भर्खरै :

नमुनाको रूपमा काम गर्न जनताको साथ आवश्यक

(असार ७ गतेबाट सुरु भएको भक्तपुर नगरपालिकाको सातौँ नगरसभाको उद्घाटन कार्यक्रममा उपप्रमुख रजनी जोशीद्वारा व्यक्त स्वागत मन्तव्य)
नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरूलाई अत्यधिक मत दिएर विजयी गराई नगर र नगरवासीहरूको सेवा गर्ने सुअवसर दिनुहुने सम्पूर्ण नगरवासीहरूमा हामी कृतज्ञता व्यक्त गर्दछौँ । स्थानीय तह निर्वाचनमा दिइएको घोषणापत्रलाई आधार बनाई हामी अघि बढिराखेको यहाँहरूसमक्ष स्मरण गराउन चाहन्छौँ ।
गत वर्षको अन्तदेखि विश्व नै एक फरक परिस्थितिबाट गुज्रिरहेको छ, त्यो हो कोरोनाको महामारी । यो महामारीले मानव विकासलाई नै आतङ्कित तुल्याएको छ । हरेक सामाजिक÷वातावरणीय इत्यादि क्षेत्रमा ठुलो पाठ पनि सिकाएको हामी सबैले महसुस गरेका छौँ । हरेक नेपाली सचेत र सजग भई विज्ञहरूका सुझावअनुसार सुरक्षाका विधि अपनाई अघि बढ्नु एकमात्र विकल्प रहेको भक्तपुर नगरपालिकाको ठम्याइ रहेको छ । महामारीबाट दिवङ्गत नेपाली दाजु भाइ दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । उपचाररत सम्पूर्ण बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । लकडाउन भएदेखि अहिलेसम्म नगरवासीहरूको लागि नगद÷जिन्सीलगायत खाद्यान्न उपलब्ध गराई सहयोग गर्नुहुने सम्पूर्ण मनकारी महानुभावहरूलाई भक्तपुर नगरपालिका हार्दिक धन्यवाद व्यक्त गर्दछ । यस सङ्कटमा अग्रपङ्क्तिमा रही जनताको सेवा गर्नुहुने सम्पूर्ण स्वास्थ्यकर्मी÷ सुरक्षाकर्मीहरूमा आभार प्रकट गर्दछु ।
यस कोराना कहरलाई सामान्यीकरण गर्दै सम्पूर्ण जनप्रतिनिधिहरू नगरवासीहरूका आधारभूत आवश्यकता यथासम्भव पूरा गर्दै घोषणापत्रमा रहेका अत्यावश्यक कार्यक्रमलाई समेट्ने विश्वासका साथ सातौँ नगर सभा
(बजेट सभा) को थालनी गर्दै छौँ ।
आजको नीति तथा कार्यक्रम जनप्रतिनिधिहरूको पद बहालीपछिको चौथो वर्षको कार्यक्रम हो । भक्तपुर नगरपालिकाले शिक्षा एवं स्वास्थ्यलाई एक सिक्काको दुई पाटाको रूपमा अघि बढाइरहेको अवस्था हो । यस विषम परिस्थितिमा कोभिड–१९ लाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने आजको आवश्यकता रहेको हामीले देखेका छौँ । शिक्षालाई विकासको मेरुदण्डको रूपमा भक्तपुर नगरपालिकाले अघि बढाइरहेको छ । भक्तपुर नगरपालिका भक्तपुरलाई कला र सांस्कृतिक नगरको साथै ज्ञान विज्ञानको केन्द्र बनाउने लक्ष्य लिई अघि बढिरहेको छ ।
‘पुर्खाले सिर्जेको सम्पति, हाम्रो कला र संस्कृति’ भन्ने नारालाई भक्तपुर नगरपालिकाले निरन्तर अगाडि बढाइरहेको छ । यस कार्यमा कोभिड–१९ महामारीको प्रत्यक्ष असर परेको हामी भोगिरहेका छौँ । हाम्रो संस्कृति÷रीतिरिवाजलाई यही महामारीको कारण नगरवासीहरूलाई सामान्यरूपमा मात्र मनाउन आह्वान गर्न भक्तपुर नगरपालिका बाध्य भयो । हामीले नगरवासीहरूको स्वास्थ्यलाई प्राथमिकतामा राखेका छौँ । हामी स्वस्थ भएमा हाम्रो रीतिरिवाज र संस्कारलाई निरन्तरता दिने छौँ र जीवन्त राख्ने छौँ । यसलाई अझै निरन्तर साथ दिनुहुनेमा हामी विश्वस्त छौँ ।
हाम्रो कलाकारिता, सम्पदा र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै अगाडि बढाउन हामी लागिपरेका छौँ । सरकारले काठमाडाँै उपत्यकामा ठुला चार उपनगरहरू निर्माण सुरु गर्न लागेको छ । नेपाल मजदुर किसान पार्टीले सुरुदेखि यसको विरोध गर्दै आएको यहाँहरूलाई अवगत छ । यसमा हामी सबै नगरवासीहरू सचेत हुनु जरुरी छ । सबैभन्दा पहिले उपत्यकामा भएका बस्तीहरू व्यवस्थित गर्न जरुरी छ । उपत्यकाको क्षमताअनुसार बस्ती बसाल्नुपर्छ खानेपानी÷ढल निकास÷पारवहन÷ यातायातजस्ता अत्यावश्यक पूर्वाधारको बारेमा हामीले धेरै अगाडिदेखि बोल्दै आएका थियौँ । यसले कृषि उत्पादनको अभाव हुने सम्भावना बढी हुनेछ । हाम्रो संस्कृतिलाई निरन्तर अघि बढाउन कठिन हुनेछ । हाम्रो भावी सन्ततिलाई पुर्खाले सिर्जेको सम्पति सुम्पन मुस्किल हुनेछ । यसर्थ सम्पूर्ण नगरवासीले यसबारे मनन गरौँ ।
आजको यस विशेष परिस्थितिमा हामीले नगरवासीहरूको साथ र सहयोगमा नगरको चौतर्फी विकासका लागि विकास निर्माणका काम÷संरक्षणका काम भइरहेको छ । यहाँहरूको निरन्तर साथ रहनेमा भनपा विश्वस्त छ । भक्तपुर नगरपालिका र नगरवासी एक अर्काको परिपूरक हो । हरेक काम नमुनाको रूपमा गर्न जनताको साथ लिएर हामी अगाडि बढिरहेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *