के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को माटाको हाँडी वस्तुतः फुटिसकेको छ । परन्तु सर्वसाधारणका चर्मचक्षुले देखिने गरी चोइटिसकेको भने छैन । यो अवस्था हो अस्ति आइतबार बिहानसम्मको । तर सरकारी सञ्चारमाध्यमहरूले भने पार्टीको औपचारिक दृष्टिकोणहरूलाई नै प्राथमिकता दिएर दुई शिखर नेताहरूका तयारी नपुगी सोमबार ११ बजेसम्मका लागि स्थायी समितिको बैठक पर सारिएको सकारात्मक सन्देश दिने लुच्चो काम गरिरहेका छन् वा गराइएको छ । तर यता भने दुवै पूर्वएमाले र पूर्वमाओवादी अब कस्तो पार्टी हुने, कुन कुरा नेताले के–के दायित्व बहन गर्ने ? अर्का पार्टीबाट को–को आफ्ना पार्टीमा आए कुन जिम्मेदारी दिने, यता आउँछु भनेका अमुक अमुक नेता यता नआई उतै अडिए भने त्यो ठाउँमा सम्भावित को–को हुनेजस्ता हिसाब मिलानमा लागेका छन् । गत शनिबारदेखि सोमबारसम्म ४० घण्टा पार्टी एकीकरण या समीकरण तयारीभन्दा पार्टी टुक्रीकरणको पूर्व तयारीमा लागेका छन् भन्ने अनुमान बढी नहोला । यो मध्यावधि नेकपालाई सिङ्गो राख्ने प्रयत्नतिर होइन कसरी आफ्नो पक्षलाई पार्टी फुटाउन उत्ताउलो भएको बात नलागोस् भन्ने डरले मिलनबिन्दु खोजेको भ्रम दिन लागेका छन् । मेरो अल्पबुद्धिको विश्लेषणअनुसार यो अवधि पार्टी नफुटाउनेतिर भन्दा सकेसम्म पुराना धेरै मान्छे आफ्नो पार्टीमा रहून् वा आऊन् भन्ने प्रयत्नमा लगाए । आजको सबैतिरबाट चर्केको माटाको काँचो हाँडी नेकपा पुनः टासियो । कथम् भने यो आश्चर्यजनक अपवाद हुनेछ । नेताहरूको कति झूट ? भन्ने गणितमात्र हुनेछ ।
केही आकाङ्क्षा पूरा नहुनेहरू ?
वास्तवमा पार्टी नेकपा फुटिसकेको मात्र औपचारिकता बाँकी हो । यस्तो बेला कामरेड वामदेव गौतम कता फर्किन्छन् भन्नेमात्र शेष हो । नेपालमा केही नेता यस्ता देखेको छु मैले । मेरो जीवनकालमा जो एकपल्ट यो मुलुकको प्रधानमन्त्री हुन मरिहत्ते गरे तर प्रधानमन्त्री हुन पाएनन् । त्यस्तामध्ये एकजना पात्र राजेश्वरप्रसाद देवकोटा परमधाम गइसके । अर्का पात्र विश्वबन्धु थापा हुन् । उनी ९३ वर्ष पुग्दै छन् । तर सक्रिय राजनीतिमा छ्रैनन् । तैपनि किन हो पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आबद्धता राखिरहेका छन् । अब उनी प्रधानमन्त्री हुने सम्भावना देखिँदैन । अब त्यस्तै अर्का पात्र हुन् वामेदव गौतम ७० वर्षको हाराहारीमा हिँड्दै छन् क्यार ! अब आम निर्वाचनमा प्रतिनिधिसभामा विजयी भई प्रधानमन्त्री हुन भ्याउँछन् भ्याउँदैनन् यसै भन्न सकिन्न, शुभकामना छ आउने । तर के कुरा स्पष्ट भयो भने गौतम प्रधानमन्त्री हुन पाए ओली पक्ष वा प्रचण्ड पक्ष जो भए पनि हुनेरहेछ । वर्तमानमा वामदेव जति सिद्धान्तहीन नेता अर्को देखिएन नेपालमा । सिद्धान्तमा माधव नेपालभन्दा पनि कमजोर जिउडाल हेर्दा तिब्बती खम्पाका खच्चडजस्ता तर कमजोर बेलुनजस्ता वामदेव कुन कित्तामा हुन्छन् यकिन हुन बाँकी नै छ । उनलाई एमाले पार्टीले सबभन्दा ठुलो भ्रष्टाचारीको उपाधिले विभूषित गरिसकेको छ । अब अरू के भन्ने ? कति भन्ने ?
सरकार कसको जनताको कि … ?
मैले पढेअनुसार, पढेको बुझेअनुसार कम्युनिस्टहरू इमानदार हुन्छन्, देशभक्त हुन्छन्, योग्य हुन्छन् र कामगरी खाने जनता त कम्युनिस्टहरूको इष्ट देउता नै भए । तर, आजको नेपाल कम्युनिस्ट पार्टीका सम्पूर्ण गतिविधि र उसको मति पढ्दा पनि लाग्छ नेकपाभित्र कम्युनिस्ट पार्टीमा कम्युनिस्ट त के कम्युनिस्टको भ्रुणसमेत पाइँदैन । सत्ता, पद, पैसा प्रमुख रहेका छन् आजको नेकपा त पूर्वएमालेको कब्जामा छ, नेतृत्वमा छ वर्तमान सरकार पनि त्यस्तै छ । यो सरकारको औपचारिक नेतृत्व पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । तर, आर्थिक नेतृत्व यति, ओम्नी आदि निजी कम्पनीहरूले गर्दै आएका छन् । देश खोक्रो भइसक्यो । भ्रष्टाचारले गाँज्न कुनै क्षेत्र छोडेको छैन । कोरोनाको विपत्तिसमेत कमाउने भाँडो भएको छ । सरकार यति, ओम्दीजस्ता संस्थाको पोल्टोमा परेको छ । प्रधानमन्त्री स्वयं सरकार नै पनि यति र ओम्नीका भएका छन् । कोरोना पीडित वा स्वदेश फर्कने चाहने नेपाल बाहिर रहेका नेपालीलाई नेपाल ल्याउन सकारी स्वामित्वको नेपाल वायु सेवा निगमको विमान नपठाएर हिमालयनको विमान पठाउँछ सरकार । तब यो वर्तमान सरकार कसको सरकार भो जनताको कि ? नेपालको कि ? बाह्य वा भित्रका फटाहाहरूको ? नियत नै खराब भएपछि कसको के लाग्छ ¤? अब अहिले नै राजनीतिको चरम दुरूपयोग भइरहेको छ । सरकारको सिफारिसमा तत्कालै संसद्को बजेट अधिवेशन समाप्त गरिन् राष्ट्रपति विद्यादेवीले । त्योभन्दा नकाम राजनीतिमा अरू के हुनसक्छ र ? संसद्मा विधेयकका डुङ्गुर छन् । तर संसद् अधिवेशन अन्त गरायो सरकारले । संसद् चाहेको छैन, सरकारलाई त अध्यादेश ल्याउने ढोका खुल्छ ।
सामना गर्ने वचनले र कर्मले
प्रधानमन्त्री ओली भ्रष्टाचारको जालोभित्र पस्नुभएको छ, चक्रब्युहमा जस्तै । कति धेरै भ्रष्टाचार पत्तै हुँदैन पछि मात्र थाहा हुन्छ । भ्रष्टाचार अति भयो भन्यो भने प्रधानमन्त्री भ्रष्टाचार भएकै छैन भनेर सीधा भन्नुहुन्छ । अब आज त झ्न राजनीतिक अस्थिरताको खेती हुन लागेको छ । संसदको अधिवेशन अकस्मात् अन्त्य गरियो । अब एकोहोरो राज गर्न अनुकूल हुने भयो । के के अध्यादेश आउने हुन् हेर्न बाँकी नै छ प्रधानमन्त्रीले आफ्ना आजका मन्त्रीहरू पनि को–कता, के कता आ–आफ्नो कित्ता काटून् भनी सके । मन्त्रीहरूलाई ठाडै भने यता कि उता ¤ यता भए राम्ररी काम गरेर बस्ने उता भए राजीनामा दिने, जाने । नेकपाको अर्को पक्षले आफू प्रधानमन्त्री र राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध पनि महाभियोग लगाउने योजना बनेको छ रे भन्दै आफूले वचन र कर्मले सामना गर्ने अठोट पनि सुनाएछन् । त्यसका लागि संवैधानिक कदम चाल्ने जनाउ पनि दिएछन् । स्पष्ट भनेछन्, सहयोग गर्ने भने मति पूरा खुलेर आउ नगर्ने मन्त्रीले राजीनामा देऊ । ओली अस्तिसम्म भारतले हटाउन खोजेको छ भन्थे अब त राष्ट्रपतिलाई महाभियोग लगाउने षड्यन्त्र भएको छ भन्नसम्म भ्याए । अब एमाले र माओवादी नामका स्वार्थले जोडिएका दुईवटा काँचा हाँडी कहिले छुट्टिने हुन् तिथि तोकिन मात्र बाँकी छ । लामो प्रतिक्षा छैन होला ।
मन्त्री आफ्ना कुरा बोक्छन् अर्काका
यता अर्को कित्ता पनि सक्रिय छ । प्रधानमन्त्रीले राष्ट्रपतिलाई बारम्बार एक्लै भेटेर महाभियोग लगाउने तयारीमा छ अर्को पक्ष भन्ने कुरा लगाएछन् । त्यसपछि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसमेत गई भेटी आफ्ना कुरा राखेछन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले त्यत्रो सम्मानित संस्था राष्ट्रपतिमाथि महाभियोग लगाउने कुराको कल्पना पनि नगरेको भन्ने आफ्नै पक्षको स्पष्टीकरणसमेत दिएछन् । यता ओली र प्रचण्डबीच पनि लगातार विभिन्न चरणमा भेटघाट र कुराकानी पनि नचलेका छैनन् । तर, कुराले सकारात्मक बाटो लिएको लक्षण देखापरेको छैन । दुई अध्यक्षबीचको वार्तालाप दुनियाँलाई उल्लु बनाउने चरणमात्र हो कि ? राष्ट्रपति विद्यादेवी यतिञ्जेल राष्ट्रपति पद आरामको पद, सुविधाको पद, क्रियाशील हुनुनपर्ने पद, अवकाश कालजस्तो थियो होला । परन्तु राष्ट्रपति पद माथि उल्लेख गरेको जस्तोमात्र होइन रहेछ भन्ने अब स्पष्ट हुँदै होला । तनावमा बस्ने र बाँच्ने व्यक्तिको अभ्यास छ राष्ट्रपति महोदयलाई । बरू यी आजका स्वाभाविक, प्रायोजित, आमन्त्रित राजनीतिक उहापोहले परिपक्व बनाउने भयो । ओलीजीका मन्त्रीहरू सबै ओली पक्षका छैनन् । माओवादी पार्टीका मन्त्री त आफ्ना होइनन्, होइनन् । एमाले पृष्ठभूमिका कयौँ मन्त्री पनि आफ्ना छैनन् । मन्त्री वर्षमान पुन, घनश्याम भुसाल र पार्वती गुरूङहरूले यस्ता कुरा
यहाँ हामीसँग होइन पार्टी कमिटीको बैठकमा राख्नु उपयुक्त हुने कुरा प्रधानमन्त्रीसमक्ष राखे । आफ्नै एमालेका मन्त्रीहरूले आफ्ना कुरा शतप्रतिशत समर्थन नगरेको देख्दा ओलीलाई अनौठो लागेन किनकि यी मन्त्री माधव नेपाल पक्षका हुन् ।
नलडौँ उन्मादबाट बचौँ
व्यक्तिगत सम्बन्ध र मानव मन अनौठो हुनेरहेछ । एउटा रोचक पक्ष घटना । नेपाल कम्युनिस्ट पार्टीका पुराना नेता पञ्चायत शासनमा धेरैपल्ट विभिन्न मन्त्रालयका मन्त्री पनि भएका शैलेन्द्रकुमार उपाध्याय र उनकी श्रीमती शैलबीचको दाम्पत्य जीवन सुचारू नहुने भयो । परिणामतः छोडपत्र गर्ने निर्णय गरे । अड्डामा औपचारिकता पूरा भयो । अब छुट्टिने भए साँच्चै नै । तब शैलले पूर्वपति शैलेन्द्रलाई भनिछन् ‘औषधि सबै शिरानतिर नै छन् । घडी पनि छ त्यहीँ । तपार्इँ औषधि खान बिर्सनुहुन्छ । समय–समयमा खान नभुल्नु नि ?” अदालतका न्यायमूर्ति र अरू, अनि दर्शक र रमितेहरू मुखामुख गरेछन् । कस्तो हुँदोरहेछ मान्छे मान्छेबीचको सम्बन्ध ¤ पारपाचुके गरिसकेको लोग्नेले ठीक समयमा औषधि खाँदैन भन्ने कत्रो चिन्ता ? त्यै कुरा स्वयं शैलेन्द्रले आफ्नी पूर्वपत्नी शैल उपाध्यायलाई सोझाएछन् । औपचारिक नाता टुटे पनि मान्छेको नाता रहिरहने रहेछ । शनिबारको प्रधानमन्त्री ओली र उनका मन्त्रीहरूबीच भएको कुराकानीले पुरानो कुरा सम्झाएको हो । ओलीका मन्त्री घनश्याम भुसालले फ्रेञ्च र जर्मनहरूलाई एउटै पोस्टर बेचेर पुँजीवादले धेरै पैसा कमाए रे भन्ने पहिलो विश्व युद्धताकाको घटना उल्लेख गरेछन् । पोस्टरमा लेखिएको हुन्थ्यो रे हत्यारा हुन्, तिनीविरूद्ध उठ, जाग अब । रक्तपातका लागि तयार होऊ । तर त्यो को हो ठाउँ खाली रे ¤ जर्मनहरूले खाली ठाउँमा फ्रेञ्च भरे रे फ्रेञ्चहरूले जर्मन । दुवै तर्फकाले एउटै पोस्टर किने तर पोष्टरको पैसो एकै ठाउँमा जम्मा हुने रे , आज नेताहरू एक थरीले अर्को थरीको नाम हालेर उन्माद बढाइरहेछन् ।
चिनियाँ राजदूतलाई बोझ !
नेकपाभित्रको आजको भागबन्डा पार्टीको दर्शन, सिद्धान्त, नीतिजस्ता सैद्धान्तिक मुद्दालाई लिएर भएको होइन । सिद्धान्तहीन झगडा भनेको सत्तालिप्सा, पद, अधिकार र पैसाका लागि र नितान्त स्वार्थ एवम् व्यक्तिगत अहम् तुष्टिको झगडामात्र हो । यस्तो सिद्धान्तहीन झगडाले पार्टीलाई खार्दैन, इस्पात बनाउँदैन झन् भुत्ते बनाउँछ । यो पार्टीभित्रको आन्तरिक कलह साम्य पार्न चिनियाँ राजदूत सक्रिय हुनुभएपछि त्यतिबेलाको खड्गो टरेको थियो । अब चिनियाँ राजदूत आफ्नो नियुक्तिअनुसारको काम–कर्तव्यमा लाग्ने कि नेकपाभित्रको कलह मिलाउन लाग्ने ? हिजो सोमबारसम्मका लागि भनी स्थगित गरिएको पार्टी स्थायी समितिको बैठक दुई अध्यक्षबीच सहमति नभएको र फेरि पनि सहमति खोज्न भनी बुधबारसम्मका लागि स्थगित गरिएको खबर आयो । पार्टीका विभिन्न तहको बैठक नै नबस्ने, बैठक डाक्न पनि सरोकारवाला सदस्यहरूले पसिना बगाउनुपर्ने । बैठक सुरू भएपछि पनि निर्धारित एजेन्डामा केन्द्रित नहुने, आफ्ना कुरा र गुनासाहरू दिक्कलाग्दो गरी लामो बाँकीमा राख्ने, आफ्नो कुरामात्र सुनाउन खोज्ने अरूको कुरा सुन्न नखोज्नेजस्ता सामन्ती शैलीले पार्टी सधैँ कब्जियतमा पर्नेजस्ता बैगुनले नेकपालाई बूढो बनायो, स्मार्ट बनाएन भन्ने गुनासो छ ।
समय खास काममै लागोस्
सहमति जुटाउन भनी शनिबारको बैठक सोमबारसम्म स्थगित गरियो । यदि दुई दिन साँच्चै दुई अध्यक्षबीच सहमति खोज्ने काममा मात्र खर्च भए कि पार्टी फुटेपछि आ–आफ्नो पार्टीलाई कसरी बलियो, प्रभावकारी र लोकप्रिय बनाउने भन्नेतिर पनि लाग्यो । यो पक्ष पनि छलफलमा आउनुपर्छ । वामदेव गौतमलाई आफ्नो पक्षमा तान्न क–कसको कति समय खर्च भयो, कुन पक्षबाट को को लागे । आखिर समय त गयो नै । यो स्थगनको श्रृङ्खला के उद्देश्यका लागि हो । म र मजस्ता कैयौँ सचेत नागरिकले गम्भीर जिज्ञासा छ अबका । अबको ४८ घण्टा साँच्चै पार्टी समीकरणका निम्ति खर्च हुन्छ कि पार्टी खण्डिकरण, टुक्रीकरण, विभाजनमा खर्च गर्छन् नेताहरू निश्चित छैन । सर्वप्रथम सिद्धान्तमा एक हुनु होस्, अनि पार्टीको नीतिमा मतैक्य हुनुहोस् । तब पार्टीका कार्यक्रम, कार्यनीति र रणनीतिमा सहमत हुनुहोस् । तबमात्र एकीकरणको वास्तविकता कला, बिम्ब र प्रतिबिम्बको अर्थ र सक्कली स्वरूप स्पष्ट हुन्छ । यसो छाँट हेर्दा यी सब देखाउने दाँतमात्र त होइन ? भन्ने प्रश्न उठेको छ । विष्णु पौडेल, शङ्कर पोखरेल, वर्षमान पुन, जनार्दन शर्माहरूको कार्यकुशलता र योग्यताको परीक्षा पनि हो यो । पार्टी भनेको केपी शर्मा ओली र प्रचण्डमात्र होइनन् । यी दुई नेताको व्यक्तिगत अहँम्को तुष्टिमात्र पनि होइन । यी दुई नेता ओली र प्रचण्डको विकल्प खोज्नेतिर पनि लाग्नोस् न ¤ यिनका विकल्प छैनन् ? तपाईँ, तपाईँको पार्टीमा ?
Leave a Reply