भर्खरै :

कालीकोटमा विमानस्थल ः वीरबलको खिचडी

कर्णाली प्रदेशका १० वटा जिल्लामध्ये कालीकोट एक हो । कालीकोट जिल्लामा विमानस्थल निर्माण हुन लागेको ३५ वर्ष बितिसकेको छ । जिल्लाको नरहरीनाथ गाउँपालिकाअन्तर्गत पर्ने सुन्थराली विमानस्थल २०४२ सालमा शिलान्यास भई हालसम्म पनि निर्माणाधीन अवस्थामा छ । २०७३ सालको माघमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले हवाई परीक्षण उडान आफू स्वयम् सवार भई गराएका थिए । २०७४ सालको वैशाख र मंसिरमा क्रमशः स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभाका निर्वाचनहरूको पूर्वसन्ध्यामा परीक्षण उडान गराइएको थियो । त्यो मात्र राजनैतिक लोकप्रियताका लागि थियो भन्ने कुरा घामजत्तिकै छर्लङ्ग छ । त्यो परीक्षण उडान भएको मितिदेखि हालसम्म फेरि कहिल्यै अर्को उडान भरिएको छैन । यसको कारण के हो भने, उक्त विमानस्थल निर्माण कार्य हरेक सरकारी पार्टीको भ्रष्टाचारको अखडाको परिणामस्वरूप ‘कालीकोटको विमानस्थल निर्माण कार्य ः बीरबल काजीको खिचडी पकाइ’ साबित भएको हो ।
कालीकोट जिल्लामा ९ वटा स्थानीय तह छन् । तीमध्ये ३ वटा नगरपालिका र ६ वटा गाउँपालिका छन् । कालीकोट जिल्लामा कर्णाली र तिला गरी दुई वटा भेग छन् । हाल निर्माणाधीन सुन्थराली विमानस्थल कर्णाली भेगमा पर्दछ । उक्त विमानस्थल बाजेको पालामा शिलान्यास भई नातीको पालामा समेत सञ्चालनमा नआएकोले कालीकोटवासीमा विमानस्थलबारे नयाँ धारणा विकास भएको पाइन्छ । उक्त निर्माणाधीन विमानस्थललाई ‘नागरिक विमानस्थल’ बनाउने र तिलागुफा नगरपालिका वडा नं. ९ र ११ को बीचमा पर्ने मालिकाकाँध भट्टारी चिलखायामा पर्यटकीय विमानस्थल बनाउँदा कर्णाली प्रदेशको पर्यटन व्यवसायमा नै नयाँ आयाम थपिने अनुमान गरिँदै छ । तिलागुफा नगरपालिकाको २०७५ असारमा सम्पन्न पाँचौ नगरसभाबाट सर्वसम्मत पारित भई नपाकै पहलमा २०७५ मंसिरमा उक्त प्रस्तावित पर्यटकीय विमानस्थलको प्रारम्भिक सर्भे भएको थियो । सो प्रस्ताव कालीकोट जिल्लाको दोस्रो जिल्ला सभाबाट समेत पारित भइसकेको अवस्था छ । यदि प्रदेशसभाबाट पारित भएको भए संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट नागरिक उड्डयन प्राधिकरणमार्फत यसको विस्तृत सर्भे भई निर्माण कार्य प्रारम्भ हुने थियो । प्रदेश सरकारले खासै चासो नदेखाएकोले झण्डै डेढ वर्ष भइसक्दा पनि प्रस्ताव पारित हुन सकेको छैन । यस मामिलामा कर्णाली प्रदेश सरकार उदासिन देखिएको छ ।
कर्णाली अञ्चलका पाँच वटा जिल्लामध्ये हाल विमान सेवाविहीन जिल्ला कालीकोट हो । डोल्पा जिल्लामा २ वटा विमानस्थल सञ्चालनमा आइसकेको छ । नेपालको सोलुखुम्बू जिल्लामा पाँचवटा विमानस्थल सञ्चालनमा छन् भने दुई वटा निर्माणाधीन अवस्थामा छन् । कालीकोट जिल्लामा अर्को तथा बेग्लै प्रकृतिको पर्यटकीय विमानस्थलको प्रस्तावप्रति आश्चर्य प्रकट गर्नु स्वयम्मा दुःखद कुरा हो । मुलुकको सर्वाङ्गीण विकासको लागि विमान सेवा एक द्र्रुतत्तर सेवा हो । अतः कालीकोट जिल्लामा सुन्थराली विमानस्थललाई यथाशक्य सञ्चालनमा ल्याउनुपर्ने र पर्यटकीय विमानस्थलको प्रस्तावलाई पारित गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सिफारिस गर्नुपर्ने आवश्यकता छ । यसमा सम्बन्धित निकायको बेलैमा ध्यान जाओस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *