नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
नेकपा कि जाली–फटाहा ?
एमाले र माओवादीको संयुक्त निर्वाचन मोर्चा र नेकपा गठन देश र जनताको हितमा भएको थिएन, होइन । यी दुवै पार्टीले ‘कम्युनिस्टको लहर’ भनी जनतालाई धोका दिए, दिँदै छन् । नेकपा सरकारको कामको समीक्षा गर्दा पञ्चायत र नेकाभन्दा फरक छैन । नेकपाका नेताहरूमा कम्युनिस्टको ‘क’ र माक्र्सवादको ‘म’ पनि आचरण छैन । यसकारण, नेपाली जनता नेकपालाई काङ्ग्रेसको रूपमा चिन्छन् । नेकाले नेकपालाई कम्युनिस्ट नै दाबी गर्छ । शायद कम्युनिस्टविरोधीहरूको मत नेकाले लिने दाउ हुनुपर्छ यो । तर, नेकपाले सिद्धान्तभन्दा साम, दाम, दण्ड, भेदमार्फत चुनावमा नेका, राप्रपा, मधेसवादी दलको मतसमेत तान्यो । नेकपाले माक्र्सवादबारे कुनै अध्ययन नै नगराई जो कोहीलाई पार्टीमा प्रवेश गराउँछ । यसले पनि नेकपा कम्युनिस्ट नभएको पुष्टि गर्छ ।
नेकपाको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकबारे समाचार छ । यही बीचमा नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालले आफूलाई पार्टीका अर्का अध्यक्ष प्रम केपी ओली र पार्टी महासचिव विष्णु पौडेलले ‘परिबन्दमा पारेको’, अपमान गरेको, राष्ट्रपति विद्या भण्डारीलाई साक्षी राखी महाधिवेशन यही मंसिरमा हुनेमा सहमति गराएको प्रचार गरेको बताए ।
संविधानको घोषणालगत्तै २०७२ सालमा दाहालको समर्थनमा ओली पहिलो पटक प्रधानमन्त्री भएका थिए । दुई जनाको आलोपालो नमिलेपछि दाहालले नेकाको सहयोगमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव राखी आफू प्रम भएका थिए । त्यसबेला ओलीले अविश्वासको प्रस्ताव सामना नगरी राजीनामा दिएका थिए । अविश्वासको प्रस्तावमाथिको छलफलमा दाहाल र ओलीले एकापसमा छुद्र वचनको आलोचना गरेका थिए । स्थानीय चुनावमा नेकासँग संयुक्त मोर्चा गरेको माओवादी नेका सरकारमा छँदै एमालेसँग संयुक्त मोर्चा ग¥यो । चुनावमा झन्डै दुईतिहाइ प्राप्त गरेका एमाले–माओवादीको पार्टी एकतापछि पनि पालैपालो प्रम हुने ‘कुकुर झगडा’ सार्वजनिक भइरहेको छ ।
सोमबार दाहालले माओवादीको तर्फबाट नेकपा स्थायी कमिटीमा रहेकाहरूसँग अलग बैठक गरे । शनिबारको सचिवालयको बैठकमा प्रम ओलीले मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्तावलाई दाहालले समर्थन गरेको र सो प्रस्तावलाई राष्ट्रपति भण्डारीसामु समेत दाहालले समर्थन गरेको ओली पक्षकाहरूको बुझाइ थियो । तर, दाहालले आफ्नो गुटको बैठकमा त्यस्तो कुनै सहमति नगरेको बताएको खबर छ । सारमा नेकपाभित्रको एमाले र माओवादीलाई नेपालका जाली – फटाहा र अमेरिकी साम्राज्यवाद एवम् भारतीय विस्तारवादको प्रभावमा पारेको देखिन्छ । नेकपाको सरकार गठनको साढे दुई वर्षमा देश र जनताको काम नभएको मात्र होइन, स्थिति झन् बिग्रँदै छ ।
नेकपा सचिवालय सदस्य झलनाथ खनालले ओलीको वहिर्गमनपछि दाहाल प्रम हुने सार्वजनिक गरे । यही स्थितिमा नेकपाका पूर्वप्रमहरूमात्र होइन अर्को कुनै पनि व्यक्ति प्रम भएपनि स्थितिमा सुधार आउँदैन । एमालेले २०५१ सालमा पहिलो पटक सरकारको नेतृत्व ग¥यो । त्यसबेला एमालेका मन्त्रीहरूले आफूलाई प्राप्त हुने कमिसन राजश्वमा जम्मा गर्ने बताएका थिए । तर, नौ महिनाको एमाले सरकार नेकाको जस्तै काण्ड र घोटालामा जोडियो । एमालेको नौ महिनाको सरकारमा एलसी काण्ड, राडार काण्ड, चेज एअर काण्ड, मल काण्ड आदि भएको थियो । शान्ति प्रक्रियासँगै २०६३ सालमा सरकारमा गएको माओवादी नेपाल टेलिकमको सेयर बिक्री, लडाकूको भत्ता, शहिद परिवारलाई दिइएको राहत आदि भ्रष्टाचारसँग जोडियो ।
बहुदलीय व्यवस्था पुनः स्थापनायताका सरकारहरूले देशको सन्तुलित विकास गरेनन् । सन्तुलित विकास गरिएको भए मेलम्चीको खानेपानी काठमाडौँमा ल्याउने खर्बौँ रूपैयाँको योजनालाई जलविद्युत् उत्पादनमा लगाउन सकिन्थ्यो । नेकपाको यो सरकारले यही साउन १ गतेदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी वितरण गर्ने वाचा गरेको थियो । यस्तो वाचा अघिल्ला सरकारहरूले पनि गरेका थिए । गएको असार ३० गते मेलम्चीको पानी काठमाडौँ पठाउने परीक्षण गर्दा सुरुङ फुटेर दुईजना बेपत्तामध्ये एकको शव भेटिएको छैन भने दुईजना घाइते छन् । सरकार, मन्त्री, सचिव र आयोजना प्रमुखहरूको साँठगाँठ ठेकेदारसँग नभएको भए यस्तो कमजोर सुरुङ निर्माण हुने थिएन ।
सिमानामा सेना खटाउन साइत जुराउनुपर्ने किन ?
वर्षासँगै पहिरो, डुबान बर्सेनि दोहोरिन्छ । यस वर्ष ३० दिनमा ८३ जनाको मृत्यु भयो । दुई जना बाढी र बाँकी पहिरोमा परी मृत्यु भयो । भूगर्भ अध्ययन नगरी सर्भे एकातिर अर्कोतिर डोजर चलाई सडक निर्माण गरिएकैले पहिरो बढेको हो । पहाडमा रज्जुमार्ग र मैदानमा रेलमार्गले मात्र नेपालको विकास हुनेछ । तर, सरकारमा गएका पार्टीहरू नेपालको जलश्रोत विदेशीलाई दिँदै छन् भने भारतबाट गाडी, ग्यास र तेल खरिद गरी परनिर्भरता र व्यापारघाटा बढाउँदै छन् । नेपालको जलविद्युत् उत्पादन र उपयोगलाई प्राथमिकतामा नराख्ने सरकार कसरी देशभक्त हुन्छ ?
रुपन्देहीको मर्चवारमा सीमा कटान रोक्न स्थानीय बासिन्दाले तटबन्धसहितको चौतारो बनाउन लाग्दा भारतीय पक्षले अवरोध ग¥यो । यस क्षेत्रको सिमानामा रहेको डन्डा नदीले नेपालको कटान गरेकोले नेपालतर्फ तटबन्धसहित चौतारी निर्माण गरिएकोलाई भारतीय पक्षले जेठ ३० गते नै रोकेको थियो ।
पर्सा ठोरीको सीता गुफाको शिरमा रहेको नेपाल–भारत सीमा स्तम्भ नम्बर ४३६ शनिबार दिउँसो उखेलिएको थियो । स्थानीय जनता र सशस्त्र प्रहरी बलले उक्त स्तम्भलाई राति नै यथास्थानमा राखे । भारतले नेपालका खुला सीमाका स्तम्भहरू उखेल्ने, भाँचकुच गर्ने काम पहिल्यैदेखि गरेको हो ।
झापाको बिर्तामोडको गौरीगञ्ज गापास्थित नेपाल–भारत सीमा नम्बर १५२ नजिक शनिबार भारतीयहरूले नेपालको सशस्त्र प्रहरी बलमाथि आक्रमण गरे । यसअघि असार १ गते राति झापाको लसुनास्थित सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीमाथि भारतीय तस्कर समूहले आक्रमण गरेको थियो । जेठ ९ गते झापाको कचनकवलस्थित सीमामा भारतीयहरूले सशस्त्र प्रहरी बलसँग विवाद गरेका थिए । जेठ ३ गते साँझ कचनकवलको झन्डु बस्तीमा रहेको सशस्त्र प्रहरी बल नेपालमाथि भारतीयहरूले आक्रमण गरेका थिए । वैशाख २२ गते झापा गापाको १३१÷१ नम्बर पिलर नजिकको सशस्त्र प्रहरीको पोस्टमा भारतीयहरूले आक्रमण गरेका थिए । त्यहाँ डेढसय भारतीयहरू घरेलु हतियारसहित आएका थिए ।
नेपाल–भारत खुला सीमा नियमन गर्न र दुई देशको मित्रता बलियो बनाउन खुला सीमा बन्द गर्नु आवश्यक छ । नेपालको औद्योगिक क्षेत्रमा खटाइएका सशस्त्र प्रहरी बल नेपाललाई खुला सीमाको सुरक्षामा खटाउनुपर्दछ । नेपालको अन्तर्राष्ट्रिय सीमा रेखदेखको लागि नेपाली सेनासमेतलाई खटाउनु आवश्यक छ । नेपाल सरकारले सिमानामा नेपाली सेना खटाउन विसं २०८० सम्म कुर्नुपर्ने आवश्यकता किन ?
२०७७ साउन ५
Leave a Reply