भर्खरै :

भारतको युद्धकामी अहङ्कारको परिणाम के होला ?

मजदुर र कम्युनिस्ट आन्दोलन दबाउन एक पुँजीवादी देशले अर्को पुँजीवादी देशमाथि हमला गर्छ । बेलायत र फ्रान्सबीचको लडाइँ, फ्रान्स र जर्मनीबीचको लडाइँ, अस्ट्रिया र अरू देशबीचको लडाइँ केही उदाहरण हुन् । पहिलो र दोस्रो विश्वयुद्ध पनि पुँजीवादी देशहरूको विश्व बजार कब्जा गर्ने उद्देश्यले भएका लडाइँहरू हुन् । ती सबै जसो लडाइँहरूमा लाग्ने ‘आपत्काल’, ‘राष्ट्रपति शासन’, ‘देश बचाऊ’ र ‘राष्ट्र बचाऊ’ को नाराले जनताका मौलिक र राजनैतिक अधिकारहरूमा अङ्कुश लाग्छ, मजदुर र कम्युनिस्ट नेताहरू युद्धको विरोध गरेको आरोपमा पक्राउमा पर्छन् र पार्टीहरूलाई प्रतिबन्ध लाग्छ ।
भारत बेलायती उपनिवेशबाट ‘स्वतन्त्र’ भएपछिको पहिलो महानिर्वाचनमा भारतीय कम्युनिस्ट पार्टी संसद्मा दोस्रो पार्टीको रूपमा देखाप¥यो । मजदुर र किसान आन्दोलन पनि बढ्दै थियो । हिजोको जनसङ्घ राष्ट्रिय स्वयम्सेवक दल (आरएसएस – आजको भाजपा) को भारतको संसद्मा २–४ स्थान मात्र थियो । बेलायती उपनिवेशवादीहरूले भारतीय नेताहरूलाई कसरी सरकार चलाउने, मन्त्रीहरूले के कसरी व्यवहार गर्ने आदि निर्देशनहरू लेखेरै दिएका थिए र औपनिवेशिक कर्मचारीतन्त्र ‘स्वतन्त्र’ भारतलाई एक फन्दा वा ‘लिगेसी’ को रूपमा दिएका थिए । सिद्धान्तले बेलायती उपनिवेशवाद भारतीय जनताको शत्रु थियो भने व्यवहारले भारतीय शासकवर्ग बेलायती उपनिवेशवादीहरूका ‘शिष्य’ भए । दोस्रो विश्वयुद्धमा सोभियत सङ्घको विजय र संसारमा साम्राज्यवाद एवम् उपनिवेशवादविरोधी भावना उर्लेको हुँदा साम्राज्यवादी र उपनिवेशवादीहरूले आँधीमा रुखहरू झुकेजस्तै झुक्ने नीति लिँदै भर्खर स्वतन्त्र र मुक्त भएका उपनिवेशहरूलाई आपसमा भिडाउने षड्यन्त्रहरू गरे ।
जाति, भाषा, धर्म र भौगोलिक विभाजन (क्षेत्रीयता) को आधारमा हरेक उपनिवेश देशका जनता विभाजित थिए । साम्राज्यवादी र उपनिवेशवादीहरूले ती जनताका विवादका विषयलाई झगडाको रूपमा परिणत गर्न भित्रभित्र भड्काउँदै गए । स्वतन्त्र भएका उपनिवेशहरूको माझमा पनि सीमा झगडा लगाउने, अनेक वैमनस्य तथा साम्प्रदायिक भावनाका बिउ छरेर गए । गुप्तरूपले उपनिवेशवादविरोधी आँधी साम्य भएपछि पूर्वउपनिवेशहरूमा भित्र र बाहिर अन्तरविरोधहरू चर्काए । दोस्रो विश्वयुद्धपछि बेलायती र अमेरिकी साम्राज्यवादीहरूले हिन्दु र मुसलमान, सिया र सुनि, उत्तर र दक्षिण, पूर्व र पश्चिम तथा अनेक सीमा विवाद भित्रभित्र चर्काउँदै एसियामा क्षेत्रीय युद्धहरू गराए । हिन्दुस्तानमा हिन्दु र मुसलमान, उत्तर कोरिया र दक्षिण कोरिया, उत्तर र दक्षिण भियतनाम, चीन–भारत सीमा विवाद, श्रीलङ्कामा तामिल र सिंहाली, पूर्वी र पश्चिम पाकिस्तान आदि यसका उदाहरण हुन् ।
देश स्वतन्त्र भएको देखिए पनि शासक राजनैतिक दलहरू र त्यसका नेताहरूमा साम्राज्यवादी र उपनिवेशवादी भावना एवम् विचारबाट मुक्त हुन समय लाग्ने सबैतिर देखिन्छ । चीन र भारतको सन् १९६२ को ‘सीमा भिडन्त’ लाई पश्चिमी पुँजीवादी देशहरू ‘भारत–चीन युद्ध’ को रूपमा प्रचार गर्छन् वा ‘भारतमाथि चीनको आक्रमण’ को रूपमा प्रचार गर्छन् । साम्राज्यवादीहरूले एसियामा युद्ध थोपर्ने उद्देश्यले नै त्यस्ता प्रचार गर्दै रहे भने चीनले ‘चीन–भारत सीमा विवाद’ वा ‘बोर्डर कन्फ्लिक्ट’ ‘सीमा सङ्घर्ष’ को रूपमा लिन्छ ।
चीनमाथि चढाइ गर्ने भाषामा भारतीय पक्षले सन् १९६२ मा भनेको थियो, ‘चिनियाँ बन्दरोँको खडेड दो ।’ यसमा छिमेकी जनताप्रति घृणा, अपमान र असहिष्णुता प्रकट हुन्थ्यो भने साम्राज्यवादी र उपनिवेशवादीहरूले चीनविरुद्ध उक्साएको ‘आक्रमण’ हो । भिडन्तलाई सकेसम्म छल्नको निम्ति चिनियाँ सेना पछि हट्दै थियो, समस्या वार्ताबाट टुङ्ग्याउने, इतिहासले छोडेका समस्यालाई मित्रवत ढङ्गले सुल्झाउने आग्रह गर्दै थियो भारतसँग । भर्खर स्वतन्त्र भएका एसियाली र अफ्रिकी देशहरूमा चीन र भारतको झगडाबारे भ्रम नफैलियोस् र साम्राज्यवादीहरूले खेल्ने मौका नपाऊन् भनी चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले एसियाली र अफ्रिकी नेताहरूबीच भारतीय नेताहरूले अमेरिकी साम्राज्यवादको घच्घच्याइमा लडाइँ र आक्रमण रोजेको बताए ।
एसियाका दुई ठूला देशमा वैमनस्य बढ्यो, अन्य छिमेकीहरूमा पनि आपसमा आशङ्का बढ्यो र नव स्वतन्त्र मुलुकहरूमाझ साम्राज्यवाद एवम् उपनिवेशवादविरोधी एकता कमजोर भयो । आज भारतमा दक्षिणपन्थि, हिन्दू अतिवादी, मुसलमान–दलित र अन्य धर्म एवम् आदिवासी जनताप्रतिको भेदभाव बढाउने मोदी सरकार छ । जसरी फासीवादी मुसोलिनीले ‘क्याथोलिक रोमको गौरव’ र राष्ट्रवादको नारा लगाउँदै अर्ध–सैनिक युवा समूहमार्फत प्रजातान्त्रिक र राजनैतिक अधिकारमाथि अङ्कुश लगाए ।
ट्रम्पको फासीवादले बाइबल हातमा लिएर, भेदभावविरोधी आन्दोलनमाथि गोली चलाई दमन चर्कायो, राष्ट्रिय गार्ड र प्रहरीलाई छाडा बनायो, गोरा जनता आफै आतङ्कित हुने परिस्थिति तयार पा¥यो । लकडाउन हटाएर ट्रम्पले कोरोना भाइरस सङ्क्रमित सङ्ख्या बढाए, लाखौँको सङ्ख्यामा बिरामी हुन र मृत्युवरण गर्न बाध्य पारे । भारतमा मोदीले त्यही गरे ।
हिटलरले ‘आर्य पवित्र रगत’ को नाममा छिमेकी देशहरूलाई कुल्चँदै बढेका थिए भने भारतीय विस्तारवादले सिक्किम कब्जा ग¥यो, भुटानमा हस्तक्षेप गरी लाखौँ नेपाली विस्थापित गर्न दियो, नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतमा मिलाउन नेपालमा भारतीय सेना पठायो र नेपालको भूमि आफ्नो नक्सामा गाभ्यो । मुसोलिनीले जस्तै भाजपाले अर्ध–सैन्य दल शिवसेनालाई सक्रिय बनायो । छिमेकी श्रीलङ्का भारतले तामिल जातीय भिडन्त पुनः जागरित गर्ने हो कि भन्ने त्रासमा बाँचेको छ भने बङ्गलादेश भाजपाको सरकारले गर्मीमा बाढीमा डुबाउने र जाडोमा पानीको हाहाकार गराउने सम्भावना र भयबाट त्रसित छ । बेलायती र अमेरिकी साम्राज्यवादले इन्दिरा गान्धीलाई न्यू स्टार कार्यवाहीको सल्लाह दिई शीख जनताको भावनाको केन्द्र स्वर्ण मन्दिर आक्रमण गर्न लगाई आफ्नै र भारतीय राष्ट्रिय काङ्ग्रेसको पतन निम्त्याउन दिए । आज ती साम्राज्यवादीहरू गान्धीको पतनजस्तै मोदीलाई रसातलमा पु¥याउन चीन, नेपाल र अन्य छिमेकी देशहरूमाथि आक्रमणको धम्की दिन लगाउँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *