भर्खरै :

सामाजिक सुरक्षाबारे ख्याल गरौँ

सामाजिक सुरक्षाको सतर्कता अपनाएर पसल खोल्नु अन्यथा होइन । तर, सरकारले लकडाउन जारी गर्दा गर्दै व्यवसायी महासङ्घले पसल खोल्न पसल व्यवसायीहरूलाई निर्देश गर्नु सरकारी निर्णय उल्लङ्घन गर्नु हो । बरू पसल व्यवसायीहरूको पिर–मर्का बुझेर व्यवसायी महासङ्घले लकडाउनबारे विकल्प सोच्न सरकारको ध्यानाकर्षण गर्नुपर्ने हो, सरकारसमक्ष माग पेश गर्नुपर्ने हो । सरकारसमक्ष माग पेश नगर्दै आफूखुसी पसल खोल्न निर्देश गर्दा यसले जनतामा नराम्रो सन्देश जानेछ । पसलको बहाल तिरेर, ऋण काढेर पसल थापेका स–साना पसले तथा व्यापारीहरूको मर्का आफ्नो ठाउँमा छ । त्यसो त आफ्ना पीडा कसैले नबुझेपछि उनीहरूले विकल्प सोच्नु अन्यथा होइन । राज्यले पसल व्यवसायको मर्का बुझेन । उनीहरूले रहरले होइन बाध्यता भएर पसल खोलेको बताए । तर, हरेक नागरिक राज्यको दायरामा रहनुपर्छ, राज्यको निर्णय मान्नुपर्छ । लकडाउनको बेवास्ता गरेर राज्यलाई चुनौती दिनु न्यायोचित होइन । लकडाउन नै कोरोना भाइरसबाट मुक्त हुने उपाय ठानेर त्यसबाट आउने परिणाम या समस्याबारे बेवास्ता गर्नु राज्यको कमजोरी हो । सरकारको बेवास्ताको कारण लकडाउन भए पनि आखिर कोरोना भाइरस सङ्क्रमितहरूको सङ्ख्या बढेको बढेकै छ । यसको दोष कसलाई दिने ? लकडाउनमात्र कडाइ गरेर सङ्क्रमितहरूको सङ्ख्या घटेको होइन भन्ने कुरा तथ्यले देखाइसकेको छ । लकडाउन लडकाउन भनेर जनताको समस्या बेवास्ता गर्नु पनि ठीक होइन ।
कोरोना भाइरस रोगको सङ्क्रमण कहिलेसम्म बढिरहने हो ? कुनै निश्चित छैन । कोरोना भाइरस लामो समयसम्म रहिरहने विज्ञहरू बताउँछन् । त्यसको अन्त्य नभएसम्म लकडाउन जारी राख्दा देशको अर्थतन्त्र र जनजीवनमा कस्तो असर पर्छ ? त्यसबारे पनि ध्यान पु¥याउनुपर्छ । हो, ज्यानभन्दा पैसा ठुलो छैन, कष्टकर जीवन महत्वपूर्ण नहोला । कोरोनाको रोग एक–दुई वर्ष लम्बियो भने के गर्ने ? के त्यसबेला लकडाउन जारी राख्ने हो ? लकडाउन जारी गर्दैमा कोरोना भाइरस अन्त्य हुने हो ? यदि अन्त्य हुँदैन भने सामाजिक सुरक्षा अपनाएर व्यापार–व्यवसायलाई परीक्षणको रूपमा खुला गर्ने हो कि भन्ने मत पनि छ । मुख्य कुरा कोरोना भाइरसका सुरक्षाका सबै उपायहरू अपनाउनुपर्छ । त्यो जिम्मेवारी राज्यले नै निर्वाह गर्नुपर्छ, प्रत्येक नागरिकले पनि आत्मसात गर्नुपर्छ । लकडाउन भनेर के खेतीपाती नै सबै रोक्ने ? त्यसबेला देशको स्थिति के हुन्छ ? नेपालीको जीवन कस्तो हुन्छ ? के त्यसबेला रोगले भन्दा भोकले नेपालीहरूको मर्ने सङ्ख्या बढ्दैन ?  

Leave a Reply

Your email address will not be published. Required fields are marked *