भर्खरै :

लकडाउन सकिएको हो महामारी सकिएको होइन

मङ्गलबार मध्यरातबाट सरकारले नोबेल कोरोना भाइरस महामारी नियन्त्रण गर्न लागु गरेको लकडाउन समाप्त भयो । लकडाउन औपचारिकरूपमा समाप्त हुनुअघि नै देशभर लकडाउन निकै खुकुलो बनिसकेको थियो । एकाध क्षेत्रबाहेक अधिकांश क्षेत्रमा लकडाउन समाप्त भइसकेको थियो । मङ्गलबारबाट औपचारिकरूपमै लकडाउन समाप्त भएपछि जनजीवन सामान्य बन्दै जाने अपेक्षा गरिएको छ । चैत ११ देखि साउन ७ गतेसम्म झन्डै चार महिना लामो लकडाउनपछि पनि देश कोरोनाको कहरबाट पूर्ण मुक्त हुन सकेको छैन । हरेक दिन कम्तीमा एक सय कोरोना सङ्क्रमित फेला परिरहेको छ । कोभिड–१९ को सङ्क्रमितको परिधि नै सीमित भएको हुनाले सङ्क्रमितको सङ्ख्या पनि सीमित देखिएको छ । तथापि, विज्ञ चिकित्सकहरू अझै पनि स्थितिमा उल्लेख्य सुधार भइनसकेको बताउँछन् ।
कोभिड–१९ रोगको बारेमा सुरुमा भएको प्रचारले धेरै मानिस यसबाट आवश्यकताभन्दा बढी त्रसित भए । विभिन्न देशमा मृतक र सङ्क्रमितको सङ्ख्या तथा ती देशले सङ्क्रमण रोकथामको निम्ति चालेका विशेष कदमले पनि मानिसलाई यसबारे त्रासको अवस्था बन्यो । चार महिनाको लकडाउनपछि भने अहिले मानिस आवश्यकताभन्दा बढी नै निश्चिन्त देखिन्छन् । जब कि अवस्था अझै पनि निस्फिक्री भएर हिँड्ने अवस्थामा होइन ।
मानिसहरूले सावधानीका नियमको पालना गर्ने छोडेका छन् । सडकमा मास्क लगाएका मानिसको सङ्ख्या पातलो बन्दै छ । ह्यान्ड स्यानिटाइजर प्रयोगमा पनि कमी आएको छ । मानिसको भीडभाड बढिरहेको छ । यसले कालान्तरमा महामारीले अझ भयानक रूप लिने हो कि भन्ने चिन्ता मान्नुपर्ने अवस्था कायम नै छ । लकडाउनमात्र अन्त्य भएको हो, महामारी नै समाप्त भएको होइन । यो विषयमा सबै सजग बन्न आवश्यक छ ।
लकडाउन समाप्त भएसँगै सरकारी निकायले पनि आफ्नो जिम्मेवारी र सावधानीका उपाय खुकुलो गर्दै गए अवस्थाले कुनै पनि विस्फोटक मोड लिनसक्छ । छिमेकी देश चीनको उहानमा महामारीलाई समुल परास्त गरिसकेपछि राजधानी पेइचिङ र सिन्जियाङमा कोरोना भाइरसको सङ्क्रमितहरू फेला परेपछि गरेको युद्धस्तरको तयारी (वार–लाइक प्रिपेरेसन) बाट नेपाललगायतका देशहरूले सिक्नुपर्छ ।
विश्वभर नोबेल कोरोना भाइरसको महामारी फैलिएसँगै प्रख्यात भएको एउटा शब्दावली हो–न्यु नर्मल अर्थात् कोरोनाको महामारी पूर्णरूपमा परास्त गर्न लामो समय लाग्नेछ । त्यसकारण अब संसारभरका मानिसले हिजोभन्दा फरक शैलीबाट जीवन बिताउनुपर्नेछ र त्यसैमा स्वाभाविकता देख्नुपर्छ । धेरै मानिस एकै स्थानमा भेला नहुने, मास्क लगाउने, ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने, साबुन पानीले नियमित हात धुने आदि कोरोनाबाट जोगिन अवलम्बन गरिने अनुशासनलाई अब कुनै विशेष परिस्थितिमा मात्र गर्ने व्यवहार होइन, बरु दैनिक जीवनकै हिस्साको रूपमा अभ्यास गर्दै जानुपर्छ । हिजो अस्वाभाविक लाग्ने त्यस्ता व्यवहारलाई जीवनको स्वाभाविक पाटो बनाउँदै जानुपर्छ ।
नोबेल कोरोना भाइरसलाई संसारका वैज्ञानिकहरूले अझ खतरनाक महामारीपूर्वको सावधानी घण्टीको रूपमा चित्रण गरेका छन् । प्राकृतिक स्रोतसाधनको अत्याधिक दोहनको कारण यस्ता विपत्ति मानिसले सामना गर्नुपरेको वैज्ञानिक निष्कर्ष हो । यो महामारीलाई मानिसले सच्चिने अवसरको रूपमा नलिने हो भने अझ पनि ठुला महामारीको सामना गर्नु मानिसको नियति हुनेछ । त्यसकारण आज हामीले एकातिर कोरोना भाइरसको यो विपत्तिबाट जोगिनु छ भने अर्कोतिर प्रकृति र मानिसबीचको सन्तुलित सम्बन्ध कायम राखी भविष्य र भावी पुस्तालाई पृथ्वी सुरक्षितरूपमा हस्तान्तरण गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *