भर्खरै :

आमूल परिवर्तनको अर्थ बुझौँ !

आमूल परिवर्तनको अर्थ बुझौँ !

पञ्चायती कालमा पत्रकारहरू भन्ने गर्थे, “मन्त्रीहरूले बोलेका र भनेका कुराहरू जस्ताका तस्तै कार्यान्वयन भए देशमा त्यतिबेलै समाजवाद र साम्यवाद आउँथ्यो, के त्यो सम्भव हुन्थ्यो ? देशको संविधान र ऐन कानुनले दिन्छ ? बुझेर बोले कि नबुझेरै बोले !!’
आज पनि नेता र कार्यकर्ताहरू प्राथमिक विद्यालयमा केही शिक्षकसमेत ‘आमूल परिवर्तन’ को कुरा गर्छन् र त्याग, तपस्या र बलिदानका कुरा गर्छन् । अन्य शिक्षक साथीहरू कुरा नबुझेरै रनभुल्लमा पर्छन् । केही विद्यालयहरूमा विभिन्न जिल्लाबाट नियुक्ति भइआएका शिक्षकहरूले स्थानीय भाषा र उच्चारणसमेत नबुझ्दा र नयाँ शिक्षकहरूको भाषा पनि स्थानीय विद्यार्थीहरूले नबुझ्दा कहीँकहीँ समस्या देखिएको छ । अभिभावक र विद्यार्थीहरूबाट सुन्नमा आएको गुनासोमा शिक्षकहरूले हरेक शब्दहरूबारे राम्रो अर्थ र जानकारी दिने गरेमा विद्यार्थीहरू धेरै लाभान्वित हुने थिए ।
पहिले पहिले कर्मचारीहरूको बारेमा मात्रै ‘कर्मचारीहरूको काम, कहिले जाला घाम’ भन्ने उखान सा¥है चर्चा हुने ग¥थ्यो । अहिले ती नयाँ–नयाँ शिक्षकहरूको मानसिकताबारे त्यस्तै गुनासाहरू सुन्नमा आउँदै छन् । ती हुन्, ‘शिक्षक आफ्नो जिल्ला र गाउँका होइनन्, आफ्नै जात–जाति र भाषाभाषी पनि होइनन्, नातागोता पनि होइनन्, किन धेरै दुःख गर्ने ?’ भन्ने भावनाबाट ‘प्रेरित’ छन् ।
अभिभावक र विद्यार्थीहरूको भित्रभित्र गुम्सिएको आक्रोश हो – आइतबार बिदाको नाममा उही पुरानै कर्मचारीको भावना ‘कहिले जाला घाम’ कै नयाँ संस्करण हो ।
शिक्षकहरूले विद्यार्थीहरूको पक्षमा काम गर्ने हो – जसरी एक जना जनताको डाक्टरले रोगीको पक्षमा बोल्छन् – आइतबार अस्पतालमा बिदा दिएपछि घाइतेहरू कहाँ जाने, दैनिक घाउ सफा गराउनलाई विकल्प के हो भन्ने व्यापक असन्तोष सुनियो ।
केहीले जवाफ दिए – “निजी अस्पताल र क्लिनिकहरू छन् । तिनीहरूबाटै सेवा लिँदा समस्या सुल्झिहाल्थ्यो ।”
तर, आफ्नै टोल र गाउँको स्वास्थ्य केन्द्रमा थोरै रुपैयाँले उपचार पाउने ठाउँमा निजीमा धेरै रकम तिर्नुपर्ने बताएपछि बस्नु न उठ्नुभयो – बिरामी र अभिभावकलाई ।
गरिब जनताको अहितमा बनाउने नियम सरकारले त के डलरले बनाएको भए पनि त्यसको विरोध गर्नैपर्छ भन्ने चर्चा अब व्यापक हुँदै छ । हो, जनताका र पुँजीवादीका भनी डाक्टर र शिक्षकहरू पनि विभाजित छन् । अब जनताले आफ्नो मनको कुरो खुला रूपमा राख्नैपर्छ । प्रजातन्त्रको अर्थ यही हो ।
शिक्षक, राजनैतिक कार्यकर्ताहरूले बारम्बार ‘त्याग’, ‘तपस्या’ र ‘बलिदान’ का शब्दहरू युवा–विद्यार्थीहरूलाई घोक्न दिएको सुनिन्छ । तर, ‘त्याग’ को अर्थ के हो र क–कसले ‘के–के त्याग कसरी गरेर देखाए’ भनी शाब्दिक अर्थ र व्यावहारिक अर्थ बताउनु आवश्यक भएको अनुभव हुँदै छ ।
‘तपस्या’ को अर्थ के हो ? शाब्दिक र व्यावहारिक अर्थ प्रस्टाउनु अति आवश्यक छ । नत्र हाम्रा सरल विद्यार्थीहरू बुद्धको आसन र महात्माहरूको आसनको नक्कल गरी चुपचाप लागेर बस्नेछन् । ‘किताब हेर्नु’ भनेर विद्यार्थीलाई सिकाउँदा दिन–दिनभर किताब खोलेर हेरिरहँदा बज्यै र आमाहरूले कराएर पढभन्दा विद्यार्थीले जवाफ दिनेछन् – “सरहरूले किताब हेरिरहनु भन्नुभएको थियो ।”
त्यस्तै, ‘बलिदान’ को पनि शब्दमा होइन व्यावहारिक अर्थ बुझाउनु आवश्यक देखियो । त्यस शब्दलाई बारम्बार दोहो¥याइरहने हाम्रा ‘गुरु’, ‘नेता’ र ‘कार्यकर्ता’ ले समेत मौका पाउना साथै पद र पैसामा दल परिवर्तन गरेको देखियो । ‘बलिदान’ शब्दको अर्थ व्यवहारमा देखिएन ।
‘समाजमा आमूल परिवर्तन’ वाक्यांशबारे पनि शिक्षक र कार्यकर्ताहरूले ‘उत्पादनका साधनहरू वा सम्पत्तिमा निजी स्वामित्वको समाजलाई पूरै उल्टाउनुपर्ने जान्नु आवश्यक छ’ समाज वा राज्यको स्वामित्वमा फेर्ने ऐन–कानुन लागू गर्नुपर्ने र त्यसको व्यवहारमा आउने ठुलो परिवर्तनबारे सम्झाउनु फलदायी हुनेबारे ध्यान जानु अर्थपूर्ण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *