भर्खरै :

क्युवाको स्वास्थ्य प्रणालीको शक्ति

डन फिट्ज संरा अमेरिकाका विभिन्न विश्वविद्यालयमा वातावरणीय मनोविज्ञान अध्यापन गराउँछन् । विशेषतः उनी बस्ने मिसौरीको सेन्ट लुइसका विभिन्न विश्वविद्यालयमा उनी पढाउँछन् । सन् २०१६ को निर्वाचनमा उनी संरा अमेरिकी ग्रीन पार्टीको तर्फबाट सो राज्यका गभर्नर पदका उम्मेदवार थिए । ‘ग्रीन सोसिएल थट’ नामको पत्रिकाको उनी सम्पादक मण्डल सदस्य हुन् । उनका विभिन्न प्राज्ञिक पत्रपत्रिकामा सामाजिक र सामुदायिक मनोविज्ञानबारे लेखरचना प्रकाशित छन् ।
केही साताअघि मन्थ्ली रिभ्यु प्रेसले उनको पुस्तक ‘Cuban Health Care: The Ongoing Revolution’ (क्युवाको स्वास्थ्य सेवा ः अहिलेको क्रान्ति) प्रकाशित गरेको थियो । सो पुस्तकबारे कुरा गर्ने क्रममा उनले भने, “क्युवाबारे मेरो लेखन एउटा ठूलो समस्याको सानो हिस्सा हो । मेरा अधिकांश लेखन ऊर्जा उत्पादनको विस्तारले निम्त्याउने खतरामा केन्द्रित छन् । पुँजीवादी उत्पादन सम्बन्धलाई जस्ताको तस्तै राखी जीवाष्म इन्धनको प्रयोगले वातावरणलाई विषाक्त बनाउन र विनाश गर्नुका साथै ‘हरित ऊर्जा’ले भोग्ने ठूलो समस्याबारे मैले कलम चलाउने गरेको छु । निकै थोरै उर्जा प्रयोग गरेर पनि कसरी कुनै देशले उत्तम स्वास्थ्य उपचार हासिल गर्न सक्छ भन्ने कुराको राम्रो उदाहरण क्युवा हो ।”
तर, उनी कतिबेलादेखि क्युवाको स्वास्थ्य सेवाप्रति उत्सुक हुन थाले त ? सन् २००९ तिर फोहोर जलाउने, फोहोरले जमिन पुर्ने (ल्यान्डफिल्ड), उत्पादन परियोजना, विषाक्त रसायन र वन फडानी आदिको विषयमा भएका सङ्घर्षको क्रममा फिड्ज ‘पुँजीवादी विनाश रोक्न र उत्तम संसार निर्माण गर्न प्राकृतिक स्रोतको कम दोहन र न्यून उत्पादन’ आवश्यक भएको निक्र्योलमा पुगे । त्यो समयमा ‘उत्तर–पुँजीवादी समाजमा विस्तार गर्न आवश्यक एउटा आर्थिक क्षेत्र औषधी हुनसक्ने’ उनको बुझाइ थियो । संसारभर राम्रो स्वास्थ्य सेवाको लागि उत्पादन र थप उर्जाको विकास आवश्यक भएको उनको धारणा थियो । तर, केही वर्षपछि उनकी छोरी रेबिक्काले क्युवाको ल्याटिन अमेरिकी चिकित्सा कजेल (इलम) मा पढ्ने निधो गरिन् । डन फिड्जले पनि त्यो कलेजको भ्रमण गरे । क्युवाली चिकित्सक सेवाबारे फिड्जको अध्ययन त्यहीँबाट सुरु भयो । “चिकित्सा सेवामा संरा अमेरिकाले गर्नेभन्दा क्युवाले निकै कममात्र पैसा खर्च गर्ने गरेको मैले पाएँ । जबकि दुवै देशको औसत आयु र शिशु मृत्युदर भने उस्तै छन् । क्युवाको यो अवस्थाले औषधी उत्पादन भने उत्तर–पुँजीवादी चरणसम्म विस्तार गर्नुपर्ने मेरो सोचाइमा हेरफेर आयो” यसले उनलाई फरक कोणबाट सोच्नुपर्ने ठाउँमा पु¥यायो । उनको राजनीतिक दृष्टिकोणले यसमा महत्वपूर्ण भूमिका खेल्यो ।
“जलवायु सङ्कटले मानिसको अस्तित्वमाथि नै खतरा निम्त्याएको बेला हामीले हामीसँग भएका ‘स्रोत’ फारो गरेर चलाउनुपर्छ । उपयोग मूल्य बढाएर विनिमय मूल्य घटाउनुपर्छ । पुँजीवादी व्यवस्थाअन्तर्गत नाफा बढाउने कुरालाई भन्दा मानिसलाई उपयोगी हुने उत्पादनमा जोड दिनुपर्छ । सानो अर्थतन्त्र भएको क्युवाले संसारका करोडौँ करोड जनताको स्वास्थ्य सेवामा सुधार ल्याउन सक्छ भने यदि अमेरिकाको बृहत् उत्पादन क्षमता काम नलाग्ने र विनाशकारी कुराको उत्पादनबाट संसारभरका मानिसको निम्ति उपयोगी वस्तुको उत्पादनमा खर्च गरे के होला, हामी अनुमान मात्र गर्न सक्छौँ ।”
यी सबै कुराले क्युवाली चिकित्सा सेवाबारे संसारलाई भन्नुपर्ने धेरै कथा भएको निष्कर्षमा उनी पुगे । त्यही प्रेरणाबाट उनी क्युवाको स्वास्थ्य सेवासम्बन्धी पुस्तक लेख्न तम्सिए । डन फिट्जको यो अन्तर्वार्तामा हामी उनको पुस्तक, क्युवाली स्वास्थ्य प्रणालीको इतिहास र त्यसले संसारलाई सिकाएका पाठबारे छलफल गर्नेछौँ । विशेषतः कोभिड–१९ को अहिलेको स्वास्थ्य आपत्कालले विश्व पुँजीवादको विनाशकारी आधार उजागर गरेको परिप्रेक्ष्यमा उनीसँग हामी कुराकानी गर्नेछौँ ।
अहिलेको स्वास्थ्य सङ्कटकाललाई ध्यानमा राखेर सर्वप्रथम त म कोभिड–१९ बाटै कुराकानी सुरु गर्न चाहन्छु । क्युवाले यो महामारीको कसरी सामना ग¥यो ? अरू देशको तुलनामा यो महामारीविरुद्ध क्युवाको अवधारणा बढी प्रभावकारी देखियो । के कुराले क्युवालाई यसको निम्ति सक्षम बनायो र क्युवाको यो धारणा कसरी अरू देशमा पनि उपयोग गरियो ?
क्युवाको जनस्वास्थ्य मन्त्रालयको उच्च तहमा छलफलबाट महामारीको प्रतिरोध गर्ने राष्ट्रिय योजना तर्जुमा गरियो । कुन व्यक्ति सङ्क्रमित भएको छ भनी निश्चय गर्न व्यापक परिमाणमा सर्वसाधारणको परीक्षण गरियो । सङ्क्रमित व्यक्तिलाई क्वारेन्टिनमा राखियो । उनीहरूको खाना र अन्य सबै आवश्यक बन्दोबस्त सरकारले नै ग¥यो । सङ्क्रमित व्यक्ति सम्पर्कमा गएका मानिसको पनि खोजी गरी परीक्षण गरियो । हरेक नागरिकको स्वास्थ्य परीक्षणको लागि स्वास्थ्यकर्मीहरू जनताको दैलो – दैलोमा पुगे । सामुदायिक स्वास्थ्य चौकी (कन्सल्टोरियो) का स्वास्थ्यकर्मीहरूले आफ्नो वरपर जोखिममा रहेका सबै मानिसलाई विशेष निगरानीमा राखे ।
मार्च २ मा क्युवाले नोबेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण योजना तर्जुमा गरिसकेको थियो । चार दिनभित्र यो योजना विस्तार गर्दै सबै मानिसको तापक्रम जाँच्ने र बाहिरबाट आएका सम्भावित सङ्क्रमितलाई अलग एकान्तवासमा राख्ने बन्दोबस्त मिलाइयो । मार्च ११ मा क्युवामा कोभिड–१९ को पहिलो सङ्क्रमित भेटिनुअघि नै यस्ता सबै बन्दोबस्त मिलाइएको थियो । मार्च २२ मा क्युवामा नोबेल कोरोना भाइरसको सङ्क्रमणले पहिलो व्यक्तिको निधन भयो । त्यतिन्जेल ३५ जना क्युवाली कोरोना भाइरस सङ्क्रमित भइसकेका थिए । झन्डै एक हजार मानिसलाई अस्पतालमा निगरानीमा राखिएको थियो । ३० हजारभन्दा बढी मानिस आफ्नै घरमा एकान्तवासमा बसेका थिए । मार्च २३ मा क्युवा सरकारले गैरआवासीय विदेशी नागरिकलाई क्युवा प्रवेशमा रोक लगायो । यो निर्णयले पर्यटन क्षेत्रबाट उठ्ने राजस्वमा ठूलो कमी आयो ।
त्यो दिन क्युवाको गृहमन्त्रालयले कोभिड–१९ विरुद्ध तीव्र प्रतिरोधको निम्ति सबैलाई सजग रहन आह्वान ग¥यो । हवानाको रक्षा परिषद्ले हवानाकै भेडाडो जिल्लामा सङ्क्रमणको गम्भीर समस्या देखापरेको घोषणा ग¥यो । भेडाडोमा गैर पर्यटक विदेशीहरू धेरै सङ्ख्यामा बस्दै आएका छन् । त्यसकारण, पनि त्यहाँ भाइरस सङ्क्रमणको सम्भावना बढी थियो । अप्रिल ३ मा भेडाडो जिल्ला बन्द गर्ने घोषणा भयो । मारियम अन्साराले त्यहाँको वर्णन गरेजस्तै ‘भेडाडो जिल्ला प्रवेश गर्न चाहने वा त्यहाँ बाहिर जान चाहने जो कसैले पनि आफू कोभिड–१९ को सङ्क्रमण मुक्त भएको पुष्टि गर्नुपथ्र्यो ।’ गृह मन्त्रालयले भेडाडोका सबै खाद्य पसलहरूमा आवश्यक सामानको कुनै कमी हुन दिएन । सबै बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य उपचारको बन्दोबस्त गरियो ।
क्युवाली स्वास्थ्य अधिकारीहरू कोभिड–१९ सङ्क्रमण स्थानीय स्तरमै सीमित गराउन चाहन्थे । त्यो चरणमा कोही मानिस सङ्क्रमित भए उसको सम्पर्कमा गएको मानिसको सजिलै पहिचान गर्न सकिन्थ्यो । सङ्क्रमण सामुदायिक स्तरमा नफैलिओस् भन्नेमा उनीहरू सावधानी अपनाइरहेका थिए । सङ्क्रमण सामुदायिक स्तरमा फैलिँदा सम्पर्क मानिसको खोजी गर्न ज्यादै कठिन हुन्छ । संरा अमेरिकामा स्वास्थ्यकर्मीहरूले व्यक्तिगत सुरक्षा सामग्रीको आपूर्तिको माग गरिरहेको बेला र नागरिकले परीक्षण गराउन खोज्दा पनि निकै कम सङ्ख्यामा मात्र परीक्षण भइरहेको अवस्थामा क्युवामा भने सङ्क्रमित मानिसको सम्पर्कमा आएका मानिसको पनि खोजीनीति गरी परीक्षण गर्न प्रशस्त परीक्षण सामग्री थियो ।
मार्चको अन्त्य र अप्रिलको सुरुतिरबाट क्युवाका अस्पतालहरूले सङ्क्रमण न्यून गर्न काम गर्ने ढाँचामा परिवर्तन ल्याए । हवानाका चिकित्सकहरू साल्भाडोर एलेन्डे अस्पतालमा पन्ध्र दिनको निम्ति प्रवेश गरे, स्वास्थ्यकर्मीको लागि तोकिएको ठाउँमा रात बिताए । कोभिड–१९ का बिरामीहरू राखिएको क्षेत्रमा उनीहरू प्रवेश गरेपछि उनीहरूले पन्ध्र दिन त्यहीँ बिताए । घर जानुअघि उनीहरूको कोभिड – १९ परीक्षण गरियो । घर फर्केर उनीहरू पन्ध्र दिन अलग बसे । काममा पुनः फर्किनुअघि उनीहरू सबैको स्वास्थ्य परीक्षण गरियो । यसरी ४५ दिनको बसाईले काममा दैनिक आवातजावतबाट स्वास्थ्यकर्मीमार्फत समुदायमा सर्न सक्ने सङ्क्रमणबाट जोगायो ।
क्युवामा सामुदायिक स्वास्थ्य चौकी (कन्स्ल्टोरिओ) मार्फत स्वास्थ्य प्रणाली जनताको घर दैलोसम्म विस्तार भएको छ । सामुदायिक स्वास्थ्य चौकीका चिकित्सकहरूलाई चिकित्सा विज्ञान अध्ययनरत तेस्रो, चौँथो र पाँचौँ वर्षका विद्यार्थीलाई हरेक दिन जनताको घर दैलोमा पठाउने जिम्मेवारी दिइएको हुन्छ । चिकित्साशास्त्रका ती विद्यार्थीलाई स्थानीय बासिन्दाको स्वास्थ्यसम्बन्धी तथ्याङ्क सङ्कलनदेखि ज्येष्ठ नागरिक, बालबालिका र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको लागि नियमित परीक्षण गर्ने जिम्मेवारी दिइएको हुन्छ । यस्ता घरदैलोको क्रममा बिरामीलाई आकस्मिक औषधीमूलो दिइन्छ र थप समस्या भए उनीहरूभन्दा माथिल्लो तहका चिकित्सकहरूकोमा सिफारिस गरिन्छ । विद्यार्थीहरूले ल्याएको तथ्याङ्कको आधारमा चिकित्सकहरूले विशेष प्राथमिकता दिनुपर्ने क्षेत्रलाई रातो मसीले सङ्केत दिने गरिन्छ । स्वास्थ्य चौकीका चिकित्सकहरू कसले के काम गरिरहेको छ, के कस्ता समस्या देखापरेका छन्, क्युवाली जनस्वास्थ्य मन्त्रालयले के कस्ता नीति अवलम्बन गरेको छ र कामको बोझले कसरी स्वास्थ्यकर्मीलाई प्रभावित बनाएको छ भन्ने विषयमा नियमित छलफल र अन्तरक्रिया गर्छन् ।
यसप्रकार सामुदायिक स्वास्थ्य चौकीदेखि प्रतिष्ठित अनुसन्धान प्रतिष्ठानमा काम गर्ने क्युवाका हरेक नागरिक र स्वास्थ्यकर्मीले स्वास्थ्य नीति तर्जुमा योगदान गरिरहेका हुन्छन् ।
 हामीले क्युवाली चिकित्सकहरू निकालिएका देशहरूमा प्रभावकारी स्वास्थ्य प्रणालीको अभावमा विशेषतः त्यहाँका गरिब जनता महामारीबाट बढी प्रभावित भएको पनि देख्यौँ । यो विषयमा तपाईँको धारणा के छ ?
यो निकै महत्वपूर्ण प्रश्न हो किनभने संरा अमेरिका र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीलाई कार्यान्वयनमा रोक्न चाहन्छन् । अहिले भएका पूर्वाधारलाई पनि उनीहरू ध्वस्त बनाउन चाहन्छन् । राष्ट्रिय स्वास्थ्य योजना भएका दुई वटा देश (क्युवा र भेनेजुयला) र त्यस्तो नीति खारेज गरेका दुई वटा देशहरू (ब्राजिल र इक्वेडर) बीचको यहाँ तुलना गरौँ ।
भेनेजुयलाले राष्ट्रिय तहमै क्युवाली स्वास्थ्य प्रणालीका आधारभूत पक्ष आफ्नो देशमा पनि लागु गर्न खोजेको छ । यसले भेनेजुयलालाई आफ्नो देशमा कोभिड–१९ महामारीको प्रतिरोध गर्न मद्दत गरेको छ । उदाहरणको लागि सन् २०१८ मा समाजवादी कम्युन अल्टस डी लिडिसीका बासिन्दाले सात वटा सामुदायिक परिषद् बैठकको आयोजना गरे । तीमध्ये एउटा परिषद् बैठकको विषय सामुदायिक स्वास्थ्य थियो । एक जना स्थानीय बासिन्दाले सामुदायिक स्वास्थ्य सेवा केन्द्रको लागि आफ्नै घरमा ठाउँ उपलब्ध गराए । त्यो ठाउँ चिकित्सकको कार्यकक्षको रूपमा उपयोग गरियो । चिकित्सकले स्थानीय तहमा जोखिममा रहेका बासिन्दाको पहिचान गर्न तथ्याङ्क सङ्कलन गरे । उनीहरू नै स्थानीय जनताको दैलो – दैलो पुगेर कोभिड–१९ को सङ्क्रमणबाट जोगिने तरिकाबारे प्रशिक्षण दिए । सन् २००३ मा क्युवाली चिकित्सकहरू त्यहाँ पुग्दा ‘छिमेकीमा स्वास्थ्य सेवा’ कार्यक्रम लागु गर्न मद्दत गरेका महिला नै अहिले स्वास्थ्य परिचारिका (नर्स) बनेका छन् । क्युवाली चिकित्सकहरू आउनुअघि त्यो समुदायका मानिसले कहिल्यै पनि चिकित्सकको अनुहार देखेका थिएनन् । स्वास्थ्य परिचारिकाले त्यतिबेलाको कुरा सम्झँदै भनिन्, “क्युवालीहरू आएपछि हामीले उनीहरूको निम्ति हाम्रो दैलो खोल्यौँ । उनीहरू हामीसँगै बसे, हामीसँगै खाए र हामीबीच काम गरे ।”
क्युवाली शैलीको स्वास्थ्य प्रणालीको विकासको नतिजा स्वरूप सन् २०२० को अप्रिल ११ सम्ममा भेनेजुयला सरकारले १ लाख ८१ हजार ३३५ पीसीआर परीक्षण ग¥यो । त्यतिबेला कोभिड–१९ को सङ्क्रमण ल्याटिन अमेरिकामा सबभन्दा न्यून थियो । क्युवाली चिकित्सकहरूलाई देश निकाला गरेको देश ब्राजिलमा प्रति दस लाख १०४ जना सङ्क्रमित हुँदा भेनेजुयलामा सङ्क्रमण दर प्रति दस लाख जम्मा ६ जना थियो ।
इक्वेडरमा राफेल कोरेया राष्ट्रपति हुँदा एक हजारभन्दा बढी क्युवाली चिकित्सकहरू त्यहाँको स्वास्थ्य सेवा प्रणालीको मेरुदण्ड बनेका थिए । सन् २०१७ मा लेनिन मोरिनो राष्ट्रपति पदमा निर्वाचित भए । उनको सरकारले क्युवाली चिकित्सकहरूलाई घर फिर्ता ग¥यो । त्यहाँको जनस्वास्थ्य क्षेत्र सबै भताभुङ्ग भयो । अन्तर्राष्ट्रिय मुद्रा कोषको सल्लाहबमोजिम मोरिनो सरकारले स्वास्थ्य क्षेत्रको बजेट ३६ प्रतिशतले कटौती ग¥यो । फलतः त्यहाँ न त पुग्दो सङ्ख्यामा स्वास्थ्यकर्मी छन्, न व्यक्तिगत सुरक्षा सामग्री नै । त्यहाँ व्यवस्थित स्वास्थ्य सेवा प्रणाली भन्ने कुरा नै रहेन । भेनेजुयला र क्युवामा कोभिड–१९ को कारण मर्नेको सङ्ख्या १९ पुग्दा इक्वेडरको सबभन्दा ठूलो सहर ग्वायाकुइलमा मात्र ७ हजार ६ सय मानिसको त्यसै कारण निधन भइसकेको थियो ।
कोरोना महामारीको बेला क्युवाले अन्तर्राष्ट्रिय ऐक्यबद्धताका केही उदाहरणीय कार्यको नेतृत्व ग¥यो । संसारभर क्युवाका धेरै चिकित्सक टोली त परिचालित थियो नै । यो पटक त इटालीजस्तो पश्चिमा देशहरूमा समेत क्युवाले आफ्ना स्वास्थ्य टोली पठायो । क्युवामा बनेको इन्टरफेरन अल्फा २ बीजस्ता औषधी भाइरस नियन्त्रणको निम्ति संसारभर प्रयोग र माग भयो । क्युवाले बेलायती क्रुज जहाज एमएस ब्राइमरलाई आफ्नो बन्दरगाहमा आउने अनुमति थियो । क्युवाली अस्पतालमा जहाजका यात्रुहरूलाई उपचार ग¥यो । सो क्षेत्रका अरू कुनै पनि देश बेलायती क्रुज जहाज रोक्न तयार भएका थिएनन् । क्युवा स्वयम्ले यो समयमा दैनिकरूपमा धेरै कठिनाइको सामना गर्नुप¥यो । तथापि, अन्तर्राष्ट्रिय ऐक्यबद्धताका उसका गतिविधि उदाहरणीय थियो । केही आलोचकहरूले क्युवाका यस्ता गतिविधिलाई क्युवा सरकारको प्रचारबाजी भएको भनी बोले । यो विषयमा तपार्ईँको धारणा के हो ?
म एक जना मनोविद् हँु । त्यसकारण, क्युवाली मानवतावादप्रतिको विभिन्न खाले हमलाबारे एउटा शब्दावली बनाउनु उपयुक्त लाग्छ–‘निगेटिभ प्रोजेक्सन’ । (मनोविज्ञानमा ‘प्रोजेक्सन’को अर्थ कुनै अचेत भावनाबाट मानिसले आफ्नो अहम्को रक्षा गर्ने मानसिक प्रक्रिया हो । यसले सबै कमजोरीको दोष अरूमाथि थोपर्छ । यहाँ ‘निगेटिभ प्रोजेक्सन’ भन्नुको अर्थ आफ्नो अहम्को कारण अरूप्रति नकारात्मक भावना राख्ने प्रवृत्ति हो–अनु.) ‘प्रोजेक्सन’ शब्दले आफ्ना असहज विचार वा भावनाको दोष अरूलाई थोपर्ने व्यक्तिको व्याख्या गर्छ । ‘राजनीतिक प्रोजेक्सन’ भन्नाले आफ्ना कमजोरीको लागि अरू देशलाई दोषारोपण गर्ने प्रवृत्ति हो ।
क्युवाविरुद्ध चिकित्सकीय ‘निगेटिभ प्रोजेक्सन’ का दुई प्रकार छन् । पहिलो, ल्याटिन अमेरिकाका विभिन्न देशका चिकित्सक सङ्गठनहरूले क्युवाली चिकित्सकहरूप्रति ज्यादै अशिष्ट व्यवहार गरे । क्युवाली चिकित्सकहरूले आफ्नो रोजगारी खोसेको भन्ने आरोप लगाइयो । क्युवाली चिकित्सकहरू राजनीतिक प्रचारबाजीको लागि यसरी अर्को देशमा गएर काम गर्ने गरेको उनीहरूले बताए । ती चिकित्सकहरूले क्युवालीहरूलाई अयोग्य भने । आफूले हेरेको बिरामीको पछिको अवस्था के छ भन्नेबारेमा क्युवाली चिकित्सकहरूले बेवास्ता गर्ने गरेको उनीहरू आरोप लगाउने गर्छन् ।
ब्राजिल र भेनेजुयलामा क्युवाली चिकित्सकहरूले त्यहाँका चिकित्सकहरूको रोजगारी खोसेको भन्ने आरोप झूट हो किनभने क्युवाली चित्कित्सकहरू त्यहाँका अति विपन्न र ग्रामीण क्षेत्रमा काम गर्न पुगेका छन् जहाँ त्यहीँका चिकित्सकहरू पुग्दैनन् । सन् २००३ मा भेनेजुयलाको चाभेज सरकारले बारिओ अडान्ट्रो नामको कार्यक्रम आरम्भ ग¥यो । भेनेजुयलाका जिल्लामा रहेका गरिब कामदार जनतालाई सामुदायिक स्वास्थ्य सेवा दिन नै सो कार्यक्रम घोषणा गरेको थियो ।
त्यस्तो अभियानमा सहभागी बन्न भेनेजुयलाकै चिकित्सकहरूलाई आग्रह गरिएको थियो । तर, पचास जनामात्र त्यो अभियानमा सहभागी बने । त्यो वर्षको अन्त्यमा बाध्य भएर क्युवाले ९ हजारभन्दा बढी चिकित्सकहरू भेनेजुयलामा परिचालन गरेको थियो ।
बारिओ अडान्ट्रो अभियान आरम्भ भएसँगै भेनेजुयलाको चिकित्सक समाजले क्युवाली चिकित्सकहरू फिर्ता पठाउन माग ग¥यो । भेनेजुयलाका चिकित्सकहरूको त्यो सङ्गठन त्यहाँको विपक्षी राजनीतिसँग नजिक थियो । क्युवाली चिकित्सकहरूमाथि उनीहरूले वामपन्थी विचार प्रचार गरेको दोष लगाएका थिए । तर, भेनेजुयाली चिकित्सक समाजका चिकित्सकहरूजस्तै क्युवालीहरू राजनीति गर्न अभ्यस्त थिएनन् । उनीहरूलाई सेवाको निम्ति जुन देशमा पठाइएको हुन्थ्यो, त्यो देशको राजनीतिमा सहभागी नबन्न तालिम दिइएको हुन्थ्यो । त्यसकारण, दक्षिणपन्थी सरकार भएका देशहरूमा क्युवाली चिकित्सक पठाउनेबारे सम्झौता हुने गरेको छैन ।
केही ल्याटिन अमेरिकी स्वास्थ्य सङ्गठनले क्युवामा तालिम प्राप्त चिकित्सकहरूको गुणस्तर राम्रो नभएको भनी प्रचार गरे । यसो भन्दै गर्दा क्युवाली चिकित्सकहरूले विपन्न र ग्रामीण क्षेत्रमा सामुदायिक स्वास्थ्य, पारिवारिक स्वास्थ्य र विपत् व्यवस्थापनमा देखाएको सक्रियतालाई उनीहरूले छायामा पार्न खोजेका छन् । क्युवाली चिकित्सकहरूले ८० प्रतिशतभन्दा बढी स्वास्थ्य समस्या परीक्षण र बिरामीको विगतको मूल्याङ्कनमा आधारित भएर गर्ने गरेका छन् । प्रमुख स्वास्थ्य सूचकमा क्युवाले क्रमशः सुधार गरिरहेको देखिन्छ । त्यसकारण, प्रश्न क्युवामा चिकित्साशास्त्रको गुणस्तरमा होइन, ल्याटिन अमेरिकाका अन्य देशका चिकित्सा कलेजमा अध्ययनरत विद्यार्थीले क्युवामा भए कस्तो काम गर्ने थियो होला भनी सोध्नु उपयुक्त देखिन्छ ।
विपन्न समुदायबीच क्युवालीहरू लामो समय बस्न सक्छन् । पैसा लिएर उपचार गराउने चिकित्सकहरू त्यस्तो समुदायमा लामो समय टिक्न सक्दैनन् । क्युवाली चिकित्सकहरू पालो फेरेर त्यस्ता विपन्न क्षेत्रमा सेवा गर्छन् ।
‘निगेटिभ प्रोजेक्सन’ को अर्को प्रमुख किसिम भनेको बाढी, भूकम्प, आँधीहुरी, सुनामी, ज्वालामुखी विस्फोटन, महामारी र चेर्नोबलमा आएको आणविक दुर्घटनाको समयमा क्युवाको आपत्कालीन सेवाको न्यूनाङ्कन वा उपेक्षा हो । सन् १९५९ देखि नै क्युवाली क्रान्तिको मूल आन्तर्य चिकित्सा अन्तर्राष्ट्रवाद हो । गरिब, कालो वर्णका जनता र ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउने क्रान्तिकारीहरूले गरेका वचनबद्धता थियो । आफ्नो देशमा स्वास्थ्य सेवाको बन्दोबस्त गरेपछि खाँचो परेका अरू देशमा पनि चिकित्सा सेवा पु¥याउन थप धेरै काम गर्नुपर्थेन । सन् १९६० मा चिली र सन् १९६३ मा अल्जेरियामा त्यही भावनाका साथ चिकित्सकीय सेवा प्रदान गरिएको थियो ।
क्युवाको चिकित्सा अन्तर्राष्ट्रवाद चार तरिकाबाट व्यक्त भएका छन् ।
पहिलो, क्युवाले चिकित्सक र स्वास्थ्यकर्मीहरू विभिन्न देशमा पठाउँदै आएको छ । बितेका छ दशकमा क्युवाका ४ लाखभन्दा बढी क्युवाली स्वास्थ्यकर्मीहरूले १६४ देशका जनताको सेवा गरे । त्यहाँका करोडौँ जनताको जीवनमा थोरैमात्र पनि खुशी ल्याउन मद्दत गरे । क्युवाले पछिल्लो पटक इटालीमा गरेको सहायता त्यही भावनाको निरन्तरता मात्र हो । गत मार्च २६ मा क्युवाले इटालीको लोमबार्डी राज्यको क्रिमा क्षेत्रमा ५२ जना चिकित्सक र स्वास्थ्यकर्मीहरू पठायो । क्युवालीहरू त्यहाँ पुग्दा क्रिमाका सबै अस्पतालका आकस्मिक कक्षहरू बिरामीहरूले भरिभराउ भइसकेको थियो । क्युवालीहरूले तीन वटा आकस्मिक अस्थायी शिविर स्थापना गरे । ती सबै अस्पतालमा सघन उपचार एकाई र ३२ वटा अक्सिजनको आपूर्ति भएका शैय्याहरू थिए । क्यारिबियाली क्षेत्रको एउटा सानो र गरिब देशले युरोपकै एउटा प्रमुख देशलाई सानो सहायता गरेको थियो ।
दोस्रो, क्युवालीहरू क्युवामा विद्यार्थी र बिरामीको रूपमा विभिन्न देशका नागरिकलाई भित्याइरहेका छन् । सन् १९६६ मा क्युवाली चिकित्सकहरू कङ्गोमा थिए । उनीहरूले सडक बत्तीमुनि बत्तीको उज्यालोमा पढ्दै गरेको देखे । क्युवाली चिकित्सकहरूले उनीहरूलाई हवाना (क्युवाको राजधानी) मा पढ्ने व्यवस्था मिलाए । सन् १९७५ देखि १९८८ सम्म भएको अङ्गोलाको युद्धको क्रममा अरू धेरै अफ्रिकी विद्यार्थीहरू क्युवा लगियो । मिट्च र जोर्ज नामका आँधीहुरीपछि पनि ल्याटिन अमेरिकाका धेरै विद्यार्थी चिकित्साशास्त्र पढ्न क्युवा गएका थिए । क्युवामा ल्याटिन अमेरिकी विद्यार्थीकै लागि स्थापना गरिएको चिकित्साशास्त्र कलेज (इलम) मा चिकित्साशास्त्र पढ्ने विद्यार्थी जम्मा हुन्थे । क्युवाले विदेशबाट बिरामीहरू पनि ल्याउने गर्छ । सन् १९८६ मा तत्कालीन सोभियत सङ्घको चेर्नोबल आणविक भट्टीमा भएको दुर्घटनापछि २५ हजार बिरामी उपचारको लागि क्युवा पुगेका थिए । उनीहरूमध्ये अधिकांश बालबालिका थिए । क्युवाले त्यो घटनापछि त्यहाँका घाइतेहरूलाई आफ्नो ढोका र अस्पतालका शैय्या खुला गरेको थियो । युवा शिविर कार्यक्रम आयोजना गरेको थियो । बेलायती क्रुज जहाज एमएस ब्राइमरलाई गरेको सहायता क्युवाको परम्परा नै हो । मार्च १८ मा क्युवाले ब्राइमर क्रुज जहाजका हजारौँ यात्रुलाई आफ्नो भूमिमा प्रवेश गर्ने अनुमति दियो । बेलायत फर्किन नसक्ने गरी बिरामी परेकाहरूलाई क्युवाली अस्पतालहरूमा उपचारको बन्दोबस्त गरियो । ब्राइमरका चालक दलका सदस्यहरूले क्युवाबाट फर्किनुअघि ‘हामी क्युवालाई माया गर्छौैँ’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।
तेस्रो, क्युवाले गरिब देशहरूलाई सस्तो मूल्यमा औषधी दिँदै आएको छ । औषधी कम्पनीहरूले जस्तै गरिबलाई निचोर्ने गरी औषधीको मूल्य राख्ने गरेको छैन । चीन, भेनेजुयला र ब्राजिललगायत देशहरूसँग क्युवाले औषधी विकासको निम्ति सहकार्य गर्न खोजिरहेको छ । मेनिनजाइटिसको औषधी बनाउन ब्राजिलसँग क्युवाको सहकार्यले प्रति चक्की १५ देखि २० डलर पर्ने औषधी ९५ सेन्ट (पैसा) मा बनाउन सम्भव भयो । गरिबको उचित सेवा गर्ने र आफ्नै देशमा औषधी उत्पादन गर्ने चिकित्सा प्रणाली भएका देशहरूसँग क्युवालीहरूले सहकार्य गर्न खोजिरहेका छन् । गरिब देश आफैले औषधी बनाउन सके त्यसको निम्ति धनी देशमा निर्भर भइरहनुपर्दैन ।
चौथौ, क्युवा प्रचारमुखी छैन । क्युवाले जे गरेको छ, इमानदारीपूर्वक गरेको छ । फेरि पनि कुरा ‘निगेटिभ प्रोजेक्सन’ को आउँछ । संसारका गरिब जनताको स्वास्थ्य उपचारको निम्ति आफ्नो जिम्मेवारी पूरा नगर्ने देशहरूले त्यस्तो काम गर्ने प्रयास गरिरहेको देशमाथि दोषारोषण गर्ने गर्छन् । सन् २०१० को विनाशकारी भूकम्पपछि हाइटीलाई क्युवाली सहायता स्वीकार्न कत्ति पनि समस्या भएन । हाइटीमा सबभन्दा बढी सहायता गर्ने देश क्युवा हो । सन् १९९८ देखि नै हाइटीमा धेरै सङ्ख्यामा क्युवाली चिकित्सकहरूले जनताको सेवा गर्दै आएका छन् । हालसम्म ६ हजार क्युवाली चिकित्सकहरूले तीस लाखभन्दा बढी हाइटीका जनताको सेवा गरिसकेका छन् । हाइटीमा आपत्कालीन समयमा काम गरेको क्युवासँग अनुभव छ । सन् २००४ मा आएको ठूलो विनाशकारी बाढीपछि क्युवाले हाइटीमा स्वास्थ्य टोली पठाएको थियो । सन् २०१० को भूकम्पको एक महिनाभित्र हाइटीमा सहायताको लागि आएका विदेशी टोलीहरू फर्के । तर, ६ सय क्युवाली चिकित्सकहरू र क्युवाबाट तालिमप्राप्त ३८० जना हाइटीकै चिकित्सकहरू त्यही रहेर जनताको सेवामा तल्लीन रहे । सन् २०१० को अक्टोबरमा हाइटीमा हैजाको महामारी फैलियो । सयौँ वर्षपछि हाइटीमा हैजा फैलिएको थियो । आपत्कालीन राहतपछि प्रभावित देशमा रहन क्युवालीहरू तयार नभएको भए र उनीहरूले हाइटीका जनतालाई पूर्वसावधानीका उपाय नसिकाएको भए हैजाको कारण मर्नेको सङ्ख्या अझ निकै बढ्ने थियो ।
क्युवालीहरू भूकम्प जानुअघि नै हाइटीमा थिए । त्यसकारण, पनि उनीहरूलाई भूकम्पपीडित जनतालाई सकेसम्म चाँडो सेवा गर्ने अवस्था बन्यो । उनीहरूले पोख्त आपत्कालीन सहायता दिए । भूकम्पको घाउ नपुरिँदासम्म पनि उनीहरू हाइटीका जनतासँगै बसे । तर, स्पेनको पत्रिका ‘इल पाइस’ ले हाइटीमा सहायता गर्ने देशहरूको नामावलीमा क्युवाको नाम नै समावेश गरेन । संरा अमेरिकाको फक्स न्युजले क्युलालाई सहायता प्रदान गर्न नसकेको भनी आलोचना ग¥यो ।
हाइटीमा सहयोगको लागि पुगेका २२ हजार अमेरिकीहरू सबै सैनिक थिए । संरा अमेरिकी चिकित्सकहरू त्यहाँ निकै ढिला मात्र पुगेका थिए । साथै, उनीहरू त्यहाँबाट चाँडै फर्केका थिए । अमेरिकी चिकित्सकहरू खासमा हाइटीका पीडित जनतासँग बसेनन् । दिउँसो काम गरेर उनीहरू राति कुनै सुविधासम्पन्न होटलमा गएर सुत्थे । क्युवाली चिकित्सकहरूले आफूले उपचार गरेका हाइटीका जनसमुदायकै बस्तीमा रातदिन बिताए ।
गरिब देशमा आपत् पर्दा धनी देशले गर्ने सहायतालाई जोन क्रिकले ‘प्रकोप पर्यटन’ को संज्ञा दिएका छन् । धनी देशका धेरै स्वास्थ्यकर्मी र सहयोगीहरू गरिब देशमा खासमा प्रभावितलाई सहयोग गर्न नभई ‘अनुभव बटुल्न’ जाने गर्छन् । उनीहरू अधिकांश गम्भीर उद्धार कार्यमा संलग्न हुँदैनन् ।
क्युवाली चिकित्सकहरूको काम गर्ने शैली भने ‘प्रकोप पर्यटन’ भन्दा फरक खालको छ । क्युवालीहरूसँग भिन्न संस्कृति परिवेशमा गएर काम गर्ने विस्तृत तालिम छ । धेरै गरिब देशमा गएर काम गरिसकेका हजारौँ स्वास्थ्यकर्मीको अनुभव मिलेर क्युवा त्यस्तो अनुभवबाट समृद्ध बनेको हो । क्युवाली चिकित्सक टोली प्रभावित देशमा महिनौँ र वर्षौँ पनि बस्छन् । आफू बसेको स्थानमा सामुदायिक चिकित्सा र रोग रोकथाम प्रणाली विकास गर्न क्युवालीहरू सहयोग गर्छन् ।
अहिलेको महामारी अस्वाभाविकरूपमै विश्वव्यापी बन्यो । त्यसो त स्वास्थ्य समस्या यो महामारी अघि नभएको भने होइन । क्युवाले यस्ता स्वास्थ्य सङ्कटविरुद्ध कसरी लडिरहेको छ ?
हरेक रोक्न सकिने रोग स्वास्थ्य सङ्कट हो । क्युवामा क्रान्ति भएर केही समयपछि मात्र खोप सुरु भयो । सन् १९६२ मा पन्ध्र वर्षमुनिका ८० प्रतिशत केटाकेटीलाई जन्मेको एघार दिनमा पोलियो रोगविरुद्ध औषधी खुवाइयो । सन् १९७० सम्ममा बच्चा जन्मेको एकै दिनमा त्यस्तो पोलियो थोपा खुवाउन सम्भव भयो । सन् १९६७ मा औँलो निर्मूलन भयो । सन् १८७१ मा भ्यागुते रोग उन्मूलन भयो ।
लामखुट्टेबाट लाग्ने डेङ्गुले क्युवामा निकै दुःख दिने गरेको छ । क्युवामा चिकित्साशास्त्रका विद्यार्थीहरू सर्वसाधारणको घर – घर पुगेर अवस्थाको आकलन गर्ने गर्छन् । इलममा एक सत्न्दा बढी देशका विद्यार्थी पढ्छन् । उनीहरूका भाषा फरक – फरक छन् । तथापि, उनीहरू जनताको घर – घर पुग्छन्, लामखुट्टेले अन्डा पार्न सक्ने ठाउँको खोजी गर्छन् । कौसीसम्म पुगेर कहीँकतै पानी जमेको छ कि भनी हेर्छन् ।
सन् १९८१ मा क्युवाका अध्ययन प्रतिष्ठानहरूले इन्टरफेरोन अल्फा २ बी नामको औषधी पत्ता लगाए । डेङ्गुको उपचारको निम्ति प्रभावित प्रमाणित भयो । दशकौँदेखि निकै महत्व बोकेको यो औषधी कोभिड–१९ को उपचारको निम्ति पनि काम लाग्ने भयो । सन् २००३ देखि चीन–क्युवाको संयुक्त लगानीमा बनेको चाङहेबेर नामको कम्पनीले त्यो औषधी उत्पादन गर्दै आएको छ । हेपाटाइटिस बी र सी, दाद, एड्स र डेङ्गुजस्ता भाइरसजन्य रोगको उपचारको निम्ति यो औषधी प्रभावकारी र सुरक्षित देखिएको छ । संरा अमेरिकाले प्रविधि, सामान, वित्त र ज्ञानको आदानप्रदानमा कडा नाकाबन्दी लगाएपनि क्युवाले धेरै थरी औषधीको अनुसन्धानमा सफलता प्राप्त गरेको छ ।
तत्कालीन अवस्थामा नयाँ रोग एड्सबाट सन् १९८६ मा क्युवामा पहिलो बिरामीको निधन भयो । क्युवाले एचआईभी पोजेटिभ भएका अङ्गोला युद्धबाट फर्केको सिपाहीलाई अलग राख्ने (आइसोलेसन) बन्दोबस्त गरेको थियो । त्यसैलाई देखाएर क्युवाविरोधी प्रचार गर्नेहरूले सिपाहीहरूको क्वारेन्टिन समलिङ्गीहरूविरुद्ध पक्षपात भएको भने । यस्ता क्युवाविरोधी प्रचारमा कुनै तुक नभएको कुरा निम्न तथ्यबाट साबित हुन्छ ः
क) अफ्रिकाबाट फर्केका लगभग सबै भिन्न लिङ्गप्रति आकर्षित हुने सिपाहीहरू थिए । अफ्रिकामा एड्सका बिरामीहरू पनि अधिकांश त्यस्तै थिए ।
ख) डेङ्गुका बिरामीलाई क्वारेन्टिनमा राखेको क्युवासँग अनुभव थियो ।
ग) संरा अमेरिकामा पनि क्षयरोग, पोलियो र एड्सजस्ता रोगका बिरामीलाई क्वारेन्टिनमा राख्ने इतिहास छ ।
सन् १९९१ को डिसेम्बरमा सोभियत सङ्घ विघटन भयो । क्युवाले सोभियत सङ्घबाट पाउँदै आएको ५ अर्ब अमेरिकी डलर बारबरको अनुदान रोकियो । अन्तर्राष्ट्रिय व्यापारमा समस्या आयो । एड्सको सङ्कट बढेसँगै क्युवाली अर्थतन्त्र गम्भीररूपमा प्रभावित बन्यो । दक्षिणी अफ्रिकापछि सबभन्दा बढी एड्सको महामारी क्यारिबियाली क्षेत्रमा फैलिएको थियो । नाकाबन्दीको कारण औषधी पाउन असहज थियो । औषधीको मूल्य अचाक्ली बढ्यो । औषधी किन्न पैसा धेरै खर्च हुँदा विकासका पूर्वाधार बनाउने काम प्रभावित बन्यो । एकचोटी यस्ता समस्याको ओइरो लागेपछि आर्थिक अभाव सामना गर्न क्युवाले पर्यटनको ढोका खोल्यो । पर्यटनले वेश्यावृत्तिको समस्या थपियो । यसले क्युवामा महामारी थप भयावह अवस्थामा पु¥याउन सक्थ्यो ।
तर, क्युवा सरकारले तत्कालै प्रभावकारी कदम चाल्यो । आधारभूत मानवअधिकार मानिएको शिक्षा र स्वास्थ्य सेवाबाहेक सबै क्षेत्रका सेवामा सरकारले कटौती ग¥यो । सन् १९८७ मा क्युवाली अनुसन्धान प्रतिष्ठानहरूले आफ्नै परीक्षण प्रयोगशाला स्थापना गरे । एचआईभीको परीक्षणलाई थप गति दिइयो । सन् १९९३ सम्ममा १ करोड २० लाख मानिसमा एचआईभीको परीक्षण गरियो । बिरामी र निरोगी, केटाकेटी र वयस्क सबैबीच एड्सबारे जनचेतना व्यापक बनाइयो । सन् १९९० सम्म समलिङ्गीहरू एचआईभीका मुख्य शिकार बनेका थिए । त्यसअवस्थामा समलिङ्गीहरूमाथि हुन सक्ने विभेदलाई ध्यानमा राखी विद्यालयमा नै समलिङ्गी जीवनको एउटा वास्तविकता हो भनी पढाइयो । स्वास्थ्य चौकीहरूमा कन्डम निःशुल्क वितरण गरियो । एड्स उपचारमा प्रयोग हुने एन्टीरेट्रोभाइरल (एआरटी) औषधी निकै महँगो हुने भएपनि क्युवामा यो औषधी निःशुल्क बनाइयो ।
क्युवाले सङ्गठित र व्यवस्थितरूपमा एचआईभीको सामना ग¥यो । क्युवामा दुई सय जना एड्सका बिरामी भएको समयमा त्यत्ति नै जनसङ्ख्या भएको न्युयोर्क सहरम ४३ हजार जना एड्सका बिरामी थिए । न्यु योर्क सहरको अवस्था सब–सहारा अफ्रिकाको कुनै देशको अवस्थाजस्तै थियो । अङ्गोलाको स्वतन्त्रताको लागि लडेर त्यो क्षेत्रबाट लाखौँ क्युवालीहरू भर्खर स्वदेश फर्केका थिए ।
सन् १९९७ मा चान्डलर बरले ‘द लेन्सेट’मा संसारभरमै एड्सविरुद्धको राष्ट्रिय कार्यक्रममा सबभन्दा सफल क्युवा भएको लेखे । संरा अमेरिकाको तुलनामा क्युवाको धन र स्रोत साधन सीमित भएर पनि उसको सफलतालाई प्रशंसा गरिएको थियो ।
इबोला भाइरस रोग भिन्न खालको थियो । इबोला भाइरस मुख्यतः सब–सहारा अफ्रिकामा मात्र भेटियो । त्यो क्षेत्रमा क्युवालीहरूको दशकौँदेखि कुनै व्यापक सम्पर्क थिएन । सन् २०१४ को वर्षायाममा इबोला भाइरस फैलिँदा संसारमा ठूलो चिन्ता मडारियो । केही समयको अन्तरालमै २० हजारभन्दा बढी मानिसमा यो रोग फैलियो, ८ हजार मानिसको निधन भयो । मर्नेको सङ्ख्या लाखौँ पुग्ने भय भयो । संरा अमेरिकाले सैनिक पठायो । अरू देशले आर्थिक सहयोग गरे । क्युवाले भने त्यहाँ जे कुराको आवश्यकता थियो, त्यही दिएर सहयोग ग¥यो । सिएरा लिओनमा क्युवाले १०३ जना नर्स र ६२ जना चिकित्सक पठायो । अफ्रिकामा जम्मा जम्मी ४ हजार स्वास्थ्यकर्मी (तीमध्ये २४ सय जना चिकित्सक थिए) पठाइसकेको क्युवाले रोगले महामारी रूप फैलिनुअघि नै प्रतिरोधको तयारी थालिसकेको थियो । अधिकांश सरकारलाई इबोलासँग कसरी लड्ने भन्ने जानकारी पनि थिएन । क्युवाले हवानास्थित पेड्रो कौरी सरुवा रोग प्रतिष्ठानमा विभिन्न देशका स्वयम्सेवक स्वास्थ्यकर्मीहरूलाई तालिमको बन्दोबस्त ग¥यो । क्युवाले १३ हजार अफ्रिकी, ६६ हजार ल्याटिन अमेरिकी र ६२० जना क्यारिबियालीहरूलाई आफै सङ्क्रमणबाट जोगिएर इबोलाबाट जोगिने उपायबारे तालिम दियो ।
के तपाईँलाई यो महामारीले यसअघिभन्दा बढी प्रस्टसँग स्वास्थ्य क्षेत्रमा पुँजीवादी बन्दोबस्तका सीमितताबारे उजागर गरेको लाग्छ ? अनि, अन्य विभिन्न देशका स्वास्थ्य प्रणालीको तुलनामा क्युवाली स्वास्थ्य प्रणालीमो महत्व केमा देख्नुहुन्छ ? पृथ्वीमा पुँजीवादी उत्पादन प्रणालीको विनाशकारी प्रभावको कारण निकट भविष्यमा अझ नयाँ – नयाँ महामारी आउन सक्ने वैज्ञानिकहरूको चेतावनीलाई आधार मानेर के भन्नुहुन्छ ?
क्युवाली स्वास्थ्य सेवा प्रणालीका सबभन्दा महत्वपूर्ण पक्ष भनेको, १) सबै हिस्सालाई एउटा सम्पूर्णतामा एकाकार गरिएको छ जसले स्वास्थ्य समस्याको प्रतिकार गर्न सक्छ, २) क्युवाका सबै मानिसले स्वास्थ्य प्रणाली कार्यान्वयनमा योगदान पु¥याएका हुन्छन् । जसले गर्दा यो सबैको सामूहिक अनुभव जस्तै बनेको छ, ३) सबै मानिसले स्वास्थ्य उपचारको सेवा पाउनु मानवअधिकार हो भन्ने मान्यता आधारित भएर क्युवाली स्वास्थ्य प्रणालीको विकास भएको छ ।
संरा अमेरिकी स्वास्थ्य प्रणाली सबै स्वास्थ्य संस्थाले सकेसम्म बढी नाफा कमाउनुपर्छ भन्ने सिद्धान्तमा आधारित छ । क्युवामाथिको घातक नाकाबन्दीको कारण त्यहाँ मनग्य स्वास्थ्य पूर्वाधारको आपूर्ति हुन सकेको छैन । तथापि, त्यहाँको औसत आयु र मातृ मृत्युदर संरा अमेरिकाको भन्दा न्यून छ । संरा अमेरिकाले स्वास्थ्य सेवाको निम्ति प्रतिव्यक्ति गर्ने खर्चको तुलनामा क्युवाले झन्डै ५ प्रतिशतमात्र गर्दछ । संरा अमेरिकी प्रणाली नाफाबाट पर रहन सकेन । त्यसकारण, भविष्यमा आउने महामारीको पनि उसले सामना गर्न सक्ने छैन ।
क्युवाली प्रणालीको सकारात्मक पक्षबारे बुझेकाहरूले समेत महामारी फैलिनुमा पशुपालनको मुख्य भूमिकाबारे उति ध्यान दिने गरेका छैनन् । घर पालुवा पशुलाई साँघुरो ठाउँमा कोचाकोच गरेर राखिन्छ । जङ्गली जनावर बस्ने ठाउँ लगातार अतिक्रमणमा परेका छन् । त्यसले कोभिड–१९ जस्ता भाइरसको महामारी फैलिने सम्भावना बढ्छ । निजी खाद्यवस्तु उत्पादकहरूले मानिसको स्वास्थ्यमा यस्ता गतिविधिले पार्ने प्रतिकूल असरबारे त्यत्ति बाहिर ल्याउने गर्दैनन् किनभने यसले उनीहरूको व्यापार र नाफामा असर पु¥याउँछ । क्युवा र भेनेजुयलाको जस्तो स्वास्थ्य प्रणाली भएका देशलाई हामीले औद्योगिक कृषि पालनको खतराको लेखाजोखा गर्न उत्साहित गर्नुपर्छ । अनि मासु उत्पादन कसरी कम गर्न सकिन्छ भन्ने बारेमा छलफल आवश्यक छ ।
अब स्वास्थ्य सेवा प्रणालीको इतिहासबारे थोरै कुरा गर्न चाहन्छु । क्युवाली क्रान्तिको विजयपछि सिङ्गो स्वास्थ्य प्रणालीमा रूपान्तरण गरियो । त्यत्तिबेला क्युवामा लागु गरिएका प्रणालीका मुख्य कुरा के के थिए र तिनको कसरी विकास गरियो ?
क्युवामा क्रान्तिकारी चिकित्साका यति धेरै कुरा छन्, तिनलाई सूचीकरण गर्दा कुनै न कुनै एउटा छुटेकै हुन्छ । पहिलो पक्ष त क्युवाले औषधीलाई कुनै वस्तुको रूपमा मात्र लिएन, बरु सामाजिक रूपान्तरणको लागि अपरिहकार्य पक्ष मान्यो । यो मान्यतामा क्रमशः विकास हुँदै गयो । रूपान्तरणअन्तर्गत साक्षरता अभियान, सरसफाई, भूमिसुधार, कृषि मजदुरको तलब, कृषि पद्धति, सुदृढ पोषण, निवृत्तिभरण, नयाँ सडक, नयाँ कक्षाकोठा, नयाँ घर, घरघरमा पानीको सुविधा, जातीय विभेदको अन्त्य र लैङ्गिक समानता आदि पर्छन् ।
क्युवा क्रान्तिका पहिलो चिकित्सकीय अभिभारा भनेको निःशुल्क स्वास्थ्य सेवालाई मानवअधिकारको रूपमा व्यवहारमा कार्यान्वयन गर्नु थियो । जीवनमा कहिल्यै चिकित्सक नदेखेका विशेषतः काला वर्ण र ग्रामीण क्षेत्रका क्युवालीहरूको लागि स्वास्थ्य सेवालाई आधारभूत मानवअधिकार बनाउनु क्रान्तिको मुख्य जिम्मेवारीमध्ये थियो । यही भावना क्युवाको सीमा नाघेर अन्य देशको स्वास्थ्य सेवामा पनि व्यवहारमा देखियो । क्युवाले यो अभियानअन्तर्गत धेरै थरी खोप कार्यक्रम सञ्चालन गरेको छ । साथै, धेरै रोग निर्मूलनको लागि काम भएका छन् ।
सन् १९६४ मा धेरै सङ्ख्यामा अलग–अलग स्वास्थ्य संस्थाहरूले प्रभावकारी काम गर्न नसकेको निष्कर्ष निकालियो । यही कमजोरी सच्याउन सबै सेवालाई एकै ठाउँमा ल्याउने गरी ‘बृहत् स्वास्थ्य केन्द्र’को अवधारण ल्याइयो । यो अवधारणाअन्तर्गत सबै स्वास्थ्य सेवालाई एकै ठाउँमा ल्याइयो । यो अवधारणाको सबभन्दा क्रान्तिकारी पक्ष भनेको निश्चित भूगोलको एक जना नागरिक कुनै पनि स्वास्थ्य सेवाको निम्ति एकै ढोकामा पसे पुग्ने भयो । यसले क्युवाली स्वास्थ्य प्रणालीअन्तर्गत शतप्रतिशत जनसङ्ख्यालाई ल्याइयो । एकद्वार प्रणाली हरेक प्रकारका परिवर्तनबीच पनि कायम राखियो ।
तर, सन् १९७४ मा बृहत् स्वास्थ्य केन्द्रको अवधारणाअन्तर्गत धेरै अन्तरविरोधहरू देखापरे । त्यत्तिबेलासम्ममा यो प्रणालीले स्वास्थ्य चौकीमा धेरै थरी सामग्री थुपारियो मात्र । त्यसलाई समुदायसँग जोड्ने काम भएन । क्युवाली नीति निर्माताहरूले पूर्वी युरोपेली देशबाट विज्ञ र विचारको मद्दत मागे । अध्ययनले क्युवाली प्रणालीको मूल दोष पत्ता लाग्यो । स्वास्थ्य चौकीहरू अस्पतालमातहतको निकाय हुनु नै मूल समस्या भएको निष्कर्ष निस्कियो । त्यसपछि क्युवाका सबै स्वास्थ्य चौकीहरूलाई पनि अस्पताल सरहकै मान्यता दिइयो । स्वास्थ्य प्रणालीमा आएका हरेक खालका रूपान्तरणबीच पनि यो मान्यतालाई कायम राखियो ।
नयाँ प्रणालीअन्तर्गत सबै स्वास्थ्य चौकीलाई बृहत् स्वास्थ्य केन्द्रमा परिवर्तन गरियो । पुरानो बन्दोबस्तमा बिरामी स्वास्थ्य चौकीमा जान्थ्यो । सन् १९७४ बाट स्वास्थ्य केन्द्रहरू समुदायमा जान थाले । ती केन्द्रहरूले विशेषज्ञतामा आधारित चिकित्सक र नर्सहरूका समूह (जस्तै – अन्तरङ र बहिरङ विभाग) बनाउन थाले । उनीहरूलाई नै स्वास्थ्य केन्द्र वरपरका क्षेत्रको निम्ति उत्तरदायी बनाइयो ।
स्वास्थ्य चौकी प्रणालीमा पनि धेरै थरी अन्तरविरोध देखापरे । विशेषज्ञतामा आधारित चिकित्सक र नर्सहरूको समूहलाई निकै ठूलठूला क्षेत्रको जिम्मेवारी दिँदा उनीहरूले बिरामीलाई राम्ररी चिन्न पाएनन् । सन् १९८४ मा आएर क्युवाली स्वास्थ्य प्रणालीमा सुधार गरियो । त्यसपछि. छिमेकमा स्वास्थ्य चौकी अथवा चिकित्सकको कार्यालयको अवधारणा लागु गरियो । चिकित्सक र नर्सको स–साना समूह नै आफूलाई खटाइएको क्षेत्रमै बस्न थाले । ती स्वास्थ्यकर्मीहरू प्रायशः देखापर्ने रोगको विषयमा विशेषज्ञता नै हासिल गरेका हुन्छन् । उनीहरूलाई सानो क्षेत्रको जिम्मेवारी दिइयो । हरेक बिरामी हिँडेरै छिमेकको स्वास्थ्य चौकीमा पुग्न सक्छन् । सहरी क्षेत्रमा चिकित्सक र नर्सहरू आफैँ घर – घर हिँडेर स्वास्थ्य सेवा दिने गर्छन् । आज पनि क्युवामा त्यही प्रणाली छ । यो प्रणालीअन्तर्गत शत प्रतिशत क्युवालीहरू समाहित छन् । चिकित्सक र नर्सहरूलाई आफ्नो क्षेत्रका सबै मानिसको नाम नै कण्ठ हुन्छ । छिमेकमा स्वास्थ्य चौकीको अवधारणालाई स्वास्थ्य चौकी, अस्पताल, चिकित्सा कलेज, विशेषज्ञ अस्पताल र अनुसन्धान केन्द्रहरूसँग जोडिएको छ ।
तपाईँले क्युवाको स्वास्थ्य प्रणालीमा अन्तर्राष्ट्रवादी भावना निहीत भएको भन्नुभयो । यो भावना क्युवाली क्रान्तिको विदेश नीतिका धेरै पक्षसँगै आएको भावना हो । समयक्रममा यो अन्तर्राष्ट्रवादी दृष्टिकोणले कसरी उल्लेखनीय काम ग¥यो भन्नेबारेमा केही भन्नुहुन्छ कि ?
क्युवाली क्रान्ति विजय भएको भर्खर पन्ध्र महिना भएको थियो । सन् १९६० मा चिलीमा ठूलो भूकम्प गयो । क्युवाले चिलीका जनताको सहायताको निम्ति चिकित्सकहरू पठायो । सन् १९६३ मा क्युवाले फ्रान्सबाट स्वाधीनताको लागि लडिरहेको अल्जेरियामा स्वास्थ्यकर्मीहरूको टोली पठायो । जाएर, कङ्गो, गिनी बिसाउका क्रान्तिकारी आन्दोलनमा मद्दत गर्न क्युवाले सैनिक सल्लाहकारहरूसँगै चिकित्सकहरू पठाएको थियो । सन् १९७५–१९८८ सम्म भएको अङ्गोलाको युद्धमा पनि क्युवाले विद्रोही सेनालाई मद्दत गर्न ७–८ सय स्वास्थ्यकर्मी पठाएको थियो । क्युवाली अन्तर्राष्ट्रिय सहायताको क्षेत्र फैलिरहेको थियो । अङ्गोला युद्धको अन्त्यसम्ममा बेनिन, बुर्किना फासो, क्यामरुन, केप भेर्दा, भूमध्य गिनी, घाना, गिनी, मादागास्कर, माली, मोजाम्बिक, नाइजेरिया, साओ टोमे ए प्रिन्सिपे, सेचेलस, सिएरा लिओन, सोमालिया, तान्जिनिया, युगान्डा, जाम्बिया, जिम्बाब्वेलगायत देशमा स्वास्थ्यकर्मी पठाइसकेको थियो । क्युवाले इथियोपियाको जिम्मामा एउटा मेडिकल कलेज नै स्थापना गरिसकेको थियो ।
क्युवाबाट पठाइएका सबभन्दा ठूलो स्वास्थ्यकर्मी टोली ल्याटिन अमेरिका र क्यारिबियाका पेरु, जमाइका, ग्रेनाडा र निकारागुआ गएका थिए । बोलिभिया, कोलम्बिया, गुएना, मेक्सिको, पानामा, सुरिनाम र सेन्ट लुसियामा स–साना क्युवाली टोलीहरू गएका थिए ।
इरान, इराक, लिबिया, मौरिटानिया, मोरोक्को, दक्षिणी यमन, सिरिया, पश्चिम सहारा, अफगानिस्तान, श्रीलङ्का, भियतनाम, लाओस, नेपाल र युक्रेनमा पनि क्युवाली स्वास्थ्य सहायता पुगेको थियो । सन् १९७५ देखि १९९१ सम्ममा ७० हजार सहायता मजदुरहरू विदेशमा परिचालित थिए । त्यहीबेला संसारभरका विभिन्न देशबाट ५० हजारभन्दा बढी विद्यार्थीलाई क्युवा लगेर पढाइयो । उनीहरूको सबै खर्च क्युवा सरकारले नै व्यहो¥यो । सन् १९८४ सम्ममा क्युवाले ७५ देशका विद्यार्थीलाई छात्रवृत्तिमा पढायो । ती सबै गरिब देशका पढ्नलाई पैसा खर्च गर्न नसक्ने परिवारका विद्यार्थी थिए । सन् १९९९ मा क्युवामा पढ्न आउने विद्यार्थीको सङ्ख्या अझ बढ्यो । त्यो साल ल्याटिन अमेरिकी चिकित्साशास्त्र प्रतिष्ठान (इलम) स्थापना भएको थियो । सन् २०२० सम्ममा इलमले एक सत्न्दा बढी देशबाट आएका ३० हजारभन्दा बढी विद्यार्थीलाई चिकित्सक बनायो ।
बितेका ६ दशकमा ४ लाखभन्दा बढी क्युवाली स्वास्थ्यकर्मीहरूले १६४ देशमा काम गरेका छन् । उनीहरूको सेवाबाट संसारभरका करोडौँ जनता लाभान्वित भएका छन् ।
आफ्नो पुस्तकमा तपाईँले क्युवाली स्वास्थ्य प्रणालीबारे व्याख्या गर्नुभएको छ । त्यसमा विशेषतः ‘क्रान्तिकारी चिकित्सा’ र चे ग्वेभाराका विचारलाई महत्वका साथ चर्चा गरिएको छ । चे ग्वेभाराले ‘क्रान्तिकारी चिकित्सा’ को अवधारणा सबभन्दा पहिलो पटक ग्वाटेमालामा अघि सारे । चेले त यो विषयमा पुस्तक नै लेख्न थालिसकेका थिए । सन् १९५४ मा ज्याकोब अर्बेन्जविरुद्ध सत्ताकब्जा भएपछि त्यो किताब लेख्न उनले सकेनन् । तर, यो सब कसरी सुरु भयो । यसले चे ग्वेभाराको विचार निर्माणमा के कस्तो योगदान ग¥यो । जाँदाजाँदै यो ऐतिहासिक प्रसङ्गको छोटो चर्चा गरौँ !
सन् १९५१ को डिसेम्बरमा चे ग्वेभाराले आफू पढ्दै गरेको चिकित्सा कलेजबाट नौ महिनाको लागि बिदा लिए । मोटरसाइकलमा अर्जेन्टिना, चिली, पेरु, कोलोम्बिया र भेनेजुयलाको यात्रा गर्न उनले बिदा लिएका थिए । यो यात्रा गर्नु पछाडिको उनको मूल ध्येय कुष्ठरोगसम्बन्धी प्रयोगात्मक अनुभव सङ्गाल्नु पनि थियो । आफ्नो २४ औँ जन्मदिनको राति उनी पेरुको चे ला कोलोनिया डे सान पाब्लोमा थिए । कुष्ठरोगीहरूबीच आफ्नो जन्मदिन मनाउन उनी राति नदीमा पौडेर पारी गएका थिए । नदीपारि झन्डै ६ सय कुष्ठरोगीहरू स–साना झुपडीमा मिलेर बसेका थिए । उनीहरूसँग जन्मदिन मनाउन उनी त्यो ठूलो नदीपारि पौडेर गएका थिए । चेलाई कुष्ठरोगीहरूको अध्ययन र उनीहरूप्रति सद्भाव पोखेर मात्र चित्त बुझेन । चे उनीहरूको जीवन बुझ्न चाहन्थे । ती गरिब र भोका जनतासँगको उठबसले चेमा रूपान्तरण आयो । चेले रोकथाम गर्न सकिने रोगबाट धेरै मानिसलाई जोगाउने र सरसफाइबारे सार्वजनिक चेतनाको लागि काम गर्ने चिकित्साशास्त्रको कल्पना गरे । त्यसको केही वर्षपछि चे ग्वेभारा फिडेल क्यास्ट्रोले नेतृत्व गरेको जुलाई २९ आन्दोलनमा चिकित्सकको रूपमा सहभागी बने । सन् १९५६ को डिसेम्बर २ मा ८१ जना युवा ग्रान्मा जहाजमा बसेर क्युवामा विद्रोह गर्न गए । ती युवामध्ये चे ग्वेभारा पनि थिए । सन् १९५९ को जनवरी १ मा क्युवाली क्रान्तिकारीहरूले फाल्गुनसिओ बाटिस्टा सरकार अपदस्थ गरे र क्युवामा नयाँ संविधान घोषणा भयो । नयाँ संविधानमा चेले कल्पना गरेजस्तै स्वास्थ्य सेवालाई आधारभूत मानवअधिकारको रूपमा समावेश गरियो ।
कोभिड–१९ मानिसबाट मानिसमा सर्नु दशकौँअघि चेको परिकल्पना एक चिकित्सकबाट अर्को चिकित्सकमा सरेको थियो । अथवा, यो विचार यति व्यापक प्रचार भयो, सन् १९५९ पछि क्युवाले आफूले सकेको सबै ठाउँमा ‘क्रान्तिकारी चिकित्सा’को अवधारणा प्रयोग गर्न मद्दत ग¥यो । चेले क्युवाको आजको स्वास्थ्य प्रणालीका सबै पक्षको भित्री काम आफूले गरेका थिएनन् । तर, उनका परिकल्पनालाई परिस्थितिअनुसार नयाँ विकास गर्दै आज क्युवामा यो प्रणाली लागु गरिएको छ । यो ल्याटिन अमेरिकाका अन्य देशमा पनि फैलिरहेको छ । इतिहासको निश्चित समयमा करोडौँ मानिसले फरक – फरक भविष्यको उस्तै चित्र देखे । सामाजिक संरचनामा विशृङ्खला आइरहेको समयमा यदि यो विचारले व्यापकता पायो भने क्रान्तिकारी विचारधारा नयाँ विश्व निर्माणको लागि भौतिक शक्तिमा रूपान्तरण हुनेछ ।
स्रोत ः मन्थ्ली रिभ्यु
नेपाली अनुवाद ः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *