भर्खरै :

आज ङातापोल (पाँचतले) मन्दिरको बुसादाँ

आज असार १ गते भक्तपुरको टौमढीस्थित प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्वको पाँचतले मन्दिरको निर्माण ३१९ वर्ष भयो । यस दिनलाई यहाँ ङातापोँलया बुसादाँ भनिन्छ । आज तान्त्रिक विधिअनुसार पूजापाठ र दानदक्षिणा दिने चलन छ । आजै वर्षको एक दिन मन्दिरको मूलढोका खोलेर सम्बन्धित जोशी, आचाजु पुरोहितले सबैको सुख, शान्ति र जय होस् भनी विधिअनुसार पूजापाठ गर्ने र सामान्य सरसफाइ र मर्मत सम्भारसहित माथि गजुरमा ध्वजा चढाउने गरिन्छ ।
मानिसले पनि आफू जन्मेको दिनमा सगुन लिएर सुस्वास्थ्य, दीर्घायु तथा शुभ मङ्गलको कामनासहित पूजापाठ गरेर दानदक्षिणा दिई आफ्नो जन्मदिन मनाउने चलन छ । अचेल बालेको मैनबत्ती निभाएर, केक काटेर जन्मदिन मनाउन थालिएको छ । जुन नेपाली संस्कृति अनुसार नभइकन पश्चिमी संस्कृति र परम्पराअनुसार भएको पाइन्छ । हिजो आज कुनै शुभकाम गरेर पनि मानिसहरूले आफ्नो जन्मदिन मनाउन थालेका छन् । आफ्नो जन्मदिन कसैले पुस्तक प्रकाशन गरेर, कसैले अक्षयकोष स्थापना गरेर, कसैले मन्दिरमा घण्टा या अन्य कृति चढाएर, कसैले रुख बिरुवा रोपेर र कसैले श्रमदान गरेर आफ्नो जन्मदिन मनाउन थालेका छन् । यसलाई रचनात्मक सांस्कृतिक परम्पराको थालनीको रूपमा लिने गरिएको छ ।
प्राचीनकालमा राजा महाराजाहरूले आफ्नो जन्मदिनको अवसरमा विशेष समोराह नै गरेर पूजापाठ र दान दिने तथा विभिन्न कलाकृतिको निर्माण र प्रतिस्थापन गरेको हामी सुन्छौँ । आफ्नो शासनकाललाई विशिष्ट काल वा स्वर्ण कालको रूपमा परिचित गर्न पनि विशिष्ट एवं ऐतिहासिक कलात्मक कृतिहरू निर्माण गर्ने या स्थापना गर्ने कार्यमा प्रतिस्पर्धा भएको हामी इतिहासमा पढ्न पाउँछौँ ।
चीनमा मिङ वंशको पालामा प्रसिद्ध ग्रेटवाल बनेको थियो । जुन चन्द्रमाबाट पृथ्वीमा देखिने एकमात्र सांस्कृतिक सम्पदाको रूपमा लिने गरिन्छ । इजिप्टमा त्यसबेलाका राजा फारो खुफुको पालामा पिरामिडहरू बनाइएका थिए भने भारतमा मुगल सम्राटको पालामा ताजमहल बनाइएका थियो । संसारमा यस्ता थुप्रै सम्पदाहरू रहेको पाइन्छ । जुन अभुतपूर्व विश्व सम्पदाको रूपमा रहेका छन् । त्यस्तै नेपालमा पनि किरात, लिच्छवी, मल्ल कालका राजाहरूको पालामा यस्ता सांस्कृतिक सम्पदाहरूको निर्माणमा प्रतिस्पर्धा चलेको पाइन्छ । नेपालमा विशेषगरी काठमाडौँ उपत्यकाका कान्तिपुर, ललितपुर र भक्तपुरमा मल्ल राजाहरूको बीचमा सम्पदा र कीर्ति निर्माणमा होडबाजी चलेको इतिहासमा पढ्न पाइन्छ । राम्राराम्रा आकर्षक विभिन्न कलाकृतिले भरिएको ऐतिहासिक, सांस्कृतिक सम्पदाहरू दरबार, मन्दिर, धारा, पाटी, ढोका, झ्याल, देवी, देवता आदिका मूर्तिहरू निर्माण गरिएका थिए । त्यस्ता महत्वपूर्ण सम्पदाहरूमध्ये पाँचतले (ङातापोँल) मन्दिर पनि एक हो ।
नेपालको एतिहासिक र सांस्कृतिक धरोहर पाँचतले मन्दिर राजा भूपतीन्द्र मल्लको पालामा निर्माण भएको थियो । ३१९ वर्षअघि नेपाल संवत् ८२२ पौष कृष्ण त्रयोदशी बुधबारदेखि निर्माण सुरु भएर आषाद सुदिँ १ अर्थात् पुस १ गतेदेखि जेठ मसान्तसम्म ६ महिना लगाएर मन्दिरको निर्माण सम्पन्न भएको थियो । असार १ गते मुख्य देवता सिद्धिलक्ष्मीको मूर्ति मन्दिरभित्र प्रतिस्थापन भएको थियो भने छानामा गजुर राखिएको थियो । उक्त मन्दिर पाँचतलाको र पाँच तहको फलेपेटी रहेका छन् । पाँचै फलेपेटी अगाडिपट्टि खुड्किलाको दायाँ बायाँ छुट्टाछुट्टै विशेषता र रूपका मूर्तिहरू राखिएका छन् । सबैभन्दा तल्लो पहिलो फलेपेटीमा कुटुव (पहलमान) को जोडी (जयमल र प्रताप) छ जो सामान्य मानिसभन्दा १० गुणा बढी बलियो मानिन्छ । दोस्रो फलेपेटीमा एक जोर हात्ती छ जुन कुटुवभन्दा १० गुणा बढी बलियो मानिन्छ । तेस्रो फलेपेटीमा एक जोर सिंहको जोडी ६ जुन हात्तीभन्दा १० गुणा बढी बलियो मानिन्छ । चौथो फलेपेटीमा शार्दुल सिँहनी जोडी ६ जुन सिंहभन्दा १० गुणा बढी बलियो मानिन्छ । त्यस्तै पाँचौँ या सबभन्दा माथिको फलेपेटीमा व्याघ्रिनी देवीको जोडी मूर्ति प्रतिस्थापन गरिएको छ, जो शार्दुल सिंहनीभन्दा १० गुणा बढी बलियो भएको मानिन्छ । यसरी प्रत्येक फलेपेटीमा क्रमशः १०÷१० गुणा बढी बलियो जीव र देवीको मूर्ति प्रतिस्थापन गरिएको छ । तल जमिनमा मन्दिरको चारै कुनामा गणेशका मन्दिरहरू स्थापना गरिएका छन् ।
यस मन्दिरको निर्माणको लागि आवश्यक ढुङ्गा ललितपुरको चापागाउँ लेले, बनेपा, धुलिखेल, पनौती आदि ठाउँबाट ल्याइएको थियो भने विभिन्न साइजको इँटा, झिँगटी यही भक्तपुर नगर वरपर विभिन्न ठाउँ व्यासी, मिवाक्षेत्र, लिबाली, जगाती, कटुञ्जे आदि ठाउँबाट इँटाभट्टा बनाई बनाउन लगाइएको थियो । चिकंअपा (तेलीइँटा) थिमिबाट ल्याइएको थियो । त्यस मन्दिर निर्माणको लागि ११,३५,३५० वटा इँटा लागेको थियो । तेलिया इँटा (चिकंअपा) १,०२,०३५ वटा र उपा इँटा २७,०८४ वटा लागेको थियो ।
त्यस्तै मन्दिरमा राखेको गजुरको तौल ४० धानी (९६ किलो) भएको थियो । त्यसमध्ये ३७ तोला सुनको जलप लगाइएको थियो । पाँचैतलाको छानामा जम्मा ५२९ वटा घण्टा (फय्गाँचा) राखिएको थियो । सबै घण्टाभित्र घण्टा बजाउन झुण्डिने गरी पिपलपाते आकारको चेप्टो पाटा घण्टा थोक्ने डण्डीमा जोडिएको छ । जसमा हावा चल्दा हावाको चापले पाटा हलिई त्यसमा जोडिएको डण्डीले घण्टामा थोकिन जान्छ र घण्टा बज्छ । यसरी हावा (फय्) ले बजाउने घण्टा भएकोले यसलाई नेवारी भाषामा फय्गाँचा भनिएको हो । जसलाई मान्छेले बजाउनु पर्दैन, प्रकृति आफैँले बजाउँछ । ५२९ वटा घण्टामध्ये सबभन्दा माथिलो अर्थात् पहिलो तलाको छानामा ४८ वटा, दोस्रो तलामा ८० वटा, तेस्रो तलामा १०४ वटा, चौथो तलामा १२८ वटा र पाँचौँ तलामा १६८ वटा गरी जम्मा ५२८ वटा घण्टाहरू थिए भने बाँकी एउटा घण्टा विशेष खालको र महत्वपूर्ण छ भनिन्छ, जुन घण्टा बजेपछि हावाहुरीसहित बेस्सरी पानी पर्छ भन्ने किंवदन्ती रहेको पाइन्छ ।
मन्दिरभित्र विशिष्ट खालको मूल देवताको मूर्ति सिद्धिलक्ष्मी स्थापना गरिएको छ । जुन मूर्तिको टाउको ९ वटा थियो । त्यसमध्ये सबभन्दा माथि एउटा, त्यसको तल दोस्रो तहमा तीनवटा र सबभन्दा तल अन्तिम तहमा ५ पाँच वटा थिए । त्यस्तै दायाँ बायाँ विभिन्न अस्त्रहरू समातिएको ८÷८ वटा गरी जम्मा १६ वटा हातहरू थिए । जुन मूर्ति रौद्रासनमा बसेका बेताल र भैरवको आसनमाथि प्रतिस्थापन गरिएको छ । यस मन्दिरको निर्माण सम्पन्न भएको अवसरमा नेपाल संवत् ८२२ असार १ गतेका दिन टौमढीमा विभिन्न बाजागाजा र भजनका साथ विधिवत पूजाआजा गरी भव्य उत्सव मनाइएको थियो । सो अवसरमा भक्तपुरका करीब २० हजार नगरवासीहरूलाई तःभ्वय् (ठुलो भोज) खुवाइएको थियो ।
नेपाल संवत् ८२२ असार १ गते निर्माण सम्पन्न भएको पाँचतले मन्दिर राजा महेन्द्रको पालामा २०१९ मा, भक्तपुर नगरपालिकाले २०५४ र हाल २०७७ मा गरी २ दुई पटक जीर्णोद्धार सम्पन्न हुन गइरहेको छ । यो मन्दिरको उचाइ १०८ फिट (३३.२३ मिटर) रहेको छ । विश्व प्रसिद्ध नेपालको गौरव–धरोहर यो पाँचतले मन्दिरको जीर्णोद्धार गर्ने भक्तपुर नगरपालिका र जनश्रमदान गर्ने सम्पूर्ण भक्तपुरवासीलगायत अन्य सहयोगीहरूलाई साधुवाद ।
स्रोत ः कान्तिपुर दैनिक कोसेली – पुरुषोत्तम लोचन श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *