नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
दक्षिणी भारतीय राज्य केरला कोभिड–१९ को नियन्त्रणमा विश्वकै निम्ति एक नमुना बनेको बारे ‘श्रमिक’ कै गताङ्कमा चर्चा गरेको थिएँ । केरलाले कसरी महामारीसँग लड्नसक्यो ? उसको ‘विज्ञान पुँजी’ ले कति काम ग¥यो ? के केरलाको ‘जनता विज्ञान अभियान’ बाट नेपालीले सिक्न सक्छौँ ? अन्धविश्वासमा रुमल्लिएको नेपाली समाजमा परिवर्तन ल्याउन विज्ञानको भूमिका कस्तो हुनुपर्छ ? यिनै सेरोफेरोमा केरलासम्बन्धी अघिल्लो आलेखको एक पूरक प्रसङ्गबाट यो लेखोटको सुरुआत गर्दै छु ।
केरलामा ‘जनताको विज्ञान अभियान’
सन् २००० को जनवरीमा केरलाको एउटा गाउँमा बहुराष्ट्रिय कोकाकोला कम्पनीअन्तर्गत ‘हिन्दुस्तान कोकाकोला विभरेज प्रालि’ को बोटलिङ प्लान्ट स्थापना भयो । आदिवासीहरूको बसोबास रहेको प्लाचिमाडा नामको उक्त गाउँका ३ हजारमध्ये २ हजार गाउँले खेतीमै निर्भर थिए । गाउँका चारसय जनाले त्यस उद्योगमा काम पाउने भएपछि गाउँले खुसी पनि भए । कारखानाबाट निस्किने फोहर (स्लज) मलको रूपमा खेतमा हाल्न मिल्ने भनी किसानलाई फकाइएको थियो । मल ‘सित्तिमा’ पाउने भएकाले किसान खुसी भए । तर, दुई वर्षमै गाउँको इनारका पानी सुक्नथाले । गाउँले काकाकुल हुनथाले । गाउँमा एउटा नयाँ रोग पनि देखाप¥यो । त्यसको अध्ययनपछि पत्ता लाग्यो, २० हेक्टर भूमिमा फैलिएको कम्पनीले ६ स्थानमा गरेको डीप बोरिङबाट दैनिक ५ लाख लिटर पानी तानिँदोरहेछ । एक लिटर कोकाकोला बनाउन ४ लिटर ‘फ्रेस’ पानी आवश्यक पर्दोरहेछ । पछि मलको रूपमा प्रयोग गरिएको कारखानाको स्लजमा विषालु क्याडमियम र लीड धातु भएको प्रमाणित भयो । क्याडमियम धातुले क्यान्सर गराउनसक्ने र लीड धातुले नशारोग हुने तथ्य गाउँलेले थाहा पाए ।
सन् २००२ को अप्रिलबाट गाउँका किसानले कोकाकोला कम्पनी हटाउन आन्दोलन थाले । कारखानाको मूलद्वारमा धर्ना दिई काम सञ्चालनमा अवरोध गर्नथाले । किसानले कानुनी लडाइँ पनि लडे । भारतको सर्वोच्च अदालतले ‘पानी निजी वस्तु होइन, यो सार्वजनिक हो’ भन्ने राय दियो । अन्ततः १६ वर्षपछि किसानको जित भयो । कारखाना सन् २०१८ मा पूर्णतः बन्द भयो । किसानको आन्दोलनमा बुद्धिजीवीको ठूलो साथ रह्यो । ‘प्लाचिमाडा कोकाकोला आन्दोलन’ को रूपमा चिनिएको किसान सङ्घर्षको पछाडि केरला राज्यको ‘विज्ञान पुँजी’ ले राम्रै काम ग¥यो । सर्वसाधारण नागरिकको विज्ञानसम्बन्धी ज्ञान, व्यवहार, अनुभव र स्रोतसामग्रीको पहुँचलाई ‘विज्ञान पुँजी’ भनियो । केरलाका वामपन्थीहरूले सञ्चालन गरेको ‘जनताको विज्ञान अभियान’ ले जनताको ‘विज्ञान पुँजी’ विस्तार भयो । किसानको तहमा वैज्ञानिक चिन्तनको विकासले समाजमा आन्दोलनको हुन्डरी चल्नसक्छ र परिवर्तन हुनसक्छ भन्ने यो एक प्रायोगिक उदाहरण हो ।
भारतीय कम्युनिस्टहरूकै सक्रियतामा सन् १९६२ मा ‘केरला विज्ञान साहित्य अभियान’ नामको संस्था स्थापना भएको थियो । ३९ हजार वर्ग किमी क्षेत्रफलमा फैलिएको केरलामा करिब साढे ३ करोड जनसङ्ख्या छ । केरला राज्यका विज्ञानका केही लेखक तथा शिक्षकले बीजाङ्कुरण गरेको संस्थाका २३ सय शाखामा ६० हजार सक्रिय ‘कार्यकर्ता’ छन् । ‘सामाजिक क्रान्तिको निम्ति विज्ञान’ भन्ने आदर्श बोकेको संस्थाले स्थापनाको सुरुआतदेखि नै स्थानीय मलयालम भाषामा विज्ञानका कुरा सर्वसाधारणले बुझ्ने गरी अध्ययन सामग्री उत्पादन गर्नथाल्यो । माध्यमिक तथा प्राथमिक तहमा पढ्ने विद्यार्थीको निम्ति पत्रिका पनि प्रकाशित गर्नथाल्यो । विद्यालयका विद्यार्थीलक्षित ‘युरेका’ नामको विज्ञान पत्रिकाको ५० हजार प्रति विद्यार्थीको घरघरमा पुग्छ । ‘जनताको विज्ञान अभियान’ अन्तर्गत शिक्षक, किसान, महिलालगायतलाई विज्ञान तथा उपयोगी प्रविधिबारे तालिम दिइयो । समाजमा वैज्ञानिक चिन्तनको विकास गर्ने उद्देश्यका साथ ‘केरला विज्ञान साहित्य अभियान’ संस्थाले विभिन्न शीर्षकका ७ सय पुस्तक तयार पारेको छ । विज्ञानप्रति जनविश्वास बढाउनको निम्ति जनउपयोगी प्रविधिको विकास गरियो । चुलोबाट निस्किने धुवाँले पिरोलिएका महिलाको निम्ति बनाइएको धुवाँरहित चुलो एउटा उदाहरण हो । कुनै स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गराउँदा चिकित्सकले लेख्ने प्रेस्क्रिप्सनमा विश्व स्वाथ्य सङ्गठनले सिफारिस गरेका औषधीमात्र लेखून् भनी २० पृष्ठको एउटा पुस्तिका सर्वसाधारणसमेतलाई बाँडियो । जनता चिकित्सक भेट्न जाँदा बिरामीले सोही पुस्तक साथमा लिएका हुन्छन् र चिकित्सकलाई पुस्तिकामा उल्लिखित औषधी भए नभएकोबारे प्रश्न गर्छन् । औषधी कम्पनीको प्रभावमा परेर डाक्टरले औषधी सिफारिस गर्ने क्रम घटेको केरलाको विशेष अनुभव छ ।
नेपालीहरूमा अन्धविश्वास
‘शिवभक्त’ नेपाली महिलाहरू हरेक साल साउने सोमबारको व्रत बस्दै आएका छन् । भारतमा एक समय भोकमरी भएको बेला अन्न बचाउन राज्यले नै हरेक हप्ता एकदिन उपवास बस्ने आह्वान गरेको थियो । त्यो कुरा नबुझेर आज नेपालीसमेतमा धर्मको नाममा व्रत परम्परा बसेको पाइन्छ । व्रत कसले किन बस्ने भन्ने प्रश्न नै नसोधी ‘भगवान खुसी पार्ने’ नाममा अन्ध नक्कल गर्नु अन्धविश्वास नै हो । ‘बिरालो बाँधेर श्राद्ध गर्नु’ भनेको यही हो । उसो त विश्वका समाजमा यो या त्यो नाममा उपवास परम्परा नभएको भने होइन ।
जेठ मसान्ततिर नेपालको पूर्वी तराईका सप्तरी, धुनषा, रौतहट, बारा र पर्सा जिल्लाका केही गाउँमा ‘कोरोना भगाउन’ भन्दै पूजाआजा गरियोे । ‘कोरोना माइ’ रिसाएर मान्छेको ज्यान लिइरहेको र उनलाई खुसी बनाउन पूजा गरिएको समाचार चारैतिर फैलियो । यसको केहीअघि भारतमा यस्तै खालका अन्य गतिविधि भएको समाचार आएको थियो । भारतमा कोभिड–१९ बाट बच्नका लागि गौमूत्र पिउने लहरै चल्यो, कतिपय नेपालीले त्यसैको सिको गरे । भारतीय प्रम स्वयम्ले शङ्ख फुक्ने आह्वान गरे । नेपालका प्रमले मैनबत्ती बाल्न आह्वान गरे । नेपालकै विभिन्न जिल्लामा देवीदेवता रिसाएको भन्दै बली दिएको समाचार पनि सुनियो । नेपालको कपिलवस्तुमा कोरोना धपाउने नाममा पूजापाठसाथ आफ्ना जतिजना छोरा छन् उति बाल्टी पानी इनारमा खन्याउने काम गरियो । नेपालकै कर्णाली तथा सुदूरपश्चिम प्रदेशका गाउँगाउँमा घरअगाडि खाल्टो खन्दा भेटिएको कोइलाको टीका लगाउँदा कोरोना भाइरस सङ्क्रमण हुँदैन भन्ने हल्ला चल्यो । गाउँमा डाक्टर छैनन्, धामीझाँक्रीको विकल्प हुन्न सामान्यजनको निम्ति । घरमा भैँसी ब्याएपछि दूध खानलाई समेत ‘देवता’कै अनुमति चाहिन्छ, ‘देवता’ले दिएको दिनबाहेक अरू दिनमा दूध खान नमिल्ने संस्कार गाउँमा अझै छ । तराईमा बोक्साबोक्सीको नाममा यातना दिइएका घटना पनि बेलाबेला भइरहेका छन् । यस्ता अन्धविश्वासका कुराको सूची असीमित छ । जहाँ विज्ञानको प्रकाश पुगेको हुन्न, त्यहाँ अन्धविश्वासको साम्राज्य चल्नुमा आश्चर्य मान्नु पर्दैन । स्वाभाविक छ, प्रकाश नपुगेको ठाउँमा अँध्यारो नै हुन्छ ।
मानिसलाई लाग्ने विभिन्न रोगबारेका अन्धविश्वास मानव जीवनकै निम्ति खतरनाक हुन्छ । कानरोग विशेषज्ञ नहुँदासम्म काठमाडौँका धेरै मानिस कुपण्डोलको ‘कानदेवता’ कै भरमा बाँचेका थिए । दाँतको विशेषज्ञ नभएको बेला काठमाडौँको बाङ्गेमुढाको ‘दाँतदेवता’ को पूजामा धेरैले भर पर्नुपथ्र्यो । तर, बिफर फैलिएको बेला ‘जन्मिएकी’ शीतलामाजुको पूजा पनि आज औपचारिकतामा सीमित भएको छ । त्यस्तै हिजोआज काठमाडौँमा बालरोगको निम्ति स्वयम्भू विजयेश्वरी जाने, ज्वरो आउँदा ज्वरेश्वर महादेवको पूजा गर्ने, खटिरा आउँदा चौबाटोमा ‘नागको दोष’ पन्छाउने, पेट दुख्दा वा पखाला लाग्दा चौबाटोमा बसेर पूजा गर्नेजस्ता काम बिरलै हुनथालेका छन् ।
यद्यपि, राजधानी काठमाडौँमा पनि अन्धविश्वासका विभिन्न पाटाहरू बेलाबेला नखुलेका होइनन् । राजनीतिक नेताहरूसमेत विभिन्न बाबाहरूको आशीर्वाद थाप्न हिँडेका, अनेक नामका औँठी, सिक्री वा बुटीहरू लगाएर भयमुक्त बनेका समाचार बेलाबेला आउँछन् । जनताले विभिन्न मन्दिर र देवीदेवताको पूजाअर्चना गरी हिँड्ने नेताहरूको सिकोे गरेकामा आश्चर्य मान्नुपर्ने कुरा भएन । साधु, माता, ज्योतिष र दैवी शक्ति प्राप्त भएको नाममा ठगी धन्दा चलाउने सन्तहरू सहरमा पनि धेरै भेटिन्छन् । धर्मको नाममा कमाउधन्दा नगर क्षेत्रका मध्यम वर्गीय समुदायमा बढी चलेको देखिन्छ ।
‘नेपालीको रोग प्रतिरोधी क्षमता बढी छ, त्यसैले कोरोना भाइरस सङ्क्रमण हुँदैन,’ ‘बीसीजी खोप लाएकामा कोभिड–१९ रोग लाग्दैन,’ ‘बेसारपानी खाए कोरोना रोग निको हुन्छ, तातोपानीमा नुहाउनुपर्छ’ जस्तो अप्रमाणित हल्ला फैलाउने काम पनि भइरहेका छन् नेपालमा । नेपालीको ‘विज्ञान पुँजी’ कति कमजोर रहेछ भन्ने हल्ला यस्ता हल्लाको पछाडि लाग्ने नेपाली समाजले देखाउँछ ।
देवी चढेको नाममा काम्नु वा उफ्रिनु मनोरोगसँग जोडिएको विषय भन्ने कुरा मानिसले बुझ्दैनन्, बुझाइएन । मनभित्र कुण्ठित पीडा, भय, चिन्ता, तनाव, कामेच्छा अत्यधिक भएपछि काम्ने, बर्बराउने, अज्ञात भाषा बोल्ने, आफैँलाई चिथोर्नेलगायतका गतिविधि गर्नथाल्छ, मान्छे । विज्ञानले पुष्टि गरेका यस्ता कुराको प्रचार कसले गर्ने ? पक्कै पनि चिकित्सक, विज्ञानका शिक्षक, विद्यार्थी, स्थानीय स्वास्थ्यकर्मी सबभन्दा राम्रा प्रचारमाध्यम हुनसक्छन् । यस्ता माध्यमको उचित परिचालन गर्न राजनीतिक संरचना नै चाहिन्छ, राज्यले नै यसको जिम्मेवारी लिनुपर्छ । सत्तामा बस्ने पार्टीको चिन्तन प्रणाली अवैज्ञानिक हुँदा जनताको ‘विज्ञान पुँजी’ सबल हुन सक्दैन ।
विज्ञान, प्रविधि र क्रान्ति
विज्ञान सत्यतथ्यको खोजी हो । विज्ञान कहिल्यै पूर्ण हुँदैन । विज्ञान उस्तै परिवेशमा उत्पन्न भएका घटना परिघटनाको परिणाम उस्तै हुने तर्क गर्छ । विज्ञान तर्क र प्रमाणको आधारमा बोल्छ । के, किन र कसरीजस्ता प्रश्नबाटै विज्ञानको अध्ययनको सुरुआत हुन्छ । विज्ञानमा प्रश्न र प्रतिप्रश्न आउँछन् । विज्ञानले हरेक विचारमाथि प्रश्न गर्न सिकाउँछ । यसले स्थापित मूल्य र मान्यतामाथि प्रश्न गर्न पनि सिकाउँछ । यसरी नै प्रकृतिका अनेक रहस्यका पाटाहरू खोल्ने काम विज्ञानले नै गरेको छ । न्युटन, डार्विन र आइन्स्टाइनका सिद्धान्तमाथिसमेत प्रश्न उठाई आज आधुनिक सिद्धान्तको विकास भइरहेको छ ।
विज्ञानबाट प्रविधि जन्मियो, प्रविधिले समाजमा परिवर्तन ल्यायो । बीसौँ शताब्दीमा विज्ञान र प्रविधिको उल्लेख्य प्रगति भयो, यही अवधिमा संसारमा अनेक राजनीतिक क्रान्ति भए । कार्ल माक्र्सले भन्नुभएझैँ उत्पादनका साधनमा आएको परिवर्तनसँगै उत्पादन सम्बन्धहरूमा परिवर्तन भयो । प्रविधिले उत्पादन सम्बन्ध निर्धारण गर्छ, यसबाटै समाजमा परिवर्तन आउँछ । कुटोकोदालो बोक्ने किसान उद्योग कारखानाका ज्यावल समातेपछि मजदुर बन्यो । औद्योगिक क्रान्ति खासमा प्राविधिक क्रान्ति थियो । युरोपको सामन्ती समाज औद्योगिक एवम् सहरी समाजमा परिणत भयो, संयुक्त परिवार फाटेर एकल परिवार बन्यो, सीपमा आधारित श्रम विभाजन हुनथाल्यो । औद्योगिक क्रान्तिपछि मजदुर सर्वहारा बने, ती चरम शोषणको सिकार भए । मजदुरले मालिकको शोषणविरुद्ध सङ्घर्ष गरे । तर, उत्पादनका साधन मजदुरवर्गको हातमा आएपछि बहुसङ्ख्यक जनता खुसी भए । यसरी उत्पादनका साधन अथवा प्रविधि कसको हातमा छ भन्ने आधारमा पनि समाज परिवर्तन हुने सिद्धान्तको विकास भयो । विज्ञान, प्रविधि र राजनीति जोडिएका विषय हुन् ।
‘खसी काट्ने खुकुरीले मान्छे पनि काटिन्छ’, यो प्रयोग गर्नेमा भर पर्ने कुरा हो । विज्ञान, प्रविधिले अधिकांश गरिब, उत्पीडित, निमुखा जनताको सेवा गर्न सकेमात्र समाजमा अपेक्षित परिवर्तन आउँछ । जनताको ‘विज्ञान पुँजी’ को विकासले कोभिड – १९ जस्ता रोगविरुद्ध लड्ने क्षमताको विकास गर्छ । यसको निम्ति राजनीतिक पार्टीहरूकै पहल आवश्यक छ । केरलाको ‘जनता विज्ञान अभियान’ हाम्रो लागि पनि उत्तम अभ्यास हुनसक्छ ।
Leave a Reply