साम्राज्यवादीहरूको “छद्म युद्ध” अध्ययन ४०
- आश्विन १२, २०८३
कोरोना भाइरसको सङ्क्रमणबाट हुने कोभिड – १९ रोगले प्रायः सबैलाई मनोसामाजिकरूपमा गहिरो आघात पु¥याएको हो कि भन्ने लाग्छ । पत्रिका, रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमा दिनभरि कोरोनाकै समाचारहरू आएका हुन्छन् । परिवार, छरछिमेक र टोलबस्तीमा पनि कोरोनाबाहेक अरू छलफलको विषय बनिरहेको छैन । फोनमा जोसँग कुरा गरे पनि कोरोना त्रासबारे नै सोधिन्छ ।
बिहीबार बिहान सबेरै टेलिफोन बजिहाल्यो, “दाइ फलानोको घरमा बाहिरबाट ३ जना डेरा बस्न आएका छन् । हामी टोलबासीहरू तर्सियौँ ¤ के गर्ने ?”
भर्खरै डेरा बस्न आउनेहरूको नम्बर मागेर उनीहरूलाई कोरोना परीक्षणका लागि अस्पताल जान र रिपोर्ट नआउञ्जेल कोठाबाट ननिस्कन आग्रह गरेँ ।
फेरि फोन बज्यो, “दाइ मैले कोरोना परीक्षण गरेको ५ दिन भइसक्यो । अहिलेसम्म किन रिपोर्ट नआएको होला ?”
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको चाप अत्यधिक भएकोले रिपोर्ट आउन ढिलो भएको हुनसक्ने जानकारी दिँदै आफूले बुझेर खबर गर्ने जानकारी दिएँ ।
एकछिनमा तातोपानी पिउन खोज्दै थिएँ, फेरि फोनको घन्टी बज्यो, “होइन भाइ, प्रहरीले सिल गरेको ठाउँमा त मान्छेको ओहोरदोहोर बढेको छ नि ! त्रासपूर्ण समयमा पनि मान्छेहरू कति अटेरी भएका हँ ¤ त्यो क्षेत्रमा कडाइ गर्न प्रहरीलाई भन्नुप¥यो भाइ !”
उनलाई धन्यवाद दिँदै प्रहरीलाई यस विषयमा जानकारी गराएँ । फोन नउठाउन पनि भएन । यस्तो समयमा पनि जनप्रतिनिधिले फोन उठाएन भन्ला भन्ने डर ¤
केही समयपछि एकजना आफन्तको फोन आयो, “बाबू, मलाई त थाहै थिएन, तिमीलाई पनि कोरोना लाग्यो रे हो ? तिमीलाई पनि टेकु अस्पताल लग्यो भन्ने हल्ला छ । हामी त आत्तियौँ !”
कुरा सुनेर म आफैँ छक्क परेँ । कस्तो नचाहिने हल्ला फैलिँदो रहेछ ! आफूलाई केही नभएको र नआत्तिन आग्रह त गरँे तर अनावश्यक हल्लाले समाजमा दीर्घकालसम्म नकारात्मक असर पर्नसक्ने विषयमा सोच्न बाध्य भइयो ।
तातोपानी पिउँदै पत्रिका हेर्न थालेँ । फेरि फोन बज्यो । अहिले भने साँच्चै सङ्क्रमण भएर अस्पतालमा उपचाररत एकजना नगरवासीले फोन गर्नुभएको रहेछ । उहाँलाई केही समस्या भयो कि भन्ने लाग्यो । हुन त प्रत्येक दिन ३÷४ पटक हाम्रो कुराकानी भइरहेकै थियो । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र कुनै समस्या नभएको फोनर्वार्तामा उहाँबाट व्यक्त भइरहेको हुन्थ्यो । तथापि, अहिले फोन बज्नेबित्तिकै मनमा शङ्का उब्जिहाल्यो । फोन उठाएँ । हामीबीच सधैँझैँ सुरुमा सामान्य औपचारिकता पूरा गर्ने कुराकानी भयो ।
अन्य दिनको तुलनामा उहाँ फ्रेस भएको उहाँको बोलाइबाट प्रस्ट हुन्थ्यो । त्यसैले उहाँको स्वास्थ्यमा कुनै खराबी नभएको अनुमान गर्न गा¥हो भएन । कुराकानीको क्रममा उहाँले केही गम्भीर प्रसङ्ग उठाउनुभयो । जनप्रतिनिधिप्रतिको विश्वासले हुनुपर्छ, उहाँले आफ्नो भनाइ रेकर्ड गर्न र सर्वसाधारण जनतासम्म पु¥याउन आग्रहसमेत गर्नुभयो । त्यसैले आफ्नो दायित्व पूरा गर्न उहाँको भनाइको सार यहाँ उल्लेख गर्न चाहन्छु ः
“कोभिड रोगको सङ्क्रमणबारे समाचार आउन थालेको चार महिना भयो कि जस्तो लाग्छ । यो अवधिमा म उपत्यकाबाहिर कहीँ गएकी छैन, न त विदेशबाट वा उपत्यकाबाहिरबाट आउने कोहीसँग नै मेरो प्रत्यक्ष भेट भएको छ । नगरपालिकाको काममा सहयोग गरेको पनि त दुई महिना बित्यो !
शरीरमा रोगको कुनै लक्षण देखिएर वा शङ्का लागेर मैले परीक्षण गराएकी होइन । स्थानीय साथीसँग जाँदा आफ्नो पनि परीक्षण गराऊँ न त भन्ने लाग्यो र गराएँ । परीक्षणको रिपोर्ट आजसम्म मेरो हातमा परेको छैन । तर, परीक्षण गरेको तेस्रो दिन साँझ टेकु अस्पतालका डाक्टरको फोन आयो । डाक्टरले मेरो नमूना परीक्षणमा कोरोना देखियो भनेपछि म त आकासबाट खसेझैँ भएँ । रुनु न हाँस्नु भयो । मेरो आवाज लर्बरियो । तैपनि, पुनः ‘भेरिफाइ’ गर्न आग्रह गरेँ । उहाँले किटानीका साथ मेरो रिपोर्ट पोजेटिभ नै आएको हो भनेपछि मैले उहाँसँग थप जिज्ञासा राख्न सकिनँ । डाक्टरको फोनले परिवारका सबै सदस्यहरू आतङ्कित भए । म विकल्पविहीन थिएँ । मनमा अनेक कुरा खेल्न थाले । फेसबुकलगायत सामाजिक सञ्जालहरूमा कोभिडका बिरामीहरूको पीडादायी दृश्य हेरेको दिमागमा आउन थाल्यो । डरले शरीर काँप्न थाल्यो । परिवारका सदस्यहरू पनि आत्तिए, कोही रुन थाले । दिमागको एक कुनामा ‘अब सबै सकियो’ भन्ने जस्तो लाग्यो ।
आत्तिएर र रोएर त केही हुनेवाला थिएन ! सम्झाउने पनि कोही थिएनन् । जस्तोसुकै प्रतिकूल परिस्थितिको सामना गर्नेबाहेक अर्को उपाय थिएन । कुनै पनि बखत प्रहरीहरू घर आइपुग्छन् र आपूmलाई अस्पताल लगिन्छ भन्ने अनुमान गरेर अस्पताल जानपरेमा आवश्यक पर्ने लुगाफाटा, केही खानेकुरा, नियमित औषधी, पानी तताउने किट्ली र गिलास ठिक्क पारेँ । नभन्दै रातको साढे बा¥ह बजेतिर एम्बुलेन्ससहित प्रहरीहरू आइपुगे । प्रहरीको उपस्थितिले हामीलाई थप आतङ्कित बनाएको थियो । त्यसमाथि उनीहरूको पहिलो व्यवहारबाट नै म ‘अछूत’ भएँ । रोगको संवेदनशीलतालाई बेवास्ता गर्न मिल्दैन भन्नेमा म सतर्क थिएँ । तथापि, बिरामीप्रति गरिने व्यवहार त्यस्तो होइन कि भन्ने लाग्यो । त्यसमाथि कानुनको परिपालनाकै निम्ति खटिने प्रहरीबाट यस्तो व्यवहारको कल्पना पनि गर्न सकिँदैनथ्यो ।
मलाई पाटन अस्पतालमा लगिएको थियो । अस्पतालको भौतिक संरचना, कोठा तथा शौचालयको सरसफाइ, बेडको बन्दबस्त तथा नर्सहरूको हामीप्रति गरिने व्यवहारमा कुनै गुनासो छैन । त्यहाँको स्रोत साधन र वातावरणले दिएसम्म राम्रो गर्ने प्रयास गरिएको भन्ने लाग्छ । तर, अस्पतालमा उपचार भनेर केही गरेको पाइनँ । कसैको अवस्था गम्भीर भएमात्र डाक्टर आउने रहेछन् । अरूबेला नर्सहरू मात्र हामीसँगै रहन्थे । औषधी केही दिइएन । हुनेले बेसार, अलैँची, अदुवासहितको तातोपानी पिए, नहुनेले शुद्ध तातोपानी ।
अस्पतालमा म पुग्दा मसमेत १४ जना सङ्क्रमितहरू उपचारका लागि ल्याइएका थिए । सबैमा रोगप्रति चिन्ताभन्दा कोरोना परीक्षणको रिपोर्ट दिने सिस्टम र रोगीलाई समाजले हेर्ने दृष्टिकोणप्रति आक्रोश र असन्तुष्टि देखिन्थ्यो । कोरोना परीक्षणमा नेगेटिभ आएको रिपोर्ट हातमा भएर पनि डाक्टरले सङ्क्रमित भनेर अस्पताल ल्याएकोमा एकजना साथीको आक्रोश रहेछ ¤ उनी बर्बराउँदै थिए, “कि टेकुको परीक्षणमा समस्या छ, नभए डाक्टरले भूलवश मेरो नम्बरमा फोन गर्नुभयो । खै के खै के ? प्रहरी नै घरसम्म पुगेर एम्बुलेन्समा ल्याएपछि आफू सङ्क्रमित होइन कसरी भन्ने ?”
अर्की महिला आफ्नो बह पोख्दै थिइन्, “मलाई कोरोना लाग्यो भनेर घर परिवारलाई छिमेकीहरूले राम्रो व्यवहार गर्न छोडिसके । सान्त्वना दिनु त कता हो कता, फोनमा समेत परिवारका सदस्यहरूलाई सामाजिकरूपमा नपच्ने कुराहरू गर्न थाले भनेर घरका मान्छेले चित्त दुखाइरहेका छन् ।”
“फलाना त कोरोना सङ्क्रमित रे, नजिक नजानू भनेर फेसबुकमा भाइरल गर्दारहेछन् । नाम र पद नै किटेर सामाजिक सञ्जाल वा पत्रपत्रिकामा लेख्न पाइन्छ र भन्या ? व्यक्तिगत मानहानी भएन र ?” एकजना सङ्क्रमित स्वास्थ्यकर्मी जङ्गिदै थिइन्, “आफू र आफ्नो परिवार नभनी रातदिन बिरामीको सेवा गर्ने क्रममा हामीलाई पनि सङ्क्रमण हुनसक्छ भन्नेमा हामी सचेत छौँ । सचेत भएर काम गर्दा पनि मलाई सङ्क्रमण भयो । यसमा कुनै व्यक्तिलाई दोष दिनु गलत हुन्छ । तर, हामीजस्ता स्वास्थ्यकर्मीहरूको मनोबल गिर्ने ढङ्गबाट सामाजिक सञ्जालमा स्टाटस लेख्नु सही हो र ?”
पश्चिम नेपालका एक जना सङ्क्रमित युवाको पीडा अर्कै रहेछ । परीक्षणमा पोजेटिभ आएपछि प्रहरी र एम्बुलेन्स घरसम्म पुगेर यहाँ अस्पताल ल्याइएछ । अब उपचारपछि निको भएर घर फर्कन खोज्दा न कुनै गाडी भेटिन्छ, न त एम्बुलेन्सले नै लिएर जान मान्छ । उहाँ असन्तुष्टि पोख्दै हुनुहुथ्यो, “म कसरी घर पुग्ने ? उपचारपछि निको भएको व्यक्तिलाई पनि कोरोना सङ्क्रमित भनेर गाडीबाट घर लिएर जान मान्दैन बा ! कि मलाई यहीँ खुवाउने र सुताउने बन्दोबस्त गर्नुप¥यो, होइन भने घर त पु¥याइदिनु प¥यो नि ! गाउँमा सबै चिन्तित छन्, म यहाँ अलपत्र छु ।”
अस्पतालमा यस्तै कुराहरू सुनिन्छ । अस्पताल बस्दै गर्दाको मेरो नितान्त व्यक्तिगत अनुभव सुन्नुहुन्छ भने, कोभिड – १९ रोगको बारेमा जुन हल्ला गरिएको हो, यथार्थमा त्यस्तो लागेन । सङ्क्रमित भनिएका हामी कसैमा पनि जटिलता देखिएको छैन । यो रोगबाट बच्न व्यक्तिगत सरसफाइमा ध्यान दिने, तातोपानी पिउने, निश्चित सामाजिक दुरीमा रही काम गर्ने र खानपानमा ध्यान दिने नै हो । यसको एक अर्थ कोरोनाले हामीलाई सभ्य हुन सिकायो, पुर्खाले सिकाएका तर आधुनिकताको नाममा हामीले बिर्सदै गरेका हाम्रा संस्कारहरूलाई पुर्नताजगी गरायो ।
चीन, युरोप तथा अमेरिकामा कोरोना सङ्क्रमितहरूको दर्दनाक अवस्था हामीले समाचारहरूमा पढ्छौँ वा भिडियो हेर्छौंँ । नेपालमा बिरामीको अवस्था अहिलेसम्म त्यस्तो देखिएको छैन, देख्न पनि नपरोस् । तर, नेपालीहरू बन्दाबन्दीमा बसेको झण्डै ७० दिन पुग्न लागिसक्यो । विश्वविद्यालय, अनुसन्धान केन्द्र तथा अस्पतालमा कार्यरत आदरणीय नेपालीविज्ञ वैज्ञानिकहरूले यस विषयमा अध्ययन अनुसन्धान गरेको देखिएन । युरोप, अमेरिकामा देखिएको कोरोना भाइरस र नेपालमा भित्रिएको कोरोना भाइरस उही हो कि फरक हो, खै कसले अध्ययन गरेको छ ? मेरो अल्पज्ञानले नभ्याएको पनि हुनसक्छ । तर, सर्वसाधारण जनताले बुभ्mनेगरी यस्ता कुराहरू कहिले सुन्न पाउँछौँ ?
कोरोनाको त्रासमा हाम्रो सरकार बन्दाबन्दीको अवधि थपिरहने तर रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको कुनै उपाय अवलम्बन नगर्ने, परीक्षणलाई व्यापकता नदिने, क्वारेन्टिनको नाममा गोठभन्दा पनि गएगुज्रेको ठाउँमा मान्छे कोच्ने, अस्पतालको सङ्ख्या बढाउने वा भएका अस्पतालहरूमा सुविधा थप्नेमा पटक्कै ध्यान नदिने, यो त कुनै पनि कोणबाट मिलेन नि ¤ लामो समयसम्म बन्दाबन्दी हुँदा देशको अर्थतन्त्र डामाडोल भएको छ, उत्पादन शून्य बनेको छ, विकास निर्माण ठप्प छ, युवा शक्तिको दिमाग र क्षमतामा ¥हास आएको छ, मनोसामाजिकरूपमा दीर्घकालीन असर परेको छ । यसको क्षतिपूर्ति कसबाट र कसरी तिरिन्छ ? कोरोनाको त्रासमा हामीलाई घरभित्र थुनिएको छ, हाम्रो सिमानामा विदेशी सेनाको बुट बज्रिरहेको छ, अनि हाम्रो सरकार चाहिँ लकडाउन भनेर उँघिरहेको मात्र होइन मस्त निद्रामा सुतिरहेको छ !
मेरो नितान्त व्यक्तिगत तर्कसँग सबैजना सहमत हुनुपर्छ भन्ने छैन तर कहीँ न कहीँ यस विषयमा छलफल त हुनुपर्छ भन्ने मेरो भनाइ हो । अरू रोगका बिरामीजस्तै हामी पनि बिरामी हौँ तर हाम्रो विषयमा जुन ढङ्गबाट सामाजिक सञ्जाल वा पत्रपत्रिकामा प्रचार भइरहेको छ, यो गलत हो ।”
म आफ्नो मोबाइलमा रेकर्ड गर्दै थिएँ । थुप्रै दिनदेखि मनमा कुन्ठित भावना उहाँले आक्रोशपूर्ण ढङ्गबाट पोख्नुभयो । अलि बढी नै बोलेछु कि भन्ने लाग्यो होला, उहाँ अड्किनुभयो ।
“रोकिनुभयो त, आफ्नो कुरा राख्नुस्, म सुन्दै छु ।”
“धेरै दिनदेखि मनमा थुनिएको बाँध आज जनप्रतिनिधिको अगाडि निर्धक्कसँग खोलेकी छु । मेरो आशय यतिमात्र हो कि हामीजस्ता कोरोना पीडितहरूलाई हाम्रा आफन्त, समाज र देशले हेला नगरोस् । कोरोनालाई अगाडि सारेर देशलाई भड्खालोमा नजाकियोस् । युवा शक्तिलाई मृततुल्य नबनाइयोस् । यति नै हो मेरो कुरा ।”
Leave a Reply