नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
‘असारे विकास’ नेपालको कहिल्यै नसुध्रिएको घाउ बनेको छ । आर्थिक वर्षको अन्त्यतिर बजेट सकाउने हतारमा जथाभावी गरिने ‘विकास निर्माण’ नेपालको पुरानो रोग हो । पञ्चायतकालदेखिको यो रोग आजको गणतन्त्रमा पनि उस्तै छ । साउन १ गतेबाट नयाँ आर्थिक वर्ष आरम्भ हुन्छ । विकास निर्माणका लागि जिम्मेवार निकायले त्यही बेलाबाट नै विनियोजित बजेटअनुसार विकास निर्माणका काम थालनी गर्नुपर्ने हो । तर, ढिलासुस्तीको पर्याय बनिसकेका सरकारी निकायहरूले वर्षभरि विनियोजित बजेटअनुसारको विकास निर्माणमा ध्यान दिने गर्दैन । ‘जब भयो राति, तब बुढी ताती’ भन्ने उखानजस्तै आर्थिक वर्षको अन्त्यमा आएरमात्र विकासको आवश्यक प्रक्रिया अघि बढाइन्छ । जसरी पनि काम सकाउने हतारोमा विकास निर्माण कार्यमा निर्माण ठेकेदारले प्रयोग गर्ने कमसल सामग्री वा न्यून मात्राको निर्माण सामग्रीको कारण निर्माण कार्य दिगो र गुणस्तरीय हुँदैन । काम भएको केही समयभित्रै यसरी बनाइएका बाटाघाटा, पुलपुलेसा, भवन आदि भत्किने–बिग्रिने गरेका छन् । यसरी जनताको करबाट जम्मा भएको राज्यको पैसा बेफ्वाँकमा बगाउने गरिएको छ ।
असार–साउन अत्यधिक वर्षा हुने महिना हुन् । वर्षाको समय बाटोघाटो, पुलपुलेसा, भवनलगायतका भौतिक निर्माणको लागि उपयुक्त समय होइन । तर, बजेट सकाउने दौडमा असारमा गरिने विकास निर्माण गतिलो हुनेगर्दैन । त्यसमाथि ठेकेदारले प्रयोग गर्ने कमसल निर्माण सामग्रीको कारण हुने गुणस्तरहीनताको समस्या त छँदै छ ।
एक त बजेटको विकास खर्च नै न्यून खर्च हुने, खर्च भएको रकमको अधिकांश हिस्सा आर्थिक वर्षको अन्तिम महिनामा हतारहतारमा गुणस्तरहीन तरिकाबाट हुँदा देशको विकास कसरी भइरहेको होला ¤ विकास निर्माणको नाममा सरकारी पैसाले ठेकेदारलाई पोस्ने, कर्मचारीतन्त्रलाई भ्रष्ट बनाउने काम भइरहेको छ । यसरी हतारमा फाइदा उठाउन तम्सिने अधिकांश ठेकेदारहरू शासक दलसम्बद्ध छन् । शासक दलका नेता र सांसदहरूले तिनै ठेकेदारलाई ठेक्का दिन भूमिका खेल्ने गर्छन् । ती ठेकेदारहरूकै पैसाबाट शासक दलका नेताहरू चुनावमा पैसाको खोलो बगाएर चुनाव जित्ने गर्छन् । अझ आज–भोलि त शासक दलका नेता र कार्यकर्तामध्ये अधिकांश ठेकेदारहरू छन् । शासक दलको राजनीति पैसाबिना चल्दैन । त्यसकारण पैसा भएको ठेकेदार अथवा ठेकेदार बनेको कार्यकर्ताले नै आज शासक दल चलाइरहेका छन् । ठेकेदार र राजनीतिको यो नेक्ससले सबभन्दा बढी लुट्ने महिना असार हो । शासक दलका कार्यकर्ता र कर्मचारीहरूको मिलिभगतमा असारमा गर्ने विकासले तिनलाई मनग्य नाफा लुट्छन्, विकास भएको भनी जनताको मुहारमा छाएको खुसी भने महिना दिन पनि टिक्दैन । असारमा गरिने यस्तो विकास प्रष्टतः भ्रष्टाचार हो । यसले कदापि पनि देशको विकास सम्भव हुँदैन । यो जनताको आँखामा धुलो फालेर मूर्ख बनाउने खेलमात्र हो ।
शासक दलका नेताहरूलाई असारे विकासको उद्घाटन गर्दै हिँड्न लाज हुनुपर्ने हो । विकास निर्माणको निम्ति उपयुक्त मौसममा केही पनि नगर्ने अनि जताततै पानी र हिलो हुने महिनामा पानीमाथि गिलो माटो र अलकत्रा छरेर बाटो पीच भएको देखाउने भ्रष्ट व्यवस्था नै आजको देशको यथार्थ हो ।
प्रधानमन्त्रीले भ्रष्टाचाररहित समाज बनाउने प्रतिबद्धता बारम्बार व्यक्त गर्ने गर्छन् । तर, कम्तीमा असारे विकासको नाममा हुने लथालिङ रोक्न सके पनि भ्रष्टाचार कम हुने थियो । आफ्नै नेता र कार्यकर्ताले विकासको नाममा गर्ने भ्रष्टाचार र आर्थिक हिनामिना रोक्न सकेमात्र सरकार धन्य हुनेछ । भ्रष्टाचार नियन्त्रणको निम्ति सरकारले केही गरेको ठहरिनेछ । अन्यथा जनताको रगत–पसिना एक गरेर जम्मा गरेको पैसा असारे खहरे खोलासँग बगेर सत्यानाश हुनेछ ।
Leave a Reply