भर्खरै :

भेनेजुयलाका राष्ट्रपति माडुरोसँग भेट्ने राष्ट्रपति ट्रम्पको इच्छा, विपक्षी नेता अविश्वसनीय

वासिङ्टन, ८ असार  (एएफपी) । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोसँग भेटवार्ता गर्नेबारेमा विचार गरिरहेको बताएका छन् । आइतबार प्रकाशित राष्ट्रपति ट्रम्पको अन्तर्वार्तामा उनले भेनेजुयलाका विपक्षी नेता पूरै विश्वासिला नभएको सङ्केत गरेका छन् ।
भेनेजुयलाका विपक्षी नेता ह्वान ग्वाइडोले राष्ट्रपति निकोलस माडुरोलाई हटाएर आफूलाई सन् २०१९ मा मुलुकको राष्ट्रपति घोषणा गरेयता शक्ति सङ्घर्ष चुलिएको छ ।
संयुक्त राज्य अमेरिकासमेत विश्वका झन्डै ५० मुलुकले विपक्षी नेता ग्वाइडोलाई समर्थन जनाएका छन् तर चीन र रुसलगायत विश्वका १५० देशले भने राष्ट्रपति माडुरोलाई नै मान्यता दिएका छन् । राष्ट्रपति माडुरोविरुद्ध अमेरिकाले विपक्षी नेतालाई समर्थन गरी धेरै किसिमका प्रतिबन्ध एवं नाकाबन्दी लगाएको छ ।
तर, विवादकै बीच एक्सियोस न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफू भेनेजुयलाका राष्ट्रपतिसँगको भेटवार्ताका लागि खुला रहेको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले भने, “मैले त्यसबारेमा सोच्दै छु । माडुरो पनि सायद भेट्न चाहन्छन् । मैले कहिल्यै पनि बैठकका लागि अस्वीकार गरेको छैन ।”
उनले अगाडि भने, “मैले जहिल्यै भन्ने गरेको छु, भेटघाटबाट केही नराम्रो हुँदैन ।”
अमेरिका र माडुरोको समाजवादी सरकारबीचको सम्बन्ध गत मे महिनामा ५२ जना शङ्कास्पद व्यक्तिलाई गिरफ्तार गरिएपछि अझ खराब स्थितिमा पुगेको थियो जसमा दुई जना अवकाश प्राप्त अमेरिकी सैनिक पनि थिए । उनीहरूले अमेरिकी सहयोगमा भेनेजुयलाको सरकारविरुद्ध विभिन्न शङ्कास्पद गतिविधि गर्दै आएका थिए ।
भेनेजुएलाका विपक्षी नेता ग्वाइडोलाई अमेरिकाले निरन्तर समर्थन गरे पनि अन्तर्वार्ताको क्रममा राष्ट्रपति ट्रम्पले पटकपटक ग्वाइडो त्यति विश्वासयोग्य व्यक्ति नभएको बताएको एलेक्सीओले लेखेको छ ।
राष्ट्रपति ट्रम्पले भेनेजुएलामा जे भइरहेको छ त्यसको विपक्षमा आफू रहेको बताउँदै गर्दा उनले ग्वाइडोका बारेमा भने, “मैले उनलाई समर्थन गरेकै हो तर यो त्यति अर्थपूर्ण कुरा होइन ।”
राष्ट्रपति ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको संस्मरणात्मक पुस्तकका कारण सिर्जना हुने तनाव मत्थर बनाउन ह्वाइट हाउसले प्रयत्न गरिरहेकै समयमा राष्ट्रपति ट्रम्पको अर्को विवादास्पद अन्तर्वार्ता प्रकाशन भएको छ ।
बोल्टनका अनुसार राष्ट्रपति ट्रम्पले ग्वाइडोलाई अमेरिकी राष्ट्रपतिको प्रारम्भिक चुनावमा उठेका तर पछि उम्मेदवारी परित्याग गरेका बेटो ओ–रुकीजस्तै अस्थिर रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *