भर्खरै :

गोर्खा भर्तीकेन्द्र खारेज गर

            चीन र भारतबीच गलवन क्षेत्रमा आपसी द्वन्द्व चर्किएसँगै बिदामा बसेका भारतीय सेनाअन्तर्गत गोर्खा रेजिमेन्टमा कार्यरत नेपालीहरू काममा फर्किए । गलवनमा गएको सोमबार दुई देशका सेनाबीच भिडन्त भएपछि चीनसँग हुनसक्ने लडाइँलाई ध्यानमा राखी भारतीय सेनाले नेपालीहरूलाई फिर्ता बोलाएको हो । ज·बहादुर राणाले लखनउमा तत्कालीन बेलायती कम्पनी सरकारविरूद्ध भएको विद्रोह दबाउन नेपाली सिपाहीँ प्रयोग गरेका थिए । नेपालीहरूलाई भाडाको सिपाहीँ (मर्सिनरिज) को रूपमा विभिन्न युद्धमा प्रयोग गर्ने परम्परा त्यहीँबाट सुरू भयो । तिब्बतसँग बेलायतको युद्धमा नेपालीहरू प्रयोग गरिएका थिए । बेलायतले नेपाली भाडाका सिपाहीँहरू अर्जेन्टिनादेखि म्यानमारसम्म पनि प्रयोग गरेको इतिहासले देखाउँछ । बेलायती सेनामा आज पनि गोर्खा रेजिमेन्ट कायम नै छ । भारत बेलायती उपनिवेश मुक्त भएपछि भारतीय सेनाले पनि गोर्खा रेजिमेन्टलाई कायम नै राख्यो । भारतले सबभन्दा जोखिमपूर्ण र खतरनाक द्वन्द्व क्षेत्रमा गोर्खा रेजिमेन्टकै प्रयोग गर्ने गरेको छ । सन् १९६२ मा भएको चीन–भारत लडाइँमा पनि ठुलो सङ्ख्यामा नेपालीहरू प्रयोग भएका थिए ।
            विदेशी सेनाको सेवामा नेपालीहरूलाई प्रयोग गर्न खुलेका गोर्खा भर्तीकेन्द्र उपनिवेशवादी इतिहासको सिलसिला हो । भारतजस्तै चीन नेपालको छिमेकी देश हो । छिमेकी देश हुनु र नेपालको असंलग्न परराष्ट्र नीतिको कारण चीन र भारतबीचको द्वन्द्वमा नेपाल कुनै पनि देशको पछि लाग्नु अनैतिकता हो । अहिले चीनसँगको द्वन्द्वमा भारतको पक्षमा नेपालीको प्रयोग हुनु नेपालको असंलग्न नीतिविपरीत हो । गोर्खा भर्तीकेन्द्रलाई चालू राख्नु नेपालमा राणाहरूले राखेको अर्धउपनिवेशवादको जगलाई निरन्तरता दिनु हो ।
            नेपाल कम्युनिस्ट पार्टीका स्थापनाकालीन दस्तावेजमा गोर्खा भर्तीकेन्द्र बन्द गरिनुपर्ने माग उल्लेख छ । ७० वर्षयता यही नारा कम्युनिस्ट पार्टीहरूले आफ्नो मुख्य मुद्दामा निरन्तरता दिँदै आएका छन् । आज नेपालमा आफूलाई कम्युनिस्ट दाबी गर्ने पार्टीको सरकार छ । नेपाल कम्युनिस्ट आन्दोलनको मूलधार दाबी गर्ने दलको सरकार हुँदा ७ दसकअघि उठाएको मुद्दाको कार्यान्वयन गर्नुपर्दैन ? दुई छिमेकमध्ये एउटा छिमेकको विरोधमा अर्को छिमेकको लागि आफ्ना युवालाई लड्न पठाउनुले नेपालको स्वतन्त्र परराष्ट्र नीति कागजमा मात्र सीमित रहेको देखाएको छ ।
            नेपाली युवाहरूलाई पैसाकै लागि कुनै पनि देशको भाडाको सिपाहीँ बनाउने उपनिवेशवादी परम्पराको अन्त्य गरिनुपर्छ । गोर्खा भर्तीकेन्द्र बन्द गर्ने अहिले उपयुक्त मौका हो । नेपाली युवालाई कुनै पनि मित्र देशको हानी गर्न प्रयोग गर्नुहुन्न । चीन हाम्रो निकै पुरानो र आपतविपतको छिमेकी हो । चीनले नेपाललाई सधैँ दुःखमा सहयोग गर्दै आएको छ । कोरोना सङ्क्रमण व्यापक बन्दै गरेको आजको परिस्थितिमा पनि नेपाली जनतालाई सबभन्दा बढी सहयोग चीनले नै गरिरहेको छ । यस्तो अवस्थामा नेपाली युवाहरूलाई उसैको विरोधमा परिचालन गर्नु बेइमानी हुनेछ । यस्तो अनैतिक काम नेपालबाट हुनु सम्पूर्ण नेपाली जनताको लागि लज्जाको विषय हो ।
            नेपाली युवाहरूलाई नेपालमै रोजगारी बन्दोबस्त गर्दा नेपाली युवाहरू हातमुख जोड्न विदेशमा अरूसामु हात फैलाउनुपर्ने र विदेशीको आदेशमा असम्बन्धित जनतामाथि हमला गर्नुपर्ने छैन । नेपाली युवाहरूलाई कुनै अर्को देशको शासक वर्गको रक्षाको लागि ज्यान हत्केलामा राख्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्छ । गोर्खा भर्तीकेन्द्र खारेज गरी यो सरकारले नेपाली जनतालाई स्वाभिमानी भएको बोध गराओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *