करिब ३ महिनाको लकडाउनपछि असार १ गतेबाट कलकारखानालगायत सरकारी कार्यालय खुलेका छन् । कोरोना भाइरसको सङ्क्रमणले एउटा कठिन मोड लिने आशङ्कासँगै गरिएको लकडाउन निकै लामो समयसम्म लम्बिएपछि सामान्य जीवनयापनमा मुस्किल पर्नथाल्यो जसको कारण कार्यालय तथा कलकारखानाहरू खोल्न थालिए अथवा भवन खोल्न बाध्य भए ।

            कलकारखाना खोलेलगत्तै व्यवसायजन्य सुरक्षा र कारखाना निरीक्षणको अति आवश्यक रहेको देखिन्छ । कारखानामा कार्यरत सम्पूर्ण कामदारहरूले सुरक्षाका उपाय अपनाउँछन् कि अपनाउँदैनन् भन्ने प्रश्न उठेको छ । कारखाना खुलेपछि त्यहाँको सरसफाइ, कामदारको लागि साबुन पानीले हात धुने अनिवार्य नियम, शौचालय व्यवस्थापन, मास्क तथा पञ्जा वितरण, सामाजिक दुरी कायमजस्ता कार्यहरू पनि अगाडि बढाउन जरुरत छ । अहिलेको यो विषम परिस्थितिमा यस्ता कुराको निरीक्षण गर्न अझै बढी जरुरत देखिन्छ ।

            हुन त व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य प्रशासन (OSHA) ले विभिन्न निर्देशन तथा नीति पारित नगरेको होइन । हालै OSHA प्रोफाइल पनि तयार गरिएको छ जसमा व्यवसायको क्रममा स्वास्थ्यको कुन–कुन कुरालाई ध्यान दिनुपर्छ भन्ने कुरा उल्लेख गरिएको छ । तर, पारित सँगसँगै यसलाई कार्यान्वयनमा ल्याउन पनि नितान्त आवश्यक छ । यसका लागि प्रत्यक्ष निरीक्षणको आवश्यक पर्छ ।

            तर, विडम्बना ! यस्ता कुराको निरीक्षणको लागि नेपालमा निरीक्षक एकदमै कम छ । हालसालै गरिएको एक अध्ययनअनुसार नेपालका इक्ज् निरीक्षक र कलकारखानाको गणना गर्ने हो भने एकजना निरीक्षकले १ दिनमा कम्तीमा १०५ वटा सबैखाले कारखानाहरूको निरीक्षण गर्नुपर्नेछ भने व्यवसायजन्य सुरक्षा एवं स्वास्थ्यको दृष्टिकोणबाट निकै संवेदनशील कलकारखानाहरूको मात्र कुरा गर्ने हो भने १ जना निरीक्षकले एक दिनमा कम्तीमा १५ वटा कारखानाहरूको निरीक्षण गर्न भ्याउनुपर्ने देखिन्छ । अब यो कतिको सम्भव हुन्छ हामी अनुमान लगाउन सक्छौँ ।

            अझ घरेलु उद्योग र त्यहाँका कामदारको सुरक्षाको विषयमा त कसैको चासो नै देखिदैन । उद्योगहरूमा प्रयोग गरिने मेसिनअनुसार सामाजिक दुरी कायम गर्न अत्यन्त असम्भव देखिन्छ । त्यसैगरी प्रायः उद्योगहरूमा हामी देख्नसक्छौँ उच्च पदमा रहेका व्यक्तित्व (हाकिम) र मजदुर (कामदार) ले प्रयोग गर्ने शौचालयको बनोट र सरसफाइमा धेरै भिन्नता पाइन्छ । अब यो भिन्नतालाई समानतामा परिवर्तन गर्नुपर्ने घडी आएको छ जसका लागि फेरि पनि प्रत्यक्ष निरीक्षकको जरुरत हुन्छ ।

            तसर्थ बचाउ उपायको जनचेतना फैलाएरमात्र भएन, त्यसलाई सम्पूर्ण अहिलेका कलकारखानामा लागू गरिएको छ कि छैन भन्नेबारे पनि निरीक्षण हुनुपर्‍यो । यसको लागि यथेष्ट र योग्य निरीक्षकको जरुरत छ । यस विषयमा अझ ‘श्रम तथा रोजगार मन्त्रालय’ मार्फत सरकारले सामाजिक सूचना प्रकाशित गरिदिए सबैको ध्यान आकर्षण हुन्थ्यो ।

            अन्तमा, बन्दाबन्दी (लकडाउन) को सहजता वा अन्तसँगै सञ्चालनमा आउन लागेका कलकारखानाहरूमा व्यवसायजन्य सुरक्षा एवं स्वास्थ्य (OSH) को दृष्टिकोणबाट कलकारखानामा भएका मेसिनहरू, बोइलरहरू, प्रेसर भिसेलहरूलगायत अन्य पार्टपुर्जा र औजारहरूको पनि सञ्चालनमा ल्याउनअगावै पूर्ण निरीक्षण सँगसँगै कोभिड रोगको सङ्क्रमणबाट जोगिन सबैखाले उपायहरू जस्तै मास्क, स्यानिटाइजर, भौतिक तथा सामाजिक दुरी र कारखानाको सरसफाइमा पनि त्यतिकै ध्यान दिनुपर्दछ ।

सुनिता माटाङगुलू image
सुनिता माटाङगुलू

Leave a Reply

Your email address will not be published. Required fields are marked *