भर्खरै :

मृत्युपछि मात्र कोरोना पुष्टि गर्दै जाने हो ?

नेपालमा कोरोना भाइरसको सङ्क्रमण सुरुमात्र हुँदा सरकारले कोरोना सङ्क्रमणसित जुझ्न र नियन्त्रण गर्न सरकार पूर्णतया तयार रहेको बताएको थियो । तर, अहिले जब भारतबाट नेपाली नागरिकहरूको स्वदेश फिर्तासँगै सङ्क्रमितको सङ्ख्या बढ्दै गयो सरकारको तयारीविहिनता छताछुल्ल भइरहेको छ । कोरोना सङ्क्रमण नियन्त्रणको नाममा केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्ममा अरबौंँ रुपैयाँ खर्च भइसकेको देखिन्छ तर व्यवस्थापन भने भताभुङ्ग नै देखापरेको छ । कहाँ कहाँ कति कति अनियमितता र भ्रष्टाचार भए अहिले भन्न सकिने स्थिति छैन तर आज देखिएको अव्यवस्थाले रोग नियन्त्रणको नाममा मौकामा चौका हानेका छन् भन्न गा¥हो पनि छैन । सङ्क्रमण फैलिएका प्रदेश नं. २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आइसोलेसन वार्ड र बेडको कमी भएका समाचार जिल्ला–जिल्लाबाट आइरहेका छन् । कर्णालीलगायत केही प्रदेश सरकारहरूले त अब सक्दैनौं भनी हातै उठाइसकेका छन् । सरकारले हरेक प्रदेशमा पीसीआर परीक्षणको व्यवस्था गरेको बताए पनि आवश्यक जनशक्ति परिचालन गर्न नसक्दा प्रदेशस्तरीय प्रयोगशालाबाट चित्तबुझ्दो किसिमको परीक्षण र रिपोर्ट आउन सकिरहेको छैन । पीसीआर परीक्षणको पनि पुनः परीक्षणको लागि पुनः जनस्वास्थ्य प्रयोगशाला टेकुकै जिम्मामा आइपुगेको छ । त्यहाँ पनि मेसिन र आवश्यक जति जनशक्ति नभएकोले परीक्षण हुन र रिपोर्ट आउन नै हप्तादिनजस्तै लागिरहेको छ । तीन हजारको सङ्ख्यामा स्वाब परीक्षणको लागि लाइनमा रहेको खबर आएको छ । यस्तो अव्यवस्थाले एकातिर समयमै परीक्षण र रिपोर्ट नआउँदा आवश्यक उपचार थालनी नभइकनै बिरामीको ज्यान गइरहेको छ भने अर्कोतिर परीक्षण र रिपोर्टमै गडबडी हुने सम्भावना बढ्ने हुन्छ । अब देशैभरबाट प्रश्न उठ्न थालेको छ, के नेपालमा बिरामीको मृत्युपछिमात्र कोरोना परीक्षण गर्ने र पुष्टि गर्दै जाने हो ? होइन भने केन्द्र र प्रदेश सरकारले तदारुकतासाथ कोरोना सङ्क्रमित नेपालीको समयमै उपचारमा ध्यान दिनुप¥यो । पीसीआर परीक्षणका लागि आवश्यक किट, रसायन र मेसिन तथा जनशक्तिको अभाव कसरी टार्ने ? समयमै सोचविचार गरी पहल गर्नुप¥यो । समस्या समाधान गर्न तयार दाबी गर्ने सरकारले जिल्ला–जिल्ला र स्थानीय तहसम्मको अवस्था निगरानी गरी आवश्यक बन्दोबस्त गर्नुप¥यो । –

Leave a Reply

Your email address will not be published. Required fields are marked *