अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
साम्राज्यका सीमाहरू (पश्चिमी भूभाग)
औद्योगिक क्रान्तिको जन्मथलो बेलायत आफ्नो युनियन ज्याक फहराउँदै विश्वभर फैलियो । प्राकृतिक स्रोत साधन सम्पन्न देशहरू कब्जा गर्दै गयो । यसै क्रममा ऊ भारत पुगेको थियो । भारतमा क्रियाशील युरोपका अन्य उपनिवेशवादी मुलुकसँग भिड्दै उसले १८ औँ र १९ औँ शताब्दीसम्म साना ठुला राज्य हडप्दै गयो । त्यसबेला भारतभरि ६ सत्न्दा बढी राजा–रजौटा थिए ।
कुनै बलियो शक्ति वा अवरोध नभेटिएसम्म साम्राज्य विस्तार रोकिने गर्दैन । भारतीय जम्बुद्वीपको उत्तरमा अवस्थित हिमालयको विशाल पर्खाल नभेट्दासम्म बेलायती साम्राज्यको विस्तार अकण्टक अघि बढिरह्यो । १९ औँ शताब्दीसम्म बेलायत हिमालयसम्म पुगेको थियो । त्यसबेला हिमालयको काखमा तीन वटा बफर राज्य (दुई ठुला देशबीच रहने साना देश नेपाली जनबोलीमा ‘दुई ढुङ्गाबीचको तरुल’ ¤) थिए – नेपाल, सिक्किम र भुटान । यी राज्त्न्दा पश्चिम र पूर्वमा बेलायती साम्राज्यको जम्काभेट भयो चीनसँग । बेलायत चीनसँगको सिमाना नियमित गर्न चाहन्थ्यो । त्यो कामना पूरा हुनसकेन । चीन–भारत सीमा विवादको चुरो यही हो ।
दुई विचारधारा
भारतीय जम्बुद्वीपको उत्तर–पश्चिममा हिन्दु कुश र काराकोरम पर्वतमाला छन् । बेलायती साम्राज्य त्यहाँ पुग्दासम्म ती पर्वतको पल्लो फेँदमा रुसी साम्राज्य आइसकेको थियो । रुसी साम्राज्यले पर्वतमालाको उत्तरमा रहेका आदिवासी इलाकाहरू कब्जा गरिसकेको थियो । यसरी दुई साम्राज्यबीचको सम्भावित मुठभेडबारे तिनको राजधानी लन्डन र सेन्ट पिटर्सबर्गमा छलफल हुनथाल्यो ।
सीमा नीतिबारे बेलायतमा त्यसबेला दुई प्रमुख विचारधारा थिए । गरम धार र नरम धार (forward and moderate schools) । गरम धारले रुससँग सीधै भिड्ने विचार राख्थ्यो । नरम धार भने सकेसम्म शान्तिपूर्ण समाधान निकाल्न चाहन्थ्यो र रुससँगको युद्ध टार्न चाहन्थ्यो । (यस कार्यमा दुई साम्राज्यबीच हुन्जाजस्ता साना अफगानी राज्य सहायक हुनसक्थे । तर, ती भूभागमा रुस र बेलायत पुग्नुभन्दा एक शताब्दीअघि नै चिनियाँहरू पुगेको देखियो ।) यसरी बेलायती सीमा नीतिको इतिहास यी दुई विचारधाराको घर्षणको इतिहास हो । निःसन्देह तिनको उद्देश्य भने एउटै थियो सीमाको स्पष्ट रेखाङ्कन । भारतका अङ्ग्रेज गभर्नर लर्ड कर्जनको विचारमा ‘युरोपेली हस्तक्षेपभन्दा पहिले एसियामा सीमाको स्पष्ट रेखाङ्कन हुने गर्दैनथ्यो ।’ दुई देशबीच निर्जन क्षेत्रहरूलाई प्रायः सीमाको रूपमा लिइने गरिन्थ्यो ।
सन् १८४९ मा बेलायतले सिख अधिराज्यलाई जित्यो र उसको सीमा हालको अफगानिस्तान र पाकिस्तानबीच पर्ने खिबर भञ्ज्याङसम्म पुग्यो । पारि अफगानिस्तान थियो । लडाकु पठान जातिको भूभाग । अफगानी भूभाग कब्जा गर्ने सिलसिलामा १८८० सम्ममा दुई ठुला युद्ध भए । त्यसमा बेलायतले धेरै धनराशीको क्षति बेहो¥यो । यसकारण गरम धारमाथि नरम धार हावी भयो । १८९३ मा काबुलमा अफगानी आमिरसँग सम्झौता भयो । पर्वतहरूको टाकुरै टाकुरा जोडेर खिचिएको रेखालाई सीमारेखा मानियो । यस रेखालाई ‘डुरान्ड रेखा’ भनिन्छ । डुरान्ड त्यो सम्झौता गर्ने बेलायती अधिकारी थिए र यसमा उनलाई कप्तान हेनरी म्याकमाहोनले सघाएका थिए । ‘डुरान्ड रेखा’ खिचिए तापनि अङ्ग्रेज शासकहरूले भारत स्वतन्त्र नहुँदासम्मै अफगानी पठान लडाकाहरूबाट असुरक्षित महसुस गरिरहे किनकि यस जातिका मानिसहरू सीमाको वारिपारि छरिएका थिए । रुस र बेलायतबीच सम्पन्न सम्झौताले अफगानिस्तानलाई बफर राज्यका रूपमा स्वीका¥यो । अफगानिस्तानलाई यसले केही राहत दियो ।
जम्मा–काश्मिर
पश्चिमी भूभागमा बेलायतको टाउको दुखाइको अर्को कारक थियो काश्मिरी खण्ड । यो खण्ड सिनकियाङ र तिब्बतसँग जोडिएको थियो । सन् १८४६ मा सिख युद्धमा विजयी भएपछि काश्मिर नामक फल बेलायती हातमा खस्न पुगेको थियो । बेलायतले काश्मिरलाई कब्जा गरेर थप आर्थिक झमेला बेहोर्नुभन्दा त्यसलाई आफ्नो उत्तरी सीमाको रक्षा गर्ने किल्लाको रूपमा राख्न रुचायो ।
सिखहरूले स्थानीय डोग्रा जातिको गुलाब सिँहलाई पहाडी राज्य जम्मुको गभर्नर बनाएका थिए । सिख युद्धमा गुलाब सिँहले बेलायतलाई सघाए । यसकारण अङ्ग्रेजहरूले काश्मिर गुलाब सिँहलाई दिए । यसरी जम्मु–काश्मिर नामक राज्य बनेको थियो । अङ्ग्रेजहरूले बहुमत जनता मुसलमान भएको देशमा एक हिन्दूलाई राजा बनाइदिएर भारतको मुटुमा पछिका लागि एउटा शुल गाडे । अमृतसरको सम्झौता गरेर अङ्ग्रेजले गुलाब सिँहलाई बेलायतको संरक्षकत्व स्वीकार्न लगाए । यसअघि नै गुलाब सिँहले लद्दाखको सानो अधिराज्य कब्जा गरेकाले अङ्ग्रेजहरू उत्तरी सीमामा ढुक्क भएका थिए ।
लद्दाख
लद्दाख सिन्धु नदीको सिरानमा पर्ने उपत्यका हो । ११ औँ शताब्दीसम्म लद्दाख तिब्बतकै भूभाग थियो । त्यसपछि यो स्वतन्त्र अधिराज्य बन्यो । १४ औँ शताब्दीमा भाग्दै लद्दाख पुगेका मुसलमान शासकहरू भारतमा मुगल शासन स्थापना गरेपछि फर्के र लद्दाखलाई अधीनस्थ राज्य बनाए । मुगलहरूको पतनपछि लद्दाखले स्वतन्त्रताको माग ग¥यो । तिनको बौद्ध धर्ममा आधारित सांस्कृतिक र राजनीतिक झुकाव तिब्बततिर थियो । बलियो शासकको अभावमा लद्दाखले तिब्बती प्रभुत्व स्वीकार्दै गयो । १९ औँ शताब्दीमा लद्दाखलाई तिब्बतको अङ्ग ठानिन्थ्यो । त्यस भेगका अन्य साना राज्यहरू जस्तै लद्दाख पनि दलाई लामाको धार्मिक प्रशासनको जगमा टिकेको ल्हासा सरकारमातहत थियो । निःसन्देह तिब्बत त्यसबेला चीनको मातहत थियो ।
यस्तैमा १८३४ मा गुलाब सिँहले लद्दाख कब्जा गरे र आफूमार्फत त्यसलाई पन्जाबका सिख शासकहरूको अधीनमा राखे । तिब्बतलाई लाहोरको अधीनमा ल्याउने मनसायले उनको डोग्रा सेना त्यहाँबाट तिब्बत कब्जा गर्न लम्कियो । १८४१ सम्म उनीहरूले राकस ताल र मानसरोवर कब्जा गरिसकेका थिए । तर, यसै वर्ष हिउँदको कठ्याङ्ग्रिँदो जाडोमा डोग्रा सेना हिउँको सागरबीच एक्लियो । तिब्बती सेनाले तिनलाई मारे र लद्दाख मुक्त गर्न अघि बढे । लद्दाखको लेहमा गुलाब सिँहको सेनासँग तिब्बती सेनाको भिडन्त भयो । दुवै पक्षबीच १८४२ को अक्टोबरमा सम्झौता भयो । सम्झौताले दुई राज्यबीच कुनै सीमारेखा भने कोरेन । खालि परम्परागत सिमाना मान्ने सहमति भयो । बीचको निर्जन भूमि (लय mबलुक बिलम) लाई दुवै पक्षले सीमा माने । गुलाब सिँहको राज्य विस्तारको मनसायलाई भुत्ते पार्न अङ्ग्रेजहरूले अमृतसर सम्झौतामा बेलायती सहमतिबेगर कुनै पनि भूमि गाभ्न नपाउने प्रावधान राखे । गुलाब सिँहले तिब्बतमाथि आक्रमण गरेको खण्डमा चीनले हस्तक्षेप गर्नसक्थ्यो र यसले बेलायतको सुरक्षित सीमाको अपेक्षा आपतमा पर्नसक्थ्यो ।
अक्साइ चीन
बेलायतले चिनियाँ सरकारलाई सीमा निर्धारणमा सहभागी हुन पत्राचार ग¥यो । चिनियाँ पक्षबाट तिब्बत र लद्दाखका परम्परागत सीमा पर्याप्त भएको जवाफ आयो । तैपनि चिनियाँ पक्षले एक प्रतिनिधिमण्डल पठाउने मनसाय देखायो । तोकिएको समयमा चिनियाँ पक्ष आएन । यता बेलायतीहरूले गुलाब सिँहलाई ‘यो रेखाभन्दा अघि नबढ्नू’ भन्न पनि रेखाङ्कन गर्न आवश्यक थियो । त्यसैले १८४६–४७ मा एउटा अध्ययन टोलीले पाङगोङ तालमाथिबाट पूर्वको स्पिती खोलासम्मको सीमारेखा खिच्यो । त्यहाँबाट माथि काराकोरम भञ्ज्याङसम्म पुग्न गा¥हो थियो । त्यहाँ कोही नबस्ने भएकोले तिब्बतसँग स्पष्ट सिमाङ्कन गर्न अप्ठ्यारो थियो । टोलीको त्यो अप्ठेरो हल गरे सर्भे अफ इन्डियाका अफिसर डब्ल्यू.एच. जोनसनले । उनी १८६५ मा खोतन पुगेका थिए र अक्साइ चीन हुँदै फर्केका थिए । अक्साइ चीनको अर्थ हुन्छ – सेतो चट्टानको मरुभूमि । समुद्री सतहभन्दा १७ हजार फिट माथि रहेको यो भूभागमा केही उम्रिन्न, कोही बस्दैन । काराकोरमदेखि कुन लुन (वा कुएन लुन) पर्वतमालासम्म यस्तै छ । वर्षमा केही समयका लागि मात्र यो भेग प्राचीन व्यापार मार्गको रूपमा प्रयोग हुन्थ्यो । (यात्राको क्रममा जोनसनले कोरेको नक्सा नै हाल भारतले दाबी गरिरहेको भारत–चीन सिमाना हो ।)
जोनसनको नक्सामा काराकोरमभन्दा उत्तरतिरको ठुलो भूभागसहित अक्साइ चीनलाई भारतमा गाभिएको थियो । अरू बेलायती अफिसरले उनको नक्सामा सन्देह जनाए । त्यसको साटो अक्साइ चीन तिब्बतमा पर्ने गरी सीमारेखा मानेर गुलाब सिँहको राज्यको सिमाङ्कन गरिनुपर्ने अर्का एक बेलायती यात्रीले विचार राखे । तर, १८६८ पछिका सम्पूर्ण नक्सामा जोनसन रेखा नै छापियो ।
सिनजियाङ
१८६० को दसकमा चीनको पश्चिमी भूभागमा हलचल आयो । याकुब बेगले १८६६ मा काशगिरिया नामक स्वतन्त्र राज्य निर्माण गरे । चिनियाँहरूलाई लखेटेर याकुबले बेलायतसँग मित्रता कायम गर्न हरसम्भव कोसिस गरे । बेलायतीहरू भारतीय चियाको बजार विस्तार हुनेमा मख्ख थिए । त्यति नै बेला रुस आफ्नो पश्चिमी सीमा बढाउँदै थियो । याकुबलाई आफ्नो पक्षमा तान्ने रुसको चाहना थियो । बेलायतीहरू काशगिरिया पुग्न भौगोलिक कठिनाइहरू थिए । मनमा भने रुस आफूभन्दा पहिले त्यहाँ पुग्ला भन्नेमा भय थियो । बेलायतीहरू याकुब आफ्नो सीमाको बलियो किल्ला बन्ने सोचिरहेका थिए । यत्तिकैमा याकुबलाई धुलो चटाउँदै चीन फर्कियो । १८७७ मा चीनले पुनः जितिएको उक्त भूभागको नाम राख्यो – सिनजियाङ । यसको अर्थ हुन्छ – नयाँ मुलुक ।

यस कालखण्डमा काशगिरियामाथि रुसी प्रभावका आधारमा बेलायती नीति निर्धारित हुन्थ्यो । बेलायतले काराकोरम पर्वतमालादेखि चाङ्गचेन्मो उपत्यकाको भूभागसम्म रुस आउला भन्ने अनुमान गरेको थियो । तर, रुसको नरोकिँदो विस्तारले गरम धार मुखर भयो । यस धारले बेलायतको सीमा काराकोरमदेखि कुनलुन पर्वतमालासम्म लैजानुपर्ने कुरा राख्यो । यसले गर्दा अक्साइ चीनको निर्जन भूभाग हातमा पर्ने थियो । अक्साइ चीन उत्तरमा काशगिरियासँग जोडिएको थियो । अर्कोतिर नरम धारले यसका अड्चनहरूतिर औँल्यायो । उसले त्यसरी बन्ने सीमाको सुरक्षा गर्न सम्भव नभएको र रुसी भय झुटो हो भनी दाबी ग¥यो । अन्ततः रुससँग मुठभेड नहोस् भन्ने नै बेलायती नीति रह्यो । रुस पनि भिडन्त चाहँदैनथ्यो । त्यसैले १८९५ मा पामिरको विषय टुङ्गो लगाउन बेलायत र रुस सहमत भए । उनीहरूले अफगानिस्तानको मातहत रहने गरी वाखान (ध्बपजबल कतचष्उ) लाई बफर क्षेत्र बनाउने निर्णय गरे । यो मसिनो क्षेत्र चीनमा गएर टुङ्गिन्थ्यो । चीन यो बैठकमा उपस्थित हुन मानेन । बेलायत निर्जन भूमि यत्तिकै छोड्न चाहँदैनथ्यो । रुसको टड्कारो डर नभए तापनि ऊ चीनले त्यो भूभाग ग्रहण गरेर आफ्नो असुरक्षा कम गरोस् भन्ने चाहन्थ्यो । त्यहाँ चीन जति बलियो भयो उति नै रुसको भय कम हुने उसको विचार थियो ।
चीन यसबेला कमजोर स्थितिमा थियो । याकुब बेगको सेना रुसको साथ पाएर चीनविरुद्ध लागेका थिए । एकपछि अर्को गर्दै रुसले चीनको मध्य एसियाली भूमि कब्जा गर्दै थियो । उता पूर्वतिर रुसले भ्लादिभोस्तोक बन्दरगाह निर्माण गर्ने गरी ठुलो चिनियाँ भूभाग कब्जा ग¥यो । अन्तमा आइगुन र पेकिङ्ग सन्धि (१८५८ र १८६०) गरेर चीनले ती भूभाग सदालाई गुमायो । यसकारण सीमा सन्धिप्रति चीन शङ्कालु थियो । पामिरको विषय टुङ्गो लगाउने बैठकमा चीन नजानुको एउटा कारण यो थियो ।
इतिहासकै एकमात्र प्रस्ताव
सिनजियाङ जितेपछि चीनको ध्यान दक्षिणी सीमामा गयो । कप्तान यङ्गहज्बेन्ड चीनको कुरा बुझ्न १८९० मा पामिर क्षेत्र गए । चिनियाँहरूलाई निर्जन भूमिको स्वामित्व लिन मनाउने उनको उद्देश्य थियो । चीनले यङ्गहज्बेन्डलाई काराकोरम पर्वतमालादेखि सिन्धु नदी र तारिम बेसिनबीचको नदीढलोसम्म आफ्नो सीमा भएको बताए । २ वर्षपछि चीनले काराकोरम भञ्ज्याङमा एउटा लेखोट गाडेर त्यसलाई आफ्नो दक्षिणी सीमा दाबी ग¥यो । बेलायतले यसलाई स्वागत गरे पनि दुईपक्षीय सम्झौता नभएको हुनाले यसलाई वैध मानिएन । चीनले आफ्नो सिमानाको निरीक्षण गर्न अधिकारी लि युआनपिङ सो क्षेत्रमा पठायो । उनी काराकस खोलादेखि हाजी लङ्गरसम्म गए । दक्षिण मोडिएर अक्साइ चीन छिचोले र चाङ्गचेन्मो खोला पुगे । उनको रिपोर्ट पढेर काशगरस्थित बेलायती प्रतिनिधि जर्ज म्याकार्टनीले त्यसलाई सही ठह¥याए ।
यसरी १९ औँ शताब्दीको मध्यसम्म आइपुग्दा चिनियाँ अधिकारीले आफ्नो भूभाग काराकोरम भञ्ज्याङदेखि चाङ्गचेन्मो खोलासम्म हो भनी थाहा पाइसकेका थिए र तिनले अक्साइ चीनलाई आफ्नो भूभाग भएको दाबी गरिरहेका थिए । १८९६ मा चिनियाँ अधिकारीहरूले म्याकार्टनीसँग जोनसनको नक्साउपर आपत्ति जनाए । म्याकार्टनीले भारतस्थित उच्च अधिकारीलाई ‘सम्भवतः अक्साइ चीनको केही भूभाग बेलायतको र केही भूभाग चीनको हुनुपर्ने’ रिपोर्ट गरे । सोही वर्षको बेलायती गुप्त प्रतिवेदनले यही निष्कर्ष दिएको थियो । यसबीच बेलायतको गरम धार भने समग्र अक्साइ चीन काश्मिरलाई दिनुपर्ने जिकिर गरिरहेको थियो । चीनको कमजोर स्थितिले आक्रामक रुसलाई रोक्न नसक्ने दलिल दिइरहेको थियो । साथै अक्साइ चीनमात्र नभई त्यसको उत्तरमा अवस्थित कुनलुन पर्वतमालासहित यारकन्द र काराकाश खोलामाथि पनि दाबी गरिरहेको थियो ।
बेलायतमा गरम धारका सदस्य अर्डाघ गुप्तचर प्रमुख थिए । त्यसैले बेलायती संस्थापन उनको कुरामा सहमत हुने सम्भावना थियो । यता भारतस्थित अधिकारीहरूले भने यसको खण्डन गरे । गुप्तचर प्रमुखको कुरा हावादारी भएको र यसले चीनसँगको सम्बन्धमा तिक्तता ल्याउने ती अधिकारीको मत थियो । यो कुरा लागू गरेमा रुस आक्रामक हुनसक्ने सम्भावना पनि उनीहरूले देखाए । साथै यस विकट क्षेत्रबाट इतिहासमा कुनै आक्रमणकारी भारत प्रवेश नगरेको तर्क गरे । गरम धारको विचार अस्वीकार गर्दै भारतस्थित भाइसरोय एल्जिन र उनका सहयोगीहरूले म्याकार्टनीको सुझाव मनन गरेर अक्साइ चीनलाई बेलायत र चीनबीच बाँड्ने तयारी गरे । उनीहरूले लिङजी ताङ्गको समथर भूभागको उत्तरदेखि लाकत्साङ शृङ्खला हुँदै काराकोरम भञ्ज्याङसम्मको एउटा सिमारेखालाई प्रस्तावको रूपमा अघि सारे । यसले काराकाश उपत्यका चीनको हुनजान्थ्यो भने चाङ्गचेन्मो उपत्यका बेलायतको हुन्थ्यो । दुवै नरम र गरम धार सहमत भए । लन्डन सरकारले त्यसमा सहमति जनायो । यही प्रस्ताव १८९९ को मार्च १४ तारिखमा पेकिङ प्रतिनिधि सर क्लाउड म्याकडोनल्डले चीनसमक्ष प्रस्तुत गरे । चीनले यसको जवाफ दिएन । चीनले जवाफ नदिएको हुनाले भारतमा आएका नयाँ भाइसरोय लर्ड कर्जनले मौनतालाई सहमतिको लक्षण ठानेर म्याकार्टनी–म्याकडोनल्ड रेखालाई नै सीमारेखा दाबी गरे ।
अन्योल
रुसी त्रास र चिनियाँ कमजोरीले गर्दा बेलायती सीमा नीति ठोस हुन पाएन । २० औँ शताब्दीको पहिलो दसकभरि बेलायतले अक्साइ चीनलाई सिनकियाङभन्दा पनि तिब्बतको अङ्ग ठान्ने नीति लियो । किनभने १९०७ मा बेलायतसँग गरेको एक सम्झौताअनुसार रुसले तिब्बतबाट अलग्गै रहन सहमति जनाएको थियो । यस्तैमा सन् १९११ को चिनियाँ क्रान्तिले मध्य एसियामा चिनियाँ पकड कमजोर बनाइदियो । बेलायतमा गरम धार जुर्मुरायो । उसले रुसी आक्रमणको खतरा देखाउँदै अक्साइ चीन पूर्णतः कब्जा गरेर तिब्बतको अङ्ग बनाउनुपर्नेमा जोड दियो । बेलायत सरकार भने पहिलेकै प्रस्तावमा अडिग रह्यो । १९१४ मा भएको सिम्ला सम्मेलनमा बेलायती पक्षले देखाएको नक्सामा अक्साइ चीनलाई तिब्बतकै अङ्ग मानिएको थियो ।
१८९९ को प्रस्तावपछि पश्चिमी सीमा अर्थात् अफगानिस्तानदेखि काराकोरम र काराकोरमदेखि नेपालसम्मको सीमारेखा सम्बन्धमा कुनै ठोस कदम चालिएन । १९२७ मा भारत सरकारले जोनसन–अर्डाघ रेखालाई अस्वीकार गर्दै चीनले (३५ वर्षअघि) गाडेको काराकोरमस्थित सीमास्तम्भदेखि अफगानिस्तानसम्म काराकोरम पर्वतमालालाई नै सीमारेखा मान्ने निर्णय ग¥यो । यस निर्णयले नक्सामा भने मूर्तता पाएन । बेलायती यात्री र अधिकारीहरू सिकार आदिको लागि चाङ्गचेन्मोको तल्लो भेगसम्म (कोङका भञ्ज्याङ) र लानाक भञ्ज्याङसम्म पुगे पनि बेलायतले कहिल्यै अक्साइ चीनमा आफ्नो दाबी गरेन वा त्यहाँ सीमा चौकी बनाएन । त्यसैगरी कुनलुन पर्वतमालामा पनि उसले चौकी स्थापना गर्न सकेन । त्यसो गर्दा सिनकियाङ–तिब्बतको परम्परागत व्यापार मार्ग बिथोलिन सक्थ्यो ।
भारतमा आफ्नो शासनको अन्त्यसम्म आइपुग्दा बेलायत रुसी आक्रमणको धङधङीबाट बाहिर आउन सकेन । (रोचक के छ भने यसबेलासम्म रुस समाजवादी क्रान्तिको चरणबाट गुज्रिसकेको थियो ।) न त ऊ यस भूभागमा कुनै निश्चित सीमारेखा निर्माण गर्न नै सफल भयो । यही अन्योल उसले आफ्ना भारतीय उत्तराधिकारीहरूलाई सुम्पेर गयो ।
Leave a Reply