भर्खरै :

गाईजात्रा सामान्यरूपमा मनाऔँ, कोरोनाबाट सतर्क होऔँ

गाईजात्रा सापारु या प्रतिपदाको दिन भक्तपुर, काठमाडौँ, ललितपुर, बनेपा, धुलिखेललगायत नेवार बाहुल्यता रहेको नेपालको विभिन्न सहर, गाउँठाउँमा आ–आफ्नै तरिकाले मनाइँदै छ । गाईजात्रामा विभिन्न भेषभूषामा सजिएर नातेदार, आफन्त, छिमेकीलगायत अन्य इच्छुक मानिसहरू नाच्ने, गाउने गर्दछन् । यो जात्रा काठमाडौँ उपत्यका अझ भक्तपुरमा मनाइने गाईजात्रा सबभन्दा राम्रो र लोकप्रिय मानिन्छ । यो जात्रामा भक्तपुरका जनताले उत्साहका साथ मनाइरहेका छन् । भक्तपुर नगरपालिकाले पनि सक्दो सहयोग गरेर प्रबद्र्धन गरिरहेको छ । यो जात्रामा के बच्चाबच्ची, के युवायुवती, के बुढाबुढी सबै उत्तिकै सहभागी हुन्छन् । समयको गतिसँगै यो जात्रामा उपत्यकाभित्र र बाहिरका नेवार र गैरनेवार जस्तैः तामाङ, लामा, राई, लिम्बु, यादव, शेर्पा, थापा आदि अनि विदेशी नागरिकहरू पनि त्यत्तिकै आकर्षित भएर सहभागी हुन्छन्, नाच्छन् र मनोरञ्जन लिन्छन् । त्यसैले यो जात्रालाई साझा जात्राको रुपमा पनि लिन थालेको छ ।
यो जात्रा प्रतिपदा सापारुदेखि सप्तमी कृष्ण अष्टमीको दिनसम्म द्वितीयाको दिनबाहेक टोलका युवाहरू समूहमा मिलेर विभिन्न भेषभूषामा नाच्छन्, नगर परिक्रमा गर्छन् । त्यसबीचमा दत्तात्रय, भैरव, बाराही, छुमा गणेश आदि देवताको खटमा राखी बाजागाजा तथा भजनका साथ भक्तजनहरू खटसँगसँगै नगर परिक्रमा गर्दछन् । कृष्ण अष्टमीको दिन पनि त्यस्तै मेला लाग्छ  । त्यस्तै पञ्चदानको दिनमा पाँचवटा बुद्धका मूर्तिहरू सूर्यमढीमा भेला गराएर दिनभरि नगर परिक्रमा गरी देवतालाई अन्न, फलफूल चढाएर पूजा गरी मनाइन्छ । यी जात्रा पर्वहरूमा विभिन्न क्षेत्र, जात, धर्म, सम्प्रदायका हजारौँ मानिसहरू सहभागी हुने, नाच्ने, अवलोकन गर्ने भएकाले त्यसबेला कोरोना सङ्क्रमित मानिस पनि आएको हुनसक्छ भोलि कसैबाट कसैलाई रोग सर्यो भने सङ्क्रमित व्यक्तिसँग को–को मानिसहरू सम्पर्कमा आए, गए हामीलाई पहिचान गर्न कठीन हुन्छ । यसले गर्दा कन्टयाक्ट टे«सिङ्ग गर्न कठीन हुनेछ । यसबाट धेरै मानिसहरूलाई भित्र भित्रैबाट सार्ने सम्भावना धेरै हुन्छ । अनि यहाँ महामारी फैलिने सम्भावना धेरै हुन्छ ।
हाल विश्व कोभिड–१९ ले आक्रान्त छ । यसबाट विश्वमा लाखौँ मानिसहरूले आफ्नो ज्यान गुमाएका छन् भने करोडौँ मानिसहरू सङ्क्रमित भइरहेका छन् । विश्वमा अमेरिका, ब्राजिल, भारतलगायतका देशहरू बढी आक्रान्त छन् । नेपाल पनि बेलैमा सतर्कता अपनाउन सकिएन भने यसबाट अछुटो रहन सक्दैन । साउन १७ गतेको तथ्याङ्कअनुसार अमेरिकामा सङ्क्रमितको सङ्ख्या ४७,६४,३१८ र मृतकको सङ्ख्या १५,७,९९८, ब्राजिलमा मृतकको सङ्ख्या ९३,६१६ सङ्क्रमितको सङ्ख्या २७,०८,८७६ भारतमा सङ्क्रमितको सङ्ख्या १७,५१,९१९, मृतकको सङ्ख्या ३७,४०३ र नेपालमा सङ्क्रमितको सङ्ख्या २०,०८६ र मृतकको सङ्ख्या ५६ पुगिसकेको छ भने त्यो बढ्ने क्रममा छ । हाल विराटनगर, राजविराज, पर्सा, बाँकेमा कफ्र्यु लगाइसकेको अवस्था छ । यो रोग क्युवा, भियतनाम, चीन, उत्तर कोरियाजस्ता देशको सरकारले व्यवस्थितरूपमा लकडाउन गरी उपचारको व्यवस्था मिलाएकोले नियन्त्रणको अवस्थामा रहेको छ । यसरी यो रोग जुन जुन देशमा लकडाउन नगरिकन लापरबाही गरिएको छ त्यहाँ बढिरहेको छ भने जुन जुन देशमा कडाइका साथ व्यवस्थितरूपमा लकडाउन गरिएको छ ती देशहरूमा कोरोना नियन्त्रित अवस्थामा रहेको देखिन्छ । त्यसैले हामी मास्क लगाएर, साबुन र स्यानिटाइजरले हात धोएर र सुरक्षित दुरी अपनाएर यो रोगबाट बच्नुपर्छ । हामीले यो रोगबाट पीडित र पीडितका परिवारले कति तनाव, दुव्र्यवहार भोग्नुपर्यो भन्ने कुरा पीडितबाट सुन्दै आएका छौँ । अरू रोग लागेर कति मानिसहरू समयमा उपचार नपाएर मरेको हामीले सुनेका, देखेका छौँ ।
कोरोना रोगको सन्दर्भमा गत वैशाखमा भक्तपुर नगरपालिकाबाट प्रकाशित ओम धौभारीको प्लेगसम्बन्धी महामारी फैलिएको प्रसङ्ग यहाँ उल्लेख गर्नु सान्दर्भिक ठान्दछु । सन् १७२० तिर विश्वमा मुसाबाट सर्ने प्लेगको महामारी फैलिएको थियो । यसबाट करोडौँ मानिसहरूको ज्यान लिएको थियो । नेपालमा थोरैमात्र मानिसहरूको मृत्यु भएको थियो । त्यसबेला भारतबाट ८÷१० जना भारतीय नागरिकहरू तिब्बत जाने शिलशिलामा काठमाडौँ आएका थिए । उनीहरू प्लेगका सङ्क्रमित थिए । यो चैत महिनाको समय थियो । त्यो महिना मनमासको समय थियो । हाम्रो संस्कृतिमा मनमासमा चाडपर्व मनाउने र पूजापाठ गर्ने चलन थिएन । तर, त्यो मनमासको समयमा कान्तिपुरका राजा भाष्कर मल्लले त्यसलाई वास्ता नगरिकन चाडपर्व, पूजापाठ चलाए भने ललितपुर र भक्तपुरका त्यसबेलाका मल्ल राजाहरूले त्यसलाई पालन गरेर चाडपर्व, पूजापाठ गरेनन् र गर्न दिएनन् । यसबाट मानिसहरू भेला हुन पाएन । यसले गर्दा कान्तिपुरका राजा भाष्कर मल्ललगायत धेरै कान्तिपुरका जनता प्लेग रोग फैलेर मरेका थिए भने ललितपुर र भक्तपुरका थोरैमात्र मरे ।
जात्रा पर्व मानिसहरू भेला भएर मनाइने संस्कृति हो । जात्रा पर्वमा विभिन्न ठाउँबाट विभिन्न मानिसहरू हेर्न र नाच्न आउने भएकाले कोरोना सर्ने धेरै सम्भावना हुन्छ । गाईजात्रामा मृतकका आफन्त वा नातेदार वा अरु कसैले जानेर वा नजानेर मृतक स्वर्गमा जाने, मृतकको आत्मामा शान्ति मिल्ने, एक पटक त हो नि, इज्जत राख्नुपर्छ जस्ता आदि सल्लाह या उत्प्रेरणा दिने गरेको हामी सुन्छौँ । त्यसले गर्दा गाईजात्रामा धेरैभन्दा धेरै मानिसहरू सहभागी हुने गर्दछन् । त्यसैले यो वर्ष यस्तो सल्लाह वा उत्प्रेरणा नदेऔँ, बाजा, नाच नलैजाऔँ । गाईको प्रतिमूर्ति बनाएर मृतकका परिवारमात्र थोरै सहभागी भएर सामान्यरूपमा मनाऔँ । त्यस्तै विभिन्न देवताहरूको रथ परिक्रमामा पनि बाजागाजा र भजन नलगी थोरैमात्र सहभागी भएर औपचारिकमा सीमित गरौँ । अन्य रोग र दुर्घटनाबाट हामी स्वस्थ भयौँ, निरोगी भयौँ, बाँच्यौँ भने अर्को वर्ष वा पछि हामी धेरै यस्ता पर्वहरू हर्ष उल्लासका साथ मनाउन सक्छौँ । मानिसहरू मिलेर नै जात्रा पर्व चलाएका हुन्, चलेका छन्, चलिरहनेछन् । त्यसैले हामी स्वस्थ रहौँ, ज्यान बचाऔँ, खुसी रहौँ ।
विश्वमा कोरोना सङ्क्रमित वा पीडितको तथ्याङ्क हेर्ने हो भने धनीभन्दा गरिबहरू नै बढी देखिन्छन् । उनीहरूले उपचार गर्नसक्दैनन् । उनीहरूसँग पैसा हुँदैन, आफ्नो मान्छे हुँदैन, आफ्नो डाक्टर हुँदैन अनि सरकारले पनि हेर्दैन । मृत्युलाई पर्खेर बस्नु र ईश्वरको नाम लिइरहनुबाहेक अर्को विकल्प हुँदैन । त्यसैले यो रोगले बालक, युवा, वृद्ध भन्दैन, तराई, पहाड, हिमाल भन्दैन अनि कम्युनिस्ट भन्दैन, काङ्ग्रेस भन्दैन । त्यसैले सबैले मास्क लगाएर, साबुन पानीले धोएर, स्यानिटाइजर लगाएर र सामाजिक दुरी अपनाएर कोरोनाबाट बच्नुपर्छ । यसैमा हामी सबैको कल्याण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *