भर्खरै :

भारतको चीन युद्ध’ ः एक समीक्षा

दोक्लामपछि गलवान घटनामा चीन–भारत सीमा विवादले भारतमा पुनः चर्चा पायो । ‘गोदी मिडिया’ मात्र होइन, यो पदावली प्रयोग गरिरहने वरिष्ठ पत्रकार रवीश कुमारकै कार्यक्रममा समेत चीनको ‘विस्तारवादी’ रूपबारे ‘छेडछाड’ भयो । भाषिक निकटताका कारण सर्वसाधारण नेपालीले भारतीय मिडियाकै आधारमा चीन–भारत सीमा विवाद बुझ्दै आएका छन् । यद्यपि ‘बौद्धिक भरोसा’ ले पनि यसपालि काम गरेन । तसर्थ चीन–भारत सीमा विवादसम्बन्धी बहुचर्चित पुस्तक ‘भारतको चीन युद्ध’ बारे अध्ययन, छलफल र विश्लेषण गर्नु सान्दर्भिकमात्र होइन, जरुरी पनि हुन गयो ।
‘भारतको चीन युद्ध’ का लेखक बेलायती पत्रकार नेभिल म्याक्सवेल हुन् । सन् १९६२ को चीन–भारत सीमा युद्धको समयमा उनी भारतमै थिए र यसै विषयमा उनले प्रशस्त रिपोर्टिङ गरेका थिए । युद्धकालीन भारतलाई नजिकबाट नियालेका म्याक्सवेलले चीन–भारत सम्बन्धबारे थप अध्ययन गरे । सुरुमा युद्धसम्बन्धी भारतीय कथनबाट म्याक्सवेल प्रभावित थिए तर आलोचनात्मक अध्ययनबाट उनी विपरीत निष्कर्षमा पुगे । अन्ततः १९७० मा ‘भारतको चीन युद्ध’ प्रकाशित भयो । लगत्तै सो पुस्तक र पुस्तकका लेखक भारतमा प्रतिबन्धित भए । यो सङ्क्षिप्त चर्चा पुस्तकको तेस्रो संस्करण (१९९७) मा आधारित छ । करिब ५ सय पृष्ठको यस पुस्तकमा ५ अध्याय छन् ।
पुस्तकको आरम्भमा ऐतिहासिक पृष्ठभूमिबारे विस्तृत परिचय दिइएको छ । मध्य एसिया हुँदै चीनको पश्चिमी सिन्जियाङ क्षेत्रसम्म आइपुगेको रुसी साम्राज्यको त्रास देखेर भारतका अङ्ग्रेज अधिकारीहरू त्रस्त थिए । बेलायतको परराष्ट्र नीति निर्माताहरू दुई धारमा विभक्त थिए । पुस्तकमा नरम (मोडरेट) धार र गरम (फरवर्ड) धारबीचको घर्षणबाट चीन–भारत सीमाले अनेक आकार लिँदै गएको सिलसिलेवार वर्णन गरिएको छ । विशेषगरी अर्डाघ रेखा, जोनसन रेखा, म्याकार्टनी–म्याकडोनल्ड रेखा र म्याकमाहोन रेखाबारे चर्चा गरिएको छ । अर्डाघ रेखा, जोनसन रेखा र म्याकमाहोन रेखामा गरम धारको प्रभाव देखिन्छ भने म्याकार्टनी–म्याकडोनल्ड रेखामा नरम धारको प्रभाव देखिन्छ । रुसी साम्राज्यको डरले १८ औँ शताब्दीमा भारत–चीन सीमाका पश्चिमी रेखाहरू कोरिएका थिए । म्याकमाहोन रेखा भने बेलायती पुँजीपतिहरूको नाफाको भोकका कारण १९१४ को सिम्ला सम्मेलनपछि कोरिएको थियो । भारत–चीनको पूर्वी सीमामा रहेको घना जङ्गलको पैदावार र प्रचुर खानीहरूको दोहनलाई सदर गर्ने सोचबाट नै पूर्वमा अङ्ग्रेजहरूले सीमा विस्तार गरेका थिए । यस विषयमा बेलायती संसदमा कुरा उठ्दा कर्मचारीहरूले सांसदहरूलाई पनि छलेका थिए । यसबाट सांसदहरूभन्दा पनि स्थायी सरकार ठानिने कर्मचारीहरूमा बेलायती पुँजीपतिहरूको बलियो प्रभाव र नियन्त्रण स्पष्ट हुन्छ ।
अङ्ग्रेजहरूले यसबीच राजनीतिक उतारचढाव र तीतापिराबाट गुज्रिरहेको चीनले कुनै पनि बेलायती प्रस्ताव स्वीकारेन । आफू कमजोर भएर गरिने हरेक सन्धि सम्झौता आत्मघाती हुने पाठ चीनले इतिहासका विभिन्न रक्तरञ्जित घटनाबाट सिकेको थियो । मंगोलिया र मन्चुरियामाथिको भूभाग गुमाएर चीन सतर्क भएको पुस्तकमा चर्चा छ । यसको उल्टो अङ्ग्रेजहरूसँग आफ्ना ६ सय बढी सानाठुला राज्यहरू गुमाएको इतिहासबाहेक बेलायतनिर्मित भारतले आफ्नो भूभाग गुमाउनुपरेको कुनै तीतो इतिहास थिएन । बरु अङ्ग्रेजहरूले सानातिना राज्यहरू हडप्दै सीमा विस्तार गरिरहेका थिए । त्यसैले अङ्ग्रेजहरूले कुनै नयाँ भूभाग कब्जा गर्दा स्वतन्त्रताअघिका भारतीयहरू त्यति चासो दिँदैनथे । बरु विजित भूभागका जनताप्रति सहानुभूति नै राख्थे ।

नेभिल म्याक्सवेल


पुस्तकको यसै खण्डमा भारत र चीनबीचका नेपाल, सिक्किम र भुटानको इतिहासको पनि छोटो चर्चा छ । लर्ड कर्जनले यी देशलाई ‘संरक्षित राज्यहरूको पङ्क्ति’ भनेका छन् । बेलायतले आफ्नो श्रम र सम्पत्ति जोगाउन नै यी देशलाई विदेश नीतिमा बाँझो तुल्याएर ‘स्वतन्त्र’ रहन दिएको पुस्तकमा चर्चा गरिएको छ । यहाँनिर यस कोणबाट नेपालको इतिहासलाई हेरिनुपर्ने आवश्यकता महसुस हुन्छ । नेपालमा हृषिकेश शाहजस्ता केही लेखकको इतिहास लेखनमा यस्ता सन्दर्भहरू आएका छन् । नेपाल, सिक्किम र भुटानको समकालीन इतिहाससमेत लर्ड कर्जनकै सोचका आधारमा बन्दै गरेको पुस्तक पढ्दै जाँदा अनुभूति हुन्छ ।
भारत बेलायतबाट मुक्त भयो । तर, ऊ बेलायती सोचबाट मुक्त हुनसकेन । पुस्तकमा यसलाई पुष्टि गर्ने पर्याप्त उदाहरण समेटिएको छ । नेपाल, सिक्किम र भुटानको राजनीति अन्तर्विरोधमा खेल्दै तीनवटै देशमाथि नेहरू सरकारले असमान सन्धि सम्झौताहरू थोप¥यो । पुस्तकमा म्याकमाहोनले सिम्ला सम्मेलनमा तिब्बती र चिनियाँ प्रतिनिधिहरूबीच खेलेको दाउपेचले ‘त्यस बखतको नेपाल’ मा वर्णन गरिएको त्रिपक्षीय दिल्ली सम्झौताको झल्को दिन्छ । प्रसङ्गवस भनिहालौँ, चीन र भारतबीच एउटा पनि सीमा सम्झौता भएको थिएन र धोकापूर्ण सिम्ला सम्मेलनमा चीनको सहमति थिएन । तैपनि चीनलाई सन्धिहरूलाई कदर नगर्ने र युद्धप्रेमी देश भनेर पँुजीवादी विद्वानहरू आरोप लगाउने गर्छन् । यो तर्क कमजोर देशमाथि असमान र अपमानपूर्ण सन्धि सम्झौता थोपर्ने उपनिवेशवादी र साम्राज्यवादी देशहरूको पक्षमा छ । त्यसैगरी भारत स्वतन्त्र भएपछि तिब्बतले आफ्नो मिचिएको भूभाग फिर्ता माग्दै नेहरूलाई पत्र लेख्यो । यसको जवाफमा नेहरूले पुरानै विदेश नीति (अर्थात् बेलायती) कायम रहने स्पष्ट पारे । तिब्बतस्थित बेलायती कर्मचारीहरूलाई नै भारतको प्रतिनिधित्व गर्न नेहरू सरकारले अनुरोध ग¥यो । स्वतन्त्र भारतका उच्च अधिकारीहरू अङ्ग्रेजहरूकै मातहत काम गरेका कर्मचारीहरू थिए । त्यसैले उनीहरू आफ्ना पहिलेकै मालिकहरू (बोसहरू) को कुरा खान्थे र विदेश नीति सञ्चालनमा तिनीहरूकै राय लिन्थे । उपयुक्त शब्दमा भन्ने हो भने नेहरू र उनको कर्मचारीतन्त्र अङ्ग्रेज उपनिवेशवादीहरूका बफादार उत्तराधिकारी सावित भए ।
भारत–चीन सीमा विवादका मूल जराहरूको विश्लेषण गरेपछि पुस्तकमा नेहरूको विदेश नीतिबारे विशद चर्चा गरिएको छ । उनको व्यक्तित्वलाई पुस्तकमा धेरै कोणबाट चिरफार गरिएको छ । लर्ड म्याकालेले भारतमा अङ्ग्रेजी शिक्षा लागू गर्दा जस्तो वर्ग निर्माण गर्ने परिकल्पना गरेका थिए, नेहरू त्यसमा खरो उत्रिएका थिए । बेलायतमै पढेका नेहरूले बेलायती सोचलाई अघि बढाए । वास्तवमा नेहरू अङ्ग्रेजहरूभन्दा पनि एक पाइला अघि बढे । चीनसँग कुनै सीमा समस्या छैन र भारतले दाबी गरेको भूभाग भारतकै हुनुपर्छ भन्ने नेहरूको दृष्टिकोण थियो । एक अनुभवी अधिकारीले नेहरूलाई चीनसँगको सीमा विवाद समाधान गर्न पत्र लेखेका थिए । तर, सार्वजनिकरूपमा आफूले म्याकमाहोन रेखा नै चीन र भारतको सीमारेखा भनी धेरै ठाउँमा बारम्बार बोलेको कुनै सीमा विवाद नरहेको नेहरूको जवाफ थियो । यहाँ नेहरूको भाषा हिटलरका प्रचारमन्त्री गोयवल्सको जस्तो सुनिन्छ । अर्को एक प्रसङ्गमा समेत नेहरूले जति ढिलो चीनसँग कुरा गरिन्छ त्यति नै स्थिति भारतको पक्षमा हुने बताएका थिए । पश्चिमी सीमामा गरम नीतिमध्ये पनि सबैभन्दा धेरै चिनियाँ भूभाग लिने प्रस्ताव जोनसन रेखालाई नेहरूले भारत–चीन सीमारेखा माने । बेलायतीहरूले नै चीनसँगको सीमा निर्धारण गरिसकेको नेहरूको अडान थियो । बेलायती उपनिवेशवादकै पदचिह्नमा अटल रहनु नै नेहरूको सीमा नीति थियो ।
लेखक व्यक्तित्वले गर्दा अन्तर्राष्ट्रिय जगतमा नेहरू प्रसिद्ध थिए । ५० को दशकको सुरुमा तिब्बतसम्बन्धी आदानप्रदान सम्झौतापछि भारतमा ‘हिन्दी चिनी भातइ’ को नारा गुञ्जिन थाल्यो । त्यसै सम्झौताको आधारमा पछि असंलग्न राष्ट्रको सिद्धान्त वाङडुङमा पारित भएको थियो । नेहरूको प्रवृत्ति भने ठूलो दाजुको जस्तो भएको त्यसबेलै अनुभव गरियो । चाउ एनलाइले नेहरू अहङ्कारी भएको बताए । सीमा युद्धभन्दा ठीक अघि घाना पुगेका थिए, नेहरूलाई नजिकबाट बुझेका राष्ट्रपति एनक्रुमा पनि उनीबारे चाउ एनलाइकै ठम्याइमा पुगे । बट्र्रान्ड रसेललाई नेहरूले दूतको रूपमा प्रयोग गरे तर पछि सो कुरा अस्वीकार गरे । बन्दरानाइकेलाई कोलम्बो प्रस्तावमा संयोजनको काम गराए तर आफ्नो स्वार्थ पूरा नभएपछि आफूखुसी त्यस प्रस्तावलाई भाँचकुच गर्न लगाए । स्वयम् अमेरिकी राष्ट्रपति केनेडीले उनीसँगको भेटघाटलाई सबैभन्दा खराब भनेका थिए । तैपनि नेहरूलाई पश्चिमा जगत र सोभियत सङ्घले बढाइचढाइ गरी तारिफ गरेका सन्दर्भहरूले कतै उनको अन्तर्राष्ट्रिय छवि नियोजित त थिएन भन्नेमा शङ्का उत्पन्न हुन्छ ।
नेहरूको व्यक्तित्व नै भारतीय सेनाको कमजोरी बन्न पुग्यो । भारतीय सेनामा बेलायती चिन्तन बलशाली थियो । यसको अनुभव खासगरी स्वतन्त्र भारतका नयाँ अफिसरहरूले अनुभूति गरे । बीएम कौलजस्ता अफिसरले आफ्नो अयोग्यतालाई यही अनुभूतिले ढाकछोप गरे । राजनीतिक नेतृत्वले पनि अङ्ग्रेजहरूअन्तर्गत काम गरेको सेनाप्रति सौतेलो व्यवहार ग¥यो । औद्योगीकरणमा खर्च गर्नुपर्ने बहाना बनाएर सेनाको बजेट घटाइयो । स्वतन्त्रता सङ्ग्राममा आफूमाथि दमन गरेको हुनाले आफूनिकटको सैन्य नेतृत्वको खोजीमा नेहरूले ‘कश्मीरी’ बीएम कौललाई बढुवा गर्दै लगे । सेनाका पुराना पेशेवर जर्नेलहरूलाई बदनाम गर्दै नेहरूले कौललाई आर्मी स्टाफसम्म पु¥याए । कौलको अनुभव युद्धमा काम लाग्दैनथ्यो तर नेहरूसँगको उनको निकटताकै कारण योग्य सैन्य अधिकारीहरूसमेत कौलसामु नतमस्तक भए । सेनामा गुटबन्दी भयो । अन्ततः सेनाको मनोबल खस्कियो र आन्तरिकरूपमा सेना कमजोर भयो । हातहतियार आदिमा समेत सेना कमजोर थियो । विदेशी सैन्य सहयोग लिएमा अरूको अधीनता मान्नुपर्ने नेहरूको विचारले गर्दा निम्न स्तरका हतियार, निम्न रासनपानी आदिमै भारतीय सेना निर्भर रह्यो । सेनाको अर्को समस्या गुप्तचरी थियो । प्रहरीबाट गुप्तचर निकायको नेतृत्वमा आएका मलिक सरकारका सल्लाहकार थिए । नेहरूसँगको राम्रो सम्बन्धकै कारण उनी नीति निर्माणमा र सेनाको रणनीति निर्माणमा समेत हावी हुन्थे । नेहरूसँगको मित्रताकै कारण पश्चिमी सोचमा दीक्षित रक्षामन्त्री कृष्ण मेनन नेहरूका दाहिने हात बनेका थिए । दक्षिणपन्थीहरू उनलाई नेहरूकै अर्को अनुहार ठानी उनको आलोचना गर्थे । कौल, मलिक र मेननले सीमा विवादमा नेहरूको व्यक्तित्वको मोहरा बनी आआफ्नो भूमिका निर्वाह गरे । यसबाट क्षमतावान व्यक्तिमा भन्दा ‘आफ्नो मान्छे’ मा विश्वास गर्ने नेहरूको कमजोरी उदाङ्गिन्छ ।
पुस्तकको सबैभन्दा रोचक पाटो चीनसम्बन्धी म्याक्सवेलको अध्ययन हो । उनले माक्र्सवादी रचनाहरूमा नपसी चिनियाँ पत्रपत्रिकाकै भरमा चिनियाँ दृष्टिकोण र तत्कालीन भारतको माक्र्सवादी चित्र उतारेका छन् । त्यसबेला भारतको आर्थिक अवस्था झन्झन् जर्जर बन्दै थियो । बहुसङ्ख्यक जनता रोजीरोटीको अभाव र आर्थिक शोषणको मारमा थिए । मजदुर सङ्घर्षहरू चलिरहेका थिए । केरलामा कम्युनिस्टहरूमाथि दमन हुँदै थियो । भारतका सामन्त र पुँजीपतिहरू त्रसित थिए । संसदमा काङ्ग्रेसको बहुमत भए पनि काङ्ग्रेसभित्रै पनि दक्षिणपन्थीहरूको प्रभाव बढ्दै थियो । प्रतिपक्षमा भारतीय जनता पार्टीको पुरानो रूप जनसङ्घ बढी मुखाले थियो । नेहरूले कूटनीतिकरूपमा सीमा विवाद हल गर्न सकेनन् । यसमा सीमाको विषयमा कुनै सम्झौता हुनैसक्दैन भन्ने उनको अटल अडान नै बाधक बन्यो । विवाद बाहिर आएपछि यसलाई दक्षिणपन्थीहरूले झन् चर्काए र व्यापक जनतामा युद्ध हुङ्कार भरे । सीमासम्बन्धी नेहरूको हठ सर्वसाधारणको हठ बन्न पुग्यो । पुस्तकभरि ‘भारतीय जनता’ भनेर अङ्ग्रेजी पत्रिका पढ्न सक्ने शिक्षितपठित मध्यम वर्गलाई भनिएको छ । चीनसँगको सीमा विवादमा गरिब र शोषित जनताको कुनै रूचि नभएको पुस्तकमा चर्चा गरिएको छ । नेहरू र उनको समूह संसदमा उदार पुँजीवाद पक्षधर थियो । तर सङ्कटमा उदार पुँजीवादीहरू प्रतिक्रियावादीहरूकै काखमा तेर्सिन्छन् र साम्राज्यवादकै गोटी बन्छन् भन्ने कम्युनिस्ट ठहर भारतमा साकार भयो । नेहरूले विदेशी आर्थिक र सैन्य सहयोग भित्र्याए । संशोधनवादी रुसी नेतृत्वसमेत क्रान्तिकारी चिनियाँ धारको विरोधमा भारतसँग कुम मिलाउन पुग्यो । संशोधनवादको सच्चा रूप भारतमा फेरि एकचोटि नाङ्गियो । सीमा युद्धमा भारतलाई उचाल्ने सोभियत सङ्घको संशोधनवादी नेतृत्व थियो भनेर हेनरी किसिन्जरसँगको वार्तालापमा चाउ एनलाइले भनेका थिए । म्याक्सेवलको पुस्तक पढेपछि नै चीन र अमेरिकाबीच सम्बन्ध विस्तार गर्न सकिन्छ भनेर किसिन्जरले बताएका थिए । भारतलाई अमेरिकाले सैन्य सहयोग गरेको विषय स्पष्ट थियो तैपनि चाउ एनलाइले यसो भन्नुले चीनको खुला विदेश नीतितर्फ इसारा गर्छ ।
चीन धेरै दुःखकष्ट भोगेर उठेको देश थियो । त्यसैले नेपाल, बर्मा र पाकिस्तानसँगको उसले समानताका आधारमा सीमा सम्झौता ग¥यो । लेनदेनका आधारमा गरिएका ती सम्झौताहरूमा तत्तत् देशले बढी भूभाग नै पाए । चीनले कसैको मन दुखाएन । भारतसँगको विवादमा पनि चिनियाँ अवधारणा स्पष्ट थियो । चाउ एनलाइले बारम्बार चीन–भारत सीमा विवाद बेलायती उपनिवेशवादीहरूको अपुताली बताइरहे । त्यसैले त्यसमा टाँसिनेभन्दा पनि आपसी लेनदेनका आधारमा सीमा निर्धारण गरिनुपर्ने प्रस्ताव चीनले राखिरह्यो । सीमा विवाद मिलाउन नै चाउ एनलाइ विवाद चरमचुलीमा पुग्दासमेत भारत पुगे । युद्ध टार्न चीनको यो सबैभन्दा ठुलो प्रयास थियो । चिनियाँ प्रतिनिधिमण्डल भारत आउनुअघि नेहरू निवास पुगेको दक्षिणपन्थी जुलुसको सुझाव नेहरूले शिरोपर गरे । उनले चिनियाँ टोलीलाई कुनै पनि सहमतिमा पुग्न दिएनन् । चीनले नेहरूलाई आन्तरिक राजनीतिका कारण अप्थ्यारोमा परेको भए विषयलाई थाती राख्ने अन्तिम विकल्प पनि दिएको थियो । तर, जवाफमा नेहरूले चीनलाई आक्रमणकारी भनेर चिनियाँ टोलीको अपमान गरे । म्याक्सवेल त्यसबेला दिल्लीमै हुनाले पुस्तकमा यस भ्रमणको मसिनो र बेजोड चित्र उतारेका छन् । यहाँ लेखकले साहित्यिक बिम्बहरूको प्रयोग पनि गरेका छन् ।

नेहरू बाहिरबाट जति नै चीनको पक्षमा देखिए पनि भित्रीरूपमा सशङ्कित थिए । खासगरी तिब्बतमा मुक्ति सेना आएर दलाई लामाको नेतृत्वमा चलिरहेको दासप्रथालाई निमिट्यान्न पारेपछि उनी चीनप्रति सशङ्कित भए । यहाँ उनी कम्युनिस्टविरोधी पुँजीवादी होहल्लाबाट ग्रस्त रहेको स्पष्ट हुन्छ । उनलाई चिनियाँहरूले भारतमाथि कब्जा गर्ने मनसाय राख्छन् भन्ने निष्कर्षमा सजिलै पुग्नुले उनमा चिन्तनको दरिद्रता देखिन्छ । पुस्तकमा उल्लेख दुइटा घटनाले बेलायतीहरू र उनीबीचको समानता स्पष्ट हुन्छ । अक्टोबर क्रान्तिपछि पनि रुस तिब्बतसम्म आउन सक्ने कम्युनिष्टविरोधी तुस अङ्ग्रेज शासकहरूमा थियो । यसै हिसाबले उनीहरूले चीन–भारत सीमा बलियो बनाउन वा चीनसँग झगडा गर्ने निहुँ चाहिरहेका थिए । यही चिन्तन नेहरूमा पनि देखियो । उनले यसै तुसका कारण दलाई लामालाई भारतमा भव्य स्वागत गरे । उनलाई राजनीतिक पहुँच नदिने चीनलाई वचन दिएका थिए । तर, काम उल्टो गरे । यहाँ स्मरण गर्नुपर्ने तथ्य के हो भने अक्टोबर क्रान्तिपछि सोभियत रुसले कुनै देशमा आक्रमण गरेको थिएन । बरु एकतर्फीरूपमा विश्वयुद्धबाट हात झिकेको थियो । यसको लागि उसले आफ्नो भूभाग गुमाउन पनि तयार भएको थियो । ब्रेष्ट लिटोभ्स्क सन्धि त्यसैको सिलसिला थियो । चीनले पनि क्रान्तिपछि कुनै देश कब्जा गरेको थिएन । बरु, स्वतन्त्रताका लागि लडिरहेका कोरियालीहरूलाई साम्राज्यवादका विरुद्ध सैन्य सहयोग गरेको थियो । तर, नेहरूले तिब्बत कब्जा गरेको पश्चिमा भाष्यलाई नै आफ्नो चिन्तनधारा बनाए । यतिमात्र नभई चीनविरुद्ध भइरहेका अमेरिकी र कोमिन्ताङ चलखेलहरूलाई नेहरूले खुला छोडे । सीमा युद्धपछि त उनले तिब्बती विद्रोहीहरूलाई तालिम दिन आफ्ना एक विश्वासपात्रलाई जिम्मा नै सुम्पे । यस हिसाबले नेहरू साम्राज्यवादीहरूभन्दा चीनसँग तर्सेको देखिन्छ । युद्धपछि उनले अमेरिकी र बेलायती युद्धविमानलाई भारतमा बोलाउनुले यस तथ्यलाई थप पुष्टि गर्छ । मान्छेको पहिचान सङ्कटको बेला हुन्छ भनेझैँ नेहरूको सक्कली अनुहार यहीँनिर उदाङ्गो हुन्छ । नेहरूको ‘असंलग्न’ परराष्ट्र नीति खोक्रो सावित हुन्छ । युद्धको क्रममा नेहरूले असंलग्न राष्ट्रप्रमुखहरूप्रति गरेको विषवमनले उनको अन्तर्राष्ट्रिय उचाइ एकाएक घट्न पुग्छ ।
बाँकी भोलिको अङ्कमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *