प्रदेश आम्दानीको स्रोत र आत्मनिर्भरताको प्रश्न जहाँको तहीँ
- श्रावण १३, २०८३
परराष्ट्र सम्बन्धहरू
म प्रधानमन्त्री हुँदासम्म नेपाल अझै सात ताल्चाभित्रको देश थियो । भारतबाहेक हाम्रो बेलायत र अमेरिकालाई छाडेर अरु कुनै देशसँग दौत्य सम्बन्ध थिएन । अमेरिकासितको सम्बन्ध त गौण प्रकारकै थियो । अमेरिकाको पहिला त भारतसित सम्बन्ध थियो र भारतमार्फत उसको हामीसँग सम्बन्ध थियो । यस्तोखालको सम्बन्धसूत्रलाई के नाम दिने हो, म जान्दिनँ (हाँसो) । यस्तो हुनाको कारण के हो भने अमेरिकीहरू नेपाल प्राथमिकरूपमा बेलायतकै मातहतको देश थियो र भारतबाट अङ्ग्रेजहरू गएपछि नेपाल अब प्रथमतः भारतकै मातहतको देश भएको ठान्दथे । तिनीहरू हामीसँग व्यवहार पनि त्यस्तै प्रकारको गर्दथे । म सधैँ नेपाल भारतजस्तै स्वाधीन र प्रभुसत्तासम्पन्न देश हुनुपर्दछ, त्यसको पिट्ठू राज्य होइन भन्ने कुरामा जोड दिन्थें ।
नेपालमा विदेशी सहायता मेरो प्रधानमन्त्रित्वकालदेखि अलि नियमित तवरले आउन थाल्यो । म २०१० सालमा गृहमन्त्री हुँदा नेपालमा अनिकाल परेको थियो र मानिसहरू खान नपाएर मरिरहेका थिए । अमेरिकीहरू दिल खोलेर मद्दत गर्न आए । हुन त अमेरिकीहरू २००८ सालदेखि नै नेपालमा सक्रिय थिए, तर पनि त्यो मद्दत पी.एल. ४८० (अमेरिकी संसदले पारित गरेको पब्लिक ल ४८० अन्तर्गत भारतजस्ता देशहरू अमेरिकी कृषि पदार्थहरूको भुक्तानी स्थानीय मुद्रामा गर्नसक्थे ।) अन्तर्गत अमेरिकी सहायताको प्रारम्भ थियो । भारतीयहरूले त्रिभुवन राजपथको निर्माण गरिदिएका थिए तर यो काम तिनीहरूले आफ्नै सैन्यवादी स्वार्थ रक्षाको लागि गरेका थिए किनभने चीन हाम्रो उत्तरी सीमातर्फ बढिरहेको थियो । त्यो राजपथ हाम्रो हितलाई ध्यानमा राखेर बनाइएको थिएन ।
राजा महेन्द्रको राज्याभिषेक हुँदा म प्रधानमन्त्री थिएँ । त्यतिबेलासम्म हामीकहाँ कुनै देशबाट पनि धेरैधेरै सहायता आएको थिएन । राजा महेन्द्रले आफ्नो राज्याभिषेकको लागि काठमाडौँलाई सिंगार्न अमेरिकीहरूसँग हामीलाई ५० लाख रुपियाँ दिन भने । जम्मै सडक फोहोर र भत्केबिग्रेका थिए, कतै कुनै पार्क आदि थिएनन् । धेरैवटा देशका प्रतिनिधिहरू राज्याभिषेकमा भाग लिन आउँदैथे ।
त्यहीँताका एकदिन म भारतीय राजदूत गोखलेसँग बसिरहेको बेलामा उनले भारतको सहमति नभइकन अमेरिकीहरूबाट सहायता पाइएला भन्ठानेका छन् कि राजाले क्या हो ? भनी मलाई एक्कासि सोधे । महेन्द्रले पैसा मागेका रहेछन् भन्ने कुरा मैले पहिलोपल्ट त्यहीबेला थाहा पाएँ । तिनताक अमेरिकीहरू हामीलाई सोझै सहायता दिन सक्तैनथे ––– सहायता त भारत भएरै आउनुपर्दथ्यो । मैले त्यतिबेला केही भनिनँ तर हामीप्रति भारतीयहरूको व्यवहारबाट मलाई अत्यन्तै चोट लाग्यो ।
अनि मैले पनि स्थानीय दैनिक अखबार समाजमा चिनियाँहरूले नेपाललाई लाखौँ रुपैयाँको सहायता दिने भएका छन् भन्ने हावादारी खबर छपाउन लगाएँ । तपाईँलाई थाहै छ, त्यतिबेला चीन र अमेरिका कुकुर र बिरालोजस्ता बझौटे थिए । त्यो अखबारले रकम नै किटेर चीनले २ करोड ४० लाख रुपैयाँ दिंदैछ भनेर लेख्यो । अनि त्यो अखबारले खबरमा रुसले पनि धन दिने छाँट छ भन्ने कुरा थप्यो । यसबाट अमेरिकीहरू, मैले चाहेकोजस्तै गरी, रन्थनिए ।
त्यस समय यहाँ दिल्लीस्थित अमेरिकी दूतावासको एउटा शाखा कार्यालयमात्र खुलेको थियो । त्यहाँको सहायता विभागको प्रमुख, हाओवार्ड ह्युस्टन भन्ने अमेरिकी राज्याभिषेकमा भागलिन आएका थिए । उनले मकहाँ आएर हामीलाई अमेरिकाबाट केही चाहिन्छ कि भनेर सोधे । मैले पनि हामीले अमेरिकीहरूसँग कुन ढङ्गले कुरा गर्नुपर्ने हो भनी सोधेँ । उनले मलाई यसको अर्थ खुलाएर भन्नुहोस् न भने । अनि मैले उनलाई भारतीय राजदूतले मसँग भनेको कुरा सुनाइदिएँ । भारतीय राजदूतले मलाई के भनेका थिए भने, राजाले अमेरिकीहरूसँग ५० लाख रुपैयाँ सहायता मागेका छन् तर भारतको अनुमति नभइकन नेपालले कसरी अमेरिकीहरूबाट धन पाउने आशा गरेका होलान् ? त्यो भनाइले मलाई घोचिरहेको र रिस उठाइदिरहेकै थियो । त्यसैले ह्युस्टनलाई उनीसँग मैले किन कुरा गर्ने हँ, म त बरु भारतीयहरूसँग नै कुरा गरुँला नि, किनभने अमेरिकीहरूबाट केही पाउन पनि त मैले सबभन्दा पहिले भारतीयहरूसँग नै कुरा गर्नुपर्दछ भनिदएँ । आखिर भारतीय राजदूतले पनि त मलाई त्यही कुरा बुझाउन खोजेका थिए ।
त्यसपछि ह्यूस्टन अलि चिन्तित भए र चीन तथा रुसले पनि हामीलाई सहायता दिने भएका छन् भन्ने सुन्दा त उनी झन् विचलित हुन पुगे । उनी भारत फर्केर गए र नेपाल फेरि आउँदा उनले मलाई हामी उनीहरूसँग कुनै पनि किसिमको सहायता माग्न सक्दछौँ भने । मैले भनेँ । “पहिला त अमेरिकीहरूले नेपाल स्वाधीन देश हो कि होइन त्यो निर्णय गर्नुप¥यो अनि त्यस्तो निर्णय गरिसकेपछि मात्र म सहायता माग्नेछु ।” त्यसपछि उनी फेरि दिल्ली फर्केर गए ।
त्यससमय चेस्टर बावल्स भारतमा अमेरिकी राजदूत थिए क्यारे । उनका सार्ज द एफेयर्स (सहायक) एकजना अग्ला अमेरिकी मकहाँ आए र आफू सोझै (राष्ट्रपति) आइजनहावरले पठाएर आएको हो भने । उनले के सन्देश लिएर आएका छन् त भनी मैले सोध्दा उनले संयुक्त राज्य अमेरिका नेपाललाई पूरापूरा स्वाधीन देश मान्दछ भन्ने कुरा हामीलाई बताउन आफूलाई नेपाल पठाइएको जानकारी दिए । मैले उनलाई धन्यवाद दिएँ (हाँसो) । त्यसपछि मैले उनलाई राजालाई भेट्यौ त भनी सोधें । उनले भेटेको छैन भने । अनि मैले उनलाई राजाकहाँ गएर आइजनहावरको सन्देश दिन भनेँ । केही दिनपछि म राजालाई भेट्न जाँदा मैले उनलाई अमेरिकी सार्ज द एफेयर्सले “सरकारको दर्शनभेट ग¥यो कि गरेन” भनी सोधेँ । उनले “ग¥यो” र उसले अमेरिका नेपाललाई स्वाधीन राष्ट्र मान्दछ भन्यो भने ।
अनि सहायताबारे कुराकानी सुरू भए र त्यसको लगत्तैपछि अमेरिकाले प्रादेशिक सहयोग भन्ने नामको हो क्यारे संस्था स्थापना ग¥यो । तिनीहरू अझै पनि हामीकहाँ छुट्टै राजदूतावास राख्न तयार भएका थिएनन् । त्यही प्रादेशिक सहयोगको नाममा तिनीहरूले सडक निर्माणको एउटा परियोजना चलाउने सुझाउ राखे । त्यसको लागत नेपाल, भारत र अमेरिकाले व्यहोर्ने भनियो । अमेरिकीहरू त रक्सौलदेखि हेटौँडासम्म रेलमार्ग बिछाउन पनि मानेका थिए तर भारतीयहरू आफ्नो भागमा पर्ने खर्च व्यहोर्न आफूलाई निकै गा¥हो पर्ने भनेर मानेनन् । त्यसरी त्यो रेलमार्ग बन्न सकेन । पछि, भारतीयहरूले काठमाडौँ–कोदारी (काठमाडौँदेखि तिब्बती सीमासम्म पुग्ने) राजमार्गको पनि विरोध गरे । तर राजा महेन्द्रले साम्यवाद नेपालमा चार पाङ्ग्राहरूमा गुडेर ट्याक्सीद्वारा आउनेछैन भनेर भारतीयहरूको डरत्रासलाई उडाइदिए । यहाँ–त्यहाँ गरी केही सडकहरू नेपालमा बने । यसरी अमेरिकीहरू नेपालमा आउन थालेका हुन् । २०१३ सालतिर अमेरिकीहरूले काश्मीरलाई तिब्बतसँग जोड्ने राजमार्ग बनाउने योजना पनि अघि सारे । उक्त प्रस्तावित राजमार्गको केही भाग रक्सौलदेखि हेटौँडासम्म गरी र पूर्वी नेपालका कतिपय ठाउँहरू हुँदै गुज्रिन्थ्यो । मैले उक्त योजनालाई स्वीकृति दिएँ । टेन्डरहरू डाकिए र करारपत्रमा पनि हस्ताक्षर भयो । तर, त्यतिकैमा मैले सरकारबाट राजिनामा दिएँ, त्यसैले पछि के भयो म जान्दिनँ । तर, त्यो बन्दै बनेन । मैले पूर्वमा सुनकोसीसम्म पुग्ने र काठमाडौँ उपत्यकालाई पूर्वी तराईसँग जोड्ने राजमार्ग बनाउन पनि अग्रसरता लिएको थिएँ । सुनकोसीमा तिनारु भन्ने एउटा पहाड पर्दछ । राजमार्गलाई त्यही पहाड नाघेर जनकपुरसम्म पु¥याउने हाम्रो योजना थियो । जेहोस्, मलाई अमेरिकी सहायता औलो उन्मूलन गर्ने योजनालाई छाडेर अरु कुनै ठोसरूपमा परिणत भएको लाग्दैन । हो, औलो उन्मूलन कार्यक्रम धेरै महत्वपूर्ण थियो ।
म प्रधानमन्त्री भएकै बेलाको कुरा हो, एकदिन अमेरिकी सहायता नियोगका प्रमुख पौल रोज मकहाँ आएर तीन दिनभित्र एक डँुगुर कागतपत्रमा हस्ताक्षर गरिदिन भने । ती कागतपत्रहरू नेपाललाई अमेरिकाले तीस लाख डलरको सहायता दिने सम्बन्धमा थिए । त्यति थोरै समय दिइएकोमा मलाई जंग चल्यो र मैले ती कागतहरूमाथि हस्ताक्षर गर्नुअघि मलाई तिनीहरूको अध्ययन गर्न समय चाहिन्छ भनेँ । एकातिर, हामीलाई सहायता अत्यन्त ठुलो खाँचो परेको थियो, अर्काेतिर भारत अमेरिकासित हाम्रो सम्झौतामा बाधा पार्न कुनै कसर बाँकी राखिरहेको थिएन । म के गरुँ कसो गरुँ भनी बडो चिन्तित थिएँ । यता रोज मलाई बिन्ती छ, ती कागतपत्रहरूमा तत्कालै हस्ताक्षर गरिदिनुहोस्, नत्र भने अमेरिकी संसद्बाट प्राप्त उक्त रकम हातबाट गुम्न जानेछ भनिरहेका थिए । मैले उनीसँग के म उनको कारिन्दा हुँ कि क्या हो भनी ठट्टा पनि गरेँ तर आखिरमा मैले मन नपराइनपराइकन ती कागतपत्रमा हस्ताक्षर गरिदिएँ । मैले उनलाई अब आइन्दा सबभन्दा पहिले कागतपत्रहरू पढ्ने समय पाउनुपर्दछ नि भनेँ । उनले पनि हस्, त्यस्तै हुनेछ भनेर आश्वासन दिए तर अर्काे सम्झौता गर्ने बेला आइपुग्दा म नै प्रधानमन्त्री रहिनँ (हाँसो) । त्यसैले अर्काे चरणमा के कसो भयो त्यो मलाई थाहा भएन ।
म सत्तामा आएपछि मैले बाहिरी संसारसित नेपालका दौत्य सम्बन्ध बढाउने कोसिस गरेँ । मैले अमेरिकीहरूसित राम्रो सम्बन्ध बढाउने चेष्टा गरेँ । मैले भारतस्थित तर नेपालका लागि पनि मनोनीत अमेरिकी राजदूत श्री (एल्सवर्थ) बंकरसित भेटेँ । पछि मैले उनकी पत्नी (सन् १९६० को दशकको अन्त्यतिर नेपालमा अमेरिकी राजदूत भएर काम गरेकी क्यारोल लैस) सित पनि भेटेँ । उनले क्यारोलसँग यहीँ आएर बिहे गरेका हुन् (हाँसो) । मेरो बंकरसित बडो राम्रो सम्बन्ध थियो । अरु राजदूतहरूसित मेरो त्यति बढी हिमचिम थिएन । तर, मेरो प्रधानमन्त्रित्वकालमा अमेरिकीहरूसँग सम्बन्ध धेरै राम्रो थियो । तिनीहरूले हाम्रा दुई देशका बीच सम्बन्ध सुधार्नमा मेरा प्रयासहरूको सराहना गरेर मलाई पत्रहरू पठाएका छन् । मेरो उनीहरूका विरुद्ध कुनै पूर्वाग्रह छैन ।
आफ्नो पद–ग्रहण गरेको तीन दिनपछि मैले एउटा सार्वजनिक सभामा आफ्नो विदेश नीतिका उद्देश्यहरूलाई स्पष्टसँग बताइदिएको थिएँ । राजाले मेरो भाषणलाई लिएर कुनै प्रश्न गरेनन् अर्थात् उनी त्योसित असहमत रहेनछन् । तर, पछि उनीमाथि, उल्लेखनीयरूपमा, हाम्रो आफ्नै परराष्ट्र मन्त्रालयका नोकरशाहलगायत विभिन्न क्षेत्रबाट दबाब पर्नथालेछ । मैले विदेश नीतिको सम्बन्धमा कुनै वक्तव्य दिनुभन्दा पहिले राजासँग अरु सल्लाह गरेमा जाती हुन्थ्यो कि भनी परराष्ट्र सचिव मलाई भन्न आयो ।
मैले सोभियत सङ्घ, जापान, चीन, स्वीट्जरल्यान्ड र इजिप्टजस्ता अनेक देशहरूसँग सम्बन्ध स्थापित गरेँ । सोभियत सङ्घसँग दौत्य सम्बन्ध स्थापना गर्दा भारतीयहरू मसँग अग्घोरै रिसाए । मैले आफू त्यस्तो काम गर्न गइरहेको कुरा भारतीय राजदूतलाई पहिलेबाट भनेको थिइनँ ।
म प्रधानमन्त्री हुँदा मैले विदेश सम्बन्धहरूको क्षेत्रमा हिमाली राज्यहरूको सङ्घको विचार पनि उठाएको थिएँ । मैले त्यो विचार भुटानी मन्त्रीलाई बताउँदा उनले ठीक छ, यसमा उनीहरूको कुनै आपत्ति छैन भनेका थिए । तर, सिक्किमी मन्त्रीसँग कुरा गरेपछि उनले हाम्रो कुराकानी भारतीय राजदूतलाई बताइदिएछन् । भारतीय राजदूत त मसँग रिसले आगो भए । यो राजा महेन्द्रको राज्यभिषेकको समयको कुरा हो ।
म आफ्नो देशको विकास चाहन्थेँ । त्यसैले सुरुदेखि नै मैले के भन्दै आएको थिएँ भने मेरो देशको विकासको लागि जोसुकै….. अमेरिका होस् कि सोभियत सङ्घ होस् कि भारत वा अरु नै कोही… मलाई सहायता गर्न अगाडि बढोस् म त्यस्तो सहायता लिन तत्पर छु । भारत नै सबभन्दा पहिले सहायता गर्न अघि बढ्यो । हामीलाई सहायता दिने जुनसुकै देशहरूप्रति पनि हामी आभारी छौँ तर मुख्य कुरा के भने सहायताको सदुपयोग गर्नुपर्दछ । नेपालको लागि एउटैमात्र खुला बाटो सरकारी क्षेत्रमा उद्योगधन्दाहरू बढाउनु हो । सुरुसुरुमा त यसबाट थोरै लाभ प्राप्त हुनेछ तर पछि ती लाभहरू बढ्दै जानेछन् । अमेरिकीहरूले नेपालमा थुप्रै पैसा लगानी गरेका छन् । तर तिनीहरूले त्यो धन सार्वजनिक क्षेत्रका उद्यमहरूमा लगानी गरिदिएका भए हामीले यतिञ्जेलसम्म त धेरै लाभ प्राप्त गरिसकेका हुनेथ्यौँ । तर, तिनीहरू र हाम्राबीच सार्वजनिक कि निजी क्षेत्र भन्ने विषयमा जहिलेजहिले मतभेद हुन्छ, हामीलाई कम्युनिस्ट भएको भन्ने डाम लगाइन्छ । मेरो हकमा, ममा केही वामपन्थी झुकाउ होला तर त्यसको अर्थ म प्रजातन्त्रवादी होइन भन्ने त लाग्दैन नि ¤ दाता राष्ट्रहरूले सार्वजनिक क्षेत्रका उद्योगधन्दाहरूको विरुद्ध आफ्नो पूर्वाग्रहलाई एकातिर पन्छाई हाम्रो कृषि तथा आधारभूत औद्योगिक अवस्थालाई सुधार्नपट्टि प्रत्यक्ष सहायता प्रदान गर्नुपर्दछ ।
वास्तवमा हामी त यता लामो समयदेखि सार्वजनिक तथा निजी क्षेत्रका गरी दुवै उद्यमहरूलाई प्रोत्साहन दिने कोसिस गरिरहेका छौँ तर निजी क्षेत्रका उद्यमहरू त्यतिको प्रभावकारी भएका छैनन् । एक पटक अमेरिकी दूतावासको एक जना कूटनीतिज्ञसँग यसै विषयमा मेरो कुराकानी भएको थियो । अमेरिकाले नेपाललाई धेरै पो मद्दत गरेको छ भनी उसले मलाई भन्यो । अमेरिकीहरूले मानव शक्तिको विकासका लागि प्रशिक्षण दिएका छन्, आदि कुरा पनि उसले मलाई सुनायो । मैले भनेँ, “अमेरिकीहरूले हामीलाई एउटैमात्र कुरा सिकाएका छन् र त्यो हो, कसरी घूस खाने भन्ने ।
हाम्रो यो लक्ष्यमा पुग्न हामीलाई जसले सघाउँदछ, जो योजनाका साथ अगाडि आउँदछ ऊ नै हाम्रो सच्चा मित्र हो । नेपालका एकमात्र सच्चा मित्रहरू पनि तिनै हुन् जसले नेपाललाई खाद्य क्षेत्रमा अनुसन्धान गर्ने, आधारभूत आवश्यकताहरू पूर्ण गर्ने आदि जस्ता क्षेत्रहरूमा मद्दत गर्नेछन् । तर यी मामिलाहरूमा नेपाल आफ्नो खुट्टा आफैँ उभिन नसकुञ्जेल कसैले पनि उसलाई मद्दत गर्नसक्दैन ।
अमेरिकाको फरेन एफेयर्स जर्नलमा आर्मस्ट्रंग नाम गरेको पत्रकार सम्पादक थियो । उसले नेपाल कदापि स्वाधीन देश हुनसक्दैन र त्यो खासगरी फौजी मामिलाहरूमा भारतमाथि निर्भर हुनैपर्दछ भनेर लेख्यो । तिनताक अमेरिकीहरूको दृष्टिकोण त्यस्तो थियो । अमेरिकाको चीनसित त्यतिबेला कुनै न कुनै किसिमको झगडा कायमै भएको हुँदा तिनीहरू हामीलाई भारतसँग मिलेर चीनको विरुद्ध लड्न लगाउन नेपाल भारतसित संलग्न भएको हेर्न चाहन्थे । तर, भारतीयहरूमार्फत चिनियाँहरूको विरुद्ध लडाइँ हुनसकेन । यो अमेरिकीहरूको गलत मूल्याङ्कन थियो । नेपाललगायत अरु देशहरूमा पनि यसको नराम्रो प्रभाव प¥यो ।
भारत र चीनका बीच भिडन्त भयो भने नेपालले भारतको पिट्ठू भएर काम गर्नुपर्दछ भनी अमेरिकीहरूले सोच्नु बडो दुःखलाग्दो कुरा हो । सोभियत सङ्घ पनि नेपाल र भारत दुवै चिनियाँहरूको विरुद्ध एकबद्ध हुनुपर्दछ भन्ने विचार राख्दथ्यो । यिनै सब कारणहरूले गर्दा नेपाल कुनै पनि देशसित संलग्न नहोस् भन्नाको लागि हाम्रो परराष्ट्र नीति तर्जुमा गर्नु थियो र यो बडो कठिन कार्य थियो । यस्ता विशाल दुई देशरूपी ढुङ्गाका बीच तरुल भएर बस्नुपर्दा पनि हामी स्वाधीन भएर नै रहनसक्नु अत्यन्त उल्लेखनीय कुरा हो । यसको कारण के हो भने हाम्रा आवश्यकताहरू ज्यादै थोरै छन् र हामी आफ्नै उत्पादनबाट आफ्ना लत्ताकपडा र गाँस आदिको खाँचो पूरा गर्नसक्दथ्यौँ । हामीलाई कुनै अत्याधुनिक सजधजका मालतालहरू चाहिँदैनथ्यो । त्यसैकारण हामीले आफ्नो स्वाधीनतालाई धान्न सकेका हौँ । अहिले पनि हामी आफ्ना लत्ताकपडा र खाद्यवस्तुहरूका आवश्यकताहरू आफ्नै परिश्रमबाट पूरा गर्दै जान सक्यौँ भने हामीले कसैको अघिल्तिर पनि घुँडा टेक्नुपर्नेछैन ।
नेपालले मेरो प्रधानमन्त्रित्वकालमा चीनसित एउटा सन्धि सम्पन्न ग¥यो । २०१२ सालमा (सन् १९५५ मा) राजाले सर्दार गुञ्जमान सिंहको अध्यक्षतामा सल्लाहकार परिषद् बनाएका थिए । डिल्लीरमण रेग्मीलाई परराष्ट्र मामिला हेर्ने गरी त्यसको सदस्य बनाइएको थियो । त्यहीबेला एउटा चिनियाँ प्रतिनिधिमण्डल सन्धि सम्पन्न गर्नका लागि नेपालमा आयो । राजा र रेग्मीले सन्धि पञ्चशीलको (सन् १९५५ मा बाँडुङ्गमा प्रतिपादन गरिएका ‘पाँच सिद्धान्तहरू’ मा क्षेत्रीय अखण्डता तथा प्रभुसत्ताको सम्मान, अनाक्रमण, आन्तरिक मामिलामा हस्तक्षेप–निषेध, समानता तथा पारस्परिक लाभ एवम् शान्तिपूर्ण सहअस्तित्व सन्निहित थिए ।) आधारमा हुनुपर्दछ भनी सुझाव राखे । चिनियाँहरू सन्धि नगरिकनै फर्के । २०१२ सालमै म प्रधानमन्त्री भएपछि चिनियाँहरू फेरि नेपाल आए र सम्पूर्णरूपमा चीनसित होइन कि तिब्बतसँग मात्र नेपालका सम्बन्धहरू सीमित हुने खालको सन्धिको प्रस्ताव गरे । तिनताक तिब्बत नेपाललाई बर्सेनि दस हजार रुपैयाँ तिरो तिर्ने गर्दथ्यो । मैले चिनियाँहरूलाई सन्धि सामान्यतः नेपाल–चीन सम्बन्धहरूबारे र पञ्चशीलको आधारमा हुनुपर्दछ भनेँ । नेहरूसित पनि भारतले नेपालसँग पञ्चशीलको आधारमा सन्धिमा हस्ताक्षर गर्न अनुरोध गर्दा उनले पञ्चशीलका सिद्धान्तहरूलाई को नै मान्दछ र ? भन्ने जवाफ दिएका थिए ।
केशरबहादुर (खत्रीक्षत्री) तथा नरप्रताप (थापा) भएका नेपाली टोलीले चिनियाँहरूसँग मिलेर एउटा सन्धिको मस्यौदा बनायो । चिनियाँहरू हामीले दस हजार रुपैयाँको वार्षिक तिरो लिन छाडिदेआँै भन्ने चाहन्थे । तर, मेरो मन्त्रिमण्डलमा राजा महेन्द्रका प्रतिनिधि भएर बसेका पुरेन्द्रविक्रम शाह र गुञ्जमान त्यो चलनलाई राखिराख्न चाहन्थे । तिनीहरूले यसबारे राजालाई बताए र उनले मसँग र मन्त्रिमण्डलमा मेरा सहयोगीहरूसँग हाम्रो राय–विचार मागे । यसै प्रसङ्गमा राजालाई भेट्न जाँदा पुरेन्द्रविक्रम, गुञ्जमान र ममात्रै थियौँ । राजा पनि दस हजार रुपैयाँको तिरो छाड्न चाहँदैनथे । त्यसैले केशरबहादुर र नरप्रताप चिनियाँहरूकहाँ उनीहरू बर्सेनि दस हजार रुपैयाँको तिरो तिर्दै जानुपर्ने धारा भएको सन्धिमा हस्ताक्षर गर्छन् कि गर्दैनन् भनी सोध्न गएँ । चिनियाँहरूले त्यस्तो सन्धिमा हस्ताक्षर गर्दैनौँ भने । मैले राजालाई आफू चिनियाँहरूको स्थितिसित सहमत भएको कुरा बताउँदै मलाई अब घर जान अबेर भयो भनी दरबारबाट हिँडेँ । राजाले मसँग पछि सम्पर्क गर्नेछु भने । घर फर्केपछि मैले पत्नीलाई “ल, अब यत्तिकै भो, मेरो प्रधानमन्त्रित्व जाने भयो” भनेँ । रातको साढे १२ बजे म सुत्न गएँ । एक बजे राति राजाले फोन गरे र, सन्धि सम्पन्न गर्ने काम मिलाउन भने । मैले भोलिपल्ट बिहान ८ बजे मन्त्रिमण्डलको बैठक बोलाएँ र त्यसमा सन्धिको मस्यौदा अनुमोदन भयो र पछि गएर त्यसैमा हस्ताक्षर भयो । त्यसरी चीनले नेपाललाई प्रभुसत्ता सम्पन्न देशको रूपमा मान्यता दियो ।
राजकीय भ्रमणहरू
हामीले चीनसित सम्बन्ध विस्तार गरेपछि म त्यहाँको राजकीय भ्रमणमा गएँ । चिनियाँ प्रतिनिधिमण्डलका नेता ऊलान फूले (राजा महेन्द्रको) राज्यभिषेकमा भाग लिन आउँदा मलाई निम्ता गरेका थिए । मैले राजालाई यसबारे बताउँदा उनले पनि यो परराष्ट्र नीतितर्फ हाम्रो नयाँ बाटो भएकोले अनुमोदन गरे तर भारतबाट आपत्ति आउने आशङ्का पनि व्यक्त गरे । हुन पनि भारतीयहरू अग्घोर रिसाए । भारतीय राजदूत भगवान सहायले मैले पहिला दिल्ली भ्रमण गर्नुपर्दछ भने । मैले इन्कार गरिदिएँ । उनले त्यसो भए नेहरू नै मलाई भेट्न काठमाडौँ आउनसक्ने छन् भने….. भारतीयहरू उनीहरूको पूर्व अनुमोदनबिना नेपालले कुनै काम गर्न सक्दैन भन्ने देखाउन उद्यत थिए । मैले त्यसमा पनि हुन्न भनिदिएँ । मैले भारतीय राजदूतलाई सबभन्दा पहिला चीनबाट नै मैले निमन्त्रणा पाएको हुँ । त्यसैले मैले पहिला पनि चीन नै जानुपर्दछ भनेँ । चीनबाट फर्केर आएपछि म दिल्ली जाउँला भनेँ । म आफैँले चिनियाँ निमन्त्रणालाई स्वीकार गरेको हुँ ।
चीनमा त हरेक चीज कति ठुलठुलो कति…. हवाई अड्डा इत्यादि । हाम्रो कुनै पनि चीज तिनीहरूको दाँजोमा पुग्नसक्दैनथ्यो । त्यसैले आफूमा केही आत्मलघुता आउनु स्वाभाविकै हो (हाँसो) । अनि त्यहाँ माओ जेदुंग जो, चीनका सम्राट ¤ हामीले चीनका सम्राटहरूबारे सुनेका त थियौँ, अब त सम्राट नै हाम्रो सामुन्ने, त्यतिमात्र किन र ¤ सम्राटभन्दा पनि ठूला र बडा ¤ हामी चीन पुगेको दिनकै साँझ हामीलाई उनीसँग भेट गर्न लगियो । उनी हाम्रो स्वागत गर्न आफ्नो निवासस्थान बाहिर आए । हामीहरू दुई बेग्लै समूह गरेर आमुन्नेसामुन्ने बस्यौँ…. एकातिर उनी र उनका मन्त्रीहरू र अर्काेतिर म, मेरी पत्नी र हाम्रा मित्रहरू । उनको खल्वाट शिर कोठाका झिलिमिली बत्तीहरूले गर्दा टलक्क टल्केको थियो । म त टोलाएको जस्तै भएँ, मानौँ उनी त कुनै देवता नै हुन् (हाँसो) । तर, जसरी उनी बोल्दथे.. क्या सरल मानिस ¤ उनले अङ्ग्रेजी बोलेनन् । उनले आफू दिनमा अङ्ग्रेजीका चार वटा शब्दहरू सिकिरहेको कुरा बताए । मैले भनेँ, “हेर्नोस्, तपाईँले एक दिनमा चारवटा शब्द सिक्दै जानुभयो भने त वर्ष दिनमा तपाईँलाई पूरै अङ्ग्रेजी शब्दकोष कण्ठ हुनेछ ।” (हाँसो)
उनले मसँग आफ्ना मन्त्रीहरूको परिचय गराए । अनि परिचय गराउँदै जाँदा उनले यी क्रिश्चियन लीगका, यी बौद्धमार्गी लीगका, यी त्यो दलका, यी यो दलका भन्दै गए । विभिन्न विचार विश्वासका मानिसहरू ¤ उनले भन्दै गए, “तर, हामी यिनीहरूलाई कहाँ अलगअलग भएर बस्न दिन्छौँ र ¤ किनभने हामी सबै मिलेर चीनको सुधार गर्नु छ ।” अनि उनले भने, “यी यहाँ एकजना मङ्गोल जातिका छन् । यिनी हमलावार हुन् । यिनले हामीलाई दिनुसम्म दुःख दिए । हामीले यिनलाइ छेकवार गर्नका लागि नै त्यो विशाल चिनियाँ पर्खाल बनाएका हौँ । यिनी महाधूर्त छन् । यिनी तपाईंको देशमा पनि आइपुग्लान् है । तर क्यै छैन, चिन्ता नगर्नोस्, हामी बीचमा छौँ र हामी यस्ता मानिसहरूलाई तपाईँहरूकहाँ घुस्न कहिल्यै दिनेछैनौँ (हाँसो) ।” उनले यस्तो ठट्यौलोपाराले कुरा गर्दै गए कि हामीहरू सबैजना हाँस्न थाल्यौँ । त्यसपछि उनले आज साम्राज्यवादीहरू हाम्रो टाउकोमाथि टेक्न खोज्दछन् भने । हामीले आफ्नो टाउको अलिकति हल्लाउनासाथ तिनीहरू रिसाइहाल्छन् । अङ्ग्रेजहरूले इजिप्टमा गरेकैलाई हेर्नुहोस् । इजिप्टका जनता स्वाधीनता चाहन्छन् । तर, अङ्ग्रेजहरू उनीहरूलाई त्यस्तो हुन दिँदैनन् । उनले भन्दै गए, “साम्राज्यवादीहरूले गर्ने काम त्यस्तै हुन्छ ।” माओ त्सेतुङले मलाई महिलाहरूलाई मुक्ति दिनुपर्ने कुरा बताए । अनि महिलाहरू ठुलो मद्दतकारी शक्ति हुन् भन्दै उनले अगाडि भने, “त्यस्ता धेरै ठाउँहरूमा भइरहेछ । तर मलाई कोहीकोही अतिवादी भएको लाग्दछ । तपाईँहरूले बीचको बाटो समात्नुपर्दछ ।” हाँसो)
त्यसपछि मैले म एउटा कुराले चिन्तित छु भनेँ । हामीले तपाईँहरूसँग सीमा सम्झौता गरेका छौँ । सम्झौतापत्रमा परम्परागत रेखालाई मात्र मान्यता दिइनेछ भनी लेखिएको छ । त्यो परम्परागत रेखालाई किटानका साथ बताउन गा¥हो छ (हामीसँग नक्सा थियो) । मलाई पछि गएर केही गडबड हुन्छ कि भन्ने पिर छ । हाम्रो देशमा प्रतिपक्षी दलले (यहाँ तात्पर्य नेपाली काङ्ग्रेससँग छ) हामीले नेपाल चीनलाई बेचिदिएका छौँ भन्ने हल्ला मच्चाएको–मच्चाएकै छ (के आई सिँह पनि त्यस्तो हल्ला मच्चाउनेहरूमा एकजना थिए) । के होला पछि ?
उनले भने, “हेर्नोस्, हाम्रो देश धेरै ठुलो छ र तपाईंहरूको देश ज्यादै सानो छ । हाम्रोबाट केही भाग तपाईंहरूकहाँ जान्छ भने हामीलाई हानिनोक्सानी हुनेछैन तर तपाईंहरूको केही भाग गयो भने त त्यो तपाईंहरूको लागि धेरै हानिकारक हुन्छ । यसमा तपाईंहरूले बीस वर्षसम्म त क्यै चिन्ता गर्नुपर्दैन । हामीहरू बाँचुञ्जेलसम्म तपाईंहरूले क्यै पिर–सुर्ता लिनुपर्दैन । तर, हामीहरू मरेर गएपछि यसको ग्यारेन्टी दिन सकिँदैन ।” (हाँसो)
उनले बडो हास्यविनोदपूर्ण ढङ्गले कुरा गरे र हामीलाई कुनै प्रकारको आत्मलघुता लिननपर्ने गरी सञ्चोपनको अनुभव गराइदिए । हामीले उनीसँग मुक्तभावले कुराकानी ग¥यौँ । हामीहरू धेरै आश्वस्त भयौँ । त्यो बीस वर्ष भन्ने शब्द बडो अद्भूत छ । ठीक बीस वर्षपछि उनको मृत्यु भयो ।
म चाउ एन लाइसित धेरै प्रभावित भएँ । उनी भद्र, अत्यन्त भद्र थिए । उनले आफू एउटा विशाल देशको प्रधानमन्त्री भएको कहिल्यै हावभाव देखाएनन् । अहँ, कहिल्यै देखाएनन् । उनी बडो सरल मानिस थिए । मैले चाउ एन लाइलाई भने, “हेर्नोस्, हामी त सानो ठह¥यौँ र तपाईंहरू विशाल राज्य हुनुभयो, तपाईंहरू कसरी हामीसँग समानताको आधारमा व्यवहार गर्नसक्नुहोला ? केही काल, केही समयको लागि सायद तपाईंहरूले हामीहरूप्रति कस्तो व्यवहार गरिरहनुहोला । अनि त्यसपछि ?” उनले भने, “ जापान कत्रो ठुलो छ र ? जापानिजहरूले हामीलाई कब्जा गरे । आकारले क्यै फरक पर्दैन । मुख्य कुरा मानिस हो । जे गर्दछ मानिसको मनले गर्दछ, उसको सङ्ख्याले होइन । क्यै चिन्ता–पिर नलिनुहोस् ।” यस्तै वक्तव्यहरूबाट उनले ‘बडाराष्ट्र अहङ्कारवाद’ भन्ने नाराको श्रीगणेश गरे । उनको भनाइको तात्पर्य के भने त्यस्तो विचार एवम् अवधारणाको प्रतिरोध गरिनुपर्दछ, त्यसलाई त्याग्नुपर्दछ । मूल कुरा जनताको मनोभाव हो, देशको आकार–प्रकार होइन । हेर्नोस्, चाउ एन लाइ फ्रान्समा पढेर बसेका थिए र फ्रान्सेली भाषा जान्दथे । अनि अङ्ग्रेजी पनि जान्दथे । कुनै बेला दोभाषेले उनले भन्न चाहेको जस्तो गरी अनुवाद गरेर बताउन नसक्दा उनी नै उसलाई सच्याउँदथे (हाँसो) ।
स्वदेश फर्किँदा म जापान पनि गएँ । हवाई अड्डामै मैले जापानीहरूलाई हामीले संरा सङ्घमा प्रवेश पाउनुपर्दछ भनेँ । मैले तिनीहरूलाई एसियामा जापानले औद्योगिक विकास र अन्य कुराहरूमा पथ–प्रदर्शकको काम गरेको छ । हामी जापानलाई हाम्रा भावी बाटोहरूको दिग्दर्शन गराउने मुलुक ठान्दछौँ पनि भनेँ । मैले जापानीहरूको लागि चाउ एन लाइबाट सन्देश लिएर गएको थिएँ । सन्देशमा चीन जापानसित व्यापारिक सम्बन्ध राख्न चाहन्छ भन्ने कुरा उल्लेख थियो । सब घटनाक्रमले गर्दा जापानका सम्रात मसँग प्रसन्न भए । पछि तिनीहरूले मलाई ‘अर्डर अफ द राइजिङ सन’ को मान–खिताव प्रदान गरे । अति सुन्दर ¤ म जापानमा छँदा तिनीहरूले मलाई एउटा ट्रान्जिस्टर रेडियो पनि उपहार दिए । त्यो सायद नेपाल आइपुग्ने पहिलो ट्रान्जिस्टर रेडियो थियो । राजा महेन्द्रले त्यसमा चाख देखाए । त्यसैले मैले उनलाई त्यो उपहारस्वरूप दिएँ । पछि उनले मलाई नेसनल प्यानासोनिक रेडियो दिए जुन आजसम्म मसँग छ ।
जापानीहरूको लागि त्यो समय बडो कठिनतापूर्ण थियो । खाद्यपदार्थ र अरू त्यस्तै आवश्यक चीजहरूको लागि अभाव, बढ्दो जनसङ्ख्या चापजस्ता समस्या थिए । त्यसैले तिनीहरूका विदेशमन्त्री जापानीहरूलाई बसोबासका लागि अष्ट्रेलियाले जग्गा–जमिन देओस् भनी मैले वक्तव्य दिनुप¥यो भनेँ । मैले भनेँ, “म कसरी त्यस्तो भन्न सकुँला र ? ठीक छ, दुईसय जना परिवारहरूको लागि म तपाईंहरूलाई जग्गाजमीन दिनसक्दछु, मेरो देशमा आउनुहोस् । म दुईसय जना परिवारहरूको लागि जग्गा–जमिन दिन्छु ।” कसैले मेरो त्यतिबेलाको त्यो प्रस्तावलाई मानिदिएको भए त्यो आज कत्ति फलदायी हुनेथ्यो, के बताऊँ ? हामीले जापानी सहायता पाउने थियौँ, तिनीहरूको टेक्नोलोजी हामीकहाँ आउने थियो । तर त्यस्तो क्यै हुन पाएन ।
चीनबाट फर्केर आएपछि म भारतको भ्रमणमा गएँ । मेरो प्रतिनिधिमण्डलमा रामहरि (शर्मा), मेरी स्वास्नी र एकजना भाञ्जी पनि सम्मिलित थिए । मलाई नेहरू बडो सहानुभूतिपूर्ण मानव लागे । मानिसहरू नेहरू निकै घमण्डी छन् भन्दथे तर मलाई त्यस्तो लागेन । म प्रधानमन्त्री हुँदा उनले मलाई बधाई सन्देश पठाएनन् तर दिलका उनी राम्रा मानिस थिए । मेरो सम्मानमा आयोजित राजकीय भोजमा मेरी भाञ्जी, मेरी स्वास्नी र म नेहरू, उनकी छोरी इन्दिरा र अरूहरूको बगलमा बसेका थियौँ । भाञ्जीलाई चक्कु, काँटा, चम चलाएर खाने काइदाको अनुभव थिएन जबकि मेरी स्वास्नी भने चीन र जापान घुमिसकेकी थिई र यसबाहेक हामीले आधुनिक तौरतरिका सिक्नका लागि ¥वायल होटलमा अप्ठेरो परेको बुझेर उनले आफ्ना पनि काँटा, चम्चा आदि पन्छाइदिएर उसलाई हातैले खाए हुन्छ भनिदिए । उनले आफैँ हातले खान थाले र हामीहरू सबैजनाले पनि त्यसै ग¥यौँ ।
हामीहरूले मोहनशमशेर (आखिरी राणा प्रधानमन्त्री) र उनका भारतमा बसोबास गरेको दुईजना भाइहरूलाई पनि भेट्यौँ । हामीले प्रजापरिषद् गठन गर्नुभन्दा पहिले मैले उनीकहाँ गएर देशमा केही सुधारहरू हुनुप¥यो भन्ने सुझाव दिएको थिएँ । त्यतिबेला उनी जङ्गीलाठ थिए (प्रधानमन्त्री हुने रोलक्रममा चीफ साहेबपछिका, अर्थात् तेस्रा … अ.रि.) । मैले त्यतिबेला उनलाई भेट्न जानाको मुख्य कारण के थियो भने मैले उनी र प्रधानमन्त्री जुद्धशमशेरका बीच केही मतभेद छ भन्ने कुरो सुनेको थिएँ र त्यसबाट सुधारहरूको लागि केही फाइदा उठाउन सकिन्छ कि भन्ने आशा गरेको थिएँ । त्यसबाट क्यै हात परेन । पछि त मोहनशमशेर आफैँ प्रधानमन्त्री भइहाले । मैले उनी र उनका दुईजना भाइहरूसँग दिउँसोको खाना खाएँ र मैले उनीहरूलाई काठमाडौँ फर्केर आउन भनेँ । मैले उनीहरूलाई समुचित स्वागत गरिने छ पनि भनेँ तर उनीहरूले हामी बैङ्गलोरमै सुविस्तापूर्वक बसेका छौँ भने । तिनीहरू मृत्युपर्यन्त त्यहीँ बसेँ ।
घरेलु नीति
घरेलु नीतिको सम्बन्धमा भन्दा वनजङ्गलहरूको राष्ट्रियकरण मेरै प्रधानमन्त्रीत्वकालमा भएको थियो । त्यो मेरो शासनकालको सबभन्दा महत्वपूर्ण उपलब्धिहरूमध्ये एउटा थियो । हामीले योजना आयोगको पनि गठन ग¥यौँ । राष्ट्र बैङ्कको स्थापना पनि एउटा महत्वपूर्ण कदम थियो किनभने त्यो बैङ्क स्थापना नहुञ्जेल विदेशी मुद्राका हामी सञ्चितिहरू भारतको रिजर्भ बैङ्कको हातमा रहिरहन्थ्यो । अनि हाम्रो आफ्नै स्वतन्त्र बैङ्किङ प्रणाली नभएसम्म आफ्नै अर्थतन्त्रमाथि हाम्रो नियन्त्रण हुने कुरै भएन । कतिसम्म भने नेपाली तथा भारतीय मुद्राहरूका बीच विनिमय दरको निधो सहरका सडकगल्लीहरूमा बस्ने निजी व्यापारीहरूको हातबाट हुन्थ्यो ।
मेरो पालामा निजामती सेवा ऐन पनि लागू भयो । अघिअघि त उच्च सरकारी अधिकारीहरू, अधिकांश मात्रामा मन्त्रीहरू निजामती कर्मचारीहरूको आफूखुसी पजनी गर्ने गर्दथे । अनि निजामती सेवाको भविष्य पनि धेरै हदसम्म तिनै मानिसहरूको इच्छा र सनकहरूमा भरपर्दथ्यो जसले कर्मचारीहरूलाई भर्ना गरेका हुन्थे । निजामती सेवा ऐन लागू भएपछि मन्त्रीहरूले यस्तो काम गर्न पाएनन् । खोसिएको कर्मचारीले अदालतमा उजुरी दिन वा मुद्दा चलाउन सक्दथ्यो । यसरी निजामती सेवा ऐनबाट त्यस्तो स्वेच्छाचारी कार्यहरू धेरै रोकिन गए ।
चाकरी र भ्रष्टाचारको मामलामा त ठुलठुला समस्याहरू बाँकी नै थिए । चाकरी प्रथा पनि कस्तो, लौ हेर्नोस् । मैले उक्त ऐन पास गरेपछि मलाई राजदरबार सचिवालयको चित्त बुझाउनका लागि सात सात दिनसम्म दिनहुँ राजदरबार जानुपरेको थियो । राजदरबारका मानिसहरूले त्यो ऐनमाथि ठुलो आपत्ति जनाए । आखिरमा तिनीहरूले आफूलाई पनि निजामती सेवामा सम्मिलित गर्न भने । मैले हुन्छ भनेँ । त्यसरी मैले उक्त ऐन लागू गराएँ । त्यसैले अहिले पहिलेको भन्दा धेरै कम चाकरीप्रथा छ । अघिअघि त कोही हवल्दार (कमिसन नपाएको अफिसर) बाट सोझै कर्नेलसम्मको नियुक्ति पाउनसक्दथ्यो । (हाँसो) । चाकरीबाट त मानिस उत्तिखेरै माग्नेबाट अमीर हुनसक्दथ्यो ।
म प्रधानमन्त्री भएपछि मानिसहरू मलाई आदरपूर्वक नमस्कार गर्दथे, मेरो चाकरी होइन । म चाकरीलाई घृणा गर्दथेँ । यदि कसैलाई केही चाहियो भने ऊ सोझै आएर मलाई भन्नसक्दथ्यो र मैले गर्नसक्ने भए हुन्छ भनिदिन्थेँ र गर्ननसक्ने भए, अहँ हुनसक्दैन भनिदिन्थेँ । म कुनै चाकरीलाई मान्दिनथेँ । म मलाई भेट्न आउने जति सबैसँग भेट्दथेँ । हो, निर्धन मानिस कुरा गर्दा धेरै नै ‘हजुर, हजुर’ गर्दछ, यो साँचो हो, तर हामीले उसलाई असहाय ठान्न दिनुहुन्न ।
म प्रधानमन्त्री हुँदा राजासँग बराबर भेट हुन्थ्यो । हरेक दिन त होइन, तर एकदिन बिराएर त भेट हुन्थ्यो नै । उनी बडो व्यस्त रहन्थे । मैले उनलाई भेट्नुपर्दा म सोझै उनको कोठामा टेलिफोन गर्नसक्दथेँ । ठुलठुला निर्णयहरू दिनुपर्दा म पहिले उनीसँग कुरा गर्दथेँ तर, दिनदिनको काम चलाउने कुराको म आफँै निर्णय गर्दथेँ । म उनीसँग, अन्य देशहरूसित दौत्य सम्बन्ध स्थापना गर्नुपर्ने आदिजस्ता विषयहरूमा निर्णय गर्नुपर्दा परामर्श गर्ने गर्दथेँ ।
त्यससमय राजाले सोझै राष्ट्रिय खजानामा हात हाल्न पाउँदैनथे । उनलाई मासिक भत्ता दिइन्थ्यो र त्योभन्दा बढी दिनुपर्दा मन्त्रिमण्डलले अनुमोदन गर्नुपर्दथ्यो । राजा महेन्द्रले गोकर्णको जङ्गल सरकारी सम्पत्ति भएको आधारमा त्यसको वरिपरि पर्खाल लगाउन पच्चीस हजार रूपैयाँ मागी पठाएँ । मेरो मन्त्रिमण्डलले त्यसलाई स्वीकृति दियो । त्यति रकमले त्यो काम गर्न नपुग्दा उनले फेरि बीस हजार मागी पठाएँ । हामीले त्यो पनि मान्यौँ । त्यतिले पनि पुगेन भनी उनले फेरि माग्दा अब त उनको शाही भत्ताबाट कट्टा हुने गरी मात्र दिनसकिने छ भनी पठाइदियौँ ।
प्रधानमन्त्रीत्वबाट राजीनामा
प्रधानमन्त्रीत्वबाट मेरो राजीनामाको कथा लामो छ । राजाले मैले निर्वाचन गर्ने व्यवस्था मिलाउन नसकेकोले मेरो सरकारलाई भङ्ग गर्नुपरेको हो भनी राजदरबारबाट जारी गरिएको रेडियो सूचनामा घोषणा गरे । तर मैले राजीनामा गरेको चार महिनापछि तिनीहरूले संविधानसभाको लागि होइन संसद्को लागि निर्वाचन गर्ने निर्णय गरेँ । मैले संविधानसभाको सट्टा संसद्को लागि निर्वाचन गराउन चाहेको भनी मलाई अक्सर बात लगाइन्छ । तर, म प्रभुसत्तासम्पन्न संसद्को पक्षमा थिएँ भन्ने कुरा स्पष्ट गर्न चाहन्छु । मैले निर्वाचनको लागि व्यवस्था मिलाउन नसकेकोले हो वा राजालाई नै निर्वाचन केको लागि गराउने भन्ने कुरा अप्ठ्यारो परेको हुँदा मलाई सत्ताबाट हटाइएको हो, त्यो बिलकुल प्रस्ट छैन । मतपेटीहरू बनाउन दिइसकिएका थिए, मतदाता–सूची तयार भइसकेका थिए र अन्य आवश्यक तयारीहरू पनि गरिसकिएका थिए । वास्तवमा मैले आमनिर्वाचन संविधानसभाको लागि हुनुहुँदैन भनेको थिएँ । तर, नेपाली काङ्ग्रेस मसँग सहमत भएन । राजा चुप लागेर बसे । मैले निर्वाचनबारे उनीसँग अनेकपटक कुरा गरेँ । तर, मैले उनीबाट कहिल्यै राम्रो प्रत्युत्तर पाइनँ । पहिला नै एकपटक मैले उनलाई भनेको थिएँ, “हेरिबक्स्योस् सरकार, हामीहरू त भारतीयहरूको मुट्ठीमा धेरै नै परिसकेका छौँ । हामीहरूले आफूलाई स्वतन्त्र गर्नुपरेको छ । यदि यस्तो गर्न सरकारलाई अप्ठेरो पर्दछ भने दुई वा तीन प्रधानमन्त्रीहरू अगाडि बढेर आउनुपर्दछ र बलिदान हुनुपर्दछ । त्यसकारण मैले नै परराष्ट्र नीति चलाउनुपर्दछ भन्ने लाग्छ मलाई । नमज्जाको कुनै कुरो भइदियो भने सरकारबाट मलाई जाऊ भनिबक्स्योस्, म गइदिनेछु ।” राजाले ठीक छ भने । अनि जब म आफैँले परराष्ट्र नीति चलाउन थालेँ । मैले चीनसँग सम्बन्ध बढाउने अग्रसरता लिएँ । हुन त चिनियाँ र हाम्रो सरकारले दौत्य सम्बन्ध स्थापना गर्ने भनी निर्णय गरिसकेका थिए, तर पनि तिनीहरूलाई औपचारिक रूप दिइसकिएको थिएन । म हाम्रो यो देशलाई संसारको लागि खुला गरूँ भन्ने चाहन्थेँ । मैले भारतका लागि अमेरिकी राजदूतलाई यहीँ आवासीय दूतावास खोल्न आमन्त्रण पनि गरेको थिएँ ।
त्यससमय चीनबाट एउटा महत्वपूर्ण प्रतिनिधिमण्डल हामीकहाँ आएको थियो । तिनीहरूले अब मेरो नाम चिरपरिचित मानिससँग जस्तै गरी लिने गरेकोले र मैले तिनीहरूसित मैत्रीपूर्ण सम्बन्ध बढाएकोले गर्दा राजदरबारले चिनियाँहरूलाई म त नगण्य व्यक्ति हुँ भनी देखाउन चाह्यो भने भारतीयहरूलाई के देखाउन चाह्यो भने चिनियाँहरू खालि मलाई भेट्न आएका हुन् र नेपाली जनता यसको विरोध गर्दछन् । त्यसैकारण राजदरबारले चामलको बजार भाउ धेरै बढ्यो भन्ने निहुँ पारेर राजाको आफ्नै निजी सचिव लोकदर्शनको घरमुनिबाट ठुलै जुलुस झिक्न लगायो । त्यतिबेला एकमोहर (पचास पैसा) मा आधा किलो चामल पाइन्थ्यो । भोलिपल्टै मैले के हुँदै छ भन्ने बुझिहालेँ र म सोझै राजदरबार गएर राजालाई भनेँ, “होइन सरकार, हजुरले म आफ्नो पद छाडिदिउँ भन्ने चाहिबक्सेको भए मलाई नै खुलस्त भनिदिबक्सेको भए भइहाल्थ्यो नि, म राजीनामा गरिहाल्दिनथेँ । यस्तो खालको प्रचारबाजीमा लाग्न सरकारलाई कुनै आवश्यकता नै छैन नि ¤” उनले भने, “ठीक छ, त्यसो भए राजीनामा गर्नोस् ।” म फर्केर साथीभाइहरूकहाँ आएँ र उनीहरूसँग सल्लाह गरेँ । त्यसको भोलिपल्ट मैले राजीनामा गरेँ ।
सरदार गञ्जमानले यसको सुइँको पाउनासाथ उनले मणिबाबुलाई (टङ्कप्रसाद लामो समयदेखिका मित्र र नेपाली दैनिक समाजका सम्पादक) आफ्नो घर बोलाएर सोधेछन्, “टङ्कप्रसादजी राजीनामा गर्दै हुनुहुन्छ रे भन्ने सुन्दैछु म । हुन त उहाँ र राजाबीच के कुरा भयो त्यो मत जान्दिन, तर राजाबाट नै उहाँलाई राजीनामा गर्न हुकुम भएको छ भने पनि उहाँले त्यसो गर्नु अहिले ठीक समय हैन । यसले देशलाई राम्रो गर्दैन, यसरी त देश झन् पछिल्तिर धकेलिनेछ । मणिबाबु, तपाईँ उहाँलाई सम्झाउन बुझाउन सक्नुहुन्छ कि ? कृपया उहाँलाई सम्झाउनुहोस् ।”
मणिबाबुले भनेछन्, “म उहाँलाई सम्झाउने बुझाउने कोशिश त गर्नेछु । तर उहाँले राजिनामा गर्ने निर्णय गरिसक्नुभएको छ भने त मेरो क्यै लाग्ने छैन नि ¤” गुञ्जमानले फेरि भनेछन्, “मणिबाबु, टंकप्रसादजीको राजीनामाबाट जुन दुष्परिणामहरू हुनेछन् तिनलाई तपाईँले आफ्नै आँखाले देख्नुहुनेछ । म त धेरैदिनको पाहुना होइन यस संसारमा । अनि मैले टंकप्रसादजीको राजिनामाको विरोध आफू पनि उहाँ सँगसँगै सरकारबाट हट्नुपर्ने भएको हुनाले डराएर गरेको होइन । मैले किन हुन्न भनेको भने यसबाट राजा र उहाँ दुवैजनाको भलो हुनेछैन । अहिलेको परिस्थिति कस्तो छ भने राजाले नै उहाँलाई पदभार छाड्न मर्जी हुन्छ भने पनि उहाँले मौसूफलाई सरकार, अहिलेको हकमा, मैले राजिनामा गर्नु मनासिब हुँदैन भनी बिन्ती गर्नुपर्दछ । यो सब तपाईँले पछि बुझ्नुहुनेछ । मैले तपाईँलाई यति कुरा बताउनको लागि भनेर नै दुःख दिएको हुँ, तपार्इँले अब के गर्न सक्नुहुन्छ, त्यो तपाई नै जान्नुहोस् ।”
पछि मणिबाबुसँग मैले गुञ्जमानबारे कुराकारी गर्दा मैले उनी (गुञ्जमान) मेरो पार्टीका सदस्य होइनन्, राजाबाट मनोनीत व्यक्ति हुन् तापनि मेरो सरकारमा उनले मलाई मेरो घनिष्टतम मित्र र सहयोगीहरूले भन्दा पनि बढी दह्रोसँग समर्थन गरेका थिए, मेरो पक्ष लिएका थिए भनी बताएँ । उनी देशभक्त थिए । हामीले चीनसँग दौत्य–सम्बन्ध स्थापना गर्न लाग्दा भारतीयहरूले चिनियाँहरूसँगको हाम्रो कुराकानीमा भारतीय प्रतिनिधिहरू पनि उपस्थिति हुनुपर्दछ भनी खबर पठाए । कसैले पनि त्यो प्रस्तावको विरूद्ध बोल्ने आँट गरेन, हरेक जना चुपचाप लागे । गुञ्जमानले नै सुरूमै त्यस्तो दबाबको प्रतिरोध गरे र भारतीयहरूलाई पस्न नदिनमा सफल पनि भए । हामीहरूले ती छलफलहरूमा भारतीयहरूलाई भाग लिन दिएको भए के परिणाम निस्कने थिए होलान् भन्ने कुरा त तपार्इँ धेरै आफैँ कल्पना गर्नसक्नुहुन्छ ।
भारतीयहरूले त म चिनियाँहरूपट्टि धेरै झुकेको छ भन्ठान्ने नै भए । यसरी राजालाई मेरो मन्त्रिमण्डल भङ्ग गर्न करै लाग्यो । उनले उनी नै मसँग सन्तुष्ट छैनन् भनी भारतीयहरूलाई देखाउन चाहे । त्यसैले उनलाई यी सब नाटक र खेल रच्नुपरेको थियो । मेरो सरकार २०१४ साल साउनमा भङ्ग भयो । राणाकाल पछि र पञ्चायती सरकारहरूभन्दा पहिले मेरो जति लामो सरकार अरु कसैले चलाउन सकेन । राजा त्रिभुवनले त मलाई महेन्द्रबारे “उसले तपाईँलाई पनि दुःख दिनेछ र आफूलाई पनि अप्ठेरोमा पार्नेछ, है” भनेकै थिए ।
मैले राजीनामा गरेको केही समयपछि हामीसमेत सम्मिलित भई सबै राजनीतिक पार्टीहरूले आम निर्वाचन छिट्टै गराइयोस् भनेर संयुक्तरूपमा विशाल भद्र अवज्ञा आन्दोलन चलाएका थियौँ । म प्रधानमन्त्री हुँदा मैले वीरगञ्जमा भाषण गर्दै हाम्रोजस्तो राजा भएको देशमा संविधानसभाको लागि होइन कि संसद्को लागि निर्वाचन हुनुपर्दछ भनेको थिएँ । संविधानसभाको निर्वाचन भयो भने त्यसले राजतन्त्रलाई उन्मूलन गरेको संविधान बनाउनेछ र नेपाललाई भारतमा गाभ्नेछ भन्ने ठूलो चिन्ता व्यक्त गरेको थिएँ । तिनताक नेपालमा भारतीय प्रभाव अत्यन्त बलियो थियो । विश्वेश्वरप्रसादले त मैले गरेको त्यो भाषणको विरूद्ध वीरगञ्जको एउटा अदालतमा नालिसै ठोके तर अदालतले हरेक जनलाई, चाहे ऊ पुरूष होस् वा महिला, आ–आफ्नो विचार राख्ने हक–अधिकार छ भनेर त्यो मुद्दा खारेज गरिदियो । पछि नेपाली काङ्ग्रेस आफैँले पनि निर्वाचन संसद्कै लागि हुनुपर्दछ भन्ने सिद्धान्तलाई मान्यो ।
स्रोत ः ज्युँदा सहिदहरु (जेम्स एफ. फिशर)
Leave a Reply