भक्तपुर, १० असार । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले आर्थिक वर्ष २०७७÷७८ को लागि रू. १ अर्ब ८२ करोड ४० लाखको अनुमानित बजेट प्रस्तुत गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार बसेको सातौँ नगरसभाको बैठकमा उपप्रमुख जोशीले बाह्य स्रोतबाट ९९ करोड ३९ लाख २४ हजार, बाग्मती प्रदेश सरकारबाट ६ करोड ५४ लाख २२ हजार, सङ्घ तथा प्रदेश सरकारबाट मालपोत तथा सवारी करबापत राजस्व बाँडफाँटबाट १४ करोड ९० लाख २ हजार, देको–मिवा–इटापाके जग्गा एकीकरण आयोजनाको लागि २५ करोड रूपैयाँ बैङ्क ऋण प्राप्त हुने अनुमान गरिएको छ ।
त्यसैगरी आन्तरिकतर्फ ३३ करोड ३९ लाख र नगरपालिकाको जग्गा बिक्रीबाट १३ करोड गरी ४६ करोड ३९ लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
असार ७ गते प्रस्तुत तथा असार ९ गते नगरसभाबाट पारित नीति तथा कार्यक्रमको आधारमा चालू खर्चतर्फ १ अर्ब २ करोड ६६ लाख ८९ हजार रूपैयाँ र पुँजीगततर्फ रू. ७९ करोड ७३ लाख ११ हजार विनियोजन गरिएको छ ।
विनियोजित बजेटमा शिक्षा तथा संस्कृतितर्फ (नपाबाट सञ्चालित कलेजको बाहेक) ३८ करोड १२ लाख ३० हजार, स्वास्थ्यतर्फ (जनस्वास्थ्य केन्द्रबाहेक) १४ करोड २ लाख, सम्पदा संरक्षण तथा विकास निर्माणतर्फ ४२ करोड २३ लाख ११ हजार, फोहरमैला व्यवस्थापन तथा वातावरण सुधारतर्फ ११ करोड ८५ लाख ६८ हजार रकम छुट्याइएको छ । त्यसैगरी महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याणतर्फ २४ करोड ७६ लाख, युवा तथा खेलकुदतर्फ ३ करोड ३६ लाख, कृषितर्फ ७४ लाख र खानेपानीतर्फ १ करोड ८९ लाख २१ हजार रकम छुट्याइएको छ ।
उपप्रमुख जोशीले जनताको अधिकार सुनिश्चित गर्ने क्रममा जीवन बलिदान गर्नुभएका प्रातः स्मरणीय सहिदहरूप्रति श्रद्धाञ्जली तथा जनआन्दोलनमा घाइते भएका, प्रवास र भूमिगत भएर राजनीतिक र सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान गर्नुभएका योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा अमूल्य सुझाव दिने नगरवासी, सङ्घ–संस्था तथा कार्यालयहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *