भर्खरै :

लकडाउन, अनलाइन कक्षा र भविष्यमा शिक्षण

कोरोना भाइरसको कहर कहिले टुङ्गिने हो त्यसको छनक अहिलेसम्म पाउन सकेको छैन । पुस माघको कठ्याङ्ग्रो जाडोसँगै सुरु भएको सङ्क्रमण मौसम परिवर्तनसँगै गर्मी लागेपछि अन्त्य हुन्छ वा त्यो शितोष्ण क्षेत्रमा नहुने अड्कल धेरैले गरेका थिए । जस्तो कि डेङ्गु ज्वरो गर्मी याममा लामखुट्टेको वृद्धिसँगै बढी देखापर्छ र जाडो याममा शिथिल हुन्छ ।
तर, कोरोना सङ्क्रमण एउटा क्षेत्र, राष्ट्र हुँदै अहिले विश्वव्यापी बनेको छ । दिनहुँ यसको सङ्कट गहिरिंदै गएको छ । यो सङ्कटको गहिराइसँगै जीवनका अनेका क्षेत्रहरू राजनैतिक, आर्थिक, सामाजिक र शैक्षिकलगायतले आफ्नो गतिविधिलाई कसरी अगाडि बढाउने र उँभो लगाउने भन्ने सोचअनुरूप विभिन्न प्रयासहरू थालेका छन् ।
लकडाउन निरन्तर थपिएको छ । यस्तो अवस्थामा शैक्षिक क्षेत्रले एउटो विशेष र सहरानीय प्रयासको थालनी गरेको छ । त्यो हो Virtual class/online class वा दूर शिक्षा कार्यक्रम ।
हुन त दूर शिक्षा कार्यक्रम शिक्षा कार्यालयले नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत प्रयास गरिसकेको विषय हो ।
तर, यसबेला चर्चाको विषय हुनुको अर्थ हो सम्पूर्ण विषयवस्तु online मार्फत दिने । यसमा अहिले त्रिभुवन विश्वविद्यालयका केही प्राध्यापक, केही स्वास्थ्य अध्ययन संस्थान र स्थानीय निकायले पहल जारी राखेका छन् ।
हरेक सिक्काको दुई पाटा हुन्छ । त्यस्तै यस प्रयासको सराहना गर्नेहरू धेरै छन् । तर, यसको विरोधमा आवाज उठाउनेहरू पनि छन् । कुन कुरा ग्रहण गर्ने वा छोड्ने भन्ने विषय त्यस वस्तु वा व्यवस्थाको गुण दोषको मूल्याङ्कनको आधारमा हुन्छ । गुण बढी देखिएको ग्रहण गर्नुपर्छ र त्यसको ठीक उल्टो देखिएको छोड्नुपर्छ ।
राम्रो कामले विकासलाई गति दिन्छ र समाजलाई अग्रगामी निकास दिन्छ । युग परिवर्तनसँगै देखिने गुणस्तरीय प्रविधिहरू हामीले ग्रहण गर्नसकेनौँ भने हामी रुढीवादको भूमरीमा फसिरहनेछाँै ।
लकडाउनको यस सङ्कटपूर्ण घडीमा सुरु भएको अनलाइन कक्षा वा Virtual class ले शैक्षिक जगतको क्षितिजलाई फराकिलो बनाइदिएको छ । यो प्रयास धेरै हिसाबले शैक्षिक क्षेत्रमा नौलो आयाम सावित हुनेमा शङ्का छैन ।
यस प्रयासले छात्रछात्रामात्र होइन अभिभावकसमेतलाई आधुनिक प्रविधिसँग जोडिने अवसर दिएको छ । अभिभावकले आफूले विद्यालय जीवनमा सिकेका वा पढेका विषयवस्तुलाई पुनः ताजगी गर्ने वा स्पस्ट हुने अवसर पनि हो ।
वातावरण तथा स्वास्थ्यको दृष्टिकोणले यसलाई कम आकलन गर्नु गल्ती हुनेछ । विद्यालय भवन बनाउन खर्च हुने रकम, त्यसले ओगट्ने जग्गा जमीन, विद्यालय आवतजावत गर्दा हुने सवारीसाधनको प्रदूषण, धुवाँ, धुलोमा कमी आउनुको साथै बालबालिकाको विद्यालयमा हुने दुर्घटनाको कमीलाई उल्लेख्यरूपमा लिनुपर्दछ ।
पढाइएका विषयहरू रिकर्डमा हुने भएकोले विद्यार्थी भाइबहिनीहरूले पढाइएका विषयवस्तु नबुझे दोहो¥याइ हेर्न पाउनेछन् र स्पष्ट नभएको विषयवस्तु शिक्षकसँग किटानीका साथ सोध्न, बुझ्न अवसर पाउनेछन् । प्रायः विद्यार्थीले ट्युसनको नाम सुन्नुपर्ने छैन र अभिभावकको आर्थिक बोझ कम हुनेछ ।
यस अभियानमा विद्यार्थीहरूले उत्कृष्ट शिक्षकसँग साक्षात्कार गर्ने अवसर प्राप्त हुनेछ ।
यो अभियान सुरुमा खर्चिला देखिए पनि परन्तुकालमा किफायती हुने भएकोले नेपाल सरकारले यो अवसरलाई सहयोग गर्न नीति निर्माण गर्नुपर्छ । गाउँ वा दुर्गम ठाउँमा समस्याको रूपमा देखिएको नेटवर्क Network विस्तारमा नेपाल सरकारले विशेष पहलकदमी लिनु आवश्यक देखिन्छ र त्यसलाई निःशुल्क गरिनुपर्छ । जसले Online कक्षा लिन सम्भव हुँदैन, अभिभावक घरमा सँगै बस्न सम्भव हुँदैन वा बालबालिका घरमा छोड्न मिल्दैन तिनीहरूको लागि कक्षा कोठामा बसेर पढ्ने व्यवस्था गर्नुपर्छ । शिक्षकले दोहोरो कक्षा चलेकै बखत Online Class गर्ने वा रिकर्ड गरिएको पाठ Online मा हाल्न सकिन्छ ।
Online Class सुरू भएपछि शिक्षक तथा शिक्षासँग सम्बन्धित कर्मचारीहरूको रोजगारीमा देखिने समस्या समाधान गर्न सरकारले रोजगारीका अन्य विकल्प कुटीर उद्योग, विविधखाले आधुनिक कृषि तथा उद्योग कलकारखाना पनि खोल्ने नीति अङ्गीकार गर्नुपर्छ ।Artifical Intelligence प्रयोग हुने जमानामा Virtual Class वा Online Class बन्द गर्नु शैक्षिक प्रगतिको भविष्यलाई अँध्यारोमा धकेल्नु सरह हो । यसमा सम्बन्धित विज्ञ सबैले बेलैमा ध्यान पु¥याउनु जरूरी छ । सकारात्मक सोच सकारात्मक परिवर्तनको संवाहक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *