विजयको ७३ औँ वार्षिकोत्सव तथा पितृभूमि मुक्ति युद्धमा लडेका सैनिकहरूको सम्मानमा परेड
- श्रावण १३, २०८३
संरा अमेरिकाभरि यतिबेला आन्दोलन र प्रदर्शनको लहर उठेको छ । गएको मे २५ मा मेन्निसोटा राज्यको मिनियापोलिस सहरमा डेरेक चाओभिन नामका एक जना प्रहरी अधिकारीले ४६ वर्षका अफ्रिकी अमेरिकी नागरिक जोर्ज फ्लोडको घुँडाले घाँटी थिचेर निर्मम हत्या गरेपछि त्यसको विरोधमा अमेरिकाका अधिकांश सहरमा प्रदर्शनहरू भइरहेका छन् । प्रदर्शनकारीहरूले प्रहरी निर्ममताका साथै प्रशासनको रङभेदी, जातिभेदी र विदेशी आप्रवासीविरोधी दमनको विरोध गरेका छन् ।
संरा अमेरिकाको इतिहास फर्केर हेर्दा यस्तो खालका रङभेद र जातीय विभेद नयाँ विषय होइन । सबभन्दा बढी मानव अधिकार र प्रजातन्त्रको वकालत गर्ने त्यो देशमा हरेक दिन यस्ता विभेदका घटना हुने गरेका छन् । संरा अमेरिकाको नागरिक आन्दोलनको इतिहास नै यस्ता खालका रङभेद र जातीय विभेदविरोधी आन्दोलन हो । कोरोना भाइरसको महामारी व्यापक बन्दै गएसँगै त्यहाँ यस्ता खालका जातीय घृणा, विदेशीमाथिको आक्रमण, रङभेदी अपराध अचाक्ली बढेको छ । गोरा अहङ्कारवादी सङ्कीर्ण मानिसमात्र यस्ता विभेदमा संलग्न छैनन् । बरु राज्य स्वयम् यस्ता विभेदमा प्रत्यक्ष र खुलमखुला संलग्न हुने गरेको छ । यस्ता अपराध गर्ने कट्टरपन्थीहरूलाई राज्यले संरक्षण दिने गरेको छ ।
यो लेखमा हामी संरा अमेरिकामा अहिले पनि समाजको निकै गहिराइसम्म गएर बसेको विभेदविरुद्ध पेचिलो सङ्घर्ष गरेका एक जना नागरिक अभियन्ता मार्टिन लुथर किङ जुनियरको जीवन र योगदानबारे चर्चा गर्दै छौँ ।
किङको जन्म सन् १९२९ को जनवरी १५ मा भएको थियो । उनको बुबाको नाम माइकल किङ सिनियर र आमाको नाम अल्बर्टा विलियम्स किङ थियो । उनका बुबा एक जना मोही किसान थिए । सन् १९२६ मा उनको बुबाको विवाह अल्बर्टासँग भएको थियो । विवाहपश्चात् उनीहरू एट्लान्टाको अल्टबर्टाका पिताको घरमा बसाइ सरेका थिए ।
अल्बर्टाका पिता एउटा सानो चर्चका पादरी थिए । उनको निधनपश्चात् माइकल किङले उनको जिम्मेवारी सम्हाले । चर्चमा उनले आफ्नो जिम्मेवारी निकै राम्ररी पूरा गरे । जर्मन प्रोटेस्टेन्ट धार्मिक नेता मार्टिन लुथरबाट प्रभावित भएर उनले आफ्नो नाम बदलेर मार्टिन लुथर किङ सिनियर राखे । किङले पनि पिताको बाटो पछ्याउँदै आफ्नो नाम मार्टिन लुथर किङ जुनियर राखे । किङका एक जना दिदी र एक जना भाइ छन् ।
उनीहरूको बाल्यकाल सुखद् नै बितेको थियो । तथापि उनका पिता भने अनुशासन पालनामा निकै कडा थिए । आमा भने बुबाको अनुशासन र केटाकेटीका चाहना सन्तुलन गर्न पोख्त थिइन् ।
अमेरिकी समाज सुरुदेखि नै जातिवादी थियो । किङका पिताले आफ्ना छोराछोरीलाई जातीय विभेदबाट मुक्त बनाउन सुरुदेखि नै प्रयास गरेका थिए । तर, समाजमा गहिरो गरी बसेको विभेदबाट उनीहरूलाई निरपेक्ष राख्न सम्भव थिएन । किङका पिता जातीय विभेदलाई ईश्वरको अपमान मान्थे । उनी आफ्ना केटाकेटीलाई कुनै पनि वर्ग उच्च र कुनै पनि वर्ग नीच नहुने कुरा सिकाउँथे ।
पाँच वर्षको उमेरमा किङ एउटा सार्वजनिक विद्यालयमा भर्ना भए । बुकर टी वाशिङ्टन माविमा विद्यार्थी छँदा उनी अरु विद्यार्थीको तुलनामा अब्बल थिए । नौ र एघार कक्षा नै नपढी उनी सीधै मोरहाउस कलेजमा भर्ना भए । त्यत्तिबेला उनी १५ वर्षका थिए । आफ्ना साथीहरूबीच उनी निकै लोकप्रिय थिए ।
किङको परिवार धार्मिक परिवार थियो । परिवारको अधिकांश समय चर्च र प्रार्थनामा व्यतीत हुन्थ्यो । समयान्तरमा किङले आफ्नो परिवारले मान्दै आएको धर्ममाथि प्रश्न गर्न थाले । धार्मिक प्रार्थनाको नाममा अति भावुकता उनलाई मन पर्न छोडेको थियो । उनी क्रमशः धार्मिक प्रार्थनाबाट टाढा हुनथाले । त्यसले उनको बुबालाई दुःखी बनाएको थियो ।
सन् १९४८ मा उनले मोरहाउस कलेजबाट समाजशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरे । उनी आफ्नो कलेजको विद्यार्थी युनियनका सभापति निर्वाचित भएका थिए । कलेज जीवनमै उनको एक जना गोरी महिलासँग प्रेम सम्बन्ध भएको थियो । तर, उनीहरूको त्यो सम्बन्ध लामो समय टिकेन । मोरहाउस कलेजमा पढ्दाताका उनी बेन्जामिन ई मेसबाट प्रभावित बने । मेस जातीय समानताका पक्षपाती थिए । उनले नै किङमा सामाजिक परिवर्तन गर्न इसाई धर्ममा क्षमता भएको देखाइदिए । विद्यावारिधिको लागि उनी धेरै कलेज भौंतारिए । अन्ततः उनी बोस्टन कलेजमा भर्ना भए ।
बोस्टन कलेजमा पढ्दाताका उनको भेट कोरेटा स्कटसँग भयो । स्कट राम्रो गायिका र सङ्गीतकार थिइन् । सन् १९५३ मा उनीहरूको विवाह भयो । किङ र स्कटका चार सन्तान भए । किङले २५ वर्षको उमेरमा विद्यावारिधिको अध्ययन पूरा गरे ।
त्यहीबीच सन् १९५५ को मार्च २ मा मोन्टोमेरीमा एउटा घटना भयो । त्यहाँको एउटा सार्वजनिक गाडीमा पन्ध्र वर्षका किशोरी क्लाडेटी कोल्भिनले एक जना गोरा पुरुषको लागि सीटबाट उठ्न मानिनन् । त्यही अभियोगमा उनीलाई पक्राउ गरी जेल सजाय गरियो । त्यसको केही महिनापछि डिसेम्बर १ मा त्यस्तै घटना भयो । ४२ वर्षकी रोजा पार्क घर फर्किने क्रममा सार्वजनिक यातायातको मध्यतिर ‘काला’ हरूको लागि छुट्याएको खण्डको पहिलो सीटमा उनी बसिन् । केही स्टेसनपछि गाडीमा गोराहरूको लागि छुट्याएका सीट सबै भरिभराउ भए र केही गोरा यात्रुले बस्ने ठाउँ पाएनन् । चालकले काला यात्रुहरूलाई सीटबाट उठेर गोरा यात्रुलाई बस्न दिन भने । तीन जना काला यात्रुहरू त उठेर गोरालाई बस्न दिए । तर, रोजा भने उठिनन् । चालकले पटक–पटक आग्रह गर्दा पनि उनी सीटबाट उठ्न मानिनन् । दिनभरको कामले उनी निकै थाकेकी थिइन् । मोन्टोमेरीको कानुनअनुसार उनलाई पक्राउ गरियो । यस्तो विभेदको विरोधमा किङको नेतृत्वमा सार्वजनिक गाडी बहिष्कार आन्दोलन थालनी भयो । आन्दोलनको नेता चुनिएपछि उनले गरेको सुरुको भाषणमा भने, “हामीसँग विरोध गर्नुको कुनै विकल्प छैन । हामी धेरै वर्ष धैर्यवान भएर बस्यौँ ।”
किङको वाक् कलाले अलबामाको नागरिक अधिकार आन्दोलनले नयाँ ऊर्जा पायो । त्यो आन्दोलन ३८२ दिन चल्यो । कोही पनि काला जाति र आन्दोलनका समर्थकहरूले त्यो अवधिमा सार्वजनिक गाडीमा यात्रा गरेनन् । बरु पैदल हिँडेर आन्दोलनप्रति ऐक्यबद्धता जनाए ।
अफ्रिकी अमेरिकीहरूले काला जातिमाथिको यस्तो विभेद अमेरिकी संविधानविपरीत भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरे । सबै तहको अदालतमा विभेदको विरोधमा आदेश जारी भएपछि सार्वजनिक यातायातमा विभेदलाई कानुनी आधार प्रदान गरिएको कानुन नै खारेज गरियो । मोन्टोमेरीको आन्दोलनमा प्राप्त सफलताले उनीहरूलाई हौसला प्रदान ग¥यो । अफ्रिकी अमेरिकी नागरिक अधिकार पक्षधर नेताहरूले आन्दोलन अघि बढाउन एउटा राष्ट्रिय सङ्गठनको आवश्यकताबोध गरे । सन् १९५७ मा किङ, राल्फ अबुनाथीलगायत ६० जना अधिकारवादीहरू मिलेर दक्षिण क्रिस्चियन नेतृत्व सम्मेलन नामको सङ्गठन स्थापना गरे । सो सङ्गठनमार्फत काला जातिलाई पनि मताधिकार दिनुपर्ने आवाज उठाइयो । सन् १९५८ मा काला समुदायका मानिसहरूलाई पनि मतदातामा सूचिकृत गर्न माग गर्दै २० भन्दा बढी स्थानमा जनसभाहरू आयोजना गरियो । किङ ती सभाका मुख्य आकर्षण थिए ।
सन् १९५९ मा भारतीय स्वतन्त्रता आन्दोलनका नेता महात्मा गान्धीको अहिंसात्मक आन्दोलनबाट प्रभावित भएर गान्धीको जन्मथलोको किङले भ्रमण गरे । यसले अमेरिकी नागरिक अधिकारको लागि भएको सङ्घर्षको बाटो स्पष्ट भयो ।
सन् १९६० को अक्टोबर १९ मा किङसहित ७५ जना विद्यार्थीहरू स्थानीय एउटा सार्वजनिक पसलमा पसेर समान व्यवहारको लागि सङ्घर्ष गरे । त्यहाँबाट उनीसहित ३६ जना गिरफ्तार भए ।
किङको गिरफ्तारीले राष्ट्रपति पदका उम्मेदवार जोन अफ केनेडीको चुनावी अभियानमा पनि स्थान पायो । उनले किङकी श्रीमती कोरेटालाई फोन सम्पर्क गरी किङको आन्दोलनप्रति चासो व्यक्त गरे । सन् १९६३ मा किङको नेतृत्वमा अलाबामाको बिर्गिघम सहरमा प्रदर्शनको आयोजना गरियो । सो आन्दोलनमाथि प्रहरीको चर्को दमन भयो । उनीसहित धेरै समर्थकहरू पक्राउ गरे । जेलमा उनी चुप लागेर बसेनन् । उनले त्यहीबाट ‘बिर्गिघम जेलका चिट्ठी’ नामको चर्चित पुस्तक लेखे । सो पुस्तकमा उनले आफ्नो अहिंसावादी नागरिक आन्दोलनबारे चर्चा गरेका छन् ।
सन् १९६३ को अगस्ट २८ मा वाशिङ्टनमा दुई लाखभन्दा बढी मानिसको सहभागितामा ऐतिहासिक प्रदर्शन भएको थियो । सो प्रदर्शनमा किङले दिएको भाषण विश्वविख्यात बन्यो । आज पनि त्यो भाषणको मुक्तकण्ठले प्रशंसा हुने गरेको छ । लगातारको कठोर सङ्घर्षको परिणामस्वरुप अमेरिकी सरकारले कुनै पनि सार्वजनिक स्थानमा रङ र जातिको आधारमा कुनै पनि विभेदलाई गैरकानुनी घोषणा गरी नागरिक अधिकार कानुन, १९६४ पारित ग¥यो । त्यही वर्ष किङलाई नोबेल शान्ति पुरस्कारले सम्मानित पनि गरियो । सन् १९५५ देखि १९६० को सिङ्गो दसक अमेरिकी नागरिक आन्दोलनको सबभन्दा सघन र उथलपुथलमय कालखण्ड थियो । तथापि आन्दोलन भने टुङ्गिएको थिएन ।
अमेरिकी अनुदारवादी पक्ष किङलाई आफ्नो दुश्मन ठान्थे । उनीमाथि पटकपटक हमला भयो । राज्यसंयन्त्रसमेत काला जातिको नागरिक आन्दोलनप्रति सहिष्णु थिएन । सन् १९६५ को मार्च ७ मा सेल्मादेखि अलाबामाको राजधानी मोन्टेमेरीसम्मको नागरिक अधिकार पदयात्रा गरिएको थियो । सो पदयात्रा हिंसामा परिणत भयो । कैयौँ प्रदर्शनकारी घाइते भए । त्यो दिनलाई ‘रक्तपातपूर्ण आइतबार’ को नाम दिइयो । ६० को दसकमा यस्ता प्रदर्शन, प्रदर्शनमाथि निर्मम दमन, जेलनेल, सभा सम्मेलनको क्रम निरन्तर चालू रह्यो । ती सबै आन्दोलनले इतिहासको कालखण्डमा अफ्रिकाबाट दासको रूपमा अमेरिका ल्याइएका काला जातिका मानिसलाई नागरिकको अधिकारको सम्मान दिनुपर्ने अवस्था बन्दै गयो । तर, काला जातिलाई सधैँ दासको रूपमा मात्र हेर्ने गोरा समुदायभित्रका कट्टरपन्थीहरू किङलाई घृणा गर्थे । आन्दोलनलाई दबाउनुपर्ने मत राख्थे । उनीहरू आन्दोलन, आन्दोलनकारी र नेताहरूमाथि बारम्बार हमला गर्थे । सन् १९६८ को अप्रिल ३ मा किङले अर्को विख्यात भाषण गरे–म पहाडको उचाइमा छु । उनका हरेक भाषणले जस्तै यो भाषणले पनि उनका समर्थक र संसारका सबै न्यायप्रेमी जनतालाई उत्साहित बनाएको थियो । त्यसको भोलिपल्ट अप्रिल ४ मा किङ लोरेन नामको एउटा सानो पसलमा बस्दै गर्दा गोली प्रहार भयो । उनी मारिए ।
किङको हत्यालगत्तै अमेरिकाभरि आन्दोलन र प्रदर्शनको उभार उठ्यो । उनीमाथि गोली प्रहार गर्ने जेम्स अर्ल रे नामका अपराधीलाई ९९ वर्षको जेल सजाय फैसला भयो ।
किङको हत्यापछि अफ्रिकी अमेरिकीहरूले आफ्नो अधिकार आन्दोलनका नेता गुमाए । त्यसयता अफ्रिकी अमेरिकी समुदायबीच उनी जतिको लोकप्रिय र व्यापकता भएको नेतृत्व पाउन सकेको देखिँदैन । अमेरिकी अनुदार वर्गले काला समुदायबाट कोही पनि सशक्त नेतृत्व उठ्ने सम्भावना देख्नेबित्तिकै हत्या र दमनको बाटो अङ्गीकार गर्ने गरेको छ । बाराक ओबामालाई राष्ट्रपति पदमा निर्वाचित गरेर संसार र अमेरिकी जनतालाई अमेरिकी समाज प्रजातान्त्रिक, विभेदरहित र समानतामा आधारित भएको देखाउने प्रयास गरे पनि खासमा अझै पनि अमेरिकी समाज विभेदको पुरानो दीर्घरोगबाट मुक्त नभएको कुरा जोर्ज फ्लोडको हत्या र अहिले उठेको आन्दोलनबाट पुष्टि गर्दै छ ।
विभिन्न अनलाइन स्रोतमा आधारित
Leave a Reply