चिनियाँ क्रान्तिकारी साहित्यकार लु सुन
- आश्विन ८, २०८३
स्वच्छ पानी जीवनको आधार हो । मानिसको जीवन, सिङ्गो समाज र कुनै पनि राष्ट्रको सर्वाङ्गीण विकासको निम्ति जलस्रोत अति आवश्यक प्राकृतिक स्रोत हो । पृथ्वीको औसत ७० प्रतिशत भाग पानीले ओगटेको छ तर पिउनको निम्ति उपयुक्त पानी ०.३ प्रतिशतमात्र छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को अनुसार पानी पिउनयोग्य हुनको निम्ति त्यसले तय गरेको मापदण्ड पूरा हुनुपर्छ ।
विश्व स्वास्थ्य सङ्गठनको सर्वेक्षणअनुसार करिब ८० प्रतिशत रोगहरू दुषित पानी र सरसफाइको कमीले गर्दा लाग्ने गर्दछ । त्यस्तै बर्सेनि करिब बीस लाख बालबच्चाहरू झाडापखाला–लगायतका रोगले आफ्नो ज्यान गुमाउँछन् । नेपालमा पनि दुषित पानी र सरसफाइको कमीका कारण बर्सेनि करिब १० हजार ५०० बालबच्चाहरूको ज्यान जान्छ । विश्वमा धेरै मानिसहरू स्वच्छ पानीको पहुँच बाहिर छन् । करिब ८८ करोड ४ लाख मानिस स्वच्छ पानी पाउँदैनन् । नेपालको अधिकांश ग्रामीण क्षेत्रमा अझै सरकारले खानेपानीको राम्रो व्यवस्था गर्न सकेको छैन । यसकारण मानिसहरू खानेपानीको निम्ति वैकल्पिक स्रोतहरू इनार, कुवा, पोखरी र नदीको पानीमा निर्भर छन् । पानीका यस्ता वैकल्पिक स्रोतहरूको गुणस्तर परीक्षण खासै धेरै गरिएको छैन । यसले गर्दा प्रयोगकर्ताको स्वास्थ्यमा थप जोखिम हुन्छ ।
नेपालको संविधानमा स्वच्छ पानी प्रत्येक नागरिकको हक एवम् अधिकारको रूपमा उल्लेख गरिएको छ । तसर्थ, भक्तपुर नगरपालिकाभित्र गुणस्तरीय खानेपानीको व्यवस्था कस्तो छ त ? खानेपानी संस्थानद्वारा विभिन्न स्रोतबाट वितरीत पानीको गुणस्तर मापन गर्ने कार्य भक्तपुर नगरपालिकाले हालै सम्पन्न ग¥यो । नपाले नै सञ्चालन गरेको ख्वप कलेज, वातावरण विज्ञान विभागले सो कार्यमा सहयोग गरेको थियो । यसबाट भविष्यमा पानीको गुणस्तरबारे हुने अध्ययनको निम्ति सजिलो हुने भएको छ । भविष्यमा यही तथ्याङ्कलाई आधारभूत तथ्याङ्कको रूपमा प्रयोग गरिने पनि विश्वास गर्न सकिन्छ ।
भक्तपुर नगरको पानीको गुणस्तर मापनको कार्य २०७७ वैशाख ११ गतेदेखि २३ गते सम्पन्न भएको थियो । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण सरकारले लागू गरेको बन्दाबन्दी अगाडि यो कार्य सम्पन्न गरिएको थियो । गुणस्तर मापनको निम्ति भक्तपुर नगरपालिकाको प्रत्येक वडाबाट पानीको नमुना सङ्कलन गरियो तर वडा नं. ५ को नमुना सङ्कलन गर्न सकेनौँ । सङ्कलन स्थलमै केही मापकहरूमा परीक्षण ग¥यौँ । बाँकी मापकहरूमा परीक्षणको निम्ति पानीका नमुनाहरू ख्वप कलेज वातावरण विज्ञानको ल्यावमा पु¥यायौँ । पानीको नमुनाको भौतिक, रासायनिक र जैविक मापकहरूमा परीक्षण गरियो । पानीको पीएच, तापक्रम, पानीमा रहेका घुलनशील पदार्थहरू, विद्युत सुचालकता, मिसिएका अन्य पदार्थ गरेर जम्मा ५ वटा भौतिक मापकहरू थिए । त्यस्तै क्लोराइडको मात्रा, पानीको कडापन, अमोनियाको मात्रा र नाइट्रोजनको मात्रा गरी जम्मा ५ वटा रासायनिक मापकहरू हेरिएको थियो । फलाम र आर्सेनिक गरी जम्मा २ वटा हेभी मेटल र ‘जम्मा कोलिफल मात्रा, इकोली, भिव्रिओ र साल्मोनेला गरी जम्मा ४ वटा जैविक मापकहरूको परीक्षण गरियो । नमुना पानीको सङ्कलन ‘अमेरिकी सार्वजनिक स्वास्थ्य सङ्घ’ (अफा) मा परीक्षण गरायौँ ।
परीक्षणपश्चात् पाइएको नतिजालाई डब्लुएचओको खानेपानीको मापदण्ड र नेपालको राष्ट्रिय मापदण्डसँग तुलना ग¥यौँ । जसअनुसार भनपा वडा नं. ४ र ७ मा वितरित पानी पिउनको निम्ति उपयुक्त ठहरिएन भने बाँकी वडाका पानी पिउनयोग्य पायौँ । वडा नं. ४ को पानीमा पीएचको मात्रा ६.४ रह्यो । डब्लुएचओको मापदण्डअनुसार खानेपानीको पीएच (६.५–८.५) भित्र रहनुपर्छ । योभन्दा घटी वा बढी भएमा खानयोग्य मानिँदैन । थोरै मात्रामा पीएच बढी वा घटी भएको पानीले छाला चिलाउने समस्या हुन्छ । तर, पीएच धेरै तलमाथि भएको पानीले थप स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । यसको साथसाथै पीएचको घटीबढीले खानेपानीको पाइपलाई चाँडै नै खियाउने गर्दछ । यसले गर्दा पाइप चुहिने र खानेपानी धेरै मात्रामा खेर जाने समस्या हुन्छ । तसर्थ खानेपानीको पीएच डब्लुएचओको मापदण्डभित्र परे नपरेको जाँच नियमितरूपमा गर्नु अति आवश्यक छ ।
त्यसैगरी वडा नं ७ को पानीमा डब्लुएचओको मापदण्डभन्दा हल्का मात्रामा अमोनिया रहेको पाइयो । डब्लुएचओको मापदण्ड १.५ मिलिग्राम प्रतिलिटर छ भने वडा नं ७ को पानीमा अमोनियाको मात्रा १.९ मिलिग्राम प्रतिलिटर पाइयो । अमोनिया बढी भएको पानीको स्वाद नमीठो र हल्का गन्धयुक्त हुन्छ । खानेपानीमा अमोनिया धेरै पाइनुले पानीमा बाह्य स्रोतहरू जस्तै ढलबाट फोहोर पानी मिसिएको हुनसक्ने आशङ्का बढाउँछ । अमोनियाले मानिसको स्वास्थ्यमा खासै गम्भीर समस्या ननिम्त्याए तापनि यो चाँडै नाइट्रेटमा परिणत हुनसक्छ । खानेपानीमा धेरै नाइट्रेट हुनु भनेको स्वास्थ्यको निम्ति हानिकारक मानिन्छ । यदि ५० मिलिग्राम प्रतिलिटरभन्दा बढी नाइट्रेट भएको पानी लामो समयसम्म निरन्तररूपमा सेवन गरियो भने ब्लुबेनी सिन्ड्रोमजस्तो गम्भीर रोग लाग्न सक्छ । यो रोगले वयस्क मानिसलाई भन्दा बालबच्चाहरूमा चाँडै असर गर्छ । यो रोग लागेपछि शरीरमा अक्सिजनको कमी हुन्छ र कालान्तरमा छाला निलो रङ्गको हुँदै मानिसको ज्यानसमेत जान सक्छ ।
परीक्षण गरिएका पानीका नमुनाहरूमा कोलिफमा, इकोली, विभ्रियो र साल्मोनेला जस्ता जीवाणु भेटिएन । यसको अर्थ नगरपालिकामा वितरित पानीमा जैविक प्रदूषण छैन । यो सकारात्मक पक्ष हो । धेरैजसो पानीजन्य रोगहरू जस्तैः झाडापखाला, आउँ, जन्डिस, हेपाटाइटिस पानीको जैविक प्रदूषणले गर्दा लाग्ने गर्छ । तसर्थ, यो पानीबाट यस्ता रोगहरू सर्ने र लाग्ने सम्भावना न्यून छ ।
हालैको परीक्षणले वडा नं ४ र ७ बाहेक सबै वडाका पानी पिउनयोग्य भएपनि सकेसम्म पिउने पानी फिल्टर गरेर या उमालेरमात्र प्रयोग गर्नु उपयुक्त हुनेछ । उमाल्ने विधिबाहेक क्लोरिनेसन, रिभर्स ओस्मोसिस, रेडिएसन, ओजनेसिसजस्ता विधिबाट पनि पानीलाई शुद्धीकरण गर्न सकिन्छ । स्वच्छ पानी जीवनको मूल आधार भएकोले सबैले स्वच्छ पानीलाई पहिलो प्राथमिकता राख्नुपर्ने कुरामा दुईमत नहोला ।
(अनुसन्धानमा लेखिकालगायत ख्वप कलेज, वातावरण विज्ञान विभागका इन्चार्ज मीरा प्रजापति, उपप्रध्यापक हिसिला सुजखू, रोजी चवाल, विद्यार्थीहरू रविना सुवाल, सजिता माक र रोजिना प्रजापति हुनुहुन्थ्यो ।)
Leave a Reply