सन् १९६२ को गर्मी याममा भारतीय जनताको ध्यान पश्चिमी सीमातिर थियो । सरकारले बाहिरी संसारबाट सीमाको स्थिति लुकाए पनि देशभित्र भने चीनको अगाडि नरम भएकोमा सरकारको विरोध भइरहेको थियो । गरम नीतिलाई दुस्साहसी बिन्दुसम्म लगिसक्दा पनि यो विरोध रोकिएको थिएन । त्यसैले गरम नीति खारेज गर्ने बाटो नेहरू सरकारले बन्द गरिसकेको थियो । यसो गरेमा यसको अर्थ देशप्रतिको गद्दारी हुन जान्थ्यो । अर्कोतिर देशवासीलाई नेहरूले भारतीय सेना चीनलाई तह लगाउन सक्षम छ भन्ने कुरामा विश्वास दिलाएका थिए । त्यसैले सीमामा सैनिक कारबाहीलाई नेहरूले अब टार्न सक्दैनथे । यसरी अन्तमा गरम नीति पश्चिमी सीमामा युद्धका लागि तम्तयार हुन पुगेको थियो । भारतको एउटै लमकले सीमा युद्धको बिगुल फुक्यो ।
पूर्वी कमाण्ड
सन् १९५९ अगष्टको लोङजु घटनापछि पूर्वी भूभाग शान्त थियो । लगत्तै चीन र भारत सीमा क्षेत्रमा सैन्य गस्ती रोक्ने कुरामा सहमत भएका थिए । भारतीय सेनालाई म्याकमाहोन रेखाभन्दा २ माइल वर नै रहने आदेश थियो । तर, १९६१ डिसेम्बरमा सैन्य हेडक्वाटरले पठाएको गरम नीतिको नयाँ निर्देशिकाले पूर्वी कमाण्डलाई सकेसम्म म्याकमाहोन रेखानजिक पुग्न भन्यो । साथै ठाउँ–ठाउँमा नयाँ चौकी बनाइ बीचको भागमा निरन्तर गस्ती गर्ने निर्देशन थियो ।

उमराव सिंह
नयाँ निर्देशिका लागू गर्न पूर्वमा झनै गा¥हो थियो । नेफा क्षेत्र बाक्लो जङ्गल र तुँवालोले ढाकिएको थियो । म्याकमाहोन रेखासम्म पुग्न पनि हप्तौँ पैदल हिँड्नुपथ्र्यो । सैनिक टुकडीलाई चाहिने सरसामान हवाईजहाजबाट खसाल्नुपथ्र्यो । पश्चिममा जस्तो जहाज ओर्लने समथर ठाउँ थिएनन् । मौसमका कारण कहिले हप्तौँसम्म सामान पु¥याउन सकिन्नथ्यो । यस्तो बेला विकट भेगका टुकडीहरू भोकमरीमा पनि पर्थे । त्यसैले पूर्वी कमाण्डका वरिष्ठ अफिसरहरूले सैनिक टुकडीलाई म्याकमाहोन रेखासम्म पु¥याउन अव्यावहारिक भएको औँल्याए । तर, पश्चिम कमाण्डमा जस्तै यी अफिसरका कुरा पाखा लगाइयो । १९६२ को फेब्रुअरीमा त्यहाँका कमाण्डर लेफ्टिनेन्ट जनरल उमराव सिंहको विरोध थामथुम पार्न जनरल कौल आसाम गए । त्यहाँ उनले सैन्य हेडक्वाटरमा भाँजो हाल्ने अफिसरहरूलाई झपारे र गुप्तचर विभागका मल्लिकको सहयोगमा नयाँ चौकीहरू कहाँ स्थापना गर्ने भन्ने योजना बनाए । त्यसपछि आसाम राइफल्सका टुकडीहरूलाई त्यसैअनुसार सीमातिर पठाइयो । यसरी १९६२ को मध्यसम्ममा म्याकमाहोन रेखाभरि २४ वटा नयाँ चौकीहरू बनाइए । यसमा भारतीय सेनाले धेरै दुःख खेप्नुपरे पनि चिनियाँ अवरोधको सामना गर्नु भने परेन । किनभने भारतीयहरू म्याकमाहोन रेखाभन्दा दक्षिणमै सक्रिय थिए ।
यहाँनिर यसबेलाको पूर्वी कमाण्डको स्थिति जान्न आवश्यक हुन्छ । दिल्लीमा सैन्य हेडक्वाटरमा सेनाप्रमुख पीएन थापर थिए । जनरल स्टाफमा चीफ जनरल कौल र उनको खटनमा काम गर्ने अफिसरहरू थिए । यी अफिसरमा मेजर जनरल ढिल्लोँ र सैन्य अपरेसनका निर्देशक ब्रिगेडियर पाटिल मुख्य थिए । पूर्वी कमाण्डको हेडक्वाटर लखनऊमा थियो । उत्तर प्रदेशको सीमादेखि म्याकमाहोन रेखा हुँदै बर्मा र पूर्वी पाकिस्तानसम्मको भूभाग हेर्ने जिम्मा यसै कमाण्डको थियो । नागा आदिवासी विद्रोह सामसुम पार्ने अभियान चलिरहेको थियो । पूर्वी कमाण्डका प्रमुख कमाण्डर एलपी सेन नामका एक लेफ्टिनेन्ट जनरल थिए । पूर्वी कमाण्डअन्तर्गत कोप्र्स ३३ पनि पथ्र्यो । यसको हेडक्वाटर शिलोङमा थियो । यो कोप्र्स लेफ्टिनेन्ट जनरल उमराव सिंहको नेतृत्वमा थियो । तेजपुरमा डिभिजन– ४ को हेडक्वाटर थियो । यसका कमाण्डर जनरल मेजर निरञ्जन प्रसाद थिए । यसका दुई पैदल ब्रिगेड थिए । पहिलो ब्रिगेड– ७ को ब्रिगेडियर जोन डाल्भी थिए । हेडक्वाटर तवाङमा थियो । त्यहाँ एक बटालियन सैनिक थिए । अर्को बटालियन दिराङ जोङमा थियो । तेस्रो बटालियन बोम्दीलामा थियो । दोस्रो ब्रिगेड ५ को हेडक्वाटर उत्तर लखिमपुरमा थियो । त्यसका तीन बटालियनहरू बाँकी नेफा क्षेत्रमा फैलिएका थिए । डिभिजन ४ को तेस्रो ब्रिगेड (ब्रिगेड ११) नागाल्याण्डमा खटिएको थियो ।
खिनजेमानेको किचलो
भुटान जोडिने ठाउँमा म्याकमाहोन रेखा २७ डिग्री ४४ मिनेट ३० सेकेन्ड अक्षांश उत्तरबाट जान्छ । यस भेगमा नदीढलो नभएकोले म्याकमाहोनले डाँडाकाँडाबाट सिमारेखा तानेका थिए ।
(यहाँ लाम्चो पसारिएको डाँडाकाँडालाई लामिडाँडा वा डाँडा (ridge) लेखिन्छ ।) उनको रेखा यस भेगको सबैभन्दा अग्लो डाँडाबाट जाँदैनथ्यो । म्याकमाहोन रेखाभन्दा ३÷४ माइल उत्तरमा सबैभन्दा अग्लो डाँडा थियो । त्यसको नाम थियो थागला डाँडा (Thag La ridge) । १९५९ को सुरुतिरबाट भारतले थागला डाँडालाई सीमा मान्ने निश्चय गरेको प्रमाण भेटिन्छ । यसप्रकार भारतले खिन्जेमाने भन्ने स्थानमा अगष्टमा सीमा चौकी बनायो । यस्तो गर्दा उसले म्याकमाहोन रेखाभन्दा उत्तरमा २५ वर्ग माइल भूभाग अतिक्रमण गरेको थियो । चिनियाँहरूले यसको प्रतिकार गरे । नेहरूको भनाइअनुसार २ सयजना चिनियाँ सुरक्षाकर्मीले १०÷१२ जना भारतीय सिपाहीलाई जताबाट आएको उतै फर्काइदिए । चिनियाँहरू फर्केर गए । तर, भारतीयहरू २ दिनपछि फेरि खिन्जेमाने गए । यसपालि भारतीयहरूले प्रतिकार गर्ने मनसायमा भएकोले चिनियाँहरूले केही गरेनन् । भारतले अघिल्लो घटनाको विषयमा अगस्टमा विरोधपत्र पेइचिङ पठायो । भारतले परम्परागत रूपमा खिन्जेमाने आफ्नो भएको दाबी गरेको थियो । भारतले आफ्नो गोठालाहरू त्यहाँ जाने चलनलाई ‘परम्परा’ भनेको थियो । यसलाई ‘परम्परा’ भन्ने हो भने उत्तरका गोठालाहरू पनि चौपाया चराउन त्यहाँ आउने गर्थे । खासमा थागला र खिन्जेमाने दुवै म्याकमाहोन रेखाभन्दा उत्तरमा थिए । भारत सरकारकै विरोधपत्रअनुसार खिनजेमाने २७ डिग्री ४६ सेकेन्ड उत्तरी अक्षांशमा थियो । यसको अर्थ तवाङभन्दा पनि तल ¤? यसबाट भारतले झुटो बोलेको पुष्टि हुन्छ ।
चीनले पत्रको विरोधमा पत्र पठायो । खिनजेमाने चीनको भएकोमा कुनै शङ्का नरहेको जोड दियो । मौखिक रूपमा चुनौती दिए पनि भौतिक रूपमा भने चीनले केही गरेन । भारतले अलि नरम पत्रमा कुनै छलफल गर्नुभन्दा पहिले यथास्थिति कायम राख्न अनुरोध ग¥यो । यसको अर्थ चीन थागला डाँडापारि बस्नुपथ्र्यो । भारतीयहरू भने खिन्जेमानेमा बसिरहे । यो स्थिति ३ वर्षसम्म कायम रह्यो । भारतीयहरू आफैँ अगाडि नबढुञ्जेल चीनले उनीहरूलाई बिथोलेन ।
ढोला चौकी
१९६० को सरकारी अधिकारीहरूको बैठकमा थागला डाँडालाई सीमा दाबी गरियो र २७ डिग्री ४८ मिनेट उत्तरी अक्षांशलाई एकतर्फी रूपमा भारतले त्रिदेशीय बिन्दु मान्यो । यसको अर्थ भारत म्याकमाहोन रेखाभन्दा पनि ४÷५ माइल उत्तर जान खोज्यो । तर, यो कुरा भारतीय सेनालाई थाहा थिएन । अझ उसलाई खिन्जेमानेबाट पश्चिमतिर गस्ती नजान निर्देशन थियो । १९६२ सम्म पनि कुनै नयाँ चौकी खिन्जेमाने क्षेत्रमा बनाइएको थिएन । यसको अर्थ भारत त्यहाँ यथास्थिति भाँड्न चाहन्नथ्यो भन्ने देखिन्छ । तर, नयाँ त्रिदेशीय बिन्दु बनाउने काम यस चाहनासँग बाझिन्छ ।

एलपी सेन
१९६२ को मे महिनामा खिन्जेमानेभन्दा पश्चिम नजाने निर्देशन खारेज गरियो । यसरी कोप्र्स ३३ ले खिन्जेमानेभन्दा पश्चिममा त्रिदेशीय बिन्दुनजिक एउटा चौकी बनायो ।
(यति नै बेला म्याकमाहोन रेखाको बर्मातिरको त्रिदेशीय बिन्दुमा पनि चौकी बनाउनुपर्ने उर्दी आएको थियो । तर, जटिल भूगोलले सीमाबल त्यहाँ जान सकेन ।) जुन ४ तारिखमा आसाम राइफल्सको गस्ती टोली थागलाको दक्षिणी पाखोमुनि चेदोङ भन्ने ठाउँमा पुग्यो र नाम्का चू (खोला) को दक्षिणी तीरमा चौकी बनाइ बस्यो । एकदम उचाइ र विकट स्थानमा भएकोले उनीहरू त्रिदेशीय बिन्दु भने पुग्न सकेनन् । भूगोलको अलमलका कारण टोली नाइकेले चौकी बनाएको स्थानलाई ढोला भने । सक्कली ढोला म्याकमाहोन रेखाभन्दा २÷३ माइल दक्षिणमा पथ्र्यो । यहाँ पनि आसाम राइफल्सका सैनिकहरूले कुनै चिनियाँ उपस्थिति देखेनन् । यसबाट चिनियाँहरूले थागला डाँडापारि बस्ने १९५९ को सहमति पालन गरिरहेको थाहा हुन्छ । तर, उनीहरूले भारतीय चहलपहल भने हेक्का राखेको हुनुपर्छ ।
ढोला चौकीका गस्ती कमाण्डरले अर्का अफिसरलाई चौकीको जिम्मा सुम्पे र प्रत्यक्ष रिपोर्ट गर्न तेजपुर फर्के । तेजपुरमा उनले जनरल प्रसादलाई भेटे । ब्रिगेडियर डेल्भीले पहिले नयाँ चौकीबारे सोधखोज गरेका थिए । पछि उनलाई चुप लगाइएको थियो । यहाँ गलवानकै कथा दोहोरिएको थियो । जनरल प्रसादले पनि ढोला चौकी सीमा बाहिर भएको र थागला डाँडालाई सीमा मान्ने हो भने थागला भञ्ज्याङमै चौकी बनाउनुपर्ने विचार राखे । कोप्र्स ३३ को यो विचार वा सिफारिस परराष्ट्र मन्त्रालय पुग्यो । मन्त्रालयलाई १९५९ को सहमतिको बारेमा थाहा थियो । तैपनि सेना अघि बढिसकेको छ भने नफर्किन र थागला डाँडाको टुप्पैसम्म भारतीय झण्डा गाड्नसक्ने सङ्केत दियो । परराष्ट्रका अधिकारीहरूले थागलामुनिको यथास्थिति नबिथोल्न भनेको भए सेना चुपचाप पछि फर्किने थियो । चिनियाँ दबाब पनि खेप्नुपर्दैनथ्यो । (मन्त्रालयले चीनसँगको सहमति भुलेको हुन पनि सक्छ । उदाहरणको लागि सन् १९६५ मा कचको रणको विषयमा पाकिस्तानसँग विवाद छ भन्ने कुरा भारत सरकारले बिर्सेको थियो । ८ वर्षअघिको सम्झौताबारे मन्त्रालयलाई एक पत्रकारले सम्झाएका थिए ।) सरकारी अधिकारीहरूले ढोला चौकीलाई भारतले दाबी गरेको सबै भूभाग भारतीय हुने नीति लागू गराउने मौकाका रूपमा हेरे । परेको बेला सेना चीनलाई टक्कर दिन सक्षम छ भनी पछि सेनाका अफिसरहरूले अधिकारीहरूलाई भान पार्न यस घटनाको प्रयोग गरे । साथै यसबाट चीनलाई चुनौती दिइएको अर्थ पनि निकालियो । यसरी ढोला चौकीलाई मौन रूपमा सदर गरियो ।
डिभिजन ४ ढोला चौकीका कारण समस्या उत्पन्न हुनेबारे सचेत थियो किनभने सेनाको नक्साअनुसार पनि चौकी चिनियाँ भूभागमा पथ्र्यो । जुलाइ महिनामा नजिकै ‘यी खोला र हिमाल हाम्रा हुन्’ भनी लेखिएको काठको एउटा चिनियाँ चिह्न भेटियो । सावधान हुनका लागि तवाङबाट एक कम्पनी पैदल सेना ढोलादेखि दक्षिणमा पर्ने लम्पुतिर पठाइयो । तीन महिनासम्म ढोला चौकी शान्त रह्यो । त्यतिञ्जेल पश्चिमी सीमामा भने गरम नीतिका कारण प्रायः गोली चल्ने र दुवैपट्टि घाइते हुने क्रम चलिरहेको थियो ।
चीनको प्रतिक्रिया
सेप्टेम्बर ८ को बिहान एउटा चिनियाँ सुरक्षादल अचानक थागला डाँडाबाट तल ओर्लियो र भारतीय चौकीनजिकै पुग्यो । धेरै दिनदेखि चौकीका केही सिपाहीले चिनियाँ टुकडीलाई भेटिरहेका थिए र उनीहरूलाई त्यो ठाउँ खाली गर्न भनिएको थियो । त्यसो नगरेमा चौकी हटाइदिने चिनियाँहरूले चेतावनी पनि दिएका थिए । चौकीका कमाण्डर चिन्तित थिए । त्यसैले उनले चिनियाँ सुरक्षादल ठुलो सङ्ख्यामा आएको भनी बढाइचढाई रिपोर्ट पठाए । उनीहरूको साठीको हाराहारीमा थिए र कमाण्डरले लगभग ६ सयजना चिनियाँहरू आएको खबर गरेका थिए । उनले सानो टोली छ भनी जानकारी गराएको भए ‘आफैँ मिलाउनू’ भन्ने उर्दी आउने उनको ठहर थियो ।
सेप्टेम्बर १६ मा पेकिङले भारत म्याकमाहोन रेखाभन्दा पनि उत्तरतिर बढेकोमा आक्रोश जनायो । साथै भारतको महत्वाकाङ्क्षी आक्रमणले निम्त्याउने स्थितिको जिम्मेवार भारत नै हुनुपर्ने पुरानै चेतावनी दोहो¥यायो । चीनले भारतले एकतर्फी रूपमा मिलाएको रेखालाई नभई म्याकमाहोनले कोरेको रेखालाई काम चलाउ सीमाको रूपमा स्वीकार्ने सङ्केत दिएको थियो । तिब्बत र अङ्ग्रेजहरूबीचको मार्च २४ १९१४ को सन्धिअनुसार पनि ढोला चौकी, थागला डाँडा र खिनजेमाने चिनियाँ भूभागमा पर्थे । पेइचिङको विरोधपत्रमा ‘भारतले आफै फेर्दै जाने हो भने भारत र चीनबीचको सीमा भन्ने नै के रहला’ भनी सोधिएको थियो । यो व्यवहारिक मात्र नभई वैध प्रश्न थियो । फेरि सीमा मिलाउने निहुँमा भारत झन्झन् उत्तरतिर बढ्दै थियो । कुनै पनि ठाउँमा भारत दक्षिणतिर सरेको थिएन । चीनलाई आफ्नो भूभाग बेचेको भनी देशभित्र विरोध हुने डरले भारत सरकार भित्र सर्न सक्दैनथ्यो ।
चिनियाँ सुरक्षादलले ढोला चौकीलाई घेरेन । हमला गर्ने छाँट पनि देखाएन । बरु चौकीका गतिविधि सीमित गर्ने ताकमा नजिकै बस्यो । पश्चिमी सीमामा पनि चिनियाँहरूले यहीँ रणनीति लागू गरेका थिए । बरु चिनियाँ टुकडीले भारतीय चौकीका अफिसरलाई भारतीय प्रतिनिधिले यस विषयमा राजनीतिक तहमा कुराकानी गर्नुपर्ने सुझाव दिए । यो प्रस्ताव त्यसबेला लन्डन पुगेका नेहरूसामु पुग्यो । उनले यसलाई ठाडै अस्वीकार गरे । बरु म्याकमाहोनले रेखालाई अग्ला डाँडाहरूबाट लग्न चाहेको हुनाले थागला डाँडा नै अपरिवर्तनीय सीमा भएको र ढोला चौकी निःसन्देह आफ्नो भएको दाबी भारतको थियो । पश्चिममा रसदपानी र अन्य साधनका अभावले भारत हच्किएको थियो । तर, पूर्वको मनोविज्ञान अलग्गै थियो । त्यसैले सरकारले ढोला चौकीवरपरबाट चिनियाँहरूलाई लखेट्दै थागला डाँडापारि पु¥याउने निर्णय ग¥यो ।
चीनले पछि मात्र प्रतिक्रिया दिएको तथ्यलाई दिल्लीले बेवास्ता ग¥यो । उल्टो चीनले म्याकमाहोन रेखा पार गरेको आरोप लगायो । ढोला चौकीमा चिनियाँ कदमलाई चीनले आफ्नो चेतावनी लागू गरेको अर्थमा भारत सरकारले लियो । पश्चिममा उत्तरतिर सरेमा आफूले नेफामा प्रतिक्रिया जनाउने चीनको सो चेतावनी पुरानो थियो । यसप्रकार थागलामा चिनियाँ सेना अघि बढ्नुलाई चीनको गरम नीतिका रूपमा अथ्र्र्याइयो । यसलाई बेवास्ता गरे पश्चिममा आफू उत्तर लागेझैँ नेफामा चीन दक्षिणतिर बढ्ने भारतले देख्यो । अन्तमा थागलामा चिनियाँहरूलाई म्याकमाहोन रेखा पार गर्ने विचार त्याग्नेगरी जवाफ दिनुपर्ने भारतले ठान्यो ।
नेफामा धोका
संसद् चलिरहेको थिएन । थागलामा ‘चिनियाँहरू अतिक्रमण’ बारे भारतीय छापामा खबर आइसकेको थियो । सरकारले म्याकमाहोन रेखालाई पहिलेदेखि नै स्पष्ट र विवादरहित सिमारेखा भनिरहेको थियो र त्यहाँ भारत बलियो भएको बताइरहेको थियो । बरु यहाँ चिनियाँ पक्ष कमजोर रहेको सरकारी प्रवक्ताको कथन थियो । यथार्थ उल्टो थियो । म्याकमाहोन रेखाभन्दा केही माइल उत्तरसम्म साङपो उपत्यकाबाट सडकहरू बनिसकेका थिए । यी सडकमा ठुलाठुला गाडी पनि सजिलै आवतजावत गर्न सक्थे । खम्पा विद्रोहका कारण वर्षौँदेखि तिब्बतमा बलियो सुरक्षाबल तैनाथ थियो । त्यसैले भूगोल र मौसमसँग चिनियाँ सेना सजिलै जुध्न सक्थ्यो । लुगाफाटो र हातहतियारको कमी थिएन ।
भारततिर भने बेहाल थियो । ब्रह्मपुत्र उपत्यका र म्याकमाहोन रेखाबीचको भूभाग डाँडैडाँडा र घना जङ्गले ढाकिएको थियो । बर्खामा घनघोर वर्षा र हिँउदमा हिमपात हुन्थ्यो । तेस्रा दुनहरूका कारण अघि बढ्न असाध्यै कठिन थियो । तवाङ र लोहित क्षेत्रका नदीहरू उचाइबाट खस्थे । त्यसैले तुइन र फड्केबाट खोला पार गर्नुपथ्र्यो । सडकहरू थिएनन् । भए पनि बर्खाका बाढीपहिरोले भत्किन्थे । त्यसैले नेफाको भूगोल भारतका लागि चुनौतीपूर्ण थियो । चिनियाँ सुरक्षादल सडकका कारण ३ घन्टा हिँडे थागला डाँडासम्म आउन सक्थ्यो । भारतीय सुरक्षादल भने तवाङबाट त्यहाँ पुग्न ६ दिनसम्म हिँड्नुपथ्र्यो । पहाडी बाटो नागबेली र भिराला थिए । अघिल्लो वर्ष मात्र तवाङसम्म बाटो पुगेको थियो । त्यो पनि गाडीका लागि सुविधाजनक थिएन । बाढी पहिरोले बाटो बन्द हुँदा मालमत्तासहित अग्ला भञ्ज्याङहरू हिँडेरै छिचोल्नुपथ्र्यो । तवाङ पुग्दा सैनिकहरू उचाइका कारण प्रायः बिरामी हुन्थे ।
जनरल कौल र सेनाप्रमुख जनरल थापर सोही सडकबाट गत नोभेम्बरमा तवाङ पुगेका थिए । उनीहरूलाई सेनाका अभावहरूबारे थाहा थियो । तैपनि १९६२ अक्टोबरसम्म पनि नेहरू नेफामा तराजु भारततिर ढल्केको बताइरहेका थिए । त्यसैले कहीँ न कहीँ धोका भएको थियो । नेहरूले जानाजान जनतालाई धोका नदिएको भए भने उनलाई उनको वरिष्ठ सैन्य सल्लाहकारले धोका दिएका थिए । कृष्ण मेनन पनि यस्तै धोकामा रहेको हुनुपर्छ । धोका जहाँ भए पनि १९६२ को सेप्टेम्बरसम्म भारतमा यसैलाई सत्य मानिएको थियो । यसकारण थागलाबाट चीनलाई लखेट्नुपर्ने माग बलियो भएको थियो ।
Leave a Reply