भर्खरै :

बिल मिलाएर हुने भ्रष्टाचारबाट जनता समस्यामा

भक्तपुर २७, असार । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले बिल मिलाएर खाने, कोषको दुरुपयोग गर्ने, योजनाहरूमा कमिसन खानेजस्ता भ्रष्टाचारजन्य काम सरकारी कार्यालयमा भइरहेको बताउनुभएको छ ।
शनिबार नेपाल मजदुर किसान पार्टी चाँगुनारायणको आयोजनामा ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनबारे अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,“पञ्चायतले थुनेका भ्रष्टाचारीहरूलाई बहुदलपछि सत्तामा पुगेको नेपाली काङ्ग्रेसले घुस खाएर छुटाउनुका साथै धमिजा, लाउडालगायत भ्रष्टाचारजन्य काण्ड ग¥यो । २०५१ सालमा सरकारमा गएपछि कमिसन राजस्वमा जम्मा गर्ने वाचा गरे पनि नगरी राडार काण्ड, मलकाण्डलगायत भ्रष्टाचारमा एमाले संलग्न भयो । माओवादी सरकारमा गएलगत्तै नेपाल टेलिकमको शेयर बिक्रीमा भ्रष्टाचार, जग्गा खरिदबिक्रीजस्ता गलत गतिविधिमा लाग्यो ।”
उहाँले पुँजीवादी व्यवस्थामा भ्रष्टाचार छायाजत्तिकै हुने उल्लेख गर्नुहुँदै कम्युनिस्टहरू भ्रष्टाचारमा नलाग्ने हुनाले नेकपा कम्युनिस्ट नभएको स्पष्ट पार्नुभयो ।
उहाँले सशस्त्र द्वन्द्वको बेला माओवादीले नेपालको कुटी, गुञ्जी, टिङ्करमा रहेको नेपालको चौकीका सुरक्षाकर्मीहरूलाई लखेटेको हुँदा भारतीय विस्तारवादलाई नेपाल कब्जा गर्न सहज भएको उल्लेख गर्नुभयो ।
सांसद सुवालले एमसीसी हिन्द–प्रशान्त क्षेत्रका देशमा अमेरिकी सैन्य गठबन्धन नै भएको र भारतलाई चीनविरुद्ध लडाउने रणनीति भएको स्पष्ट पार्नुहुँदै नेपाललाई युद्धमा धकेल्ने एमसीसी खारेज गर्नुको विकल्प नरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजू मालपोत कार्यालय, खानेपानी डिभिजन कार्यालय, सडक डिभिजन कार्यालय, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, नगरपालिकालगायतका जनतासँग सरोकार राख्ने सरकारी कार्यालयहरूमा भ्रष्टाचार बढ्दै गएको र योजनाहरूमा समेत कमिसनको खेल भइरहेकोले जनताको खबरदारी जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी चाँगु ४, वडा एकाइ समितिका अध्यक्ष श्रीभक्त भडेलले पनि बोल्नुभएको थियो ।
त्यस्तै, शनिबार नै चानपा ३, झौखेलको लाकिलामा पनि ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनबारे कार्यकर्ता भेला सम्पन्न भयो ।
शनिबार भक्तपुरमा आयोजित अर्को एउटा कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले विश्वभर कोभिड– १९ को प्रकोप फैलिरहेको बेलामा ओली सरकार भ्रष्टाचारमा डुबेको बताउनुभयो ।
नेमकिपा वडा नं. ४ लाकोलाछेँ एकाइ समितिको आयोजनामा ‘मजदुर–किसान’ वर्ष १० अङ्क १, पूर्णाङ्क २४ बारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “नेकपाको विवाद सैद्धान्तिक नभई भागबन्डाको झगडा हो । नेकपा फुटे पनि जनतालाई कुनै फाइदा हुनेछैन । नेकपा नामले कम्युनिस्ट  भए पनि नेकपाका नेता–कार्यकर्ताले जनतालाई ठग्न र भ्रष्टाचार गर्न छोड्दैनन् ।”
देशमा भ्रष्टाचारमात्र रोक्न सके एमसीसीबाट आउने अनुदान रकमभन्दा बढी राजस्व बच्ने उल्लेख गर्नुहुँदै सचिव सुवालले एमसीसीको नाममा संरा अमेरिकाले दक्षिण एसियालाई युद्धभूमि बनाउन चाहेको र चीनलाई घेर्ने उद्देश्य अमेरिकाको रहेको स्पष्ट पार्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले पार्टी प्रकाशन अध्ययनले कार्यकर्ताहरूको बौद्धिक स्तर उठाउने भएकोले पार्टीले प्रकाशनलाई जोड दिइरहेको उल्लेख गर्नुभयो ।
पार्टी प्रकाशन अध्ययनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुहुँदै उहाँले भन्नुभयो, “ कार्यकर्ताहरूको चेतना स्तर बढाउने र नयाँ पुस्ता तयार गर्न मद्दत गर्ने भएकोले अन्तरक्रिया कार्यक्रम नियमितरूपमा सञ्चालन गनुपर्छ ।”
आयोजक समितिका अध्यक्ष न्हुछेराम भेलेको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवाल, वडा अध्यक्ष कुमार चवाल, शिक्षाविद् उद्धव सुजखू, पुरूषोत्तम तमखू, किशोर हाकुदुवाल, सृष्टि किबानायो, पुष्पराम भेले, राजु छुकाँ र विजय लोहलालगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *