भर्खरै :

पपुलिस्ट आन्दोलन ः नेतृत्व र सङ्गठनको प्रश्न

अमेरिकाको मिनियापोलिसमा जर्ज फ्लोडको निर्मम हत्यापछि उठेको आन्दोलन अमेरिकी सिमाना नाघेर संसारका विभिन्न देशमा फैलिएको छ । विशेषतः पूर्वउपनिवेशवादी युरोपेली देशहरूमा जातिवादको विरोधमा ठुलठुला प्रदर्शनहरू भइरहेका छन् । जर्जको हत्या पश्चिमा समाजमा बलियो किल्ला गाडेर बसेको जातिवादको विरोधमा जनअसन्तोष व्यक्त गर्ने मौका बनेको छ । अनेक थरी कलेवरमा रहेको जातिवादको विरोध विभिन्न देशमा आ–आफ्नो परिस्थितिअनुसार भइरहेको छ । अमेरिकामा जातिवादविरोधी आन्दोलन ‘ब्ल्याक लाइफ म्याटर’ नामबाट उठेको छ भने ब्राजिलमा यो आन्दोलनले राष्ट्रपति बोल्सोनारोको लोकतन्त्रविरोधी गतिविधिविरुद्ध प्रतिरोधको रूप लिएको छ । झन्डै अमेरिकाको आन्दोलनको झल्को दिने गरी नेपालमा भएको आन्दोलनले भने कोरोना नियन्त्रणको नामबाट भइरहेको भ्रष्टाचारको विरोधको अवतार धारण गरेको छ । रुकुमको चौजहारीमा भएको हत्याकाण्डमा पीडितलाई न्यायको पक्षमा लडिरहेका अभियन्ताहरूले ‘ब्ल्याक लाइफ म्याटर’लाई स्थानीयता दिँदै ‘दलित लाइफ म्याटर’ भनी केही प्रदर्शनहरू गरे ।
अमेरिकामा यसअघि भएका केही यस्ता आन्दोलनलाई फर्केर हेर्दा अहिलेको आन्दोलनबाट पनि त्यहाँको राजनीति, अर्थतन्त्र र सामाजिक बन्दोबस्तमा धेरै ठुलो अपेक्षा गर्न सकिंदैन । त्यस्तै अन्य देशमा उठेको प्रदर्शनले पनि त्यहाँको प्रणालीमा खास असर गर्ने देखिंदैन । वास्तवमा यो आन्दोलन पनि अमेरिकामा सन् २०११ मा भएको अक्युपाई वाल स्ट्रिट आन्दोलनकै नयाँ संस्करणमात्र बन्ने सम्भावना प्रबल छ । त्यत्तिबेला अमेरिकी सामाजिक जीवनमा फैलिंदै गएको आर्थिक विषमताको विरोधमा न्यु योर्कको जुकोट्टी पार्कमा आन्दोलन सुरु भएको थियो । अमेरिकी जनताबीच बढ्दो आर्थिक असमानताको कारण अमेरिकी पुँजीवादी केन्द्र वाल स्ट्रिटका मालिकहरूले कमाउने गरेको नाफा भएको निष्कर्ष निकाल्दै प्रदर्शनकारीहरूले एक प्रतिशत मालिक वर्गको विरोधमा ९९ प्रतिशतको प्रतिरोधको आह्वान गरेका थिए । अमेरिकामा उठेको यो आन्दोलनको तरङ अधिकांश युरोपेली देश र संसारभर फैलिएको थियो । नेपालमा पनि केही युवाहरूले ‘अक्युपाई बालुवाटार’ को नाममा केही प्रदर्शनहरू गरेका थिए । व्यापक जनताको चेतनास्तर उठाउन आन्दोलनले महत्वपूर्ण भूमिका खेले पनि त्यहाँको समाजमा ठुलो परिवर्तन देखाउन सकेन । बरु अरब देशहरूमा सन् २०१० बाट उठेको आन्दोलनले भने केही देशमा ऐतिहासिक परिवर्तनहरू गरे । एक दसकअघिको अन्तर्राष्ट्रिय घटनाक्रमलाई फर्केर हेर्दा अरब देशमा उठेका कतिपय आन्दोलनलाई भने अमेरिकी र युरोपेली शासक वर्गले आफ्नो अनुकूल उपयोग गरेको देखिन्छ । अरब विद्रोहकै शिलशिलामा लिवियामा भएको उपद्रवले त्यहाँका साम्राज्यवादविरोधी नेता मुअम्मर गद्दाफीको हत्या भयो । लिविया अन्त्यहीन द्वन्द्वमा फस्यो । त्यो दलदलबाट आज पनि लिविया मुक्त हुनसकेको छैन । सिरियामा राष्ट्रपति अस्सादविरोधी आन्दोलन त्यही समयमा सुरु भयो । लामो समय सिरिया गहिरो गृहयुद्धमा फस्यो । सिरिया अन्तर्राष्ट्रिय शक्तिहरूहरूबीच आपसमा भिड्ने थलो बन्यो । अरब विद्रोहले मूलतः पश्चिमा साम्राज्यवादी शक्तिकै सेवा गरेको देखियो । जनविद्रोहको नाममा साम्राज्यवादी शक्तिहरूले आफ्नो हात माथि पारे ।
अमेरिकामा आन्दोलन उचाइ पुगेर किन बिना उपलब्धि सेलाउने गर्छ ? त्यसो त कुनै पनि आन्दोलनले इतिहासमा कुनै न कुनै डोब छोडेर गएको हुन्छ । त्यस्ता डोबले नै भावी पुस्तालाई भविष्यको बाटो तय गर्न मद्दत गर्छ । तथापि, अमेरिकी शासक प्रणालीमा विश्वव्यापी बनेको आन्दोलनले केही परिवर्तन नल्याउनुको कारण के हुनसक्छ ?
जर्ज फ्लोडको हत्यापछि संरा अमेरिकामा आन्दोलनको लहर उठिरहेको बेलामा आयोजित एक अनलाइन कार्यक्रमका टिप्पणीकर्ताहरूले त्यसबारे चर्चा गर्दै ‘नेतृत्व र सङ्गठनको अभाव’ कै कारण अमेरिकामा उठ्ने आन्दोलनले यस्तो नियति भोग्नुपरेको बताएका थिए । अक्युपाई वाल स्ट्रिट आन्दोलनजस्तै जर्ज फ्लोडको हत्याको प्रतिरोधमा भएको आन्दोलन पनि कुनै सङ्गठनको जगमा उठेको आन्दोलन होइन । न त यसको कुनै केन्द्रीय नेतृत्व नै देखिन्छ । विशेषतः सामाजिक सञ्जालमार्फत हुने खबरको आधारमा यो आन्दोलन उठेको देखिन्छ । त्यसकारण, यो आन्दोलनको उद्देश्यबारे धेरैका धेरै थरी व्याख्या छन् । माक्र्सवादी रुझान भएका केही आन्दोलनकारी यसलाई संरा अमेरिकी पुँजीवादी प्रणालीगत परिवर्तनतिर डो¥याउनुपर्नेमा जोड दिइरहेका छन् । युगौँ युगदेखि छालाको रङ, जाति र समुदायको आधारमा विभेद भोग्दै आएका समुदाय यसलाई सामाजिक समानताको कोणबाट व्याख्या गरिरहेका छन् । अराजकतावादी चिन्तन पक्षधरहरू अहिलेको विद्रोहलाई यसरी नै नेतृत्वबिहीन अवस्थामा सहरी विद्रोहको रूपमा अघि बढाउने विचार प्रचार गरिरहेका छन् ।

कुनै पनि राजनीतिक र प्रणालीगत परिवर्तनको निम्ति भने बलियो साङ्गठनिक आधार र लक्ष्यप्रति प्रस्ट राजनीतिक नेतृत्व आवश्यक हुन्छ । नेतृत्व र सङ्गठनबिना उठेको आन्दोलनले केही समय चर्चा बटुले पनि निर्धारित लक्ष्य हासिल गर्ने सम्भावना न्यून हुन्छ । चर्चित बन्नुलाई नै सफलता मान्ने सोचका मानिस यस्ता गतिविधिमा लाग्छन् । सूचना प्रविधिको फैलिँदो विकास भएको आजको समयमा चर्चामा आउने लक्ष्य केही हदसम्म पूरा पनि गर्छन् । तर, तिनको यस्तो चर्चा पपुलिज्ममा मात्र सीमित हुने गरेको छ ।

तर, विशेषतः एक जना गोरा प्रहरी अधिकारीले जर्ज फ्लोडको घाँटीमा घुँडाले थिचेर मारेको श्रव्यदृश्यबाट उत्पन्न हुने भावुकता र आक्रोशले नै यसपालिको आन्दोलनले व्यापकता पाएको देखिन्छ । घुँडाले घाँटी अँठ्याएको अवस्थामा श्वास फेर्न गाह«ो भएर जर्ज फ्लोडले बोलेको ‘मलाई श्वास फेर्न गाह«ो भयो’ भन्ने बोली नै आन्दोलनको श्वास बनेको छ । तर, यो आन्दोलनको आयु कति लामो हुनेछ ?
राष्ट्रपति भवन वरपर आन्दोलनकारीले घेरा लगाएपछि ट्रम्पले सुरक्षित स्थलमा आश्रय लिएको तहसम्म पुगेको आन्दोलनको तेस्रो साता पनि नपुग्दै शिथिल बन्दै गएको छ । धेरै थरी कारण र उद्देश्य बोकेर आन्दोलनमा आएका अमेरिकी जनताको जोश भने अहिले नै सेलाउँदै गएको छनक देखिन्छ । युरोपका अन्य सहरमा भएका प्रदर्शन पनि मूलतः अमेरिकी जनताप्रतिको ऐक्यबद्धतामा सीमित बनेको देखिन्छ । स्वभावतः यसको मूल कारण नेतृत्व र सङ्गठनकै अभाव हुनु हो । सामाजिक सञ्जालका सर्कुलरको भरमा दुधजस्तै उम्लेको आन्दोलन त्यसरी नै सेलाउने गर्छ ।
इनफ इज इनफको नाममा काठमाडौँमा जेठ मसान्तमा भएको आन्दोलन पनि यस्तै आन्दोलनको नेपाली संस्करण बनेको छ । यस्ता आन्दोलनका विशेषतामध्ये यिनले उठाउने नारा र मुद्दा आकर्षक र सबैले भन्न चाहेकै हुन्छन् । यस्ता मुद्दा र नारालाई सिर्जनशील मानिसहरूले टपक्क टिप्न सकिने खालको आकर्षक बनाएका हुन्छन् । सामाजिक सञ्जालमार्फत प्रचार गरिने भएकोले विशेषतः सामाजिक सञ्जालमा अधिक संलग्न हुने उमेर समूहका मानिस यस्ता आन्दोलनमा सामेल हुने गर्छन् अर्थात् विशेषतः १६ वर्षदेखि ३० वर्ष उमेरका युवाहरू आन्दोलनमा सहभागी भएका हुन्छन् । आफूलाई उचित र जायज लागेको विषय बोकेर सडक पोखिने युवाहरूको सहभागिताको कारण यस्ता आन्दोलनहरूले धेरैलाई आशावादी र आकर्षक बनाएको हुन्छ । शासक र सरकारलाई यस्ता आन्दोलनले त्रसित बनाउने कारण पनि यही हो । तर, यो उमेर समूहका युवाहरूको उमेरगत चञ्चलता र आलोचनात्मक दृष्टिकोणको कमीले आन्दोलनको लक्ष्य निर्धारण र त्यहाँ नपुग्दासम्मको लम्काइमा भने समस्या हुने गरेको छ ।
अझ कतिपय निहित उद्देश्य र स्वार्थ बोकेका समूहले यस्ता हेर्दा स्वतन्त्र र निष्पक्ष देखिने आन्दोलनको उपयोग गर्न खोज्छन् । यस्ता आन्दोलनलाई धुँवाको पर्दा बनाएर आफ्नो राजनीतिक लक्ष्य फत्ते पार्ने अभ्यास पनि नयाँ होइन । आफ्नो लक्ष्य हासिल गरेपछि वा लक्ष्य हासिल हुने अवस्था नदेखिए पनि बीच बाटोमा आन्दोलनलाई बेवारिसे छोड्ने गरिएको पनि धेरै उदाहरण छन् । तर, कुनै मुद्दालाई लिएर स्वतःस्फुर्त उठेको यस्ता सहरी आन्दोलनले नै समयान्तरमा निश्चित राजनीतिक दल वा सङ्गठनको रूप लिएका पनि छन् । आन्दोलनले समान विचार भएका केही मानिसलाई एकै स्थानमा ल्याएर त्यही जगबाट राजनीतिक दल वा सङ्गठन स्थापना भएका हुन्छन् । संसारमा यसका धेरै थरी अनुभव र उदाहरण हुनसक्छन् ।
तर, कुनै पनि राजनीतिक र प्रणालीगत परिवर्तनको निम्ति भने बलियो साङ्गठनिक आधार र लक्ष्यप्रति प्रस्ट राजनीतिक नेतृत्व आवश्यक हुन्छ । नेतृत्व र सङ्गठनबिना उठेको आन्दोलनले केही समय चर्चा बटुले पनि निर्धारित लक्ष्य हासिल गर्ने सम्भावना न्यून हुन्छ । चर्चित बन्नुलाई नै सफलता मान्ने सोचका मानिस यस्ता गतिविधिमा लाग्छन् । सूचना प्रविधिको फैलिँदो विकास भएको आजको समयमा चर्चामा आउने लक्ष्य केही हदसम्म पूरा पनि गर्छन् । तर, तिनको यस्तो चर्चा पपुलिज्ममा मात्र सीमित हुने गरेको छ । खास राजनीतिक र प्रणालीगत परिवर्तनको निम्ति सशक्त नेतृत्व र प्रभावकारी सङ्गठनकै खाँचो पर्छ । तसर्थ अमेरिकाको आन्दोलनदेखि काठमाडौँको प्रदर्शनसम्म, सबैबाट अपेक्षित परिवर्तनको लागि सङ्गठन निर्माण र नेतृत्व विकास प्रमुख आवश्यकता हो । त्यसो नभए सामाजिक सञ्जालको प्रचारको भरमा आन्दोलनमा लाग्ने युवाहरू या त धुवाँको पर्दाको शिकार बनाइनेछ नभए थप निराशाको दलदलमा फस्ने सम्भावना हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *