नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
आजभन्दा ४५ वर्षअगाडि महाशक्ति अमेरिकालाई युद्धमा पराजित गर्ने सानो तथा गरिब दक्षिणपूर्वी एसियाली देश भियतनाम फेरि एकपटक विश्वको ‘लाइमलाइट’ मा परेको छ । यसपटक अमेरिकी नापाम बम तथा एजेन्ट अरेन्जजस्तो विनाशकारी रसायनिक हतियारविरूद्धको लडाइँ होइन, शुक्ष्मातिशुक्ष्म भाइरस नयाँ कोरोनासँगको युद्ध हो । संयोग त होइन तर कोरोनाविरूद्धको विश्वयुद्धमा अमेरिका हार्दै छ भने भियतनामले जितिरहेको छ । सन् २००३ मा सार्स भाइरसले विश्वमा तहल्का मच्चाउँदा विश्वमै सबभन्दा पहिले नियन्त्रण गर्ने देश पनि भियतनाम भएको यतिबेला फेरि एकपटक चर्चाको विषय बनेको छ ।
भियतनाममा जनवरीमै कोरोना भाइरसको पहिलो रोगी भेटिएको थियो । चीनको उहानबाट आएका चिनियाँ नागरिक थिए ती रोगी । तर, फेब्रुअरीसम्म सीधा रेखामा भएको कोरोना कर्भ मार्चमा माथितिर उक्लियो तर अप्रिलदेखि ग्राफ धेरै तेर्सिएर थोरै उकालिँदै गयो । हाल कर्भ तेर्सोमै स्थिर छ । भियतनाममा आजसम्म सङ्क्रमण ३८३ बाट नबढ्नुमात्र होइन कोभिड–१९ को कारण एउटैको मृत्यु नहुनु के संयोग हो ? चीनसँग १४ सय किलोमिटर सिमाना जोडिएको भियतनामबाट उहान करिब १० घण्टाको मोटर बाटोमा पर्छ । आखिर भियतनामले के जादु ग¥यो ? यसबाट विश्वले के सिक्नेछ ? यसै विषयमा यो आलेख केन्द्रित गर्ने प्रयास गर्दै छु ।
तदारूकता
गरिब वा निर्धन हुनुपनि सजिलो छैन, तैपनि महाकवि देवकोटाले भने ‘हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले ।’ भियतनामको प्रतिव्यक्ति आय अमेरिकाको तुलनामा अत्यन्तै न्यून छ । अत्याधुनकि चिकित्सा प्रणाली अझै बन्न सकेको छैन । स्वास्थ र खुसी भन्ने कुरा धनले मात्र निर्धारण गर्ने रहेनछ । सधैँ धनले स्वास्थ्य खरिद गर्न सकिन्न । आखिर के ग¥यो भियतनामले ? एउटै वाक्यमा भन्नुपर्दा सङ्क्रमण फैलनबाट रोक्न सरकारको तदारूकता एवम् सक्रियतादेखि कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टिन विधि र प्रभावकारी आमसञ्चारको संयोजन भन्ने उत्तर आउँछ ।
चीनको उहानमा डिसेम्बरको अन्त्यमा देखिएको नयाँ रोगको वितण्डा जनवरीमा अरू व्यापक भएको सार्वजनिक भएलगत्तै भियतनामले तयारी थालिसकेको थियो । कोभिड–१९ को जोखिम मोल्नु बुद्धिमानी नहुने ठहर भियतनामले समयमै ग¥यो । नयाँ वर्षको उत्सवबीच प्रम न्युयेन सुआन फोकले ‘कोरोना भाइरसविरूद्ध युद्ध’को घोषणा गरे । विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ सङ्कटकाल घोषणा गरेकै दिन भियतनाममा महामारी नियन्त्रणका लागि राष्ट्रिय संयन्त्र बन्यो । भियतनामले डब्ल्युएचओको निर्देशिका पर्खेन । जनवरीको सुरूदेखि नै उहानबाट आउने यात्रुका लागि विमानस्थलमा तापक्रम नाप्ने व्यवस्था गरिसकेको थियो । जसलाई आवश्यक पर्छ उसलाई अलग राखी निगरानी गर्न थालिइएको थियो । सीमा क्षेत्र, विमानस्थल र समुद्री बन्दरगाहमा मेडिकल क्वारेन्टिन जनवरीको मध्यमै सुरू भएको थियो । उहानबाट आउनेजाने उडान स्थगित गरियो । नयाँ वर्षसँगै विद्यालय तथा कलेजको नयाँ शैक्षिक सत्र सुरू हुनैलागेको थियो, सुरू नगर्न निर्देशन जारी गरियो ।
सङ्क्रमण पुष्टि भएका बिरामीको सम्पर्कमा आएका व्यक्ति पहिल्याउने र दुई साता अनिवार्यरूपमा क्वारेन्टिनमा राख्ने काम गरियो । अप्रत्यक्ष सम्पर्क भएकालाई घरमै अलग राख्ने काम गरियो । हजारौँ मानिसको लागि राम्रो क्वारेन्टिनको व्यवस्था सरकारले ग¥यो । प्रान्तीय तथा जिल्ला स्तरका सबै ‘रोग नियन्त्रण केन्द्र’हरू तथा सामुदायिक स्वास्थ्य केन्द्र पूर्णरूपले सक्रिय भए ।
महामारीको अवस्थाबारे जनताबीच भ्रम नहोस् भन्ने कुरामा सरकार सतर्क थियो । वेबसाइट, मोबाइल मेसेज, टेलिफोन हटलाइन र फोन एप्स् आदि आधुनिक प्रविधिलगायत आमसञ्चारका विभिन्न माध्यमको उपयुक्त उपयोग गरियो । हटलाइनमा आएका हजारौँ कलले सही सूचना तथा सल्लाहको प्रवाह गर्न मद्दत गरे । स्वास्थ्य मन्त्रालयको अगुवाइमा भियतनामका चर्चित गायकले बनाएको भिडियो सबभन्दा बढी प्रचार भयो । हात धुन उत्साहित गर्न बनाइएको त्यो भिडियोले विश्वका करोडौँ मानिसको ध्यानाकर्षण ग¥यो ।
सरकारको काममा जनसमर्थन पनि उल्लेख्य रह्यो । मास्क लगाउनैपर्ने सरकारको निर्देशनको पालना जनताले स्वेच्छाले गरे । सन् १९५५ देखि १९७५ सम्मको बीसवर्षे भियतनाम युद्धपछि फेरि एकपटक सारा भियतनामी जनता कोभिड–१९ विरूद्ध एकजुट भएको विश्लेषण गरिएको छ ।
कम्युन स्वास्थ्य केन्द्र
भियतनामी स्वास्थ्य प्रणालीका चार तह छन्, केन्द्रीय तथा क्षेत्रीय तह, प्रान्तीय तथा जिल्ला तह, सामुदायिक तह र सबभन्दा तल जनताको घरदैलो पुग्ने ग्रामीण स्वास्थ्य कार्यकर्ताको तह । स्वास्थ्य प्रणालीमा दुईवटा छुट्टाछुट्टै बाटा छन्, एउटा रोग प्रतिरोधात्मक कामको बाटो र अर्को उपचारात्मक । यी दुवै प्रणाली कहिले सँगै सञ्चालन हुन्छन् त कहिले अलगअलग । भेनेजुयलाको स्वास्थ्य प्रणालीको मुख्य उद्देश्य पनि रोगनिरोधक नै हो ।
जनस्वास्थ्य सेवामा भियतनामको कम्युन प्रणाली विशेष मान्न सकिन्छ । यो नै प्राथमिक स्वास्थ्यउपचारको मुख्य निकाय हो । त्यहाँ कम्युन स्वास्थ्य केन्द्र राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीकै आधार मानिन्छ । यसले सबैको लागि स्वास्थ्यको नारा सार्थक पार्न काम गरिरहेको छ । स्वास्थ्य केन्द्रले जनताबीच रहेर काम गरेको हुन्छ । मानिसको सबभन्दा नजिकको उपचार सेवा कम्युन स्वास्थ्य केन्द्र नै हुन्छन् । चिकित्सक तथा स्वास्थ्य कार्यकर्ता स्थानीय जनतासँग प्रत्यक्ष र नियमित सम्पर्कमा हुन्छन् । जनताबीच बस्ने स्वास्थ्यकर्मीले स्वाभाविकरूपमा जनताका स्वास्थ्य समस्या राम्ररी बुझ्छन् । त्यसो हुँदा भाषा, संस्कृतिले पनि कुनै छेकबार गर्दैन । राती कसैलाई स्वास्थ्य समस्या भएमा पनि केन्द्रमा पुग्छन् वा टेलिफोनबाट सुझाव माग्छन् वा चिकित्सक स्वयम् बिरामीको घर पुग्छन् । कहिलेकाहीँ चिकित्सकले लेखेको पर्चा बुझ्न नसक्दा बिरामी वा आफन्त कम्युन स्वास्थ्य केन्द्रमा आउने गर्छन् । यस्ता केन्द्रमा अस्पतालमा भन्दा कम भिडभाड हुने भएकोले बिरामी सहज मान्छन् पनि । यस्ता केन्द्रले मुख्यतः रोगबाट नागरिकलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेमा ध्यान दिएका हुन्छन् । यसबाट परिवार तथा समग्र स्वास्थ्य प्रणालीको खर्च बचत हुन्छ ।
स्वास्थ्यको जिम्मेवारी राज्यकै
भियतनाममा समाजवादी सिद्धान्तअनुसार जनस्वास्थ्यको जिम्मेवारी मूलतः राज्यले नै लिएको छ । राज्यकोषको ३० प्रतिशत बजेट सार्वजनिक स्वास्थ्यमा खर्च गर्ने कानुन नै छ । सबै रोग निरोधात्मक सेवाहरू निःशुल्क छन्, जस्तो – खोप, सरसफाइ, पोषण, मातृ तथा शिशुस्वास्थ्य उपचार आदि । सन् २००८ मा स्वास्थ्य बिमाको कानुन बन्यो । भियतनामका करिब अधिकांश चिकित्सक सार्वजनिक तथा सरकारी चिकित्सा कलेजबाट तालिमप्राप्त छन् । त्यहाँ चिकित्साशास्त्र पढ्न सा¥है कम शुल्क तिर्नुपर्छ ।
सन् १९८९ मा बिरामीबाट केही रकम उठाउने नीति लागू भएको थियो । यसलाई भियतनामले सहशुल्क नामाकरण गरेको थियो । यसबाट अस्पतालको आम्दानी बढ्यो र चिकित्सा उपकरण तथा औषधीको व्यवस्था गर्न सजिलो भयो । सन् ९० कै दशकमा केही सीमा तोकेर निजी स्वास्थ्यउपचार क्षेत्रलाई छुट दिन थालियो, यद्यपि करिब ९० प्रतिशत अस्पताल सरकारी नै छ । ९६ प्रतिशत अस्पतालको बेड सरकारी नै छन् । निजी अस्पतालभन्दा सरकारी अस्पताल ठूला र सुविधासम्पन्न छन् । सरकारी अस्पतालमा राम्रा विशेषज्ञ चिकित्सक भएकोले जनविश्वास पनि सरकारी प्रणालीमै छ । साधारण उपचारको निम्ति कोही निजी अस्पताल जान्छन् । त्यहाँको निजी अस्पतालमा पनि शुल्क बढी हुन्छ । एउटा अन्तर्राष्ट्रिय लगानीको निजी अस्पताल बनेको पाइन्छ तर त्यस्तो अस्पतालमा सामान्य नागरिकले उपचार गर्न सक्दैनन् । अस्पतालको शुल्क निर्धारणको काम सरकारले नै गरेको हुन्छ । गरिबलाई भने कम वा निः शुल्क उपचारको व्यवस्था छ । स्वास्थ्य बिमा सेवा सरकारले नै उपलब्ध गराएको छ । करिब ८८ प्रतिशत भियतनामी जनता स्वास्थ्य बिमा सेवामा आबद्ध भएको तथ्याङ्कबाट थाहा पाइन्छ । ३ लाख ३१ हजार २१० वर्ग किमी क्षेत्रफलमा फैलिएको भियतनाममा करिब ९ करोड ५० लाख जनसङ्ख्या छ । ९७ प्रतिशत केटाकेटीले स्तरीय खोपसेवा पाउँछन् (जबकि संरा अमेरिकामा ९५ प्रतिशत छ) । भियनामीको सरदर आयु ७६ वर्ष छ भने मातृ मृत्युदर ५४ (प्रति १० हजारमा) छ भने शिशु मृत्युदर १४ (प्रति १००० जिवित जन्ममा) छ । यो तथ्याङ्कबाट प्रतिव्यक्ति सरदर आम्दानी करिब २७१५ मात्र भएको भियतनामको जनस्वास्थ्य स्थिति राम्रो मान्न सकिन्छ । खासमा कुनै देश कति धनी छ भन्दा पनि सर्वसाधारण जनताको गुणस्तरीय जीवनको निम्ति कति योगदान भयो भन्ने हेर्नु जरूरी छ । राज्यको स्रोतसाधनको समानुपातिक वितरण समाजवादी व्यवस्थामा मात्र सम्भव छ ।
के भियतनाम समाजवादी देश हो ?
यो प्रश्न धेरैको मुखबाट सुनिन्छ । भियतनामले सन् ८० को दशकको अन्ततिरदेखि पुनः निर्माण (रिनोभेसन) को नीतिअन्तर्गत आर्थिक सुधार गरी ‘समाजवादउन्मुख बजार अर्थतन्त्र’ को कार्यक्रम लागु गरेको छ । तर, भियतनाममा समाजवादी अर्थतन्त्रको जग अझै पनि पूर्णतः भत्किएको छैन । भियतनाम कम्युनिस्ट पार्टीकै नेतृत्वमा भियतनामी जनताले प्रगतिको सिँढी चढ्ने प्रयास गरिरहेका छन् । भियतनामको संविधानमा माक्र्सवाद –लेनिनवाद र हो चि मिन्ह विचारधारालाई राज्य र समाजको नेतृत्वदायी शक्तिको रूपमा अङ्गीकार गरिएको छ । सरकारले जनताको समृद्धि, सामाजिक न्याय, सार्वजनिक तथा राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिन्छ । संविधानमा हरेक व्यक्तिले स्वास्थ्य उपचार सेवा प्राप्त गर्ने अधिकार छ । जनस्वास्थ्यको निम्ति राज्यले नै लगानी गर्ने प्रावधान संविधानमै राखिएको छ । समाजवादको मुख्य विशेषतामा स्वास्थ्य उपचार सेवा पाउनु नागरिकको अधिकारको रूपमा लिइन्छ । स्वास्थ्यउपचार कमोडिटी नभई अधिकार हो । स्वास्थ्यसेवा किनबेचको वस्तु होइन । स्वस्थ रहनु भन्नुको अर्थ नागरिक स्वतन्त्र रहनुजस्तै हो । अस्वस्थ मानिस स्वतन्त्र हुन सक्दैन । रोगले मानिसलाई बन्धनमा राख्छ । समाजवादले मात्र मानिसलाई त्यस्तो बन्धनबाट मुक्त गर्नसक्छ ।
भियतनाम समाजवादी देश होइन भन्ने तर्क पनि यदाकदा सुनिन्छ । राज्य पुँजीवादको आरोप लागेको छ । तर, भियतनाम आफै त्यस्तो मान्यता राख्दैन । माक्र्सको भनाइ अगाडि सारेर भियतनामीहरू तर्क गछ्र्रन् – समाजवाद साम्यवादको पहिलो वा तल्लो खुड्किलो हो । भियतनामी बुद्धिजीवीहरूका केही सैद्धान्तिक अवधारणामा विमति राख्नु आवश्यक छैन । साम्यवाद त लामो क्रान्तिकारी विधिबाट आउँछ । साम्यवादमा राज्य पनि चाहिँदैन । समाजवाद त राजनीतिक सङ्क्रमणकाल हो, राज्यबाट राज्यविहीनताको सङ्क्रमणकाल । पुँजीवादमा मुठ्ठीभर मानिसको तानाशाही चल्छ भने समाजवादमा बहुसङ्ख्यकको । विशेषतः भियतनामी जनता हो चि मिन्हको विचारबाट प्रभावित छन् । हो को विचार विशेषरूपमा भियतनामको निम्ति बनेको उनीहरूको विश्वास छ । होको विचारअनुसार कामदार जनताको शारीरिक तथा आध्यात्मिक जीवनको निरन्तर विकास गर्नेे समाज नै समाजवादी समाज हो । कामदारवर्गलाई समाजवादी विचार, मूल्य र आचरणमा ढाल्न आवश्यक हुन्छ भन्ने होको विचार हो । हो चि मिन्ह विचार आत्मसात् गर्ने भियतनामी जनता यसबारे स्पष्ट हुनुपर्छ ।
Leave a Reply