अन्तर्राष्ट्रिय युवा दिवस र भदौ ९ (कालो दिन) को सम्झना
- भाद्र ८, २०८३
२१ औँ शताब्दीमा पनि हामी परम्परागत शिक्षण विधिबाट मुक्त हुन सकिरहेका छैनौँ । सरकारबाट तयार गरिएको पाठ्यक्रम तथा शिक्षक निर्देशिकाको प्रयोग नगरी अहिले पनि अधिकांश विद्यालय तथा शिक्षकले टेक्स बुक्सको आधारमा शिक्षक केन्द्रित शिक्षण विधि अपनाइरहेका छन् । सरकारले शिक्षकहरूको निम्ति विद्यार्थीकेन्द्रित शिक्षण विधि अपनाउने तालिम सञ्चालन गरिरहेको छ । तर, शिक्षकहरूले तालिमलाई उपयोग गरेको देखिँदैन । यसो हुनुमा तालिमको उपलब्धिबारे नियमित अनुगमन नहुनु नै हो । शिक्षा मन्त्रालय, शिक्षा विभागले विद्यालयको कक्षा अवलोकन गरेको पाइँदैन । यसमानेमा अपवादबाहेक सामुदायिक विद्यालयको शिक्षा बेवारिसे अवस्थामा छ भन्दा अन्यथा नहोला ।
७० प्रतिशत विद्यार्थीहरू परीक्षामा अनुत्तीर्ण हुँदा पनि न सरकार जवाफदेही छ न शिक्षक नै, न त सरोकारवाला विभाग, समिति, विद्यालयले यस विषयमा चिन्तन गरेको देखिन्छ । यस अर्थमा शिक्षक तथा शिक्षासँग सम्बन्धित पदाधिकारीहरूको काम भनेको दिन कटाउने माना पचाउने उक्तिजस्तै भइरहेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी घटे पनि अथवा विद्यार्थी नभए पनि शिक्षकहरूको पारिश्रमिक रोकिँदैन यसले गर्दा पनि शिक्षकहरूको विद्यालयको प्रगतिप्रति चिन्तन नभएको चर्चा चलेको पाइन्छ ।
सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी भनेको कम आय भएका मजदुर–किसानलगायत सर्वहारा वर्गका छोरा–छोरी नै हो । त्यसैले गरिब वर्गका छोराछोरीहरूलाई शिक्षामा कमजोर बनाउने उद्देश्यले नै सामुदायिक विद्यालयलाई जानाजान बिगारेको धारणा बुद्धिजीवीहरू व्यक्त गर्दछन् ।
तर, निमुखा जनता सधैँ डबेर, पिल्सिएर र सहेर बस्दैनन् । अति भए अन्न पनि विष हुन्छ । एक दिन तिनीहरू उठ्नेछन् । तिनीहरू देशको परिवर्तनको लागि जाग्नेछन् । पुँजीवादभित्र रहेर कम्युनिस्टको नाउँमा लुट्ने सत्तालाई ध्वस्त पार्नेछ । तब देशको शिक्षामा कायापलट हुनेछ । विश्वको इतिहासले यही बताउँछ । पुरानो राज्यसत्ता पल्टाई सत्ता कब्जा गरेर देश मुक्त भएपछि मात्र शिक्षा, स्वास्थ्य तथा अन्य क्षेत्रमा मौलिक परिवर्तत हुनेछ । जनताको सङ्घर्ष सम्झौतामा टुङ्गिएको देशमा खासै परिवर्तन भएको देखिंदैन । उदाहरणको लागि उत्तर र दक्षिणका छिमेकी राष्ट्रहरू हुन् ।
शिक्षण विधि तथा अनुगमन
हाम्रो देशको हरेक सङ्घर्ष सम्झौतामा टुङ्गिएको छ । त्यसकारण देशको शिक्षा, स्वास्थ्य, कृषि, उद्योगलगायत कुनै पनि क्षेत्रमा मौलिक परिवर्तन भएन । सामन्त र पुँजीपति वर्गको प्रभुत्व यथास्थितिमै रहेको छ । जनताको भविष्यसँग गाँसिएको शिक्षालाई जनताको पक्षमा बढीभन्दा बढी उपयोग गर्नुपर्दछ । शिक्षालाई परम्परागत शिक्षण सिकाइबाट मुक्त गराई व्यवहारिक ज्ञान दिने शिक्षा लागू गर्न सकिए शैक्षिक परिवर्तनमा ठुलो टेवा पुग्नेछ । शिक्षण सिकाइ विधि विद्यार्थीकेन्द्रित हुनुपर्ने हो । पाठ्यक्रममा हरेक पाठको शिक्षण सिकाइ गराउँछ । के–कति शैक्षिक सामग्रीको आवश्यकता पर्दछ त्यसतर्फ हाम्रो ध्यान जानुपर्छ । विद्यार्थीहरूलाई समूहगत क्रियाकलापमा सरिक गराउने र शिक्षणभन्दा सिक्न उत्साहित गर्ने शिक्षक हुनु आवश्यक छ । विद्यार्थीहरूको सिर्जनशीलता विकास गर्नुपर्ने, तल्लो तहदेखि नै सीपयुक्त शिक्षा प्रदान गर्नुपर्ने, विद्यार्थीहरूलाई कक्षा कार्य, गृहकार्य, परियोजना कार्य, विद्यार्थीहरूको व्यक्तिगत मूल्याङ्कन, सिकाइ, परीक्षा मूल्याङ्कन गरी अभिलेख राख्नुपर्नेजस्ता यावत कुरा पाठयक्रममा उल्लेख छ ।
तर, यसको कार्यान्वयन शिक्षकले गरेको छैन । यसबारे सम्बन्धित निकायबाट पनि अनुगमन भइरहेको छैन । शिक्षकको स्थायी गर्न र प्रमोसन गर्नबाहेक यस्तो काम भइरहेको छैन ।
स्थानीय तहलाई माध्यमिक तहसम्म शिक्षा हेर्ने जिम्मेवारी दिइसकेको अवस्थामा सरकारले निर्दिष्ट गरेको पाठ्यक्रमको आधारमा राम्रो सिकाइ गर्ने शिक्षकलाई पुरस्कार दिने र नगर्नेलाई दण्डको सिफारिस गर्नसक्ने केही अधिकार प्रत्यायोजन गरी शिक्षाविद्लाई शिक्षण सिकाइ निरन्तर अवलोकन गर्ने व्यवस्था गर्नसके दुई–चार वर्षमै शिक्षामा फड्को मार्नसक्ने देखिन्छ ।
कक्षा कोठाको व्यवस्थापन
विद्यालय बगैँचाजस्तै सुन्दर, मनमोहक हुनुपर्छ । जहाँको वातावरणले मन आनन्दित होस् स्वच्छ महसुस गर्न सकोस् र नानीहरूलाई विद्यालय आउँ आउँ लाग्ने वातावरण बन्न सकोस् । हाम्रा नानीहरू पढ्ने कोठा पनि सुन्दर, आकर्षक र फराकिलो हुनुपर्दछ । जहाँ विद्यार्थीले आफूमा रहेको प्रतिभा प्रस्तुत गर्ने वातावरण होस् । कक्षाको फर्निचर एक वा दुई जनामात्र बस्ने मिल्ने खालको हुनुपर्दछ । कक्षा कोठाको व्यवस्थापन सजावटको महत्वबारे फ्रोबेलले विशेष महत्व दिएका हुन् । फ्रोबेलको भनाइअनुसार नानीहरूको प्रतिभालाई प्रस्तुत गर्नसक्ने सुविधाजनक कक्षाकोठा हुनुपर्दछ । मन चङ्गा हुने उज्यालो भएको कक्षा हुनुपर्दछ । कक्षाकोठा एउटा बाल संसार हो । त्यहाँ सिक्नको लागि चाहिने शैक्षिक सामग्री र खेल सामग्री हुनुपर्दछ । नानीहरूको उमेरअनुसारको कल्पनाशक्ति विकास गर्ने, मनोबल बढ्ने, आ–आफ्नो काम आफैँले गर्ने साथीभाइबीच मिलेर बस्ने, खाने काम गर्ने सामूहिक भावना विकास गर्ने वातावरणको कक्षा कोठाको व्यवस्थापन गर्नुपर्दछ ।
घरमा आमाबुबाको माया ममतामा हुर्केर आएका नानीहरू घर छोडेर विद्यालयको कक्षा कोठामा प्रवेश गर्ने बेलामा रमाइलो महसुस गर्नसक्ने खालको हुनुपर्दछ । अनिमात्र नानीहरूले मनको भाव प्रकट गर्नसक्छन्, उसले इच्छाएको सामग्री भए छिट्टै सिक्छन् र नियमित विद्यालय आउन मन पराउँछन् ।
विद्यार्थीहरूले तयार पारिएको प्रतिभा प्रदर्शन गर्न कक्षा कोठामा बोर्डहरू हुनुपर्दछ । सिकाइको लागि चाहिने विषयअनुसारको सामग्री पूर्वप्राथमिक तह र प्राथमिक तहको लागि कक्षा कोठामै व्यवस्था गर्नुपर्दछ ।
फ्रोबेलको भनाइअनुसार शिक्षा कक्षाकोठा चारैतिर आकर्षक, सिक्ने वातावरण र मनोभावनाअनुसारको सामग्रीको सजावट हुनुपर्दछ । जसले आमाको काखबाट विद्यालय आउने हौसला प्राप्त होस् ।
सर्वहारा वर्गका गुरू लेनिनकी श्रीमती नादेज्दा क्रुप्सकाया पनि शिक्षक हुनुहुन्थ्यो । शिक्षण सिकाइको अनुभवमा उहाँ पनि शिशुकक्षादेखि नै जीवनमा व्यवहारिक शिक्षा दिएर श्रम गर्ने भावना र श्रमको सम्मान गर्ने अवधारणाको व्यवस्थापनको पक्षमा हुनुहुन्थ्यो । उहाँ प्रतिभा, सीप प्रदर्शन गर्ने विद्यालयमै बन्दोबस्त हुनुपर्छ भन्ने कुरा राख्नुहुन्थ्यो ।
हाम्रो देशमा सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्नुका विविध कारणमध्ये निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको कक्षा कोठा साँघुरिनाले पनि हो । सरकारले कुनै नौलो आकर्षक कक्षाको निर्माण गर्न सकिरहेको छैन । सरकार आफैँ शिक्षकको पारिश्रमिकबाहेक अन्य विद्यालयको व्यवस्थापन खर्चको बन्दोबस्त गरिरहेको छैन । तर, संस्थागत विद्यालयले आफ्ना अभिभावकसँग आवश्यक रकम लिएर विद्यालय र विद्यालयको कक्षा कोठा आकर्षक र समयानुकूल गर्न सफल भइरहेको छ । सामुदायिक विद्यालयको कक्षा कोठा उही पुरानो बेन्च–डेस्कमा नानीहरू पढ्दै छन् ।
यसरी फ्रोबेलको सिद्धान्तअनुसार आकषर््ाक कक्षा कोठाको व्यवस्थापन तथा विद्यालयको वातावरण स्वच्छ र सुन्दर, बालमनोविज्ञानमा आधारित व्यवस्थित विद्यालय सञ्चालनले गर्दा जताततै किन्डरगार्डेन खोलेको हामी पाउँछौँ ।
Leave a Reply