भर्खरै :

‘युनिभर्सिटी’ को नयाँ अङ्कबारे

‘युनिभर्सिटी’ पूर्णाङ्क ३४ यतिबेला पाठकको हातमा पुगिसकेको हुनुपर्छ । जनप्रकाशन गृहद्वारा त्रैमासिकरूपमा प्रकाशित सो बुलेटिन युवा – विद्यार्थीका निम्ति एक महत्वपूर्ण अध्ययन सामग्री बन्ने विश्वास छ । विशेषतः विश्वविद्यालयका विद्यार्थीका लागि केन्द्रित गरी प्रकाशन सुरु गरिएको यस बुलेटिनले शिक्षा क्षेत्रमा देखिएको विद्यार्थीविरोधी नीति, द्वैध शिक्षानीति, निजीकरण र नाफातन्त्रविरुद्ध आवाज उठाइरहेकोे छ । विद्यार्थीको हकहितका निम्ति विश्वविद्यालयमा देखिएको बेथिति उदाङ्ग्याउने काममात्र गर्दैन विश्वविद्यालयमा झैँ विभिन्न विषयमा विद्यार्थीलाई शिक्षित बनाउँछ, विचारले दीक्षित बनाउँछ । विभिन्न समयमा फरक र सामयिक विषयवस्तुमा केन्द्रित रहेर प्रकाशित हुने विद्यार्थीहरूको यो बुलेटिनको यस अङ्क भने देशको सार्वभौमिकता र स्वाधीनता सङ्घर्षमा केन्द्रित छ । नेपालका दुई छिमेकी चीन र भारतबीचको सिमाना विवादलाई विशेष महत्वका साथ समावेश गरिएको छ । यस अङ्कमा समसामयिक विषयवस्तुसँगै देशको सार्वभौमिकतासँग जोडिएका विषयहरू एमसीसी, लिम्पियाधुरा–लिपुलेक, कालापानीमा भारतीय हस्तक्षेपविरुद्धको आवाज छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँसँगको अन्तर्वार्ता बुलेटिनको विशेष आकर्षण हो । अन्तर्वार्तामा कोभिड–१९ को महामारीको समयमा अध्यक्ष का. रोहितको व्यस्त र स्वस्थ दिनचर्याबाट सिक्न सकिन्छ । नेपाल सरकार कोभिड–१९ नियन्त्रणमा चुकेको र प्रमुख प्रतिपक्षी दल पनि मुकदर्शक बनेकोमा आलोचना गर्नुभएको छ ।
चीन – भारत सीमा विवादका केही ऐतिहासिक तथ्य उजागर गर्नुभएको छ । सन् १९६२ को भारत–चीन सीमा भिडन्तभन्दा पहिले नै चिनियाँ प्रधानमन्त्री चाउएनलाइले भारतमा गएर शान्तिपूर्ण वार्तामार्फत विवाद टुङ्ग्याउने कोसिस गरेका थिए तर भारत बेलायती सर्भेयर म्याकमाहोनले कोरेको नक्साअनुसार नै छिनोफानो गर्न चाहन्थ्यो जुन न्यायोचित थिएन । अध्यक्ष रोहितका अनुसार तत्कालीन समयमा अमेरिकी साम्राज्यवाद भर्खरै मुक्त भएका देशहरूलाई एक हुन दिँदैनथ्यो । उहाँ भन्नुहुन्छ, “सन् १९५५ मा इन्डोनेसियाको बाङ्गडुङमा भएको तटस्थ र असङ्लग्न राष्ट्रहरूको सम्मेलनको भावनालाई छिन्नभिन्न पार्न खोजेको थियो । त्यसकारण समयमै चाउएनलाइले एसियाली र अफ्रिकी नेताहरूलाई चीन – भारतको सीमा विवादका कारण र समाधानका उपायहरूबारे पत्र लेखेका थिए । ती पत्रहरू आजपनि अध्ययनको विषय हो भन्नुहुन्छ, अध्यक्ष रोहित । यस बुलेटिनमा चाउएनलाइको उक्त चिठ्ठी पनि समाविष्ट छ । बुलेटिनको सबैभन्दा लामो लेख यही हो । ‘युनिभर्सिटी’ को केन्द्रमा यही विषय छ । अङ्ग्रेजी भाषामा छापिएको यस चिठ्ठी नयाँ पुस्ता एवम् विद्यार्थीका निम्ति अत्यन्त पठनीय सामग्री हो । यस चिठ्ठीलाई आजभन्दा १२ वर्षअघि पुस्तकाकारमा युवा साहित्य गोष्ठी भक्तपुरले नेपाली भाषामा प्रकाशन गरेको थियो । चीन–भारतबीच सीमा विवादका महत्वपूर्ण नक्सासहितको दस्तावेज हो । आज पुनः चीन–भारतबीच गलवनमा भिडन्त हुँदा चाउएनलाइको यस चिठ्ठी नयाँ पुस्ताका लागि अध्ययन सामग्री बन्दै छ । जनप्रकाशन गृहले यस्तो महत्वपूर्ण चिठ्ठी बुलेटिनमा सङ्ग्रहित गरेकोमा नयाँ पुस्ता जरुर अनुग्रहित हुनेछन् ।
चिठ्ठीमा प्रधानमन्त्री चाउएनलाइले चीन–भारतको परम्परागत सीमा, बेलायती उपनिवेशवादीहरूले एकपक्षीय ढङ्गले कोरेको कथित म्याकमाहोन लाइन, सीमा विवाद वार्ताबाट समाधान गर्न गरिएका प्रयासहरूबारे केस्राकेस्रा केलाएका छन् । त्यतिमात्र होइन साम्राज्यवादी प्रभावमा परेर भारत सरकार (नेहरू) को आदेश भारतीय पक्षले गरेको अतिक्रमण, आक्रमणमा चिनियाँ पक्षको प्रत्याक्रमणका ऐतिहासिक तस्वीरहरू उजागर भएका छन् ।
चीन–भारत सीमाको पूर्वी भागमा चीनको नब्बे हजार वर्ग कि.मी भूभाग (३ वटा बेल्जियम र ९ वटा लेबनान) तथा मध्तगमा चीनको दुई हजार वर्ग कि.मी भूभाग कब्जा गरिसकेपछि भारतले चीनको पश्चिमी भागको तेत्तीस हजार वर्ग कि.मी पनि कब्जा गर्न खोज्दा सीमा भिडन्त भएको थियो । चीनको पूर्वी भाग र परम्परागत सीमारेखाको उत्तरी भागका इलाकाहरू र अक्साई चीन क्षेत्रमा प्रदेश, पहाड र नदीनालाको नाम चिनियाँ भाषाबाट हुनुले एउटा महत्वपूर्ण ऐतिहासिक प्रमाण प्रस्तुत गर्दछ ।
प्रधानमन्त्री चाउएनलाइले ठाउँठाउँमा भनेका छन् – चीन – भारतबीचको सम्बन्ध इतिहासदेखि नै शान्तिपूर्ण रहँदै आएको हो । त्यसकारण, शान्तिपूर्ण वार्ताबाट समाधान खोज्नुपर्छ । तर, भारतले मानेन । चीन–भारत सीमा विवाद बेलायती साम्राज्यवादी आक्रमणको सिलसिला नै थियो । आज पनि भारत त्यही औपनिवेशिक मानसिकता, दमनको नीतिबाट माथि उठ्न सकेको छैन । भारतले त्यो समयमा चीनको मौनता र शान्तिपूर्ण सौहार्द व्यवहारलाई कमजोरी ठानेर गल्ती गरेको थियो । चीन अरूको एक इन्च जमिन चाहिन्न र आफ्नो एक इन्च जमिन छोडिन्न भन्ने अडानमा थियो । अमेरिकाको सहयोगमा तिब्बतमा भूदास मालिकहरूलाई उठाउने कार्य भारतले ग¥यो । प्रतिक्रियावादी च्याङ्काई सेकसँग हात मिलायो र अन्तमा सैनिक अभियानको बाटो रोज्यो । सन् १९६२ को सीमा भिडन्तका लागि भारतले लामो समयदेखि तयारी गरेकोबारे चिठ्ठीमा उल्लेख छ । भारतले थाग्ला डाँडाको पानीढलोको सिद्धान्त पनि मानेन भन्ने तथ्य भेटिन्छ ।
अवैध म्याकमाहोन लाइनकै पक्षमा भारत थियो । सीमा भिडन्त रोक्न चीनले निकै प्रयास गरेको थियो, थुप्रै व्यावहारिक र वस्तुपरक प्रस्तावहरू राखिएका थिए तर भारतले उपेक्षा ग¥यो । प्रधानमन्त्री चाउएनलाइको परिपक्व अन्तर्राष्ट्रिय व्यवहार, चीनको सौम्य कूटनीतिलाई भारतले अहङ्कारले जवाफ दियो । त्यसको निरन्तरता आजपनि छ । सन् १९६२ नोभेम्बर १५ मा लेखिएको यस पत्र एक ऐतिहासिक दस्तावेजको रूपमा सधैँ अध्ययन गरिनेछ । इतिहासको अध्ययनले आजको भारत चिन्न सजिलो हुनेछ । अन्तर्वार्तामा अध्यक्ष रोहित भन्नुहुन्छ –“भारत आज भाजपाको मोदी सरकार अन्धर्राष्ट्रवादी, सङ्कीर्ण राष्ट्रवादी एवम् बडाराष्ट्र अहङ्कारवादी, दक्षिणपन्थी दलबाट शोषित छ । त्यस दल र सरकारलाई मुसोलिनीको फासीवाद र हिटलरको नाजीवादसँग तुलना गर्न सकिन्छ ।”
हिजो चीन–भारत सीमा भिडन्तमा भारतलाई अमेरिकाको सहयोग थियो । आज पनि एसियामा युद्ध थोपर्न संरा अमेरिका भारतलाई मोहडा बनाउँदै छ । हिजो नेहरू अनि आज मोदीले पुनः चीनसँग सीमा विवाद गर्नु, भिडन्त गर्नुले त्यही सङ्केत गर्छ ।
भारतले उठाएको सीमा विवाद बेलायती उपनिवेशको बेला ‘बेलायती भारत’ ले पश्चिमबाट चीनमाथि पश्चिमी साम्राज्यवादीहरूले यद्ध गर्ने निहँुको रूपमा बनाएको नक्सा हो भन्नुहुन्छ, अध्यक्ष रोहित । उहाँले बेलायती लेखक नेभिल म्याक्सवेलको पुस्तक ‘भारतको चीन युद्ध’ को सन्दर्भ जोड्नुभएको छ ।
यस बुलेटिनमा चीन–भारत सीमा विवाद बुभ्mन अध्ययन गर्नैपर्ने पुस्तक ‘भारतको चीन युद्ध’ को अन्तरकथा अर्को महत्वपूर्ण लेख हो । शमशेरको यस लेखले म्याक्सवेलको पुस्तक पढ्न हौस्याउँछ । उनको पुस्तकले भारतमा व्याप्त ‘अहङ्कारी र विस्तारवादी चीन’ वा ‘पिठ्यूँमा छुरा रोप्ने चीन’ जस्ता आरोप उल्टाएको जिकीर यस लेखमा छ । एक पत्रकार समेत रहेका म्याक्सवेलले गरेको इमानदारीको पत्रकारिताको फल नै यो पुस्तक हो भन्ने देखिन्छ । चीनविरोधी पूर्वाग्रह पाल्ने या चीनका आलोचकहरूले पनि म्याक्सवेलको पुस्तकको खण्डन गर्न नसकेको प्रसङ्ग रोचक छ । सत्य र यथार्थमा आधारित यस पुस्तक नेपाली भाषामा सार सङ्क्षेप अनुवाद भई ‘मजदुर’ दैनिकमा निरन्तर प्रकाशित छ । शमशेरको प्रयास सराहनीय छ ।
असार १, २०७७ को राति १ बजे गलवन क्षेत्रमा भारतीय सेनाले सिमाना नाघेपछि भएको भिडन्तले हामीलाई इतिहास पल्टाउन अथवा इतिहासको पुनः अध्ययन गर्न हौस्याएको हो । गलवन भिडन्तबारे सत्य तथ्य उजागर गर्ने प्रज्ज्वलको लेख सान्दर्भिक छ । प्रज्ज्वल भन्नुहुन्छ – “सार्वभौमिकता जगाउन चीन सक्षम छ ।”
भारतीय विस्तारवादद्वारा गरिएको सीमा अतिक्रमणको नेपाली जनताले विरोध गर्दा भारतपरस्त पार्टी र नेताले सधैँभरि चीनले उत्तरतर्फका केही जिल्लामा ३३ हेक्टर नेपाली भूमी अतिक्रमण गरेको भन्ने हल्ला चलाउँछन् । त्यसलाई प्रज्ज्वलले सन् १९६१ को नेपाल–चीन सीमा सम्झौताको सन्दर्भ जोड्दै झूटो हो भन्नुभएको छ । ‘अमेरिकी साम्राज्यवाद एसिया छोड ¤’ शीर्षकमा सविन ख्याजूको अध्ययन प्रस्तुती सामयिक छ । हिक्मतको ‘ओ युवा ¤’ राम्रो प्रयास हो । बुलेटिनमा नेक्राविसङ्घका गतिविधि, विज्ञप्तिहरू सङ्कलित छन् । बुलेटिनको मध्यपृष्ठमा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्साले राम्रो सन्देश प्रवाह भएको महसुस हुन्छ ।
बुलेटिनको गातामा चीन – भारत सिमानाको तस्वीर जानकारीमूलक छ । भित्री पृष्ठहरूमा दिइएका तस्वीर आफँै बोलेको आभाश हुन्छ । ‘युनिभर्सिटी’ को पूर्णाङ्क ३५ नयाँ विषयवस्तुका साथ चाँडै प्रकाशन हुने आशासहित प्रकाशन गृहप्रति आभार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *