भर्खरै :

हाम्रा प्रकाशनहरू– २

जनताको साहित्य
यसअघि पीडीएफमै पढेको हुनाले हाइलाइट गरिएका अंशहरू दोहो¥याइयो । जनताको साहित्यको यस अङ्कका रचनाहरू यति विविधतापूर्ण छन् कि एउटै धागोमा उन्न गाह्रो हुन्छ ।
स्तुतिगानको आकाङ्क्षा राखिरहेको पुँजीवादी राजनीतिले साहित्यको धार बोधो बनाएको र असल नेता तयार पार्न साहित्यलाई सही बाटोमा लैजाउनुपर्ने आवश्यकताबारे कामरेड बिजुक्छेँको अन्तर्वार्तामा चासो र चिन्ता व्यक्त भएका छन् । उहाँले अन्तर्वार्तामा बिर्सेका ‘जय देश, जय नरेश’ का लेखक वासुदेव त्रिपाठी हुन् । अघिल्लो कथा पनि यसै कथासङ्ग्रहमा छ । का. रोहितका संस्मरणहरूको सङ्कलनमा अनेक व्यक्तित्वबारे थाहा हुन्छ र व्यक्तिलाई हेर्ने उहाँको दृष्टिकोण पाइन्छ । चिनियाँ नापितको पेशा छनोटले सम्भ्रान्त वर्गको योग्यतामाथि व्यङ्ग्य गर्छ र आत्मसन्तुष्टिको अनौठो दृश्य पस्किन्छ । ‘कम्युनिस्ट’ नेताको अदूरदर्शिताले बालकृष्ण पोखरेललाई बिच्क्याएका घटना, वैचारिक झुकाव जता भए पनि असल व्यक्ति रामहरि जोशीको सम्झना उत्तिकै पठनीय छन् । विषयकेन्द्रित बातचित कति रोचक र जानकारीमूलक हुन्छ ‘साहित्य र क्रान्ति’ ले देखाउँछ । ‘एउटा सार्थक भेट’ ले भक्तपुर काण्डबारे नयाँ रहस्य खोलेको छ । प्रस्तुति आकर्षक छ । गोविन्द लोहनीका साहित्यिक रचना जनताको साहित्यका आगामी अङ्कमा छापिँदै जाऊन् भन्ने अभिलाषा पाठकमा जाग्छ ।
यस अङ्कमा छापिएका तीनवटा समीक्षा वा समालोचनाले नेपाली साहित्यका पाठकलाई वैचारिक मार्ग देखाउँछन् । वेट्लिङ र काबेटको जीवनी र माओ–चे वार्तालापले कम्युनिष्ट आन्दोलनका उतारचढाव झल्काउँछन् । यी रचनाको मूल्य राजनीतिक स्पष्टतामा छ । माओको ठट्यौलो मिजास र चेको सिक्ने मनसुवा वार्तालापमा झल्किन्छ । पाठकलाई दुई देशका क्रान्तिका आरोह–अवरोहबारे क्रान्ति नायकका कुराकानी नजिकै बसेर सुनिरहेझैँ भान हुन्छ । यसमा अनुवादकको पनि महत्वपूर्ण देन छ । दुई कथामध्ये लघुकथा चोटिलो छ । ‘विडम्बना ¤’ कथाले रजनीको मनोदशा झल्काउन कम शब्द खर्चेको छ । प्रगतिशील परिवारकी बुहारीको स्वतन्त्रता महिलावादी स्वच्छन्दतामा टुङ्गिन्छ । नाटक ‘सल्लाहकारको लुगामा ठग समूह ?’ ले आजको राजनीति कसरी चल्छ, उजागर गरेको छ । आजभोलि विशेषज्ञको आवरणमा विश्वभरका शासकले आफ्ना कर्तुतहरू छोप्ने गर्छन् र यी विज्ञ शासक वर्गबाटै आएका हुन्छन् । निर्जलाको चर्चाले सीआइएको उदाहरण दिँदै साहित्यले कसरी साम्राज्यवादको सेवा गर्दै छ, प्रस्ट पार्छ र यस्तो साहित्यको विरोधमा प्रगतिशील साहित्य रच्नुपर्ने आवश्यकता औँल्याउँछ ।
फैजको कविताको अनुवाद अङ्ग्रेजीबाट गरिएकोले छिटफुट समस्या देखिएको छ । यसअघि उर्दूबाटै फैजका कविताको सङ्ग्रह उल्था भइसकेको छ । त्यसमा लालित्यको कमी थियो । जेहोस्, यसबाट साहित्य अनुरागीहरूले विदेशी साहित्य अनुवाद गर्नुपर्ने प्रेरणा प्राप्त गर्नसक्छन् । फैजजस्ता जनतामा भिजेका कविलाई नेपालीमा ल्याइनु स्वागतपूर्ण छ । कवि दामोदर सुवाल कवितामा शाश्वत तत्वको खोजीमा देखिनुहन्छ । कवि हरिहर तिमिल्सिना सत्ताको विद्रुपता उदत्ङ्ग्याउनुहुन्छ । रुद्र ज्ञवालीको कविताले शासकहरूको छातीमा व्यङ्ग्यवाण प्रहार गर्छ । कवितामा उल्लेख ‘चाटिनु पर्दथ्यो हात घारै परन्तु चाटियो’ मा ‘मह काढ्नेले हात चाट्छ’ भन्ने लोकोक्तिको प्रयोग गरिएको छ । यो आफैँमा घुसखोरीलाई सुनपानी छर्किन शासकलाई सघाउने कथन हो । समाज यसभन्दा माथि उठ्नुपर्ने होइन र ? देशको ऋण तिर्न माओले मासु खान बन्द गरेका, लेनिनले रुसी जनतासँगै भोक भोगेका प्रसङ्ग हाम्रो आदर्श हुनुपर्ने होइन र ? दुःख गर्नेले खानु अर्को कुरा हो । कृष्णकुमार वैद्यको गजलले एमसीसी घटनालाई सटिकरूपमा चित्रण गरेको छ । तैपनि दोस्रो र चौथो शेरमा एउटै प्रसङ्ग दोहोरिने त्रुटि देखापर्छ । बाँकी कविता, गीत, गजलमा विद्यमान व्यवस्थाप्रतिको सुस्केरा, आक्रोश र नवीन भविष्यको आशा प्रकट भएका छन् । सकेसम्म कवि नदोहोरिने गरी रचना राख्दा र दोहो¥याउनै परे एकै पानामा राख्दा जनताको साहित्यको सुगन्ध बढ्नेछ ।
मजदुर दैनिक र श्रमिक साप्ताहिक
यी दुवैका केही अङ्क हात परेका छन् । हिजोआज पीडीएफको सहजताले निरन्तर अध्ययन गरिएको छ । यहाँ केही मोटामोटी चर्चा गरिन्छ ।
पहिले ‘मजदुर’ दैनिक । ‘मजदुर’ दैनिक कम्तीमा यस टिप्पणीकर्ताको लागि समाचारको प्रमुख स्रोत हो । समाचार र वैचारिक खुराकका हिसाबले मजदुरले आम पाठकलाई समेत सघाएको छ । सम्पादकीयहरूले पाठकको दृष्टिकोण निर्माणमा सघाउँदै आएका छन् । शिकारु साथीदेखि दिग्गज लेखकका लेख–रचनाले मजदुरको महत्व बढाएका छन् । टङ्कप्रसाद आचार्यको अन्तर्वार्ताजस्ता नेपाली इतिहास र समाजका विशिष्टता झल्काउने रचनाले देश चिन्न सघाउँछन् । माक्र्स, लेनिनजस्ता कम्युनिस्ट आन्दोलनका शिक्षकहरूबारे यसपालि छापिएका रचना बौद्धिक भए पनि अन्तरदृष्टिपूर्ण थिए । अन्तर्राष्ट्रिय घटनाबारे छापिने अनुदित लेखहरू वैचारिक स्पष्टताका लागि उत्तिकै उपयोगी छन् । हाल धारावाहिकरूपमा छापिएका रवीन्द्रनाथ ठाकुरका चिठीहरू, लेनिन कथा, सक्वँको म राजदास आदि सुरुचिपूर्ण छन् । चिठीहरूको भाषा अझ माझ्न सकिने ठाउँहरू छन् । मजदुर दैनिकलाई अनुरोध – एँगेल्सको ‘बेलायतमा मजदुरहरूको अवस्था’ पुरानो अनुवाद शृङ्खला अघि बढाउनुपर्ने देखिन्छ । २०२० को अन्त्य
(नोभेम्बर) मा यस कृतिको प्रकाशनले एँगेल्स जयन्ती खँदिलो बन्नेछ र कोरोनापछिको सङ्घर्षमा यसले ऊर्जा थप्नेछ । ‘पुँजीवादको पूर्ण विकासपछि मात्र समाजवाद सम्भव छ’ भनेर चिच्याइरहेका केही ‘नेपाली चिन्तक’ लाई सो पुस्तक जवाफ हुनेछ र श्रमजीवी जनतालाई तिनको कुत्सित मनसाय थाहा पाउने किरण बन्नेछ ।
अब ‘श्रमिक’ साप्ताहिक । मजदुरभन्दा श्रमिक गम्भीर छ । उच्चस्तरका अङ्ग्रेजी रचनाको नेपाली अनुवादले ‘अन्तर्राष्ट्रिय दबु’ झन्झन् गहकिलो बन्दै छ । यसका कतिपय रचनाको सङ्कलन निकाल्नुपर्ने आवश्यकताबोध हुन्छ । साहित्य खण्ड थपेकोले श्रमिकले विविधता पाएको छ । बेलाबेला विदेशी साहित्यबाट लघु÷कथा, निबन्ध आदि राख्दा यस खण्डको ओज बढ्नेछ । रसिकको डायरीले पाठकलाई समाजको गतिबारे अवगत गराउँदै छन् । जोरालका व्यङ्ग्यबाट शिकारु लेखकले धेरै सिक्ने अनुभव छ । जमिला, समाका पुस्तक परिचयले पुरानो शैलीमा फेरबदल ल्याउने कोसिस गरेका देखिन्छन् । लेनिनको जीवनीबारे आएको पुस्तक परिचय अलि कमजोर थियो । उक्त पुस्तकको पछिल्लो हिस्सामा संशोधनवादी कोणबाट लेनिनको चर्चा गरिएको छ । त्यसको आलोचना अपेक्षित थियो । स्टालिनबारे आएको यशराजको लेख सशक्त छ र यसले पाठकको अपेक्षा बढाएको छ । सम्पादकीय र प्रज्ज्वलका लेखले सरल र विषयकेन्द्रित रूपमा पार्टी दृष्टिकोण स्पष्ट पार्छन् । ‘कानुन ः हामी सबैको सरोकार’ ले पाठकलाई सबल तुल्याउँछन् । राकस्थाका लेख सदा सूचनामूलक र आशामुखी हुन्छन् । फरक शैलीका तिनका सुरुआतले पुछारसम्म तान्छन् । अनुदीपका रचनामा क्रान्तिकारी सुलभ आक्रामकता पाइन्छ । एकक्षणकी शिक्षिका कुनै न कुनै दृश्यचित्र वा पाठ लिएर पाठकसामु हाजिर हुनुहुन्छ । सम्पादकीयमाथि छापिने भनाइको छनोटमा परिवर्तनको लल्कार हुन्छ । सारमा, श्रमिक साप्ताहिक पढ्दा मजदुर–किसानकै अंश पढेको अनुभव हुन्छ । यस अनुभवमा कमी नआओस् ।
छुटेको कुरा
“व्यवहार, ज्ञान, फेरि व्यवहार र फेरि ज्ञान ।” (मजदुर–किसान, पे.१६) देश र संसारको वर्तमान परिस्थितिबाट पार्टीले जुन ज्ञान निर्माण गरिरहेको छ, ती हाम्रा प्रकाशनहरूमा आएका छन् । ती ज्ञान ‘फेरि व्यवहार’ अर्थात् समाज परिवर्तनको सङ्घर्षमा उपयोग भइरहेका छन् कि छैनन् ? हाम्रा प्रकाशनहरूबारे चिन्तन, तिनको अध्ययन, छलफल र प्रचारप्रसार भइरहेको छ कि छैन ? अन्ततः यिनै कुराले निर्णायक अर्थ राख्छन् । क्रान्तिको मनोगत परिस्थिति निर्माणमा सक्रिय हुनु नै समयले कार्यकर्ताहरूको वर्तमान पङ्क्तिलाई सुम्पेको अभिभारा हो । भौतिकरूपमा पनि कोरोनापछिको विश्व आँधीमय हुने निश्चित छ । साम्राज्यवादीहरू युद्धका लागि जमजमाउनुले यतैतर्फ सङ्केत गर्छ । कोरानापछि निम्तिने अराजकता, आर्थिक विपत्ति र एमसीसीविरुद्धको मोर्चा हाम्रो रहनेछ । यसमा हाम्रा मित्रहरू चिन्न र शत्रुसँग जुध्न नेपाल मजदुर किसान पार्टीका विचार बोल्ने प्रकाशनहरू पढौँ र पढाऔँ !
अन्तमा, लकडाउनबीच पनि प्रकाशनहरू पु¥याइदिने साथीहरूलाई धन्यवाद ! समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *