भर्खरै :

लकडाउनमा कडाइ गर्ने कि खुकुलो पार्ने !

विदेशबाट नेपाल छिरेका नेपाली नागरिकहरूको स्वास्थ्य परीक्षण गर्न नसकेको कारण देशमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढेकोमा शङ्का छैन । स्वास्थ्य परीक्षण नगरी बाहिरी मुलुकबाट नेपालीहरू जिल्ला–जिल्लामा पसेपछि सङ्क्रमितहरूको सङ्ख्या बढेको हो । सङ्क्रमितहरूको सङ्ख्या बढेको आधारमा लकडाउन खुकुलो गर्न नहुने हो । तर, लकडाउनसँगै सरकारले सर्वसाधारणको जोहो गर्न सकेन । आ–आफ्नो नियमित पेशा या काम गरेर जीवन जोहो गर्नेहरूको मर्का सरकारले सम्बोधन गर्न नसकेपछि मर्कामा परेका नागरिकहरूले आ–आफ्नो काम या पेशा थालनी गर्नु अस्वाभाविक होइन ।
गाडी, पसल, उद्योग, कारखाना र यातायातका साधनहरू स्वतःस्फूर्त रूपमा चल्न थालेपछि लकडाउन खुकुलो बनाउनुपर्ने तर्क पनि आयो । सरकारले लकडाउनको कुनै विकल्प नदिई लकडाउनको समयमात्र थपेर सङ्क्रमितहरूको सङ्ख्या नघटेको चर्चा पनि भयो । निर्माण व्यवसायी, उद्योग व्यवसायी, पसले तथा व्यापारीहरूको मन्त्रीहरूप्रति दबाब बढ्यो । यसकारण मन्त्रीहरू जनताको कष्टकर जीवनको ख्याल गरी लकडाउन खुकुलो गर्ने पक्षमा देखिएका छन् । तर, प्रम ओली लकडाउनलाई अझै कडाइ गरेर निरन्तरता दिनुपर्ने पक्षमा छन् । यसरी प्रम र मन्त्रीहरूबीच लकडाउन कडाइ पार्ने या खुकुलो बनाउने सन्दर्भमा मत–मतान्तर देखिए । सायद मन्त्रीहरूको त्यही दबाबले प्रम ओलीले लकडाउन खुकुलो पार्ने सन्दर्भमा विज्ञहरूसँग परामर्श लिन थालेका छन् ।
सरकारले विदेशबाट नेपाल पसेका नेपालीहरूको स्वास्थ्य परीक्षण गर्न नसकेको यथार्थ हो । व्यवस्थित क्वारेन्टिन र आइसोलेसनको व्यवस्था गर्न नसकेको हो । औषधिउपचार गर्न नसकेको हो । लकडाउन गर्दा एक व्यक्ति र अर्को व्यक्तिबीच घुलमिल हुँदैन । यसले कोरोना छिट्टै सर्न पाउँदैन । तर, लकडाउनको समयमात्र थपेर त्यसबाट आउने कुनै समस्या या चुनौतीको सम्बोधन गर्दैन भने समस्या एकपछि अर्को बल्झिँदै जानेछ । अनि लकडाउन गर्नु र नगर्नुको के अर्थ रह्यो ? लकडाउन गरे पनि आखिर सङ्क्रमितको सङ्ख्या बढेको बढेकै छ । रोगको सङ्क्रमित सङ्ख्या पनि बढ्ने, भोक, शोक र चिन्ताले पीडामाथि पीडा बढ्दै गएपछि श्रम गरेर जोहो गर्नुपर्ने नागरिकहरू आ–आफ्नो पेशा र काममा किन जुट्दैनन् भन्ने अभिमत पनि छ ।
अर्थतन्त्र ठुलो कि ज्यान ठुलो भन्ने प्रश्न पनि तेर्सिएको छ । लकडाउन खुकुलो बनाएर राष्ट्र र जनताको जोखिम मोल्ने काम सरकारले गर्न नहुने अर्को अभिमत छ । खान नपाएर या भोक, रोग र चिन्ताले मर्नेहरूको सङ्ख्या बढेको स्थिति हेर्दा सामाजिक दुरी कायम गरेर काम नगरी नहुने बाध्यताले लकडाउन खुकुलो बनाउनुपर्ने तर्क पनि छ । राज्यले जनताको जीवन सुनिश्चित गर्न नसकेको कारण यतिबेला लकडाउन कडाइ गर्दै जाने या खुकुलो पार्दै लाने विषयमा बहसै भइरहेको छ, विचार–विमर्श भइरहेको छ । वादे वादे जायते तत्व बोध भनेझैँ यस्तै विचार–विमर्श या अन्तरक्रियाले नै सही निष्कर्ष आउने जनताको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *