भर्खरै :

लेनिन कथा – १६ वनको बास

      (विश्वका सम्पूर्ण कामदार जनताका महान् गुरु भ्लादीमिर इल्यीच लेनिनको समग्र जीवन चरित्रको झाँकी प्रस्तुत गर्ने प्रस्तुत गहकिलो एवं प्रेरणादायी पुस्तक ‘लेनिन कथा’ लेनिनको विषयमा गहिरो अध्ययन गरेकी सोभियत लेखिका मरिया प्रिलेजायेभाले सन् १९७१ को फेबु्रअरी महिनामा प्रकाशित गरेकी थिइन् ।
            (अघिल्लो अङ्कमा हामीले साइबेरिया निर्वासनमा लेनिन र क्रुप्सकायाका भोगाइबारे सविस्तार पढ्यौँ ।)
            प्रसिद्ध सोभियत लेखिका मरीया प्रिलेजायेभाको यो पुस्तकले बडो सरल, आत्मीयतापूर्ण र भावोत्तेजक शैलीमा लेखिएका स–साना कहानीमार्फत क्रान्तिकारी नेता र व्यक्तिको रूपमा लेनिनको सर्वाङ्गीण र जीवन्त चित्र प्रस्तुत गरेको छ ।
            अघिल्लो अङ्कमा हामीहरूले लेनिन स्वदेश फर्र्किंदा रुसी जनतामा देखिएको उत्साहका साथै आमाको सम्झनामा उनको भावुक भावको बारेमा सविस्तार पढ्यौँ ।)
सत्ता सोभियतलाई
            लेनिन आमाको चिहानसामु पुनः झुके । त्यसपछि त्यहाँबाट उनी सीधै बोल्शेभिकहरूको सभामा भाषण दिन सोझिए । अप्रिल १९१७ को कुरा हो । त्यसैले यो भाषण ‘अप्रिलका थेसिसहरू’ नामले विख्यात छ । स्वदेश फर्किँदै गर्दा उनले यो रेलमा तयार पारेका थिए । जारशाही सत्ता उल्टिएपछि बोल्शेभिक र जनताले कसरी काम गर्नुपर्छ भन्नेबारे ? भाषणमा उनले यसै सन्दर्भमा सुनिश्चित योजना पेश गरेका थिए ।
            सत्ता अस्थायी सरकारको हातमा आएको थियो । तर, यस सरकारका सदस्य को थिए ? जमिनदार र पुँजीपति । के यी धनीमानीहरू गरिब, मजदुर र किसानहरूको चिन्ता लिन चाहन्छन् ? पक्कै चाहन्नन् । तिनलाई आफ्नै सम्पतिको मात्र चिन्ता छ । त्यसो भए, बोल्शेभिकहरूले अस्थायी सरकारको समर्थन किन गर्ने ? होइन, बोल्शेभिकहरूले अस्थायी सरकारको होइन, सोभियतहरूको समर्थन गर्नेछन् । त्यतिञ्जेल मजदुर र किसानका प्रतिनिधिहरू भएका सोभियतहरू स्थापित भइसकेका थिए । तर, ती सोभियतहरू अझै शक्तिशाली भइसकेका थिएनन् । तिनमा अधिकतर मेन्शेभिक र बोल्शेभिकहरूसँग असहमत अन्य तत्वले अड्डा जमाएका थिए ।
            “सोभियतहरूलाई सकेसम्म शक्तिशाली बनाउनु छ,” लेनिनले भने ।
            यसको तात्पर्य ? यसको तात्पर्य थियो – ती सोभियतलाई बोल्शेभिकहरूको पक्षमा ल्याउनु छ । त्यसपछि मात्र सोभियतहरूको सहायताले जमिनदारबाट जमिन र पुँजीपतिहरूबाट कारखाना खोस्नुपर्छ । जमिन र कारखाना जनताका सम्पत्ति हुनेछन् । साथै युद्धको अन्त्य गर्नु छ ।
            लेनिनले यिनै कार्य गर्न बोल्शेभिक र मजदुर–किसानहरूलाई आह्वान गरिरहेका थिए । उनी आफ्नो योजनामा दृढ थिए । उनीसामु एउटा महान् लक्ष्य थियो । उनी यो लक्ष्य प्राप्तिमा दृढ सङ्कल्पित थिए ।
            मजदुरहरूले आफ्नो भविष्य बोल्शेभिकहरूको हातमा छ भन्ने कुरा राम्ररी बुझेका थिए । तर, यो कुरा सबै मजदुर र सबै किसानहरूले बुझेका थिएनन् । मेन्शेभिक र पुँजीपतिहरूले मजदुर र किसानहरूलाई सकेसम्म बहकाउने कोसिस गर्थे । तिनीहरूले आफ्ना पत्रपत्रिकामा बोल्शेभिकहरूका बारेमा थरीथरी उट्पट्याङ कुरा छाप्थे, युद्धको प्रचार गर्थे, धनीमानीहरूको बाटोमा हिँड्न उक्साउँथे । तर, बोल्शेभिकहरूसँग पनि आफ्नो पत्रिका थियो । त्यसको नाम थियो ‘प्राभ्दा’ । यसको अर्थ हुन्थ्यो – सत्य । पत्रिकाको कार्यालय मोइका नदीको किनारस्थित एउटा ठुलो भवनको तीनवटा कोठामा थियो । त्यस पत्रिकाले जनतालाई सत्यसँग साक्षात्कार गराउँथ्यो ।
            बैठकदेखि लेनिन सीधै ‘प्राभ्दा’ को कार्यालयमा आए । उनले पत्रिकाको लागि एउटा लेख लेखे । दोस्रो दिन पनि त्यसै गरे । प्रत्येक दिन उनी बोल्शेभिक अखबारका लागि एक–दुइटा लेख लेख्थे । कहिलेकाहीँ त तीनवटासम्म लेख्थे । यसबाहेक उनी पेत्रोग्रादका विभिन्न कलकारखानामा गई मजदुरहरूसामु भाषण दिने गर्थे । उनले कामदारहरूको हकहितका लागि बोल्शेभिकहरूले गरिरहेका सङ्घर्षलाई राम्ररी बुझाउँथे । फलस्वरूप बिस्तारै सबै मजदुर र किसानहरू उनीतिर तानिँदै गए ।
            लेनिन रूस फर्किएको तीन महिनामात्र भएको थियो । यसबीच स्थितिमा धेरै भिन्नता आयो । लेनिन एक्लै थिएनन् । उनका धेरै साथीहरू सँगै थिए । सबैजना मिलेर नयाँ व्यवस्था ल्याउन सङ्घर्ष गरिरहेका थिए । सैनिकहरू युद्ध चाहँदैनथे । मजदुरहरू पुँजीपतिहरूको काम गर्न नकारिरहेका थिए । किसानहरूले जमिन मागिरहेका थिए ।
            एक दिन पेत्रोग्रादका मजदुर र सैनिक स्वतः सडकमा ओर्लिए । तिनको स्थिति असह्य बनेको थियो । बोल्शेभिकहरूले तिनलाई सडकमा निस्किन आह्वान गरेका थिएनन् । तैपनि यति विशाल आकारमा आन्दोलन सुरु भइसकेपछि उनीहरूले प्रदर्शनको नेतृत्व गरे र भरसक आन्दोलन शान्तिपूर्ण बनाउने प्रयत्न गरे । प्रदर्शनकारीले नारा लगाइरहेका थिए । “सत्ताजति सोभियतहरूलाई !”
            “पुँजीवादी सरकार मुर्दावाद !”, “रोटी देऊ, शान्ति देऊ, स्वतन्त्रता देऊ !” प्रदर्शनकारीहरूको जुलुस अनुशासनबद्ध थियो । आत्मविश्वासले ओतप्रोत थियो । यसबाट जनआन्दोलनको ठोस शक्ति नाप्न सकिन्थ्यो ।
            अस्थायी सरकारका मन्त्रीहरू डराए । भन्न त तिनीहरू आफूलाई क्रान्तिकारी सरकार भन्थे तर पनि तिनीहरूले १९०५ मा जारले देखाएजस्तै नीचता देखाए । तिनीहरूले सशस्त्र फौजलाई निहत्था मानिसहरूमाथि गोली चलाउने आदेश दिए । यो जुलाई १९१७ को घटना थियो । 
            दोस्रो दिन बिहान । लेनिन मोइका नदीको किनारस्थित ‘प्राभ्दा’ को कार्यालय गए – अखबार कस्तो छापिइरहेको छ भनी हेर्न र साथीहरूलाई सल्लाह दिन ।
            ‘प्राभ्दा’ को भवनअगाडि अचानक सेनाको मोटरगाडीले ब्रेक हान्यो । फौजी जुत्ताको ट्याकट्याक आवाज सुनियो । अचानक ढोका खुल्यो र हतियार सोझ्याएका कही युन्करहरू (सैनिक विद्यालयका विद्यार्थी) ‘प्राभ्दा’ को कार्यालयमा पसे । “लेनिन कहाँ छन् ?”
            धन्न, लेनिन त्यसबेला त्यहाँ थिएनन् । उनी पहिले नै सकुशल घर फर्किसकेका थिए । क्रुप्सकाया र बहिनी ढोकामा कान ठनास्दै उभिएर चुपचाप रातोनिलो हुँदै उनको प्रतीक्षा गरिरहेका थिए ।
            “भोलोद्या, अस्थायी सरकारले तिमीलाई वैध सुरक्षाबाट बञ्चित व्यक्ति घोषणा गरिदिएको छ ।” त्यसैबेला घन्टी बज्यो । सबै अत्तालिए ।
            “तिमीलाई लिन त आएका होइनन् ?” क्रुप्सकायाले सुस्तरी सोधिन् ।
            लेनिन चुपचाप आफ्नो कोठातिर भागे । पुलिसको हातमा नपरोस् भनेर सबै पत्र र दस्तावेज छिटोभन्दा छिटो नष्ट गर्न जरुरी थियो । ‘खोल्नुस्,’ ढोका पछिल्तिरबाट कसैले दबेको आवाजमा भन्यो । “ए, स्वर्दलोभ पो रहेछन्,” अन्ना इल्यीनिच्नाले चिनिहालिन् । सबैजना खुसी भए । घन्टी बजाउने मानिस पुलिसको मान्छे थिएन ।
            “याकोब मिखाइलोभिच ! आउनुस् ! भित्र आउनुस् !”
            ढोका खोल्दै अन्ना र क्रुप्सकायाले एकसाथ भने । याकोब दुब्लापातला थिए । चस्मा लगाएका आँखा काला थिए । 
            स्वर्दलोभको उमेर त्यति बढी थिएन । किशोरावस्थादेखि नै उनले आफ्नो सारा जीवन पार्टीलाई अर्पित गरेका थिए । जारशाही सरकारले क्रान्तिकारी स्वर्दलोभलाई निर्वासनको सजाय दिई टाढा नरिम्स्की इलाकामा पठाएको थियो । चारचोटि उनले त्यहाँबाट भाग्ने असफल कोसिस गरे र अन्तमा सफल पनि भए । तर, खुला जीवन धेरै दिन टिकेन । पुलिसले फेरि पक्रियो । यसपालि उनलाई तुरुखान्स्क इलाकामा निर्वासित गर्‍यो । त्यहाँबाट थोरै निर्वासितहरू मात्र जिउँदै फर्कन्थे ।
            क्रान्तिपछि स्वर्दलोभले त्यस ज्यानमारा इलाकाबाट छुटकारा पाए । उनी बुद्धिमान थिए, प्रतिभाशाली थिए । लेनिनका सबैभन्दा जाँगरिला साथीहरूमध्ये एक थिए ।
            “लेनिन, युन्करहरूले ‘प्राभ्दा’ को कार्यालय तहसनहस पारेका छन् । सहरभरि खानतलासी र गिरफ्तारीको रडाको छ । युन्करहरू कुनै पनि बेला यहाँ आउन सक्छन्  । हजुरले अहिल्यै यो ठाउँ छोड्दा राम्रो हुन्छ ।”
          लेनिन केही सोच्दै उभिइरहे । त्यसो भए, क्रान्तिकारीेहरूमाथिको अत्याचार फेरि सुरु भयो ? फेरि लुक्नुपर्ने भयो ? लेनिनले अलिबेर केही तय गर्नसकेनन् । तर, खतरा गम्भीर थियो । वैध सुरक्षाबाट बञ्चित व्यक्तिलाई अदालतको अनुमतिबेगर जोकोहीले मार्न सक्थ्यो । अस्थायी क्रान्तिकारी सरकारले लेनिनलाई निमिट्यान्न पार्ने फैसला गरिसकेको थियो ।
            “जतिसक्यो छिटो हिँड्दा उपयुक्त होला,” स्वर्दलोभले दृढतापूर्वक दोहोर्‍याए । आफ्नो ओभरकोट लेनिनको काँधमा राख्दै भने, “तिनीहरूले यो कोटमा झ्याप्प चिन्न सक्नेछैनन् । कलर पनि उठाउनुहोस् ।” लेनिनले कलर उठाए । बहिनी र पत्नीलाई अङ्गालो मारे । अनि बहिनीको घरमा नजर दौडाए । उनलाई जहाजजस्तै लागेको घरमा । जहाँ उनी तीन महिना बसेका थिए ।
            उनी कता जाँदै छन् थाहा थिएन । क्रान्तिकारीहरूको भाषामा यसलाई गुप्तवास भनिन्थ्यो ।
जङ्गली कक्ष
            पेत्रोग्रादबाहिर फिनलेन्डको सीमाबाट केही दुरीमा सेस्त्रोरेत्स्क नाउँको सानो सहर थियो । त्यहाँ एउटा ठुलो हतियार कारखाना थियो । मजदुर निकोलाइ अलेक्सान्द्रभिच एमेल्यानोभले करिब तीस वर्षदेखि त्यसमा काम गरिरहेका थिए । उनी रजलिभ स्टेशननिर बस्थे । त्यहाँबाट पैदल कारखाना पुग्न आधा घन्टामात्र लाग्थ्यो । नजिकै रजलिभ ताल थियो । तालको जम्मा लम्बाइ सात किलोमिटरजति थियो । घाम लागेको बेला त्यसको पानी आकाशजस्तै निलो देखिन्थ्यो ।
            एक दिन एमेल्यानोभसँग भेट्न पार्टी केन्द्रका मानिस आए । बोल्शेभिक पार्टीको केन्द्रीय समितिले सकेसम्म चाँडो पार्टीका नेता लेनिनलाई कतै लुकाइ प्रतिक्रियावादी सरकारको पन्जामा पर्नबाट जोगाउने निर्णय गरेको थियो । “साथी एमेल्यानोभ, यो काम हजुरलाई सुम्पिएको छ ।”
            पहिले त एमेल्यानोभले लेनिनलाई आफ्नो भुस राख्ने कोठामा लुकाउन चाहे । तर, त्यहाँ लुकाउनु खतरनाक हुन्छ भनी पछि निक्र्योल गरे । आसपास छिमेकी थिए । वरपरका बच्चाहरूले जुनसुकै बेला त्यहाँ गई चिहाउने सम्भावना थियो । फेरि उनका आफ्नै सातजना लालाबाला थिए । हँुदैन, कुनै अर्को ठाउँ खोज्नुपर्छ ।
            एकाबिहान एमेल्यानोभले लेनिनलाई जगाए । सूर्य उदाएको थिएन । ताल पातलो कुहिरोले ढाकिएको थियो । ताल घरको ठीक पछाडि नै थियो । एमेल्यानोभले डु·ा खोले र चुपचाप बहना खियाउन थाले । आसपासका घरका मानिसहरू अझै जागेका थिएनन् । सबैतिर सुनसान थियो । विशाल तालको पानी झिसमिसेको हल्का गुलाबी उज्यालोमा जगमगाइरहेको थियो ।
            एमेल्यानोभ लेनिनलाई छिट्टै तालको पल्लो किनार पुर्‍याइदिन चाहन्थे । करिब चार भेस्र्तको दुरी पार गर्नुपर्ने थियो । कुनै छिमेकीले यसबेला एक अन्जान मानिसलाई डु·ामा लैजाँदै गरेको देख्ला कि भनी उनी डराइरहेका थिए ।
            सरकारले लेनिनलाई खोजिरहेको समाचार सबै अखबारमा छापिइसकेको थियो । फेरि मानिसहरू पनि थरीथरीका हुन्छन् । … यसकारण एमेल्यानोभ हडबडाइरहेका थिए ।
            लेनिनले चुपचाप डु·ा समातिरहेका थिए । बिहानी हावाको मुस्लो आयो र तालमाथि छाएको कुहिरो छाँटियो । किनार स्पष्ट देखिन थाल्यो । दूर क्षितिजमाथिको आकाशमा लाली छाउन थाल्यो । यस नीरवतामा लेनिनलाई धेरै पहिलेका वर्ष र तिनताकका साथीहरूको सम्झना आयो । उनलाई पिटर्सवर्गका बाबुश्किनको सम्झना आयो । बाबुश्किनको साथमा मिलेर नै लेनिनले ‘सङ्घर्ष लीग’ को पहिलो पर्चा लेखको थिए । पिटर्सवर्गका सर्वहारा इभान बाबुश्किन जोसिला क्रान्तिकारी र कट्टर बोल्शेभिक बनेका थिए । १९०६ मा सरकारले उनलाई फाँसीमा चढायो । उनी निरपराध थिए ।
            लेनिनलाई ‘पोतेम्किन’ को नाविक अफानासी मात्युशेन्कोको सम्झना आयो । उनलाई जहाजमा भएको विद्रोहको बारेमा बताउन नै उनी जेनेभा आएका थिए । स्वदेश फर्केपछि उनलाई पनि फाँसी दिइएको थियो । 
            सम्झना आउनेहरूमा उफाका जवान मजदुर इभान याकुतोब पनि थिए । १९०५ को क्रान्तिताका याकुतोबले उफामा मजदुर गणतन्त्रको घोषणा गरेका थिए । तर, क्रान्ति दबाइयो र इभान याकुतोबलाई फाँसीमा चढाइयो । क्रान्तिमा हजारौँ मजदुर योद्धाहरू सहिद भए । उनीहरूको सम्झना कहिल्यै बिर्सन सकिँदैनथ्यो ।
            अहिले सेस्त्रोरेत्स्कका यी मजदुर एमेल्यानोभले पनि आफूलाई बुर्जुवा सरकारको नजरबाट लुकाएर ठूला खतरा मोलेका छन् भनी लेनिनले मनमनै सोचे । पक्राउ परेमा मृत्यु निश्चित थियो । सातजना केटाकेटी अनाथ हुने थिए ।
            “धन्यवाद, निकोलाइ अलेक्सान्द्रोभिच,” लेनिनले भने । एमेल्यानोभले उनीमाथि नजर दौडाए ।
            “भ्लादीमिर इल्यीच, के भन्नुभएको हजुरले । यो त मेरो लागि सम्मानको कुरा हो ।”
            डुङ्गा किनारमा लगियो । तालको किनारबाट जङ्गल सुरु हुन्थ्यो । जङ्गलमा अग्ला– अग्ला एस्प, एल्डर र भोजवृक्षहरू थिए ।
            उनीहरूले डुङ्गादेखि खाने–पिउने सामान, साधारण बिस्तरा झिके र जङ्गलतिर लगे । सामानको साथमा कागजको मुठा र एउटा निलो कापी पनि थियो । कापीलाई लेनिनले हातमा च्यापिराखेका थिए ।
            ज्युरिखमा छँदा लेनिनले पुस्तकालयमा बसेर यो निलो कापीमा थरीथरीका आवश्यक नोट तयार पारेका थिए । यसबेला यो कापी उनका लागि निकै मूल्यवान थियो ।
            तर, एमेल्यानोभले उनलाई लगिरहेको पो कहाँ हो ? ओहो ! बल्ल थाहा भयो ! जङ्गलको पल्लोपट्टि हराभरा मैदान थियो । मैदानमा एउटा छाप्रो पनि थियो । छाप्रोनिर जमिनमा दुइटा खाँबा गाडिएका थिए । त्यसमाथि भुड्को झुन्डयाइएको थियो । यो भान्छा थियो ।
            “गजब छ !” लेनिनले हर्षमिश्रित आश्चर्य प्रकट गरे । “कति गजब घर हो, निकोलाइ अलेक्सान्द्रोभिच ! योभन्दा आकर्षक घरको कल्पना पनि गर्न सकिन्न ।” “यी यहाँ देख्नुभो ?” एमेल्यानोभले सोधे । छाप्रो नजिकै घाँस काट्ने लामो हँसिया थियो ।
            “भ्लादीमिर इल्यीच ध्यान दिएर सुन्नुस् । मैले हजुरलाई घाँस काट्ने मजदुर लगाएको हुँ । यो मैदान मैले भाडामा लिएको छु । यसको अर्थ, हजुरले घाँस काट्नुपर्छ । कोही जङ्गली फल रखुम्भीहरू बटुल्न यता टुप्लुक्क आइहाले भने उनीहरूसँग कुरा नगर्नुहोला । हजुरले फिनलेन्डको मान्छेले जस्तै गर्नुपर्छ । यसको अर्थ, रूसी फिटिक्कै बुझ्नुहुन्न । याद राख्नुस्, एक शब्द पनि बुझ्नुहुन्न !”
            “के म फिनिश मजदुरजस्तो देखिन्छु त ?” लेनिनले सोधे ।
            एमेल्यानोभले लेनिनलाई एकचोटि फेरि शिरदेखि पाउसम्म नियाले । लेनिनले दारी खौरिएका थिए र जुँगा छाँटेका थिए । बन्द गलो भएको कमिज र पुरानो कोटमा उनी ठ्याक्कै मजदुर देखिएका थिए ।
            “हो त, हजुर ठ्याक्कै फिनिश मजदुरजस्तै देखिनुभएको छ,” एमेल्यानोभले जवाफ दिए र फेरि भने, “हजुरको लागि खाने–पिउने सामान बिहान वा साँझ ल्याइदिनेछु ।”
            “अखबार नि ! अखबार एकदम आवश्यक छ । सबै अखबार । अझ अर्को कुरा, हजुरको मजदुरको लेख्ने काम पनि धेरै छ । यसको लागि सर्वाधिक उचित स्थान कतातिर होला ?” “यता हेर्नुस्,” एमेल्यानोभले छाप्रोनजिकैको बाक्लो झाडीलाई हातले पन्छ्याउँदै भने । त्यहाँ झाडीको बीचमा थोरै ठाउँ सफा गरिएको थियो । बीचमा दुइटा मुढाहरू गाडिएको थियो । एउटा अग्लो र अर्को अलि होचो । होचो बस्नलाई र अग्लो टेबल बनाउन ।
            “हजुरको काम गर्ने कक्ष,” एमेल्यानोभले भने । “अति गोप्य र एकदम शान्त ।”
            छाप्रोमा लेनिनको बसोबासको समस्त चाँजोपाँचो मिलाई केहीबेरपछि एमेल्यानोभ गए । लेनिन तालसम्म उनीसँगै गए । डुङ्गा रजलिभको निलो पानीमा नओझेलिएसम्म उनी त्यहीँ उभिरहे । अदृश्य डु·ालाई हात हल्लाएर बिदा गरेपछि उनी फटाफट फर्किए । आफ्नो कक्षमा पुगेर उनले निलो कापी खोले । तिनताक उनले सर्वहारा वर्गको हुकुम स्थापना गर्न र आफ्नो राज्यको निर्माण गर्न मजदुरहरूले कसरी सङ्घर्ष गर्नुपर्छ भन्ने विषयमा किताब लेखिरहेका थिए ।
अनुवाद : माधव अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *