भर्खरै :

कार्यालयहरूको कार्यशैलीमा सुधार आवश्यक !

स्थानीय तहको निर्वाचन २०७४ मा नेपाल मजदुर किसान पार्टीले जारी गरेको घोषणापत्रमा विभिन्न महत्वपूर्ण कुराहरू उल्लेख थिए । घोषणापत्रमा नगरपालिकाको प्रशासन पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउने, नगरपालिकाका कर्मचारीहरूको योग्यता वृद्धि गरी सांस्कृतिक स्तर विकास गर्ने, भक्तपुरलाई सफा, स्वच्छ सांस्कृतिक नगर, पर्यटकीय गन्तव्य र शिक्षाको केन्द्र बनाउने जस्ता बुँदा पनि उल्लेख थिए ।
भक्तपुर नगरपालिकाले नेमकिपाले जारी गरेको घोषणापत्रअनुसार काम गरिरहेकोमा भक्तपुर भित्र र भक्तपुर बाहिरकाले प्रशंसा गरिरहेका छन् । तथापि, केही कर्मचारीहरूको गैरजिम्मेवार प्रवृत्तिमा सुधार नहुँदा भक्तपुर नगरपालिकाको मातहतका केही निकायहरूमा विकृति देखिएको गुनासो पाइन्छ । भक्तपुर नगरपालिकाअन्तर्गतको जन स्वास्थ्य केन्द्रमा प्राप्त भएको र बाहिरिएको सामग्रीको पनि अभिलेख राख्ने नगरेको चर्चा छ । कम्प्युटर प्रिन्ट र हातेबिल गरी दुईथरी बिल प्रयोग भएको, औषधि पसल नपामातहत सञ्चालन नगरी निजी सञ्चालन गराएको, लोडसेडिङको बेलामा जेनेरेटर सञ्चालन गर्न ठुलो मात्रामा खरिद गरी मौज्दात राखिएको डिजेल लामो समयसम्म प्रयोगमा नल्याई काम नलाग्ने अवस्था भइकन पनि वास्ता नगरेको चर्चाको विषय बनेको छ । यदि समयमै सम्बन्धित हाकिमले ध्यान पु¥याएका भए आफ्नै घरको सम्पत्तिजस्तै महत्वपूर्ण ठानेका भए मौज्दात रहेको डिजेल म्याद नाघेर बेकामको वस्तु बन्ने थिएन । नगरपालिकाअन्तर्गतका गाडीहरूमा सो डिजेल प्रयोग गरिएको भए नगरपालिकाको सम्पत्ति सदुपयोग हुन्थ्यो ।
एक जिम्मेवार पदमा राखिएको व्यक्तिको पूर्ण विश्वासमा संस्था छोड्दा र अनुगमनको कमीले गर्दा अन्य कमी कमजोरी पनि देखापरेको चर्चाको विषय बनेको छ । ख्वप बहुप्राविधिक अध्ययन संस्थान (डिप्लोमा इन्जिनियरिङ अध्ययन गराउने), नर्सिङ संस्थानलगायत क्षेत्रमा पनि सुधार गर्नेतर्फ खासै चासो नदिएको देखियो । नेमकिपाको स्थानीय तह निर्वाचन घोषणापत्रलाई विश्वास गरी भक्तपुर नगरका जनताले नगरपालिकामा नेमकिपाका उम्मेदवार जिताएका हुन् । अतः नगरपालिकाअन्तर्गतका कार्यालयहरूको कार्यशैलीमा सुधार गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *