भर्खरै :

‘चिनियाँ’ टेन्ट हटाएपछि ड्युटी प्रहरी मर्कामा

भैरहवा, ५ साउन । कोरोना सङ्क्रमण रोकथामका लागि सीमामा खटाइएका सशस्त्र प्रहरीलाई केन्द्रिकृत बनाइएको छ । चैत वैशाखमा सीमाको दशगजा समानान्तर प्रत्येक सय सय मिटरमा एक जना जवानले पहरा दिने गरेको थियो । वर्षा लागेको र सुरक्षाको दृष्टिकोणले उद्धार गर्न सजिलोको लागि भनी अहिले सामान्य त हजार मिटरको दुरीमा पहरा दिने गरेको छ ।
कोरोना सङ्क्रमित बिरामीहरू सीमा वारपार गर्दा महामारी फैलिन सक्ने भन्दै नेपाल तथा भारतले छुट्टाछुट्टै नेपाल भारत सीमा बन्द गरेको छ । सिमानामा रेखदेख गर्न बसेका नेपाली सशस्त्र प्रहरी ओट लाग्नको लागि नेपाल सरकारले भूकम्पको बेला चीनबाट सहयोग प्राप्त टेन्टको व्यवस्था गरेको थियो । दशगजा सीमामै नेपाली सशस्त्र प्रहरीले पहरा दिएको मन नपराएका भारतीय पक्षले चिनियाँ सहयोगमा आएको टेन्ट प्रयोग गरेकोलाई चिनियाँ जनमुक्ति सेना नै आएको जस्तो गरी प्रचार गरे र विरोध गरे । सीमामा खटिएका सीमा सुरक्षा बलको लागि अर्को वैकल्पिक व्यवस्था नगरी असारको तेस्रो सातामा ती चिनियाँ टेन्ट हटाउन लगाइएको छ ।

टेन्ट हटाएपछि सीमा सुरक्षा बलका सशस्त्र प्रहरीहरू दशगजाभन्दा माथि पायक पर्ने गाउँको घर–विद्यालय भवनमा १२ जनाको समूहमा बस्ने गरेको जनाइएको छ । सीमामा पहरा दिन ड्युटीअनुसार खटिने गरेका छन् । ड्युटीमा खटिएका सशस्त्र प्रहरी कतै रुखको छहारीमा र कतै बाँसमा प्लाष्टिक राखेर ओट लाग्ने गरेका छन् । भारतसँग नाकाको लागि दशगजासम्मै बाटो पुगेको ठाउँमा मात्र अहिले पहरा बस्ने गरेका छन् ।
कोरोनाको कारण सीमा वारपार गर्नुहुन्न भन्ने स्थानीय जनतामा चेतना भएकोले रूपन्देहीका सीमामा खासै समस्या नभएको सशस्त्र प्रहरी जवानको भनाइ छ । रूपन्देहीको पूर्वी सीमा गाउँपालिका रोहिणीको बुचीमा भारतमा बस्ने दोहोरो नागरिकतावाला किसानहरूले नेपालतर्फको जग्गामा नेपालतिर बसेकै किसानहरूलाई अधियामा गर्न लगाएको स्थाानीय एक किसानले बताए । खुला सीमाको कारण दैनिक लेनदेन गरिरहेकाहरू सीमा बन्दको कारण एकले अर्को देशमा प्रवेश नगरिकनै दशगजा वारिपारि उभिएरै कुराकानी गरिरहेको भेटिन्छ । नेपाल र भारत दुवैतर्फका स्थानीय नागरिकहरूको समझदारीले गर्दा रोहिणीका नाकाहरूका सहज भएको जानकारी दिंदै बोधबार इमिलिया नाकामा खटिएका एक सशस्त्र प्रहरीले भने, “एकै पटक पूर्वपश्चिम दुईतिर नै नेपाल प्रवेश गर्ने मान्छे आए अप्थ्यारो हुन्छ ।”
बुची र इमिलिया नाकामा उभिएर हेर्दा तीनतले भवनसहितको दुईटा भारतीय एसएसबीको व्यारेक देखिन्छ । पूर्वपट्टि नेपाली बर्मा गाउँपारिको व्यारेक त दशगजाको डिलमै पर्खाल उठाएको छ । पश्चिमपट्टि सौंतरीको व्यारेक भने दशगजाबाट एक डेढ सय मिटर पर देखिन्छ । दुई स्थायी व्यारेकको बीच–बीचमा एसएसबीका जवानहरू पहरा बसेका हुन्छन् ।
नेपालको प्रायः सबै सशस्त्र सीमा सुरक्षा बलको चौकी दशगजाबाट पाँच सात किलोमिटर भित्रै छन् । कोरोना रोकथामको लागि मात्र पहिलोपटक दशगजासम्मै नेपाली सशस्त्र प्रहरीले नियमित पहरा दिएका हुन् । रोहिणी गाउँपालिकाको मनोहरापुरमा मात्र एउटा दशगजा नजिक स्थायी सीमा सुरक्षा चौकी
(वीओपी) छ । मनोहरापुर वीओपीका प्रमुख प्रहरी निरीक्षक सूर्यनाथ पन्थीका अनुसार २०७० सालमा स्थापना भएको उक्त विओपी २०७२ सालमा मात्र दशगजा समीप आएको हो । अब स्थापना गरिने वीओपीहरू पनि दशगजा नजिक नै हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *