भर्खरै :

सुरक्षा, स्वास्थ्यको विरोधमा पुँजीवाद ः फेरि एक पुरानै कथा

अमेरिकी राष्ट्रपतिले भर्खरै मासु प्याकिङ उद्योगका कामदारहरूलाई कोरोना भाइरसको महामारी फैलिरहेको कार्यस्थलमा काममा फर्कन निर्देशन दिए । तर, उनले उद्योग मालिकहरूलाई आफ्ना वधशाला उद्योग सुरक्षित र स्वस्थ बनाउन आदेश दिएनन् । अमेरिकी राष्ट्रपतिको कार्यालयले ती उद्योगहरूमा कसैलाई कोरोना भाइरस सङ्क्रमण भएमा उद्योग मालिकहरूमाथि संसद्ले बनाएका कानुन नलाग्ने उन्मुक्ति पनि घोषणा ग¥यो । त्यही राष्ट्रपतिको कार्यालयले कामदारहरूको लागि सफा र सुरक्षित कार्यस्थल कायम गर्ने सम्बन्धमा भने मौनता साध्यो । देशैभर उद्योग मालिकहरूले कामदारहरूलाई काममा फर्कन अन्यथा उनीहरूको रोजगार सुरक्षा नहुने धम्की दिन थालेका छन् । कामदारहरूका लागि यतिखेर रोजगार गुमाउनुको अर्थ आफू र आफ्नो परिवारको स्वास्थ्य बीमासमेत गुमाउनु हुन्छ । रोजगारबाट निकालिनुको अर्थ बेरोजगारी भत्ता र बीमाका लागि अयोग्य साबित हुनुसमेत हुन्छ ।
कार्यस्थलहरू सफा, सुरक्षित र स्वस्थ राख्न हुने खर्च जोगाउन उद्योग मालिक वा रोजगारदाताहरू अहिले अति कञ्जुस्याइँ गरिरहेका छन् । हालै न्यू ओर्लियन्सको सरकार र तिनका ठेकेदारहरूले एक दिनको आमहड्तालपछि आफ्ना फोहोर सङ्कलन गर्ने कामदारहरूको तलब प्रतिघण्टा १०.२५ डलर पाइरहेको व्यवस्थालाई खारेज गरे । हडतालमा उत्रेका कामदारहरूले सङ्कलन गरिने फोहोरमा कोरोना भाइरस हुन सक्ने हुनाले पञ्जा, मास्क, बुथलगायत सुरक्षाका साधन माग गरेका थिए र जोखिममा काम गर्नुपरेको हुनाले प्रतिघण्टा तलब १५ डलर गर्न माग गरेका थिए । न्यू ओर्लियन्स सरकारले हडताली मजदुरहरूको स्थानमा गैरकानुनी आप्रवासीहरू र नजिकको जेलका बन्दीहरूलाई प्रतिघण्टा १.३३ डलरमा काम गर्ने गरी भर्ना ग¥यो । पुँजीवादको फलामे मुक्काले यहाँ मजदुरहरूलाई नराम्ररी हिर्कायो र असुरक्षित काम वा गरिवी वा दासत्वपूर्ण श्रममा तिनीहरूलाई धकेल्यो ।
पुँजीवादले सधैं नै कार्यस्थल सुरक्षित र स्वस्थ बनाउन हुने खर्च कटौतीका निम्ति सङ्घर्ष गर्छ । विगत तीन शताब्दीदेखि जहाँ–जहाँ पुँजीवाद चालु आर्थिक प्रणालीका रूपमा विद्यमान रहन्छ, त्यहाँ त्यहाँ कामदार जनताले त्यसको विरोध गर्दै आएका छन् ।

न्यू ओर्लियन्सका सफाइ मजदुरहरूको एकदिने हड्तालका क्रममा भएको सडक प्रदर्शन


अप्टन सिन्क्लेयरको प्रसिद्ध पुस्तक ‘द जङ्गल’ (The Jungle) एक शताब्दीअघि नै प्रकाशित भएको थियो । उक्त पुस्तकले विशेषगरी शिकागोको मासु प्याकिङ उद्योगका असुरक्षित र अस्वस्थ कार्यस्थलको स्थिति उजागर गरेको छ । १९०६ मा बल्लतल्ल पारित भएको मासु निरीक्षण ऐन र शुद्ध खाद्य र पेय ऐन लागू भएपछि मासु उद्योगभित्रको वातावरण सफा–स्वच्छ हुनुपर्ने कुरा जनचासोको विषय बन्यो । कोरोना भाइरस सङ्क्रमणको महामारी फैलिरहेको स्थितिमा संरा अमेरिकाका पोर्क (बङगुर÷सुङ्गुरको मासु) उद्योगहरूमा सङ्क्रमण दर २७ प्रतिशतले बढी रहेको र उद्योगीहरूले कार्यस्थल स्वस्थ र सफा राख्ने खर्चमा सधैँझैँ कटौती गरेको देखिएको छ ।
संरा अमेरिकी श्रम विभागअन्तर्गत सन् १९७० मा मात्र पेशागत सुरक्षा तथा स्वास्थ्य प्रशासन (The Occupational Safety and Health Administration -OSHA) स्थापना भएको थियो । त्यसले सङ्घीय प्रशासनअन्तर्गत रहेर सुपरीवेक्षण तथा निरीक्षण कार्यस्थल सुरक्षित र स्वास्थ बनाउनका लागि उद्योग मालिकहरूलाई दबाब दिने कार्य गरिरहेको थियो । यसको मिश्रित सफलताले उद्योग मालिकहरूलाई चरम अवस्थासम्म कामदारहरूको सुरक्षा र स्वास्थ्यलाई बेवास्ता गर्ने र कमजोर पार्ने छुट मिलेको थिएन ।
नाफाको उद्देश्यले सञ्चालित पुँजीवादी उद्योग व्यवसायहरूले सधैँ नै कार्यस्थलको सुरक्षा र स्वास्थ्यको अवस्था सुधारमा पुँजी खर्च गर्न कञ्जुस्याइँ गर्दै आएको छ जबसम्म त्यस खराब अवस्थाले नाफामा नै कमी ल्याउने खतरा निम्त्याउँदैन । पुँजीवादीहरू र मूलधारका अर्थशास्त्रका पाठ्यपुस्तकहरूले निरन्तर रूपमा दोहो¥याउँदै आएका छन् – नाफा नै हरेक उद्योग व्यवसायहरूको आधार रेखा (bottom line) हो । हरेक उद्योग व्यवसायको सफलता नाफाका आधारमा मापन गरिन्छ । नाफाले उद्योग मालिकहरूलाई पुरस्कृत हुन्छन् र घाताले तिनीहरूलाई सजाय गर्दछ । पुँजीपतिहरूले नाफाकै लागि मात्र पुँजी लगानी गर्छन्, त्यहीँ नै तिनीहरूको मूल लक्ष्य र प्राथमिकता हो । उद्देश्यअनुसार नै कार्यस्थलको सुरक्षा र कामदारहरूको स्वास्थ्य दोस्रो तेस्रो प्राथमिकता हुने गर्दछ । अधिकभन्दा अधिक नाफा कमाउने कार्यमा त्यसलाई अनावश्यक खर्चका रूपमा लिइन्छ ।
पुँजीवादले सधैँ नै बहुमतमा रहेका कामदारहरूको सुरक्षा र स्वास्थ्यलाई अल्पमतका पुँजीपतिहरूको नाफाका लागि बलिदान दिने गर्दछ । अल्पसङ्ख्यकले नै उद्योग–व्यवसायमा सबै नीति निर्णय गर्छन् र बहुमत कामदारहरूलाई निर्णय निर्माणबाट बाहिर राख्छन् । समाजमा पुँजीपतिहरू सङ्ख्याका आधारमा सानो भएपनि उनीहरू धनी, सुरक्षित र स्वस्थ हुन्छन् जबकि बहुसङ्ख्यक कामदारहरू गरिब, असुरक्षित र अस्वस्थ हुन्छन् । पुँजीवादले धन र आयको असमानताको चौडा खाडलमात्र खन्ने होइन बरु त्यसको अनिवार्य परिणामका रूपमा आर्थिक, राजनीतिक र सांस्कृतिक असमानता पनि जन्माउने गर्दछ । महामारीहरूले त्यसलाई त्यसलाई उदाङ्गो पार्छन् र झन् खराब स्थितिमा पु¥याउँछन् ।
कहिलेकाहिँ र कतै कतै पुँजीवादको फलामे हातमा नरम मखमलको पञ्जा हुन्छ । जब फाइदा अत्यन्त उच्च हुन्छ वा पुँजीवादका आलोचकहरू त्यसका पीडितहरूसित बलियो किसिमले मिलेको देखिन्छ, पुँजीपतिहरूले कार्यस्थलहरू केही बढी सुरक्षित र स्वस्थ बनाउन रकम खर्च गर्ने गर्छन् । होइन भने पुँजीपतिहरूले त्यसमा जति कम खर्च गरे पनि हुन्छ र खर्चै नगरे पनि हुने हुन्छ । कहिलेकाहिँ जब तिनीहरूले सरकारको नियमले तोकेका न्यूनतम स्वास्थ्य र सुरक्षाको तह कायम गर्न सक्दैनन्, तिनीहरू त्यस नियमलाई नै खारेज गराउन, कमजोर पार्न वा नियम नै परिमार्जन गर्न अभियान चलाउने गर्छन् । पुँजीपति वा उद्योगका मालिकहरूले सुरक्षा, सरसफाइ र स्वास्थ्यको मापदण्ड अनिवार्य गर्ने नियमहरू फिर्ता गराउन वा लागू गर्न नपर्ने गर्न प्रायःजसो पुरानै नाफाको तर्क अघि सार्ने गर्छन् र उद्योगहरू घातामा गएको नक्कली हिसाब–किताब पेश गर्छन् ।
तिनीहरूका अनुसार त्यस्ता नियमहरूले पुँजीलाई उत्पादन शक्तिबाट अनुत्पादक क्षेत्रमा पु¥याउने गर्दछन् । तिनीहरूका अनुसार कामदारहरूको सुरक्षा र स्वास्थ्यको क्षेत्रमा खर्च गर्नु अनुत्पादक लगानी हो । त्यसैले तिनीहरू कमभन्दा कम मात्र मजदुर भर्ना गरिनुपर्ने तर्क गर्छन् । त्यस्तो तर्कमा पुँजीपतिवर्ग कहिलेकाहिँ सफल हुने गर्छन् र कार्यस्थलहरूको सुरक्षा र कामदारहरूको स्वास्थ्यलाई अनिश्चित छोडिदिन्छन् ।
पुँजीवादले निरन्तर रूपमा बेरोजगारीलाई आफ्नो ‘रिजर्भ आर्मी’
(वैकल्पिक शक्ति) का रूपमा कायम राखेको लामो अभिलेख छ । त्यसले मजदुरहरूलाई अत्यन्त न्यून ज्यालामा काम गर्न बाध्य मात्र बनाउँदैन, उनीहरूमा आफूभन्दा कम ज्याला र सुविधा माग गर्ने मजदुरबाट विस्थापित गर्छ कि भन्ने डर सधैं बनाइराख्छ । बेरोजगारीले गर्दा पनि मजदुरहरूलाई सधैं असुरक्षित र अस्वस्थ कार्यस्थल स्वीकारिरहन बाध्य पार्छ । बेरोजगारी पुँजीपति वर्गले कामदार वर्गलाई दिइरहेको एक प्रकारको यातना हो । त्यसले कम ज्यालादर तथा कार्यस्थल असुरक्षित र अस्वस्थ राखेर त्यहाँ खर्च हुने रकम जोगाउन उनीहरूलाई मद्दत मिलिराख्छ । त्यसैकारण पुँजीवादमा सधैं मजदुरहरूको समस्या समाधान हुन बाँकी नै रहन्छ । कतिपयले हप्तामा केही घण्टाको रोजगार दिएर पनि सबैलाई काममा लगाइराखेको हुन्छ । पुँजीपति वर्गले सबै ठाउँमा उस्तै गर्छन् त भन्न सकिन्न तर सामान्यतया कामदारको केही भागलाई कामबाट निकाल्नुको अर्थ बाँकी कामदारहरूलाई थप अनुशासितरूपमा लगाएको जति काम गर्नु अन्यथा तिमी पनि निकालिने छौ भनी बुझ्न बाध्य पार्छ ।
आजको स्थितिमा पुँजीपति, उद्योग मालिक र सरकार कोही पनि कोरोना भाइरसको सङ्क्रमणका लागि तयार थिएनन् । तिनीहरूले कोरोना भाइरस महामारी बन्न नदिन पनि निकै थोरैमात्र काम गरे । आकस्मिकरूपमा लगाइएको आम लकडाउनले व्यापक बेरोजगारी पनि निम्त्यायो । सामाजिक दूरी कायम गर्न, व्यापकरूपमा भाइरस परीक्षण गर्न, सरसफाइ र विषाणुसहित पार्न महँगो खर्च भइरहेको छ । पुँजीपति वर्गका राजनीतिक प्रवक्ताहरू आज कामदारहरूलाई असुरक्षित र अस्वस्थ कार्यस्थलमा काम गर्न दबाब दिइरहेका छन् । ‘अर्थतन्त्रको पुनर्सञ्चालन’ को आदेश जारी भइसकेका छन् । ‘देशभक्तिपूर्ण आदर्श कार्यमा फिर्ता’ नाराले उत्तेजित पारेर र राष्ट्रिय कार्य आचारसंहिताको आडमा कामदारहरूलाई असुरक्षित र अस्वस्थ उद्योग, प्रतिस्थान, कार्यालय, शोरूम आदि कार्यस्थलमा जान बाध्य पारिँदै छ । पुँजीपतिहरू आज त्यही लज्जाहीन नाटक मञ्चन गरिरहेका छन् ।
यतिखेर यस ऐतिहासिक तथ्यलाई पनि समानान्तर रूपमा मनन गरौँ ः संरा अमेरिका र सबैतिर पुँजीपतिहरूले पाँच वर्षदेखिका बालबालिकाहरूलाई पनि काममा लगाइरहेका छन् । तिनीहरूको गर्ने काम र काम गर्ने वातावरण दुबै सुरक्षित र स्वस्थ छैनन् । तिनीहरूले पाउने ज्याला पर्याप्त छैन, अधिकांश स्थानमा दयनीय नै छ । तिनीहरूलाई दिइने ज्याला वयस्कलाई दिइने ज्याला भन्दा निकै कम छ । काम गर्ने क्रममा ती बालबालिकाहरूमध्ये धेरै शारीरिकरूपमा घाइते हुन्छन्, कतिपयमाथि यौनिक र मानसिक शोषण पनि हुन्छ । त्यस्ता बालबालिकामध्ये अधिकांशले विद्यालयको मुख देख्न पाउँदैनन् । कोही कोही विद्यालय भर्ना भए पनि अधिकांश दिन कक्षामा अनुपस्थिति हुन बाध्य हुन्छन् । फेरि पनि पुँजीवादीहरू त्यस बालश्रमले गर्दा बालबालिकाको परिवारमा आर्थिक उन्नति भएको तर्क लज्जाहीन तवरले राख्ने गर्छन्, बालश्रम अन्त्य गर्ने कुरा अगाडि सारेमा त्यसले आर्थिक अवन्नति निम्तिने र त्यसले बालश्रमले भन्दा ‘खराब’ अवस्था निम्तिने तर्क गर्छन्, एउटा व्यावहारिक आर्थिक सम्झौता आवश्यक भएकोमा जोड दिन्छन् । पुँजीपतिहरूको तर्क छ – गरिब परिवारहरूको आवश्यकता भएकोले तिनीहरूले बालबालिकाहरूलाई काममा लगाउनुलाई स्वागत गर्छन् । पुँजीपति र उद्योग मालिकहरू आफूहरूले कार्यस्थलको सुरक्षित र स्वस्थ राख्न पर्याप्त रूपमा र आफूहरूले सक्दो खर्च गरेकोमा पनि जोड दिन्छन् ।

बालश्रमबारे र राजनीतिक शक्तिकै लागि सङ्घर्ष गर्न अत्यावश्यक छ भनी कामदार वर्गमा चेतना जगाउन अझै समय लाग्ने देखिन्छ । एकपटक तिनीहरूले बुझेपछि बालश्रम सधैँको लागि अन्त्य हुनेछ । कामदार वर्गका आमाबुबाहरूले बालश्रमको आतङ्क अन्त्य गर्न सम्झौताहीन माग राखी पुँजीपतिहरूसँग सङ्घर्ष गर्नेछन् । पुँजीपति वर्गले आफ्नो नाफको लागि अर्कै बाटो खोज्नुपर्नेछ । तिनीहरूमध्ये कयौं त विदेशतिर लागिसकेका छन्, जहाँ बालश्रम लगाउन कानुनी र अनुमतिप्राप्त छ । तिनहिरूले फेरि फेरि पनि त्यस्तै गरिरहने छन् ।
आजको समानान्तर र सम्झौताहीन माग भनेको असुरक्षित र अस्वस्थ कार्यस्थलको अन्त्य गर भन्ने हो । त्यसको लागि फरक फरक कार्यस्थलमा फरक फरक किसिमले सङ्घर्ष गर्नुपर्नेछ । बहुसङ्ख्यामा रहेका कामदारहरूले आफ्नो सुरक्षा र स्वास्थ्यको रक्षा आफैले गर्नुपर्छ । त्यसको निम्ति व्यवस्थापनसित कुराकानी र आवश्यक परे सङ्घर्ष पनि गर्नुपर्ने छ । अल्पसङ्ख्यामा रहेका उद्योग मालिकहरू, सञ्चालक सदस्यहरू र प्रबन्धकहरूले पनि नाफाभन्दा मानिसको स्वास्थ्य ठूलो हो भनी मनन गरी जनस्वास्थ्यलाई उच्च प्राथमिकता दिनुपर्दछ । यथार्थको धरातलमा भने हाम्रोसामु मजदुर वर्गमाथि घात गरिरहेको अर्थतन्त्रलाई परिवर्तन गर्ने सङ्घर्ष जरुरी छ ।
Capitalism vs Safety, Healthy : an old story Again)
– Democracy at work. info
अनुवाद ः प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *