भर्खरै :

दाग नहटाइकन पार्टी फुट्न दिन्न भनेर हुँदैन

पार्टी फुटाउने चाहना राम्रो होइन, पार्टी फुटाउने रहर पनि हुँदैन । तर, पार्टीको सिद्धान्त र विचारअनुसार काम हुँदैन या सिद्धान्तविपरीत कुनै नेता या सरकार प्रमुखले काम गर्छ भने त्यसको खबरदारी गर्नुपर्छ, खबरदारी गर्दा गर्दै कम्युनिस्ट पार्टीले कम्युनिस्टको सिद्धान्त र आचरणविपरीत काम गर्छ भने पार्टी फुट्न सकिन्छ, फुटाउन सकिन्छ । यस्तो बेला पार्टीका नेता, मन्त्री र सांसदहरूले पार्टी फुट्न नदिने र पार्टीका नेताहरूको कुनै पक्षमा लाग्ने होइन भनी हस्ताक्षर अभियान चलाउनुभन्दा मार्ग निर्देशक सिद्धान्तअनुसार पार्टी अघि बढेको छ कि छैन भन्ने विषयमा खबरदारी गर्नुपर्ने हो । सरकारले कुन कुन गल्ती काम गरेको छ, पार्टीले सिद्धान्तविपरीत के के काम गरेको छ भन्नेबारे पार्टीका नेता, मन्त्री र सांसदहरूले चासो राख्नुपर्ने हो । सरकार र पार्टीले गरिरहेको गल्तीलाई छोपेर, पार्टीको मार्ग निर्देशलाई तोडमरोड गरेर खालि पार्टी फुटाउन दिन्नौँ, कुनै गुटमा लाग्दैनौँ भनी पार्टीका नेताहरूबिचको अन्तरकलह रोकिँदैन । पार्टीका नेताहरूबिचको अन्तरकलहको गृह्य कुरा नकेलाइकन कसरी समस्या समाधान हुन्छ ?
नेकपा फुट्नै लाग्यो भनेर कतै नेकपाका सांसदहरू हडबडाएका त होइनन् ? नेकपाको एकता कायम राख्न सांसदहरूले सक्रियता देखाएरै के गर्ने ? शीर्ष नेताहरूको अन्तरकलहको गुह्य कुरा थाहा पाउनुपर्छ । नेता, मन्त्री र सांसदहरू कसैको छत्रछायाँमा नरहेर, कसैको पछि नदगुरेर गल्ती कसले के गरे त्यसको छिनोफानो गर्नुपर्छ र कहीँ कतैबाट गल्ती भए सुधार्नु पर्छ, सुधार्न दबाब दिनुपर्छ । पार्टी फुटाउन पाउँदैन, पार्टी फुट्न दिन्न भनेर हस्ताक्षर अभियान चलाउनुभन्दा निकास पो खोज्नुपर्छ । पार्टी र सरकारभित्रको दाग नहटाइकन पार्टी फुट्न दिन्न भनेर हुँदैन । सरकार र पार्टीले गरिरहेको गल्तीको आलोचना र प्रत्यालोचना हुनुपर्छ । गल्ती सुधार्नुपर्छ । त्यसको लागि बैठक बस्नुपर्छ । बैठकमा छलफल गर्नुपर्छ । तर, अहिले बैठक बस्न सकिरहेको छैन, बैठक बोलाए पनि बैठकमा सहभागी भइरहेको छैन । केन्द्रीय सचिवालय, स्थायी समिति या केन्द्रीय समितिको बैठक नबसिकन चरमोत्कर्षमा पुगेको अन्तरविवाद एकैबाजि सेलाउने स्थिति छैन । कहिले दुई अध्यक्ष त कहिले आ–आफ्ना पक्षधर नेताहरूसहितको बैठकले निकास निकाल्दैन । पार्टी र सरकार सञ्चालनमा देखिएका समस्या दुई अध्यक्षको जिम्मामा छोडेर निकास कसरी निस्किन्छ ?
नेकपाका सांसदहरूले पार्टी फुटाउन नदिने र कुनै गुटमा नलाग्ने कुराबाहेक अरू निकासका उपायहरू के सुझाएका छन् ? सांसदहरू कसैको पक्षमा नलाग्ने भनी हस्ताक्षरमात्र गर्ने कि सुझाव पनि दिने ? पार्टीका तीन शीर्ष नेताहरूको कुरा नसुन्ने हो भने खबरदारी गरेरमात्र कसरी समस्या सुल्झिन्छ ? कुन नेताहरूको काम, गतिविधि र विचार ठीक छैन, इमानदारीपूर्वक त्यसको छिनोफानो गर्नुपर्छ । यसका लागि नेताहरूको कुरा सुन्नुपर्छ । कुरा सुनेर सही र गल्ती छुट्याउनुपर्छ । सही गल्ती नछुट्याइकन अन्तरकलह साम्य हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *