जेलका चिट्ठीहरू पुस्तक धेरैभन्दा धेरै पाठकहरूको मनसम्म पुग्न सफल होस्
- श्रावण २, २०८३
(ख्वप कलेज, वातावरण विज्ञान सङ्काय, स्नातकोत्तर तथा स्नातक तहका विद्यार्थीको विचार)
पहिलो र अन्तिम पुस्ता
सरस्वती केसी
प्रत्येक वर्ष जून ५ को दिन विश्व वातावरण दिवस मनाइन्छ । सन् १९७४ बाट विश्व वातावरण दिवस मनाउन थालिएको हो । पृथ्वी र वातावरणसम्बन्धी बहसहरू चलाउन दिवस एउटा महत्वपूर्ण अवसर बनेको छ । यो दिन हरेक वर्ष वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था युनाइटेड नेसन इन्भाइरोमेन्ट प्रोगाम (यूएनएपी) ले वातावरणसँग सम्बन्धित रहेर विविध कार्यक्रमहरू आयोजना गर्दछ । विश्वका १४३ भन्दा बढी देशहरूमा बर्सेनि विभिन्न विषय (थिम) लिएर यो दिवस मनाइन्छ । यो वर्ष ‘जैविक विविधता दिवस मनाऔँ’ (सेलेब्रेट बायोडात्र्सिटी) भन्ने थिमका साथ कोलम्बियाले विश्वस्तरको कार्यक्रम आयोजना गर्दै छ ।
विश्व वातावरण दिवस ‘पिपुल्स डे’ को रूपमा पनि चिनिन्छ । यो दिन वातावरणबारे जनचेतना फैलाउने दिन हो । यो दिनलाई वातावरणको समस्या तथा चुनौती र समाधानप्रति विश्वका राजनीतिज्ञहरूको ध्यान केन्द्रित गर्ने र उपयुक्त कदम चाल्नको लागि उत्प्रेरणा प्रदान गर्ने अवसरको रूपमा लिइन्छ ।
वायु तथा जल प्रदूषण बढ्नु, ओजन तहमा प्वाल पर्नु, पृथ्वीको औसत तापक्रममा वृद्धिलगायत असरहरू संसारमा बढ्दै गएको देखिन्छ । फलस्वरूप मानिसलगायत जीवजन्तु, पशुपन्छी र बोटबिरुवाको अस्तित्व सङ्कटमा परेको छ । अर्कोतिर कैयौँ दुर्लभ जीवजन्तु, वनस्पति र पशुपछी लोप भइसकेका छन् । कैयौँ लोप हुने अवस्थामा पुगेका छन् । पृथ्वीमा रहेका जीवहरूको जीवन संरक्षण गर्न वातावरण दिवस महत्वपूर्ण छ । अगाडिका वर्षमा विभिन्न देशमा विभिन्न कार्यक्रमहरू जस्तै सडक ¥याली, वृक्षरोपन कार्यक्रम, जनचेतनामूलक कार्यक्रम, सरसफाइ अभियान चलाएर मनाउने गरिन्थ्यो । यसपालि कोभिड–१९ को महामारीको कारण यसो गर्नु सम्भव भएन ।
पृथ्वी अहिलेको पुस्ताको मात्र नभई आउँदा धेरै पुस्ताको पनि साझा धरोहर भएको हुँदा यस पुस्ताले वातावरण संरक्षणलाई प्राथमिकता दिनु आवश्यक छ । हाम्रो पुस्ता वातावरण परिवर्तन भएको महसुस गर्ने पहिलो पुस्ता र त्यसको समाधानको लागि आवश्यक कदम चाल्न सक्ने अन्तिम पुस्ता हो । अतः हामी सबै जना मिलौँ, प्रकृतिको लागि समय निकालौँ र वातावरण संरक्षणमा प्रतिबद्ध बनौँ ।
वातावरण संरक्षण अभियन्ताको स्मरण
यसश्वी भोछिभ्वय
“मानिसहरू मर्दै छन्, सम्पूर्ण पारिस्थितिक पद्धतिहरू खतरामा छ । हामी सबै एक ठुलो विनाशको सुरुवाती अवस्थामा छौँ । तपाईंहरू केवल पैसा र काल्पनिक आर्थिक विकासको बारेमा कुरा गर्नुहुन्छ । तपाईंहरूको हिम्मत कसरी भयो ? करिब ३० वर्षदेखि विज्ञानले स्पष्टसँग चेतावनी दिइरहेको छ । तर पनि तपाईंहरूलाई कसरी हिम्मत भयो कि यो सभामा आएर हामीहरू धेरै काम गरिरहेका छौँ भन्नको लागि ?’’
प्रस्तुत विचार चर्चित जलवायु संरक्षण अभियन्ता ग्रेटा थनवर्गको हो । टाइम पत्रिकाको सन् २०१९ की वर्ष व्यक्ति १७ वर्षीया यी स्विडिस बालिकाले जलवायु परिवर्तन र यसका असरबारे विश्वमा आवाज उठाउँदै आइरहेकी छन् । टाइमको इतिहासमा पहिलोपटक सबैभन्दा कम उमेरको व्यक्तिलाई वर्ष व्यक्ति घोषणा गरिएको हो । थनवर्गको जन्म सन् २००३ मा स्विडेनमा भएको थियो ।
जलवायु परिवर्तनको समस्याको सम्बोधनको निम्ति उनले सन् २०१८ मा ‘फ्राइडे फर फ्युचर’ अर्थात् ‘भविष्यको निम्ति शुक्रबार’ नामको अभियान चलाइन् । उनले जलवायुको निम्ति विद्यालय हड्तालको नारा दिइन् । उनी हरेक शुक्रबारको दिन विद्यार्थीलाई सडकमा उतार्थिन् । ग्रेटा आफैँ मस्तिष्कसम्बन्धी एक रोग एस्परगर सिन्ड्रोमबाट पीडित छिन् । यो रोगमा सामाजिक अन्तरक्रियामा समस्या भए पनि बुद्धि र भाषा विकासमा खास असर पर्दैन । कुनै एक विषयमा गहिरो ध्यान हुने एस्परगर सिन्ड्रोमका पीडित थनवर्गको ध्यान वातावरणमा केन्द्रित भयो । वातावरण संरक्षणको निम्ति उनले हवाईजहाइसमेत चढ्न छोडिन् । उनी सांसदहरूलाई सम्बोधन गर्दै जलवायु परिवर्तनबारे ध्यानाकर्षण गर्न थालिन् । स्विडेनको निर्वाचनको विषय बनाइन् । शुक्रबारे प्रदर्शनमा सहभागी हुँदा उनले विद्यालयसमेत छोड्नुपथ्र्यो । उनले त्यसलाई वातावरणको निम्ति विद्यालय हड्ताल भन्थिन् । यसले विश्वका विद्यार्थीको ध्यानाकर्षण भयो । उनले विश्व आर्थिक सम्मेलनमा भाषण दिन पुगिन् । युरोपेली संसद्लाई सम्बोधन गरिन् । एवम्रितले विभिन्न देशका संसद्मा मन्तव्य दिन पुगिन् ।
लकडाउनले स्वच्छ हावा दियो
रीता मलेकार
कोरोना भाइरस सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले संसारका सबैजसो देश बन्दाबन्दी (लकडाउन) मा छ । सर्वसाधारणलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएपछि संसारभरको वायु प्रदूषणको मात्रा घटेको पाइन्छ । यसैबीच नेपालको काठमाडौँ उपत्यकासहित देशभर प्रदूषण घटेको अनुभव गर्न सकिन्छ । किनभने उद्योग तथा कलकारखाना बन्द छन् । अत्यावश्यकबाहेकका सवारी साधन गुड्न पनि प्रतिबन्ध लगाइएको छ ।
हरेक नकारात्मक पक्षका सकारात्मक पाटो हुन्छ भनेझैँ धुलो, धुवाँ, विभिन्न हानिकारक ग्यासहरूले गर्दा ‘रेड जोन’ मा रहने काठमाडौँ ‘लकडाउन’ पछि ‘ग्रीन जोन’ मा परेको खबरले स्वाभाविकरूपमा उपत्यकावासी खुसी छन् ।
नेपाल सरकारको वातावरण संरक्षण नियमावलीले तयार पारेको वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्डले निर्धारण गरेअनुसार नै वायुको गुणस्तरमा सुधार भएको विज्ञले बताएको सुन्न पाउँदा सबैलाई उत्साहित बनाएको पाइन्छ ।
यसको अर्थ लकडाउन चालू रहोस् भन्ने होइन । तर, ताजा तथा स्वच्छ हावामा सास फेर्न पाउनु मानिसको अधिकार हो । त्यसको निम्ति आवश्यक नीति निर्माण गर्नु राज्यको दायित्व हो । सहरमा अत्यधिक जनघनत्व हुनु, डिजेल तथा पेट्रोलको गाडीको प्रयोग बढ्नु, वायु प्रदूषण गर्ने उद्योग तथा कलकारखाना सहरी क्षेत्रमै केन्द्रित हुनुले पनि काठमाडौँको वायु प्रदूषण बढाएको छ । विद्युतीय गाडीको प्रयोगलाई प्राथमिकता दिने हो भने पनि वायु प्रदूषण नियन्त्रण हुनेछ ।
साइकल सिटी होस्
सुस्मिता अर्याल
कोभिड–१९ को मारमा सबैजना छन् । श्वासप्रश्वासबाट सर्ने रोग भएकोले अब भीडभाडमा हिँड्न मिल्दैन । सार्वजनिक गाडीमा यात्रा गर्नु अब सामान्य मानिसको निम्ति चुनौती हुन्छ । रोग सर्ने डरले मानिसले सार्वजनिक गाडी नचढी निजी गाडी खोज्ने सम्भावना छ । सक्नेले निजी गाडी किन्लान्, नसक्नेले के गर्लान् ? कम्तीमा मोटरसाइकल किन्ने सुर गर्ने मानिस धेरै आउलान् । त्यसै त काठमाडौँ पेट्रोल तथा डिजेल गाडीका धुँवाको कारण निस्सासिइरहेको अवस्था छ, थप निजी गाडी बढ्दा हालत के होला ? यसबारे अब सोच्ने बेला आएको छ ।
साइकल एउटा विकल्प हुनसक्छ । साइकलले वायु प्रदूषणमात्र रोक्दैन, देशको पैसा पनि विदेशिन रोकिन्छ । वायु प्रदूषणको कारण हुने रोगबाट बच्छन्, मानिस । औषधिमा खर्च हुन रोक्छ । त्यसमा पनि साइकल चलाउँदा शारीरिक व्यायाम हुन्छ । मानिस थप स्वस्थ हुन्छन् ।
काठमाडौँमा कहाँ पो चलाउनु साइकल ? यो मुख्य समस्या हो । त्यसको निम्ति साइकल लेन बनाउनु आवश्यक छ । फराकिलो सडकमा कम्तीमा दुई लेन साइकलको निम्ति छुट्याउनु आवश्यक छ । साइकल चलाउन मानिसलाई उत्साहित गर्ने काम सरकारले गर्नु आवश्यक छ । सरकारले सहुलियत दरमा साइकल बिक्री गर्ने बन्दोबस्त गर्नु आवश्यक छ ।
Leave a Reply