भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
कुनै पनि देशको स्वास्थ्य स्थिति त्यहाँको राजनैतिक व्यवस्थाले निर्धारण गर्छ । राजनैतिक व्यवस्थाजस्तो हुन्छ, स्वास्थ्य नीति पनि त्यस्तै हुन्छ । क्युवामा अहिले समाजवादी राज्य व्यवस्था छ, त्यसैले त्यहाँ समाजवादी स्वास्थ्य नीति लागू भइरहेको छ । पुँजीवादी शासन व्यवस्था भएका देशहरूमा स्वास्थ्यलाई पनि फाइदा र नाफा लिने व्यापारको वस्तुजस्तै बनाइएको हुन्छ ।
उदाहरणको निम्ति सन् १९७४ मा क्युवाको भन्दा दक्षिण अफ्रिकाको प्रतिव्यक्ति आय दोब्बर थियो । तर, शिशु मृत्युदर क्युवाको भन्दा दक्षिण अफ्रिकामा पाँच गुणा बढी थियो । अहिले अमेरिकामा भन्दा क्युवामा शिशु मृत्यु दर घटिसकेको छ । यही हो समाजवादी र पुँजीवादी व्यवस्थाबीचको भिन्नता ।
समाजवादमा स्वास्थ्य र शिक्षाजस्ता विषयहरू आधारभूत र मौलिक अधिकारको रूपमा लिइएको हुन्छ । क्युवाले स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा संवैधानिक व्यवस्था गरेको कारण त्यहाँ सारा जनताले निःशुल्क उपचार पाइरहेका छन् । दक्षिण अफ्रिकाजस्ता पुँजीवादी देशहरूमा त्यसबेला श्वेत र अश्वेतबीच स्वास्थ्यमात्रै होइन हरेक कुरामा विभेद थियो । पुँजीवादीहरूले स्वास्थ्यलाई पनि किनबेचको वस्तु बनाए । सक्नेले खरिद गर्ने र नसक्नेले नगर्ने अर्थात् पुँजीवाद नागरिकको ज्यानभन्दा पैसालाई प्राथमिकता दिने व्यवस्था हो ।
समाजवादीहरूसित अन्तर्राष्ट्रवादी भावना हुन्छ । क्युवाले आफ्नो देशमा मात्रै होइन चिली, भेनेजुयला, इटाली, इक्वेडरलगायत देशमा सन् २००८ सम्ममा १५४ देशमा स्वास्थ्यकर्मीहरू पठाएको थियो भने कोभिड– १९ को प्रकोपपछि ७७ देशमा ३७ हजार स्वास्थ्यकर्मीहरू पठाई सेवा ग¥यो । क्युवालीहरू आफ्नो ज्यान जोखिममा राखेर पनि विश्वभरका जनताको सेवा गर्दै छन् । कोभिड– १९ को उपचारमा संलग्न भई विभिन्न देशबाट क्युवा फर्केका ३० जना डाक्टरहरूमा कोभिड फेला परेको बताइन्छ तर ती चिकित्सहरूमा जनताको सेवा गर्ने भावनामा कुनै कमी आएको पाइँदैन ।
नेपालमा करिब २५ हजारको सङ्ख्यामा डाक्टरहरू छन् । त्यसमध्ये कति राम्रा राम्रा डाक्टरहरू विदेश गएका छन् । नेपालको सरकारी सेवामा जम्मा १५०० जनामात्रै कार्यरत रहेको बताइन्छ । प्रश्न उठ्छ, डाक्टरहरूमा सेवाको भावना किन भएन ? स्पष्ट छ, निजी क्षेत्रमा एकजना डाक्टर पढ्न ५०÷६० लाख खर्च लाग्छ । विशेषज्ञ बन्न एक करोडभन्दा कमले पुग्दैन । त्यसरी खर्च गरेर आएका व्यक्तिमा स्वाभाविकरूपमा लगानी उठाउने भावना हुने नै भयो । आफ्नो लगानी, मेहनत र त्यसको ब्याजसमेत हिसाब गर्ने हो भने सरकारी तलब अरू त के लगानीको ब्याज पनि उठ्दैन । एकजना राम्रो चिकित्सकमा सेवाभन्दा बढी पैसा कमाउने भावना जाग्यो भने कसरी गरिब जनताले राम्रो उपचार
पाउँछन् ?
त्यस्ता पैसा कमाउने स्वार्थी डाक्टरहरूले नक्कली औषधि लेख्ने, औषधि कम्पनीसँग मिलेर बीमा र सरकारले दिएको औषधि नलेखी त्यसलाई कुहाएर वा म्याद नघाएर महँगो औषधि किन्न लगाउने, अस्पतालको एक्स—रे मेसिन, अल्ट्रा साउउड बिगारेर कमिसन लिन निजी पसलहरूमा पठाउने गर्छन् । त्यसैले गरिबहरूले गुणस्तरीय स्वास्थ्य उपचार पाउन सक्दैनन् र कीरा फट्याङ्ग्राजस्तै मर्ने गर्छन् ।
एक पटक क्युवाली नेता फिडोल क्यास्ट्रोले भन्नुभएको थियो, “हामीलाई केमिकल, बायोलोजिकल हतियार बनाउनु छैन, संसारको कुनाकाप्चामा बम पड्काउनु छैन । हामीलाई संसारको कुनाकाप्चामा डाक्टरको अनुहार देख्न नपाएका र उपचारको पहुँच नपुगेका ठाउँहरूको लागि डाक्टर पु¥याउनु छ ।” यो अमेरिकी साम्राज्यवादजस्ता साम्राज्यवादी देशहरूलाई ठुलो झापड थियो ।
पुँजीवादी देशहरू नाफाको निम्ति एकाधिकार जमाउन अन्य देशहरूको औषधि निर्माण कम्पनी, घरेलु औषधि उत्पादन विधिलाई नै ध्वस्त पारिदिन्छन् र उनीहरूकै औषधि खरिद गर्न बाध्य पार्छन् । पहिले नेपालमा शाही औषधि लि. ले धेरै थरीका औषधि उत्पादन गथ्र्यो । अहिले नेपाल औषधि लि. करिब करिब ड्बेको अवस्था छ । केही वर्षपहिले झाडा–पखाला लागेमा नुन चिनी पानीको घरेलु उपचार विधि निकै प्रचलनमा थियो । त्यसलाई बिस्तारै समाप्त पार्दै जीवन जल खरिद गर्नुपर्ने बाध्यतामा पु¥यायो । अहिले हामी बहुराष्ट्रिय कम्पनीबाट उत्पादित जीवन जल महँगोमा खरिद गर्नुपर्ने अवस्थामा पुगेका छौँ ।
पुँजीवादी देशहरू बहुराष्ट्रिय कम्पनीको माध्यमबाट औषधिसम्बन्धी विश्वमा एकाधिकार जमाउन क्रुरता प्रदर्शन गर्ने गर्छन् । ती बहुराष्ट्रिय कम्पनीहरूले औषधि निर्माणसँग सम्बन्धित उच्च पदाधिकारीहरूलाई पैसाको प्रलोभन देखाई आफ्नो हातमा लिने कोशिश गर्छन् । आफ्नो नियन्त्रणमा नबसेमा ध्वंसात्मक गतिविधि गर्न पनि तिनीहरू पछि पर्दैनन् । उदाहरणको लागि सन् १९८२ को बङ्गलादेशको घटनालाई लिन सकिन्छ । त्यहाँ औषधिसम्बन्धी राष्ट्रिय नीति बनाई औषधि उत्पादन सुरू ग¥यो । बहुराष्ट्रिय कम्पनीको भन्दा निकै सस्तोमा जनताले औषधि पाए । बहुराष्ट्रिय कम्पनीहरूको महँगो औषधि बिक्नै छाडे । त्यसपछि बहुराष्ट्रिय कम्पनीहरूले ती कारखाना बन्द गराउन निकै चर्काे दबाब दिए । तापनि बन्द नभएपछि बहुराष्ट्रिय कम्पनीहरूले २ हजार युवाहरूलाई तालिम दिए । एकैसाथ सबै औषधि कारखानामा आगजनी गर्न लगाए । भागदौडमा त्यहाँ कार्यरत धेरै मजदुरहरू घाइते भए । तापनि बङ्गलादेशको सरकारले त्यो चुनौती सामना गर्दै औषधि उत्पादनलाई निरन्तरता दिइरहयो ।
स्वास्थ्यकर्मीहरूलाई विभिन्न होटलहरूमा गोष्ठी, अन्तरक्रिया वा सेमिनारको नाउँमा ती बहुराष्ट्रिय कम्पनीहरूले पैसा खर्च गरिरहेका हुन्छन् । एउटै कार्यक्रमको लागि तिनीहरू २० औँ लाख खर्च गर्छन् । अझ चिकित्सकहरूलाई समय–समयमा विदेश भ्रमण गराउँछन् । डाक्टरहरूलाई आफूप्रति बफादार बनाउन त्यो एक प्रकारको घुसभन्दा फरक पर्दैन । त्यो सबै पैसा औषधिमा जोडेर गरिबहरूबाट असुल गर्छन् । त्यसैले हाम्रा चिकित्सकहरू त्यस्ता कार्यक्रम र विदेश भ्रमणमा जाँदा पनि सचेत हुन आवश्यक छ ।
कोभिड– १९ को प्रकोप नेपालमा देखापर्न थालेदेखि नै हामीले जनताको सुरक्षाको निम्ति विभिन्न गतिविधिलाई अगाडि बढायौँ । जनप्रतिनिधि, कर्मचारीहरूको सक्रियता बढायौँ । जन चेतनामूलक गतिविधिमा जोड दियौँ । आपत्कालीनबाहेक अरू सेवा बन्द गरिए पनि स्वास्थ्य र सर–सफाइसँग सम्बन्धित सेवाहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन ग¥र्यौँ ।
अहिले विदेशबाट मानिसहरू फर्किन थालेका छन् । त्यसको निम्ति होटल, घर र छुट्टै क्वारेन्टिनको व्यवस्थापनमा ध्यान दियौँ । नागरिकको क्षमताको आधारमा उपयुक्त व्यवस्थापनको लागि निश्चित सङ्ख्यामा कर्मचारीहरू खटाएका छौँ ।
जनस्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी साथीहरू बढी सचेत भएर जनताको सेवामा लाग्नुपर्ने आवश्यकता छ ।
चे ग्वेभाराको जीवनी पढ्ने तर उहाँबाट सिक्नुभन्दा पुँजीपति बन्ने सोचले काम गर्ने हो भने सिद्धान्त र व्यवहारमा मेल खाँदैन । जब हामीले सिद्धान्तअनुसारको व्यवहार गर्न सक्दैनौँ त्यसपछि हाम्रो पतन सुरू हुन्छ । यो कुरा सबैले बुझ्न आवश्यक छ ।
(जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरको आयोजनामा साउन ३ गते भएको ‘जनस्वास्थ्य र कोभिड– १९ को प्रतिरोधमा क्युवालाई चे ग्वेभाराको पाठ’ विषयमा भएको अन्तरक्रिया कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको मन्तव्यको सार)
Leave a Reply