भर्खरै :

पुँजीवाद मानसिक रोगको जड हो

रासायनिक असन्तुलन कि सामाजिक असन्तुलन ?
विश्व स्वास्थ्य सङ्गठनको एक प्रतिवेदनअनुसार विश्वका २६ करोड ४० लाख मानिस चरम निराशा (डिप्रेसन) बाट पीडित छन् । दुई करोड मानिसको मानसिक सन्तुलन गुमेको (सिजोफ्रेनिया) छ । प्रतिवर्ष आठ लाख मानिसले आत्महत्या गर्छन् । समृद्ध मानिएको युरोपेली क्षेत्रका १२ प्रतिशत मानिसमा जीवनमा कम्तीमा एकपटक मानसिक समस्या आइपर्छ । त्यता डिमेन्सिया (विस्मृति), एपिलेप्सी (छारे रोग) र टाउको दुख्नेजस्ता रोग आधाभन्दा बढी जनसङ्ख्यालाई हुन्छ । उता संरा अमेरिकाका आधाभन्दा बढी युवाको जीवनमा पनि कम्तीमा एकपटक मानिसक रोग देखिन्छ । त्यहाँ कुनै पनि वर्षमा कम्तीमा ४ करोड ५० लाख मानिसमा मानसिक विकृति आउँछ । नेपालमा बर्सेनि करिब ८–९ हजार मानिसले आत्महत्या गरेको पाइन्छ । आत्महत्या मूलतः मानसिक रोगकै परिणाम हो । मानसिक स्वास्थ्यमा देखिएको यो सङ्कटको जड के हो ? त्यो हो पुँजीवाद ।
शरीरमा रसायनको सन्तुलन बिग्रँदा मानसिक रोग देखिन्छ भन्ने वैज्ञानिक अनुसन्धानले पुष्टि गरेको छ । मस्तिष्क वा स्नायु प्रणाली सञ्चालनको निम्ति चाहिने रसायनहरू (न्युरोट्रान्स्मिटरस्) जस्तै सेराटोनिन र डोपामिनको सन्तुलन नमिल्दा मानसिक रोग लाग्छ । मनोरोग विशेषज्ञहरूको मुख्य ध्यान जैविक कारणमा केन्द्रित भएको पाइन्छ । तर, यस्ता रसायनको सन्तुलन बिग्रनुका मूल कारणबारे छलफल केन्द्रित गर्नु आवश्यक छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु नै बुद्धिमानी हुन्छ । रोग निरोधको निम्ति समस्याको जरामै पुग्नु जरुरी छ ।
दुःखमा समाज
तनाव मानसिक समस्याको एक मुख्य कारण हो । दुःख तनावको कारण हो, अथवा दुःखमा तनाव थपिन्छ । बुद्धले लोभ, पाप, तृष्णा नै दुःखको मूल कारण मानेका छन् । कार्ल माक्र्सले शोषण नै मानिसको दुःखको मुख्य कारण हो भन्ने बताए ।
माक्र्सवादी प्राध्यापक इयान फर्गुसान भन्छन् – शोषण र दमन नहुने समाजमा मात्र मानसिक समस्या हुँदैन । काममा चित्त नबुझ्दा पनि मानिसमा गम्भीर मानसिक स्वास्थ्य समस्या देखिएको छ । सन् २०१७ मा ७० प्रतिशत बेलायती मजदुरमा श्रमसँग सम्बन्धित कमजोर मानसिक स्वास्थ्य देखिएको थियो । सन् २०१८ मा ४७ प्रतिशत बेलायतीले अर्को वर्ष नयाँ काम खोज्ने बताएका थिए । बेरोजगार मानिस डिप्रेसनमा जाने बढ्ता सम्भावना हुन्छ । बेरोजगारी त पुँजीवादी व्यवस्थाकै उपज हो ।
चिन्ता तनावको कारण हो । कुनै अज्ञात भय नै चिन्ता हो । पुँजीवादी समाजमा मानिसलाई अनेक चिन्ताले सताउँछ । यदि यथार्थ वा कुनै स्थितिमाथि आफ्नो नियन्त्रण हुन सक्दैन, बाह्य शक्तिको डर हुन्छ वा आफूमा कुनै विषयको ज्ञान छैन भने चिन्ता हुन्छ । स्थिति नियन्त्रणबाहिर जाँदा मानिस तनावमा फस्छन् । लामो समयको तनावबाट मानिस डिप्रेसनको सिकार बन्छ ।
आर्थिक, सामाजिक, सांस्कृतिक शक्तिले मानिसलाई बलियो बनाउँछ भने गरिबसँग त्यस्तो कुनै सामथ्र्य हुँदैन ।

E-Commerce — Image by Images.com/CORBIS


पुँजीवादमा अधिकांश जनता असुरक्षा तथा डरको वातावरणमा बाँच्न बाध्य हुन्छन् । अभावको अर्को नाम गरिबी हो, जहाँ अभाव हुन्छ त्यहाँ सुरक्षाको प्रत्याभूति हुनै सक्दैन । केटाकेटीको नाङ्गो आङ र खाली पेट, रोगी परिवार, चुहेको छाना, साहुको ऋण, बेरोजगारी, ज्यालामा ठगी, महँगो भाडा आदि कुनै पनि कारण हुनसक्छ तनावको । बाँच्नको निम्ति गरिएका कैयौँ सङ्घर्षमा असफल भएपछि मानिसमा तनावको खात बस्दै जान्छ ।
पुँजीवादी समाजमा सार्वजनिक पार्कसमेत निजीकरण गरिएको हुन्छ । त्यस्ता पार्कमा पुगेर आराम गर्न पनि पैसा तिर्नुपर्छ । रिजर्टहरू त झनै महँगा हुन्छन् । सङ्गीत सुन्न, नाच हेर्न, नाटक हेर्न पैसा तिर्नुपर्छ । गरिबले आराम वा रमाइलो पनि गर्न पाउँदैनन् । महाकवि देवकोटाले भनेझैँ गरिबहरू सधैँ ‘दालभात डुकु’ बाट पिल्सिरहेका छन् ।
बजारको मनोविज्ञान
पुँजीवादले मानिसमा पुँजीवादी मनोविज्ञानको नै निर्माण गर्छ । त्यसमै उसको अस्तित्व हुन्छ । बजार अर्थतन्त्र पुँजीवादको ‘मुटु’ हो । बजारले मानिसको त्यसैअनुसार विचारधाराको निर्धारण गर्छ ।
पुँजीवादअन्तर्गत मध्ययुगमा विकास भएको उदारवादी विचारले सामन्ती संस्कृतिविरुद्ध व्यक्तिगत स्वतन्त्रताको कुरा गर्छ, व्यक्तिलाई केन्द्रबिन्दुमा राख्छ । उदारवाद भन्छ, “राज्यको दायित्व व्यक्तिको हितको रक्षा गर्नु हो ।” यसको अर्थ व्यक्ति पहिला, त्यसपछिमात्र राज्य अथवा आफू बाँच, त्यसपछि अरूलाई बचाऊ भन्ने हो । समाज बिस्तारै व्यक्तिवादी हुँदै जान्छ । सामूहिक भावना मार्ने काम यसरी थालियो । समाज र देश बन्यो भने म पनि बन्छु भन्ने भावना मर्दै गयो । सहयोगको संस्कार कमजोर हुँदै गयो । व्यक्तिगत स्वार्थको लडाइँ सुरु भयो । प्रतिस्पर्धा नै बजार सञ्चालनको आधार बन्यो ।

कविशिरोमणि लेखनाथ पौड्याल भन्छन्, ‘‘म खाऊँ मै लाऊँ सुख सयल वा मोज मै गरूँ, म बाचूँ मै नाचूँ अरू सबै मरून् दुर्बलहरू ।’’ कतै धनसम्पत्ति प्रशस्त, कतै दुःखीहरू भोकभोकै मर्दै गरेको समाजको चित्रण पौड्यालको ‘तरुण तपसी’ मा पाइन्छ । नवउदारवादले कल्याणकारी राज्यको विचार अस्वीकार गर्छ र भन्छ – राज्यले शासन गर्छ, सामाजिक सेवा होइन, सामाजिक सेवा त गैरसरकारी संस्थाले गर्छन्, बजारले नै सामाजिक सेवा गर्छ ।

स्रोतसाधन कम हुँदा स्रोत कब्जा गर्न हानथाप हुनु स्वाभाविकै हुन्छ । मानिस सहयोगी होइनन् बरु बाधक हुनथाले । सामाजिक एकता कमजोर हुनथाल्यो । यसरी पारिवारिक वा सामाजिक विगठन मनोरोगको आधार बन्न जान्छ ।
उदारवादी विचारमै टेकेर २० औँ शताब्दीमा विकास भएको नवउदारवादी विचारले अर्थव्यवस्थामा राज्यको प्रभाव हुननहुने तर्क ग¥यो, यसले स्वतन्त्र प्रतिस्पर्धा गर्न दिनुपर्छ भन्यो । कोही ‘दुई हातले पेट भर्न सक्दैन भने मर्न दिनू’ भन्ने अमानवीय तर्कसमेत गरे नवउदारवादका अनुयायीहरूले । समाजमा गरिब र धनी भन्ने कुरा स्वाभाविक हो, राज्यले व्यक्तिको जीवनमा कुनै हस्तक्षेप गर्नु उपयुक्त होइन, राज्यले कुनै व्यापार गर्नु हुँदैन, बजारलाई स्वतन्त्र छोड्नुपर्छ, बजारले कुनै सामान वा सेवाको मूल्य निर्धारण गर्छ, बजारभाउ राज्यले नियन्त्रण गर्न हुन्न, आदि तर्क गरे नवउदारवादीहरूले । त्यसैले समाज व्यक्तिवादी बन्छ, स्वार्थी बन्छ । अरूको दुःखप्रति बेमतलब हुन्छन् मानिसहरू । एउटै तलामा बस्ने मानिसबीच पनि कुनै सञ्चार हुन्न । ‘आफू भलो त जगत भलो’ भन्ने तर्क गरिन्छ । यसरी मानिस असामाजिक बन्छ । नवउदारवादी नीति लागु गर्ने बेलायतकी तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचर भन्छिन्– ‘‘समाज भन्ने कुनै वस्तु छैन । तिमी आफैमा निर्भर छौ ।’’कविशिरोमणि लेखनाथ पौड्याल भन्छन्, ‘‘म खाऊँ मै लाऊँ सुख सयल वा मोज मै गरूँ, म बाचूँ मै नाचूँ अरू सबै मरून् दुर्बलहरू ।’’ कतै धनसम्पत्ति प्रशस्त, कतै दुःखीहरू भोकभोकै मर्दै गरेको समाजको चित्रण पौड्यालको ‘तरुण तपसी’ मा पाइन्छ । नवउदारवादले कल्याणकारी राज्यको विचार अस्वीकार गर्छ र भन्छ – राज्यले शासन गर्छ, सामाजिक सेवा होइन, सामाजिक सेवा त गैरसरकारी संस्थाले गर्छन्, बजारले नै सामाजिक सेवा गर्छ । त्यसैको कारणले होला, संरा अमेरिकामा करिब १८ लाख सुकुम्बासी छन् । ती घरविहीनमध्ये ६६ प्रतिशत रक्सीका अम्मली, लागूपदार्थ दुव्र्यसनी अथवा मानसिक रोगी छन् भने २२ प्रतिशत गम्भीर मानसिक रोगी छन् । संरा अमेरिकामै कम्तीमा २ लाख व्यक्ति सडकमै सुत्छन् ।
उपभोक्तावादबाट तनाव
उपभोक्तावाद पुँजीवादकै उपज हो । अधिक उपभोग एवम् अधिकाधिक वस्तुको मालिक भएमा धेरै सुख एवम् खुसी प्राप्त हुन्छ भन्ने प्रवृत्ति नै उपभोक्तावाद हो । पुँजीवादी समाजमा गर्भका शिशुदेखि मृत्युशैयाको लासलाई पनि बजारले आफ्नो उपभोक्ता बनाइरहेको हुन्छ । आफूलाई आवश्यक होस् या नहोस् टीभीमा विज्ञापन देखेपछि बजारमा भर्खर आएका सामान किन्नुपर्ने, ब्रान्डेड सामान नै चाहिने मानसिकताको खेती पनि पुँजीवादले नै गरेको हुन्छ । नित्य नयाँ चाहनाको सपना देखाउनु र आफूसँग भएका वस्तुप्रति विरक्त गराएर नयाँ उपभोक्ता तयार गर्ने बजारको लक्ष्य हुन्छ । टेलिभिजन वा पत्रपत्रिकामा आउने विभिन्न आकर्षक विज्ञापनमा भुलेर बजारमा भएजतिका महँगा सामानले घर भरेर मानिस ‘समय सुहाउँदो’ बन्न खोज्छन् । महँगो सामान वा सहरिया बसाइले सामाजिक प्रतिष्ठा बन्छ भन्ने भ्रम हुन्छ मान्छेमा । यसबाट मानिसमा चिन्ता तथा तनाब थपिन्छ, खासगरी गरिब केटाकेटीमा । अरूको देखासिकी गर्ने, अरूले हात्ती चढेको देखेर आफू घरको धुरी नै चढेर पनि आत्मतुष्टि लिने प्रवृत्तिले मानिसलाई कहिल्यै सुख प्राप्त हुँदैन । भौतिक वस्तुमा सुख खोज्ने प्रवृत्ति गलत हो भन्ने कुरा नाफामुखी बजारले कहिल्यै सिकाउँदैन । सुन्दरताको कथित परिभाषामा अलमलिएर मानिस छाला राम्रो पार्ने नाममा अनेक महँगा सौन्दर्य प्रशाधनको प्रयोग गर्छन् । गोरो छाला नै राम्रो, नाक थेप्चो नराम्रो, चिम्सा आँखा असुन्दरजस्ता भ्रम पालेर प्लास्टिक सर्जरी गराएरै ‘राम्रो÷राम्री’ देखिने प्रवृत्तिले युवामा झन् बढी तनाव थपिएको छ । मानिसको असीमित इच्छाले गर्दा गलत प्रतिस्पर्धा हुन्छ र समाजमा अनेक प्रकारका विकृतिसमेत भित्रिन्छन् ।
उपभोक्तावादी चिन्तनले व्यक्तिलाई आत्मकेन्द्रित बनाएको छ । आफ्नो इच्छा, आवश्यकता र चासोमा मात्र मानिस केन्द्रित हुँदा असामाजिक बन्छ । असामाजिक व्यक्ति कहिल्यै तनवमुक्त हुनसक्दैन ।
मजदुर पनि वस्तु हुन्छ पुँजीवादमा
कार्ल माक्र्सको एउटा भनाइ छ, ‘‘मजदुरको काम उनका आफ्नो स्वाभाविक काम होइन । यो अरूको निम्ति हो । यो उनको निजत्व हराउनु हो ।’’ माक्र्सले औद्योगिक क्रान्ति अगाडिको एक कालिगडको कल्पना गरे । जुत्ता सिलाउने, सूचीकार, रोटी बनाउने आदि शिल्पीहरू पुँजीपतिको निम्ति काम गर्दैनथे, बरु आफ्नै काम गर्थे । सबै सिर्जनशील काममा तिनको आफ्नै नियन्त्रण हुन्थ्यो, आफ्नो उत्पादनप्रति गर्व र माया हुन्थ्यो । मानिसको आवश्यकता पूरा गर्न पाएकोमा एक शिल्पी खुसी हुनु स्वाभाविकै हुन्छ ।
तर, कारखानामा मजदुर ज्यालाको निम्ति काम गर्छ । मजदुर मालिकले भनेजस्तो सामान बनाउँछ । आफ्नो सिर्जनशीलतालाई थाती राखेर मालिकको नाफाको निम्ति काम गर्नु मजदुरको कर्तव्य हुन्छ । यसरी कारखाना मालिकबाट मजदुर अलग्गिन्छ, छुट्टिन्छ । मालिकमा मानवीय भावनाभन्दा नाफा नै बढी महत्वपूर्ण भएपछि मालिकसँगको सम्बन्ध थप कमजोर हुनु स्वाभाविकै हो । मालिक र मजदुरबीच भावनात्मक होइन यान्त्रिक सम्बन्धमात्र हुन्छ ।
मानिस सहकार्यमा बाँधिन चाहने प्राणी हो तर पुँजीवादले मानिसलाई एक्ल्याएको छ । पुँजीवादले नै लाभ, रोजगारी तथा विभिन्न स्रोतको निम्ति लडाइँ निम्त्याउँछ । पुँजीवादले एकले अर्कोलाई वस्तुको रूपमा बुझ्न लगाउँछ । पुँजीवादले नै मानवीय भावनाको नास गराएको छ । कामले नै मानिसलाई परिवारबाट एक्लिन बाध्य बनाउँछ ।
सन् २०१७ मा गरिएको एक अध्ययनअनुसार १३ प्रतिशत बेलायतीको घनिष्ठ साथी हुँदैनन् । १८ प्रतिशतले बेलाबेला एक्लोपन अनुभव गरेको बताए भने ४५ प्रतिशतले अघिल्ला दुई हप्तामा कम्तीमा एकपटक एक्लोपन अनुभव गरे । हिजोआजको सामाजिक सञ्जाल तथा भच्र्युअल संसारले पनि युवाहरूलाई अधिकतर मात्रामा एक्ल्याएको पाइन्छ ।

मानवका आवश्यकताहरू पूरा नहुँदा, सम्बन्धहरू बिग्रिँदा, आफू असुरक्षित भएको महसुस हुँदा वा समाजसँग अलग्गिँदा मानसिक तनाव बढ्छ । त्यसैले पुँजीवाद आफैँमा तनावको सर्जक हो । विद्वान मार्क फिस्चर भन्छन्, ‘‘पुँजीले मानिसलाई बिरामी बनाउँछ र त्यसपछि बहुराष्ट्रिय औषधी कम्पनीहरू आएर तिनीहरूलाई नै औषधी बेच्छन् । त्यही समयमा तनावका सामाजिक तथा राजनीतिक कारण अलग गरी समस्यालाई व्यक्तितिर पन्छाइदिन्छ ।’’ मजदुर पनि आफ्नै कारण मानसिक रोगी भएको भ्रममा पर्छ, शोषण निरन्तर भइरहन्छ ।
अन्तमा, लेखक जिम्मी वुको शब्द सापट लिन्छु – ‘‘मनोचिकित्सासमेत विशेषगरी पुँजीवादी कम्पनीको साँचोमा ढालिएको छ र यसले समस्याका कारणको सम्बोधन गर्दैन ।’’ यसैले भन्न सक्छौँ – पुँजीवादी व्यवस्था नै मुख्य दोषी हो, मानसिक समस्याको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *