भर्खरै :

महामारीबाट बाहिरिँदै गरेको बेलायतबाट के सिक्ने ?

नोवेल कोरोना भाइरस (कोभिड–१९) को महाव्याधिबाट निकै प्रभावित भएका देशहरूमध्ये बेलायत पनि एक हो । अहिले बेलायतमा यो महामारीको असर निकै कम हुँदै गएको छ । बेलायतमा हालसम्म करीब ४६ हजार मानिसको यसै महामारीका कारण मृत्यु भएको छ । हिजो–आज भने दिनमा १०० भन्दा कमैको ज्यान जाने गरेको छ । यहाँ महिना दिनअघि कुनै दिन त एक हजार २०० सम्मको मृत्यु भएको थियो । यस महामारीबाट हालसम्म ६७ जना नेपालीको मृत्यु भइसकेको छ ।
बेलायतमा सरकारले तोकेको बन्दाबन्दी बिस्तारै खुकुलो हुँदै छ भने जनजीवन सतर्कतासाथ सामान्यतर्फ उन्मुख भइरहेको छ । बेलायतमा नेपालमा जस्तै वार्षिकरूपमा अर्थात् मनसुनको बेलामा आउने बाढीका लागि पूर्वतयारीस्वरूप समिति गठन हुने गरेका छन् । ती समितिहरूको समन्वयात्मक कार्यका कारण जति ठुलो बाढी आए पनि बढीमा १० दिनभित्रै त्यसको व्यवस्थापन गर्ने गरेको पाइएको छ । कोरोनाजस्ता महामारी भने यहाँका लागि आकस्मिक नै थियो । यसका लागि पूर्वतयारीको अवस्थामा रहने कुरा भएन । त्यसैले तयारी गर्दागर्दै पनि यहाँ यो महामारीबाट ठुलो सङ्ख्याका नागरिकको ज्यान गयो । तर अझै धेरैको मृत्यु हुन्छ भनिएकोमा त्यसलाई रोक्न यहाँको सरकारले निकै ठुलो प्रयत्न गरेको थियो । अहिले गरिएका विश्लेषणहरूमा सरकारले समयमै प्रभावकारी काम गर्नसकेकोले महामारी फैलिन नपाएको र धेरैको ज्यान बचेको बताउने गरिएको छ । यसरी सरकार अरू हजारौँ मृत्यु रोक्न सफल भएको यहाँका वैज्ञानिकहरूको भनाइ छ ।
नेपालमा जस्तै बेलायतमा पनि सरकारलाई सल्लाह दिने निकाय छन् र ती सल्लाह र सुझावहरूलाई यहाँको सरकारले ठीक तरिकाले प्रयोग गर्ने गरेको छ । कोभिड–१९ देखिएपछि सरकारका स्वास्थ्य सल्लाहकारहरूले बन्दाबन्दी नगरिए दुई लाख पचास हजार मानिसको ज्यान जाने बताएका थिए । सुरूमा यसलाई वास्ता नगरेपछि मृत्युको सङ्ख्या पनि एक्कासि बढ्यो र प्रधानमन्त्रीले पुनः बैठक बोलाएर वैज्ञानिकहरूको सो चेतावनीका बारेमा छलफल पनि गर्नुभयो । त्यसपछि सरकारले २३ मार्चमा बन्दाबन्दीको घोषणा ग¥यो । बन्दाबन्दी घोषणा गरेलगत्तै जनताका नाममा सरकारले अपिल गरेर यो सङ्कटमा सहयोग गर्न आग्रह पनि ग¥यो ।
जनतालाई सुरक्षित राख्न यहाँको सरकारले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड निकाल्यो । त्यस्तै स्वास्थ क्षेत्रमा काम गरेका पूर्वकर्मचारीहरूलाई सहयोगका लागि आह्वान पनि ग¥यो । यसरी गरिएको आह्वानमा १० दिनको बीचमा स्वास्थ सेवामा काम गरेर अवकाश पाएका पाँच लाख कर्मचारीले स्वयम्सेवकको रूपमा काम गर्न तयार भए । जनताबाट पाएको यो साथले सरकारलाई आत्मबल थपियो । नागरिकबाट साथ पाएपछि सरकारले कसरी काम गर्नसक्छ भन्ने उदाहरण यहाँ राम्रोसँग देख्न सकियो ।
कोरोना आएसँगै सरकारले सेना परिचालन ग¥यो । बेलायती सेनामा गोर्खा सैनिकको पनि ठुलो योगदान छ । यो कोरोनाको समयमा पनि गोर्खा बटालियनको अग्रसरतामा १० दिनमा चार हजार जनासम्म बिरामी राख्न सकिने गरी लन्डनमा नाइटिङ्गेल अस्पताल निर्माण भयो । जसमा ५०० वटा आईसीयू कक्षसमेत बनाइएको थियो । हाल कोरोनाका बिरामी घटेसँगै यो अस्पताल क्यान्सर अस्पतालको रूपमा रूपान्तर भइसकेको छ । तर नेपालमा भने कोरोना महामारी भित्रिएपछि के–कति अस्पताल बने वा भएका अस्पतालहरूको पनि के–कस्तो व्यवस्थापन गर्न सकियो भन्ने कुरा हामीले मनन गर्नुपर्दछ ।
मार्च २३ देखि बन्दाबन्दीको घोषणा गर्दा बेलायत सरकारसँग मुस्किलले दैनिक तीन हजार जनाको मात्र पीसीआर परीक्षण गर्नसक्ने क्षमता थियो । तर आजको दिनमा ८० हजार एन्टिबडी टेस्टसहित पीसीआर टेस्टको क्षमता दुई लाख ५२ हजार ८४ पु¥याइएको छ । यो अर्को महत्वपूर्ण कारण बन्यो कोरोनाको नियन्त्रणको लागि । बेलायतका इङ्गल्यान्ड, स्कटल्यान्ड, नर्दन आयरल्यान्ड, वेल्स सबै ठाउँमा आजको दिनमा आवश्यकता हेरेर घरघरमा कीट पठाउने व्यवस्था गरिएको छ भने स्वास्थ्यकर्मीहरूलाई समेत पछिल्लो समयमा विशेष प्राथमिकताका साथ कोरोना परीक्षण गराइएको छ ।
कोरोना सङ्क्रमणलाई फाइदाको रूपमा लिन खोज्ने कतिपय मेडिकल क्षेत्रका संस्थालाई कारबाहीको दायरा ल्याइएको छ । लन्डनको हार्ली स्ट्रिट भनेको निजी अस्पताल र क्लिनिकहरू भएको ठाउँ हो । कोरोनापछि यहाँको एक क्लिनिकले प्रतिव्यक्ति पीसीआर परीक्षण गरेको ५०० पाउन्डसम्म लिएपछि अनुसन्धान थालियो । उक्त क्लिनिकले बजार भाउभन्दा तीन गुना बढी लिएको देखिएपछि उक्त क्लिनिक बन्द गरी क्लिनिकका मालिकको लाइसेन्स खारेज गरेको सार्वजनिक सूचना सरकारले प्रसारण गरेको थियो । यसले गर्दा जनताले बाहिर गएर होइन सरकारले नै टेस्ट कीट दिन्छ भनेर कुरे र पाइरहेका पनि छन् । कोरोना देखिएपछि सरकारले स्वास्थ्य सामग्री खरिद गर्न पनि जतिसक्दो छोटो बाटो अपनाएको थियो । चीनबाट करीब ६ लाख पाउन्ड बराबरको कीटसमेत गरी अरू मेडिकल सामग्री ल्याउने निर्णय भयो । तर पछि भने उक्त कीट गुणस्तरहीन भएको र सुरक्षा मापदण्ड पूरा नगरेको देखिएपछि सम्पूर्ण सामग्री फिर्ता गरेर रकम पनि फिर्ता माग्यो । पछि भने बेलायतको फ्रान्सिस क्रिक इन्स्टिच्युटमा आबद्ध वैज्ञानिक डा. चाल्र्स स्वोटनको समूहले पीसीआर टेस्ट कीट बनाउन थाल्यो । जसका कारण अहिले यहाँ कीटको अभाव छैन । तर नेपालमा भने लामो समयसम्म स्वास्थ्य सामग्री खरिदको विषयमा लामो समयदेखि नै अलमल देखिएको थियो । हामीले कीट बनाउने कुरा त कल्पना बाहिरको कुरा रह्यो तर खरिद गर्न समयमा सकेनौँ ।
कोरोना देखिएपछि स्वास्थ्यसँग सरोकार राख्ने अधिकांश सङ्घसंस्थाले यसका कारण कुन ठाउँमा कुन गतिमा यो सङ्क्रमण फैलिन्छ भन्ने तालिका नै प्रकाशन गरेर अध्ययन अनुसन्धान थाले । त्यो अनुमानले सरकार तथा नागरिकलाई पनि सोहीअनुसारको सावधानी अपनाउन भनियो र सजिलो पनि भयो । बन्दाबन्दीको घोषणा भएकै दिनदेखि अधिकांशले सरकारले भनेबमोजिम आवतजावत गरे । नागरिकले सरकारको आदेशको पूर्णतया पालना गरे । अत्यावश्यकबाहेक बाहिर नहिँड्न भनेपछि बेलायतीहरू निकै सावधानीका साथ बाहिर निस्के । बिनाकारण निस्कनेहरूलाई प्रहरीले ठुलो रकम जरिवाना तिरायो । स्कुल कलेज अझै पूर्णरूपमा खुलेका छैनन् तर जहाँ थोरै मात्रामा खुलेका छन् त्यहाँ अभिभावकहरूको मत बुझेर सर्भेका आधारमा खुला गरिएको हो । अधिकांश अभिभावकहरू बालबालिका पठाउन अनिच्छुक देखिएका कारण विद्यालय खोल्न पनि हतार गरिएन ।
कोरोनाका कारण रोजगारी गुमाउनु परेका नागरिकलाई उनीहरूले खाइपाइ आएको तलबको ८० प्रतिशत राहत रकम दिने घोषणा सरकारले ग¥यो । यसका कारण पनि नागरिकलाई बाहिर निस्कन त्यति हतार गर्नुपरेन । तर अत्यावश्यकलाई भने सरकारको रोकतोक थिएन । साथै बैङ्कहरूले घरजग्गा किन्दा दिँदै आएको मासिक किस्ता तीन महिनाका लागि तिर्न नपर्ने भनेर सरकारले घोषणा गरिदियो । यसका कारण आर्थिक सङ्कटको महसुस पनि कम हुन गयो । जसले गर्दा सामाजिक दुरीलगायतका सावधानी प्रभावकारी बन्यो ।
कोरोनाको रोकथामका लागि बेलायतमा खोपको विकास भइसकेको छ । तीन हप्ताअघि खोपको परीक्षण भएको थियो । जसले भ्यान्टिलेटरमा रहेका बिरामीलाई ४० प्रतिशत र अन्यलाई साठी प्रतिशत काम गरेको जानकारी दिइएको छ । यसलाई अब क्लिनिक्ली अनुमोदन गर्न बाँकी छ । सम्भवतः दुई–तीन हप्तामा यो प्रक्रिया पूरा भई बजारमा आउने अनुमान गरिएको छ । बताइएअनुसार सात दिनका लागि बनाइएको डोज (मात्रा) का लागि प्रत्येक दिन पाँच पाउन्ड लाग्ने र एक हप्तामा ३५ पाउन्ड पर्नेछ । जसको नेपाली मूल्य पाँच हजार पर्ने देखिन्छ ।
जनस्तरबाट ठुलो सहयोग भएका कारण पनि कोरोना सोचेभन्दा छिटो काबुमा आएको यहाँका सरकारी अधिकारी र वैज्ञानिकहरूको भनाइ छ । सरकारले गर्न खोजेका धेरै काम थिए तर आर्थिक हिसाबले अलि कठिन हुन पुगेको यस क्षेत्रका अधिकारी बताउँछन् । तर जनता आफैँ सरकारका लागि सहयोग जुटाउन लागिपरे । जस्तो कि यहाँका एकजना ९२ वर्षीय बेलायती सेनाका पूर्वअधिकारी टम मुरले यहाँको स्वास्थ्य संस्थाको लागि बन्दाबन्दीका बेला आफ्नै घरको बगैँचामा दैनिक हिँडेर २९ मिलियन पाउन्ड रकम उठाए । जुन रकम १० दिनमा बनेको नाइटिङ्गेल अस्पतालका लागि खर्च गरियो । टमकै प्रभावबाट सयौँले थोरै धेरै पैसा उठाएर स्थानीय र केन्द्रीय अस्पताललाई सहयोग गरेका थिए ।
यस्तै यहाँका निजी अस्पतालहरूले पनि सरकारलाई सहयोग गरे । निजी अस्पतालहरूले आफ्ना ८०० वटा बेड सरकारलाई प्रयोग गर्न दिए । उनीहरूले बेडमात्रै नभएर सो अस्पतालमा भएका सबै उपकरण दिए । यतिमात्र होइन बेलायतका अस्पतालमा यहाँका रेष्टुरेन्ट व्यवसायी तथा अन्य ठुला उद्योगले निःशुल्क खाना र कपडा दिएका छन् । हरेक हप्ताजसो प्रत्येक बिहीबार साँझ ८ बजे स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीको हौसला बढाउन घरबाट बाहिर निस्केर एक मिनेट ताली बजाउने काम पनि लन्डनमा सबैतिर भएको थियो । बन्दाबन्दी भएलगत्तै सरकारले उद्योगपतिहरूलाई बोलाएर अस्पतालका लागि अत्यावश्यक औजार, भ्यान्टिलेटर र पीपीई उत्पादक गरिदिन अनुरोध ग¥यो । उनीहरूले सरकारको सो आग्रहलाई माने र उत्पादन बढाए । त्यसैअनुरूप उत्पादन थपिँदै गएको छ । हाल बजारमा आएका कमसल खालका कुनै पनि पीपीई प्रयोग नगर्न साथै अनलाइनमा पाइने सस्ता मास्कहरू पनि प्रयोग नगर्न अनुरोध गरिएको छ भने अस्पतालमा पुग्ने सबैलाई सुरूमा निःशुल्क मास्क दिएरमात्र अस्पताल प्रवेश गर्न दिइएको छ ।
समग्रमा बेलायतमा यो महामारीमा जनस्तरबाट व्यापक सहयोग भयो भने सरकारले पनि गर्नसक्ने जति काम बेलैमा ग¥यो । अझै पनि सरकारले गर्नसक्ने काममा थोरै ढिला भएको महसुस यहाँका नागरिकले गरेका छन् र आगामी दिनमा पनि यस्तै महामारीको सामना गर्नुपर्ने अवस्था आयो भने त्यसका लागि यो अवस्थालाई पाठको रूपमा लिन नागरिकले दिएका सुझावलाई सरकारले सहजै ग्रहण गरिरहेको जनाएको छ । यहाँको विपक्षी राजनीतिक दलले पनि यो महामारीलाई राजनैतिकरूपमा नभएर सरकारलाई कसरी सहयोग गर्न सकिन्छ भनेर हे¥यो र सहयोग पनि ग¥यो । तर नेपालमा भने कोरोनाका सङ्क्रमितहरूका साथै यसबाट मृत्यु हुनेको सङ्ख्या बढ्दो देखिएको छ । नेपालमा अस्पताल तथा क्वारेन्टिनमा कोरोना भाइरसका सङ्क्रमितहरू रहेका छन् । त्यसैले पनि हामी नेपालीहरूले विश्वका अरू देशले कोरोना भाइरसलाई के–कसरी जिते भन्नेबारेमा उनीहरूका अनुभवहरू लिन सकिन्छ । महामारीका सङ्क्रमित र मृत्युको सङ्ख्या प्रतिदिन बढ्दै गएको नेपालमा बेलायतले गरेका यी माथिका केही कार्यहरूबाट धेरै सिक्न सकिने देखिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *