भर्खरै :

कुशे औँशी र दीपङ्कर पर्व औपचारिकतामा सीमित राख्न जोड

कोरोना सङ्क्रमित र मृतकको सङ्ख्या बढेसँगै कोरोना नियन्त्रण गर्ने उद्देश्यले सरकारले लकडाउनमा कडाइ गरेको छ । सरकारको निर्देशनअनुसार उपत्यकाका जिल्ला प्रशासन कार्यालयले पनि कुनै स्थानमा भेला हुन नहुने, चाडपर्वमा भीडभाड गर्न नहुने र अत्यावश्यक बाहेक अन्य पसलहरू बन्द गर्न जिल्लावासीमा आग्रह गरेका छन् । त्यसरी नै भक्तपुर नगरपालिकाले पनि चाड पर्व औपचारिकतामा मात्र सीमित राख्न, चाड–पर्वको नाउँमा भीड नगर्न, सामाजिक दुरी कायम गर्न र मास्क लगाउन प्रचारप्रसार गरिरहेको छ । विशेषगरी अहिले नजिकिँदै गरेको कुशे औँशी र दीपङ्कर पूजाको सन्दर्भलाई लिएर जिल्ला प्रशासन र भनपाले जनतामा सतर्कता अपनाउन आग्रह गरिरहेका छन् ।
जिल्ला प्रशासन र भनपाको आग्रहलाई आत्मसात गर्दै कतिपय पसल बन्द गरिएका छन् भने कतिपय गुठीहरूले पनि दीपङ्करको पूजामा सहभागी नहुने, त्यसक्रममा प्रत्येक वर्ष खाँदै आइरहेको गुठियारहरूको भोज कटौती गर्ने र पूजा औपचारिकतामा सीमित राख्ने निर्णय गरेको थाहा भएको छ । कोरोनाकै कारण यो वर्ष दीपङ्करहरू टोल–टोलमा नल्याउने निर्णय यसअघि नै भइसकेको छ । एक महिनासम्म चल्ने गुँला बाजा पनि बन्द छ । निर्धारित विभिन्न स्थानमा ल्याइने पाँच दीपङ्कर पनि नल्याउने भएपछि पूजामा संलग्न हुने गुठियारहरू पनि आफ्नो पूजालाई औपचारिकतामा सीमित राख्ने र भोज खाने काममा पनि कटौती गर्ने छलफल भएको बुझिएको छ ।
दीपङ्कर मेलामा हजारौँ मानिसको सहभागिता हुन्छ । दीपङ्कर पर्वमा टोल–टोलका गुठियार र स्थानीय जनताको ठूलो सहभागिता हुने भएकोले पनि यस पर्वलाई औपचारिकतामा सीमित राख्न आग्रह गरिएको हो । यसरी नै यसअघिको गाईजात्रा, बिस्का जात्रा पनि औपचारिकतामा सीमित राख्न गरिएको आग्रहलाई स्थानीय जनताले साथ र समर्थन गरेका थिए । कुशे औँसीमा भक्तपुरवासीहरू गोकर्ण पुगेर श्राद्ध गर्ने परम्परा छ । कारणवस त्यहाँ पुग्न नसकेकाहरूले भक्तपुरको हनुमानघाट परिसरमा श्राद्ध गर्ने गरिन्छ । यसै दिन बुबाको मुख हेर्ने परम्परा छ । यसकारण दीपङ्कर पर्व र कुशे औँसीमा पनि विगतमा झैँ औपचारिकतामा सीमित राख्नुपर्ने समयको आवश्यकता हो । यसतर्फ विभिन्न गुठी, सामाजिक सङ्घ संस्था, दाफाभजन तथा स्थानीय जनताको सहयोग आवश्यक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *