भर्खरै :

भक्तपुरको सडकमा वृक्षरोपण नै नगरी ७५ लाखको बिल पेश

भक्तपुर, २२ जेठ । कोरोना महामारीको सङ्कटमा पनि भ्रष्टाचार कुन रूपमा मौलाउँदै गएको छ भन्ने एउटा दृष्टान्त बनेको छ, भक्तपुरको राधेराधे चोकदेखि सूर्यविनायक चोकसम्मको सडक खण्डमा भएको वृक्षरोपण कार्यक्रम । यस भ्रष्टाचार काण्डमा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापासँगको मिलेमतोमा भक्तपुर क्षेत्र नं. २ सांसद् एवं पूर्व मन्त्री महेश बस्नेतले करिब ७५ लाख रूपैयाँ घोटाला गर्ने प्रपञ्च रचेको खुलासा भएको छ ।
सांसद् बस्नेतको योजनाबमोजिम वृक्षरोपण नै नगरी फर्जी कामदार र बिरूवाको बिल बनाएर वन तथा वातावरण मन्त्रालयको वातावरण विभागबाट ७५ लाख रूपैयाँको भुक्तानीको माग गरिएको स्रोतले बतायो । यो काण्डमा मेयर थापाले उपभोक्ता समितिमार्फत फर्जी कामदारको बिल र गौतम नर्सरीलाई सप्लायर बनाएर भ्रष्टाचार गर्ने प्रपञ्च रचिएको स्रोतका दाबी छ । राधेराधे चोकदेखि सूर्यविनायक चोकसम्मको हरियाली खण्डमा बिरूवा रोपेको र माटो फिलिङ गरेको बिल पेश गरिएको स्रोतले बतायो ।
भक्तपुर जिल्लाको ६ लेनको नमुना सडकको राधेराधे चोकदेखि सूर्यविनायकसम्मको दुरी जम्मा ३ कि.मि. रहेको छ । सडक निर्माणपश्चात् सडकको बीचमा करिब २.५ मिटर हरियाली खण्ड छ । त्यस खण्डमा योभन्दा पहिला पनि फूल, रूख, बिरूवा, दुबो रोपिएको थियो । पहिला रोपिएको बिरूवाको बीचबीचमा सानो बिरूवा पुनः रोपेर, पहिला नै फिलिङ्ग गरिएको माटो फिलिङ्ग भन्दै र झार गोडेर करिब २०० बिरूवा पुनः रोपण गरेको देखाएर बन मन्त्रालयको वातावरण विभागसँग ७५ लाख रूपैयाँ भुक्तानी माग गरिएको स्रोतको दाबी छ ।
सूर्यविनायक नगरपालिकाका एक जनप्रतिनिधिका अनुसार बस्नेतले नगर प्रमुख थापालाई प्रलोभन र दबाब दिएर उपभोक्ता समिति बनाएर भक्तपुरकै लोकन्थलीको गौतम नर्सरीबाट बिरूवा खरिद गरेको फर्जी बिल बनाई बिरूवा रोप्ने कामदारको समेत डोर हाजिरी फर्जी तयार गरी भुक्तानी माग गरिएको हो । गौतम नर्सरीलाई बिरूवा सप्लायरको कार्यक्रम काम दिएबापत लाभ लिन लकडाउनकै बखत पनि महेश बस्नेत नर्सरी धाएको र त्यहाँबाट आफूले पाउने कमिसन भुक्तानी लिन वातावरण विभागमा समेत दबाब दिएको स्थानीय प्रतिनिधिले नाम नलेख्ने सर्तमा भने । बिरूवाको प्रकार हेर्दा ज्यादा कपुरको बिरूवा रहेका छन् । जबकि कपुरको बिरूवा जिल्ला बन कार्यालयबाट उपभोक्ता समितिलाई निःशुल्क वितरण गरिन्छ ।
बस्नेतले उपभोक्ता समितिमा रहेका आफ्ना कार्यकर्तालाई उपयोग गरी फर्जी डोर बिल र डोर हाजिर बनाउन लगाएको र नगर प्रमुख पनि बस्नेतको दबाबमा चुपचाप सदर गर्न राजी भएपछि यो भ्रष्टाचार काण्डले मूर्तरूप पाउन लागेको हो । “कर्मचारीले बोले सरूवाको धम्की आउँछ”, सूर्यविनायक नगरपालिकाका एक कर्मचारीले भने, “यो विषय अख्यितयार दुरूपयोग अनुसन्धान आयोगमा समेत पुगिसकेको तर अख्तियारले हालसम्म कुनै चासो दिएको छैन ।”
वृक्षरोपणको नाममा भएको भ्रष्टाचारबारे पछिल्लो समयमा स्थानीयले पनि प्रश्न उठाउन थालेका छन् । “जति काम भएको छ, डोर लागत हेर्ने काम कति भयो ? विषय विज्ञको छानबिन र बिरूवा विज्ञको सिफारिसमा होस् । लकडाउनले आक्रान्त नेपालीको रगत–पसिनामा आफूले छाक कटाएर तिरेको करको पैसा कोही सांसद वा नगर प्रमुखको कमिसन नबनोस् ।” एक स्थानीयवासीले आफ्नो नाम नलेखी दिने सर्तमा भन्नुभयो । “झार गोड्न, कपुरको बिरूवा र केही फूल रोप्न त ४.५ लाख भए पुग्थ्यो होला, यहाँ त कार्यकर्तालाई उपभोक्ता बनाएर ब्रह्मलुट नै मच्चाउने भए”, राधेराधेका एक स्थानीयले भने ।
(देशान्तर २२ जेठ २०७७, बिहीबार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *