भर्खरै :

शिक्षालय सञ्चालन कसरी ?

कोरोना भाइरस संसारकै एक डरलाग्दो रोग हो । यसले संसारलाई भयभित र आतङ्कित बनायो । संसारका जनता त्रसित भए । हुन पनि कोरोना भाइरसको कारण संसारका २१३ देश प्रभावित भए । रोगबाट लाखौँ सङ्क्रमित भए, लाखौँ मरे । फलतः संसार नै बन्दाबन्दी भयो । संसारका कलकारखाना, उद्योग, पसल, स्कूल, कलेज आदि बन्द भए । करोडौँ बेरोजगार भए । व्यापार–व्यवसाय बन्द भएर खर्बौं खरब आर्थिक घाटा भयो । जनजीवन कष्टकर बन्यो । व्यापार–व्यवसाय चौपट भयो । घाटा–नोक्सानको लेखाजोखा गरेर साध्य छैन । कोरोना भाइरस रोग अन्त्य भएर जनताले सन्तोषको सास फेरेपछि कुनै दिन हरेक देशको सरकारले त्यसको मूल्याङ्कन गर्नेछ र घाटा–नोक्सानको लेखाजोखा गर्नेछ । नेपाल पनि कोरोना भाइरसबाट एक प्रताडित देश हो ।
नेपालमा पनि कोरोना भाइरस सङ्क्रमितहरू देखिएपछि सरकारले लकडाउन जारी ग¥यो । सरकारले लकडाउन कुनै निश्चित स्थान र क्षेत्रमा नगरी देशैभरि ग¥यो । देशभरि नै लकडाउन गरेपछि उद्योग, कल–कारखाना, व्यापार–व्यवसाय, पसल, होटेल, रेष्टुराँ बन्द भयो । विद्यालय, कलेज र सरकारी तथा गैरसरकारी कार्यालय पनि बन्द भए । स्थल यातायातका साधन र हवाई यातायात पनि बन्द भए । फलतः मान्छेले काम पाएनन्, उनीहरू बेरोजगार भए । सर्वसाधारण जनतामा भोक, रोग र चिन्ता बढ्यो । त्यही चिन्ता, रोग र भोकले कति मरे । लकडाउनको म्याद थप्दै गयो । त्यो आवश्यक पनि थियो । तर, लकडाउन भएअनुसारको सरकारले खानपिनको व्यवस्था गर्न नसक्दा जनताको विरोध बढ्न थाल्यो । जनताले आक्रोश पोख्न थाले । लकडाउन गरेको महिनौँ बितिसक्दा पनि रोजी रोटीको व्यवस्था गर्न सकिएन ।
लकडाउन लम्ब्याएर पीडित जनताको समस्या समाधान गर्न नसकेपछि नेपाली जनता लकडाउनबाट आजित भए । लकडाउन लम्बिएसँगै समस्या सम्बोधन गर्नुपर्ने जनताको माग गलत होइन । जनताले प्रश्न गर्न थाले, कि लकडाउन खुकुलो बनाऊ कि त जनताको मर्का बुझेर काम गर । लकडाउनको समय बढाइरहने तर पिरमर्का नबुझ्ने काम भएन भन्ने जनगुनासो सही हो । लकडाउनको कारण दिनदिनैझैँ काम गरेर जीवन निर्वाह गर्ने श्रमिकहरूको समस्याझैँ निजी विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरूको हालत पनि त्यस्तै छ । विद्यालय कहिले खुल्ने होला र आफ्नो जोहो गर्ने अवसर मिल्ला भन्ने उनीहरूको उत्कट चाहना थियो ।
विद्यालय सञ्चालन गर्ने कुरा आएको छ । तर, कसरी सञ्चालन गर्ने ? विद्यालय सञ्चालन गर्दा सामाजिक दुरी कायम गर्ने कि नगर्ने ? सामाजिक दुरी कायम गर्न विद्यालयमा ठाउँ पुग्ला कि नपुग्ला ? लकडाउनका कारण स–साना निजी विद्यालयहरू समस्यामा परेका छन् । विद्यालयमा कार्यरत शिक्षक–शिक्षिका र कर्मचारीहरूलाई तलब खुवाउन सकिएको छैन । जेनतेन चलेका विद्यालयले तलब खुवाउने पनि कसरी ¤ हो, यतिबेला अनलाइन कक्षाको पनि धेरै चर्चा भयो । तर, सबै शिक्षक शिक्षिका र विद्यार्थीहरू त्यस प्रविधिमा दख्खल छन् कि छैनन् ? मनको लड्डू घ्यूसित खाएर कसरी पोष लाग्छ ?
स्कूल सञ्चालन गर्न विद्यालय र कलेज प्रशासनले कसरी हेर्ने हुन् ? शिक्षक सङ्घ सङ्गठन र अभिभावकहरूको प्रतिक्रिया के आउने हो ? अभिभावकहरू आफ्ना सन्तानलाई विद्यालय पठाउँछन् या पठाउँदैनन् ? कति विद्यार्थीहरू आ–आफ्नो जिल्लामा गइसकेका छन् । तिनीहरू फर्कन्छन् या फर्कदैनन् ? विद्यालय–विद्यालयमा कोरोना सङ्क्रमित विद्यार्थीहरू देखिन थाले के गर्ने ? विद्यालय सञ्चालनको क्रममा सबै विद्यार्थी र शिक्षकहरूको आरडीटी परीक्षण हुन्छ कि हुँदैन ? यस्तो कुनैखाले सेवा र सुविधा सरकारले बन्दोबस्त गर्दैन भने कतै कोरोना भाइरस विद्यालय विद्यालयमा प्रवेश गर्ने त होइन ? विद्यालय सञ्चालन नगरी पनि नहुने ¤ सञ्चालन गरे अप्ठेरो पनि पर्ने । हुन त कक्षा सञ्चालन नै गर्ने भएपछि त्यसको विकल्प नहुने होइन ।

One response to “शिक्षालय सञ्चालन कसरी ?”

  1. बाबुराम says:

    म चाहन्छु समाधान सहितको समस्या भयो भने उपयुक्त हुन्छ । समाधान सधै महान ब्यक्तिवाटमात्र आउछ भन्ने होईन समय र परिस्थितिले हर कोहिलाइ मास्टर बनाइराखेको हुन्छ। यस्तो समस्यामात्र दर्साउने लेखहरुलाइ प्राथमिकतामा कम राखिएमा उपयुक्त देख्छु म । लेखको कुनै निचोड छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *