम्प्युटर विज्ञान र व्यवस्थापन विषय समावेश भएको सूचना व्यवस्थापन प्रविधि (Business Information Technology)  सङ्कायका स्नातक तहका विद्यार्थी हुन् । कक्षाका सहपाठीहरूका अनुसार छो कम्प्युटर विज्ञान विषयमा राम्रो दख्खल भएका विद्यार्थी हुन् । उनले बीचैमा अङ्ग्रेजी भाषालाई मूल विषय बनाई त्यसैमा विशिष्टीकरण गर्ने उद्देश्यले उक्त सङ्कायमा अङ्ग्रेजी साहित्य अध्ययन गर्न थाल्छन् । 
            आवासीय विद्यार्थीहरूका लागि निर्मित भर्जिनिया टेकका धेरै भवनहरूमध्येको एउटा भवन West Ambler Jonshon Hall पनि हो । त्यहाँ बस्ने विद्यार्थीहरूले मात्र साँचोको रूपमा प्रयोग गर्नसक्‍ने चुम्बकीय कार्डबाट बिहान १० बजेतिर भवन प्रवेश गर्नसक्‍ने कलेजको नियम सबैको लागि हो । नियमानुसार आफ्नो mailbox सो भवनमा भएका विद्यार्थीहरूको हकमा भने बिहान ७:३० बजेमात्र प्रवेश गर्नसक्‍ने सुविधा हुन्छ । तर, कसरी हो कुन्नि एकदिन नियमविपरीत सेउङ्ग हो छो बिहान ६:४५ बजेतिरै दुईवटा अर्ध स्वचालित पिस्तोल बोकेर उक्त भवनभित्र पस्छन् । नयाँ विद्यार्थीहरूको कोठामा छो भित्र छिर्छन् र हतियारसहित छोको अकल्पनीय अचानक प्रवेशले १९ वर्षको हिल्स्चेर (Hilscher) नामको विद्यार्थी डरले चिच्याउँछन् । चट्याङ्ग सरिको उनको चिच्याहटले छोलाई कुनै असर गर्दैन र निर्ममतापूर्वक उनीमाथि गोली ठोक्छन् । ठूलो अस्वाभाविक आवाज सुनेर त्यसै कलेजको २२ वर्षीय पुरानो विद्यार्थी एवम् मनिटर रियान सी क्लर्क (Ryan C. Clark) त्यसतर्फ सहयोग गर्न आइपुग्छन् । तर, हतियारधारीसँगको आमनेसामनेमा निहत्था रियानको केही जोर नचलेपछि उनलाई आफ्नो निसाना बनाउन छोले आइतबार कुर्न परेन ।
            भनिन्छ–संरा अमेरिकाले मुलुकको ९८ प्रतिशत स्थानमा आपत्कालीन समयमा सहयोग र सुरक्षाको शीघ्र व्यवस्थापनको लागि जुनसुकै बेला जो कोहीले पनि ९११ मा फोन गरी  समस्यालाई फैलिन नदिन अत्याधुनिक प्रविधिको PSAP ( Public Security Answering Point) सेवा बन्दोबस्त गरेको छ । तर, भर्जिनिया टेक कलेजमा बिहान ७:१५ बजे घटेको यस हिंसाबारे ९–१–१ समयमै फोन गर्दा पनि ९:४२ बजेमात्र PSAP को कार्यालयले फोन उठाउँछ । मृत्युपछिको कुनै पनि उपचार नाकाम हुन्छ ।

            आफ्नो परिवारलाई सम्झी आमालाई पुकार्दै रक्ताम्मे भई सख्त घाइते भएका भुइँमा हिल्चेर तीन घण्टासम्म बाँच्न सफल भए पनि कलेज प्रशासन, अस्पताल र स्थानीय प्रहरी वृत्तले उनको घरमा यसबारे सूचना दिन आवश्यक ठान्दैनन् । फलस्वरूप कलेज प्रशासन र अन्य संस्थाको हेलचक्रयाइँका कारण मृत्युअघि अन्तिम पटक आमाबुबाको न्यानो अङ्गालोमा बाँधी उहाँहरूकै काखमा असह्य पीडाको भारी बिसाउने उनको उच्च इच्छा सदाको लागि अधुरै रहन्छ ।
            यति खराबी गरिसकेपछि पनि छोको आपराधिक मन भरिँदैन र फेरि सिक्री, ताला, चक्कू, पहिलेकै दुई अर्ध – स्वचालित पिस्तोल, पन्ध्रवटा गोली भरिएका २० वटा Magazine (म्यागाजिन–बन्दुक वा पिस्तोलमा राख्ने गोली भरिएको लाम्चो आकारको बट्टा) ले भरिएको झोला बोकी उनी इन्जिनियरि·, मेकानिस सङ्कायलगायत अन्य विषयहरूको कक्षा सञ्चालन हुने Norris Hall भवनभित्र पस्छन् । “भित्र पस्ने प्रयास गरे विस्फोटन हुन्छ” लेखिएको चेतावनीस्वरूपको सूचना झुन्डाएर सिक्री र तालाले भवनको तीनवटा मूल प्रवेशद्वारहरू बन्द गर्छन् । भवनको २०७ नं को कक्षाकोठामा प्रवेश गरी उच्च तहको Hydrology engeering  विषय अध्यापनमा व्यस्त भारतको तामिलनाडु मूलका भारतीय–अमेरिकी प्रा.जी.भी. लोगनाथनलाई विना कुनै सोधपुछ नियन्त्रण गुमाइसकेका छोले एक्कासि आफ्नो अर्ध–स्वचालति पिस्तोलको निसाना बनाउँछन्, प्रा. लोगनाथन त्यहीँ ढल्छन् । उनको कक्षामा रमाइरहेका १३ जना विद्यार्थीहरूमध्ये ६ जनालाई छोको लगातारको गोली प्रहारले छिनभरमै सिध्याइदिन्छ, हेर्दाहेर्दै शान्त कक्षाकोठा कोलाहलले भरिन्छ र सात समुन्द्र पार गरी कमजोर राष्ट्रहरूमाथि अन्तर्राष्ट्रिय नियमविपरीत शक्तिको मातमा आक्रमण गर्ने रक्तपिपासु सामाज्यवादीहरूलाई स्‍नान गर्न मनपर्ने रगतले भरिएको बाथट्यावजस्तै भइदिन्छ भर्जिनिया टेक कलेजको त्यो कक्षा कोठा ।
            शिक्षक जेमी विसप (Jamei Bishop) ‘जर्मन परिचय’ विषयमा आफ्ना विद्यार्थीहरूसँग कक्षा कोठामा हुन्छन् । उही बेला छोको अकस्मात् प्रवेश हुन्छ र जथाभावी पिस्तोल आक्रमणले ६ जना सख्त घाइते हुन्छन् र शिक्षकसहित पाँच जना विद्यार्थीहरूको जीवनलीला त्यहीँ समाप्त हुन्छ । त्यो नरमाइलो अवस्थाबारे थाहा पाइसकेका २११ र २०४ नं कक्षा कोठाका शिक्षक र विद्यार्थीहरू मिली बाहिरबाट कोही छिर्न नसक्‍ने गरी भित्रबाटै बलियोसँग ढोकामा छेकवार तेर्साएकै कारण भित्र पस्ने छो एक्लोको कठोर प्रयास सम्भव हुँदैन । बाहिरबाट गरिएका थुपै्र गोली प्रहारले कसैलाई पनि हानी पुर्‍याउन सक्दैन र अकल्पनीय ढङ्गले सबैजना सकुशल हुन्छन् ।
            अचेत भइसकेका छो अर्को विध्वंस मच्चाउन यताउता भौतारिन्छन् र यहुदी जातिका रोमानियन मूलका प्राध्यापक लिभु लिब्रेस्क्यु (Livue Librescue) आफ्ना सबै विद्यार्थीहरू झ्यालबाट हाम्फाली भाग्न सफल नहुञ्जेल विश्वविद्यालयको एक जिम्मेवार विदुषको नाताले आफ्नो शारीरिक तागतले भ्याएसम्म ढोकाको सजीव गजबार बनी छोको हिंस्रक प्रवेशलाई रोक्‍न प्रा. लिब्रेस्क्यू कुनै पनि कसूर बाँकी राख्न मान्दैनन् । कक्षाकोठाको ढोका वारपार गरी बाहिरबाट प्रहार गरिएका गोलीले प्रा. लिब्रेस्क्यूको शरीर क्षतविक्षत् बनाइसक्छ । बाँकी एकजनालाई पनि भाग्न सङ्केत गर्दागर्दै पनि आफ्नै डरका कारण मुम्बइ निवासी भारतीय अमेरिकन चेली मिनाल पान्चल झ्यालबाट हाम्फाल्न सक्दैनन्, थुप्रै गोली प्रहारको पीडाले पूर्णरूपले कमजोर भइसकेको ज्यानले २३ वर्षे छोको बलमिचाइमा प्राध्यापकको हार हुन्छ । साहसिक प्रतिरोध भए पनि निर्भिक प्रा.लिब्रेस्क्युले स्नातक तहका आफ्नो जेहेनदार  विद्यार्थी मिनाललाई बचाउन सक्दैनन् र छोले दुवैको हत्या गरेर अन्य कक्षा कोठा चहार्न अघि बढ्छन् ।
            २११ नं को कक्षा कोठामा फ्रान्सेली शिक्षक र उनका एकजना विद्यार्थी छेकबार लाउनेक्रममा मारिन्छन् । उक्त छेकबारलाई फोरेर कक्षाकोठाभित्र पस्नेबित्तिकै अमेरिकी सशस्त्र बलका जवानलाई दिइने अस्थायी तालिम प्राप्त ROTC (Reserve Officer’s Training Cops) का एक साहसिक युवक छो माथि जाइलाग्छन्, दुईबीचको घम्साघम्सीमा निहत्था हेनरीले अरूलाई सिध्याउन छोले प्रहार गरेका सबैजसो गोली आफू एक्लैले छेक्छ र मृत्यु स्वीकारी कक्षाकोठामा भएका केही साथीहरूमात्र जीवन रक्षा गर्न सफल हुन्छन् । ६ जनाको मृत्यु हुन्छ, आठ जना गोली प्रहारबाट घाइते हुन्छन्, घटनाको बेला मृतक व्यक्तिको सशक्त अभिनय गर्न सिपालु एकजना बाठो विद्यार्थी भने सकुशल बाँचिन्छन् ।
            घटना भइसकेको कक्षा कोठामा केही विद्यार्थीहरू घाइते साथीहरूलाई हेरचाह गरिरहेका हुन्छन्, बलियो छेकबारका कारण सोही कोठा नं. २०७ मा पुनः प्रवेश गर्ने छोको प्रयास बेकाम हुन्छ । तर, बाहिरबाट प्रहार भएको गोलीले ढोकालाई बलियोसँग छेकवार लगाई ठेल्दै गरेका दुईजना युवक घाइते हुन्छन्, आफूसँग भएको म्यागाजिनद्वारा पिस्तोलमा फेरि गोली भर्छन् । नजिकैको एकजना साथीको कारण घाइते भए पनि घिस्रँदै कक्षा कोठाको एक कुनामा लुकेर बसिरहेका इजिप्टेली मूलका वालिद शलाम नामको विद्यार्थीमाथि छोको नजर पर्दैन, अब त बाँच्ने भो भन्ने ठूलो आसले लामो सास फेर्न नपाउँदै दुर्भाग्यवस फर्केर आउँदा बाँचिरहेको देखेर शलामलाई दोस्रोपल्ट आक्रमण गरी निर्मम हत्या गर्छन् । उता फेरि २०६ कोठा नं.मा इन्डोनेसियाली मूलका पार्थही लमवाम्टोरन नामको विद्यार्थीले चलचित्रमा देखाइने दृश्यहरूजस्तै आफ्नो हितैषी साथी गइलेर्माे कोल्मानलाई बचाउन ढाल बनेर छोको सबै प्रहार आफूमा थाप्छन् र प्राण त्याग्छन् । रिसले चुर दुर्दमनीय छोे वेग हान्दै आइरहेको देखेर कोठा नं.२०५का चिनियाँ मूलका प्राध्यापक हाइयान छे· र उनका विद्यार्थीहरूले ठूलो टेबल तेस्र्याएर प्रवेश निषेध गरेका कारण बाहिरबाट गोली बर्साए पनि आफ्नो भित्र जाने बाटो खोल्न छो सफल हुँदैनन् । भाग्यवस, त्यहाँ कोही पनि हताहत हुँदैन ।
            मुन्तिरको कक्षाबाट आइरहेको कोलाहलको आवाजले प्राध्यापक केविन ग्रानेटालाई सजग हुन मौका मिल्छ र विना कुनै विलम्ब २० जना विद्यार्थीहरूलाई तेस्रो तल्लाको आफ्नै अफिसमा लान्छन् जहाँ चुकुलको राम्रो व्यवस्था भएकोले सुरक्षाबारे ऊ ढुक्क हुन्छन् । विद्यार्थीहरूलाई त्यही राखी प्राध्यापक वाली ग्रान्ड र उनी भवनभित्रको दुर्घटनाको अन्य अवस्था बुझ्न तलतिर झर्दै गर्दा भर्‍याङ्गनिर छोसँगको अप्रत्याशित जम्काभेटमा उनको गोली प्रहारले प्रा.केविन ग्रानेटाको अन्तिम क्षण त्यहीँनिर समाप्त हुन्छ । तर, प्रा.वाली सख्त घाइते हुन्छन् । प्रा.केविनको बुद्धिमानी कार्यले आफ्नो अफिसमा थुनिएका बीसैजना विद्यार्थीहरू सकुशल हुन्छन् । अन्तमा, हिन्दी व्यावसायिक चलचित्रमा जस्तै ३२ जना व्यक्तिहरूको निर्मम हत्या भइसकेपछि प्रहरी हिंसा मच्चिरहेको कलेज भवनभित्र पस्छ र छोले आफ्नै पिस्तोलले टाउकोमा प्रहार गरी आत्महत्या गर्छन् । यस नरसंहारमा छोसहित ३३ को मृत्यु हुन्छ, ज्यान जोगाउन हाम्फाल्दा ६ नराम्ररी घाइते हुन्छन् र गोली प्रहारबाट १७ जना सख्त घाइते हुन्छन् । संरा अमेरिकाको विभिन्न सङ्घ–संस्थाका अनुसार गोला बारुद वा बन्दुकबाट हुने हिंसा हत्यामा अपराधीसहितको मृत्युलाई आमनरसंहार भनिन्छ ।

            व्यक्ति वा व्यक्तिहरूबाट हुने हत्याकाण्डपश्चात् सरकारी तवरबाट गरिने प्रायः अनुसन्धानको नतिजा संरा अमेरिकामा एउटै हुने गर्छ । हरेक मेडिकल रिर्पोटले ती अपराधीहरू विभिन्नखाले मानसिक रोगबाट ग्रस्त भएको निष्कर्ष निकालिन्छ । प्रवासीहरूको हकमा कुरा गर्दा, गोराहरूले हेप्ने र जिस्क्याउने, हरेक क्षेत्रमा गोराहरूले गर्न नमान्ने काममा लगाउने, पक्षपातपूर्ण व्यवहार, हुने र नहुने, बलिया र निर्धा गोराहरूबीचको भेदभाव र टक्कर अनि स्वचालित बन्दुक  कारोबारमा रोक लगाउनेजस्ता अहम विषय र  समस्याहरूबारे उच्चस्तरीय सरकारी स्तरबाट गम्भीर बहस नै हुँदैन ।
            उता छो परिवार प्रायश्चितले घरबाट बाहिर आउँदैनन् । कसैले उनीहरूलाई नदेखून् भनेर घरका झ्यालहरूमा सधैँ पर्दा लगाउँछन् । सार्वजनिकरूपले परिवारजनको प्रतिनिधित्व गर्दै छोकी दिदीले सबसँग क्षमा माग्दै एउटा याचना पत्र सार्वजनिक गर्छन् । जसमा “हामीलाई निरास लाग्छ, असह्यको महसुस हुन्छ र भित्रैबाट मन भाँचिएको झैँ हुन्छ । म पनि उनैसँग हुर्केँ बढेँ र आफ्नो ठानी माया गरँे । तर, अहिले लाग्छ यो मान्छेलाई म चिन्दा पनि चिन्दिनँ ।” भनी लेखिएको हुन्छ । एउटै आमाको कोखबाट जन्मिएका आफ्नै भाइको यति नमीठा शब्दहरू सार्वजनिक गर्नुपर्दाको पीडा दिदीभाइ बाँचिरहेकाहरूले महसुस गर्नसक्छन् । परिवारसँगको अनुसन्धानको क्रममा कोरियामा रहेका छोको हजूरआमा भन्छिन्, “कसैसँग आँखामा आँखा मिलाई कुरा गर्न पनि लजाउने मेरो नातिले यस्तो कार्य कसरी गर्न सके ?”
            यसरी विकसित मुलुकमा गनिएको दक्षिण कोरियाली छो दम्पत्तिको सुन्दर सानो संसारको निर्माण गरी यसैमा रम्ने सपना संरा अमेरिका भर्जिनिया हत्याकाण्डसँगै चकनाचुर हुन्छ र उतातिरका आफ्ना नातागोता र आफन्तहरूसँग सम्बन्धमा पनि यस अप्रिय घटनाका कारण पूर्णविराम लाग्छ । कामना गरौँ, कसैलाई यस्तो बज्रपात नहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *