भर्खरै :

सङ्क्रमण प्रतिरोधी अनुशासनको पालना गरौँ

बिहीबार काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले उपत्यकामा बढ्दो सङ्क्रमण रोकथाम र नियन्त्रण गर्ने हेतुले एकै व्यहोराका ‘आदेश’ जारी गरे । आदेशमा आगामी भदौ १५ गतेसम्मका लागि दसवटा निषेधात्मक घोषणा गरिएको छ । तर, ती निषेधात्मक प्रावधानको कडाइपूर्वक पालनाले मात्र काठमाडौँ उपत्यकामा फैलिरहेको कोभिड–१९ रोकथाम सम्भव छ । जनजीवन र आर्थिक गतिविधिमा झन्डै लकडाउनकै असर पार्ने ती निषेधात्मक घोषणाले रोग नियन्त्रणमा भने प्रभावकारी भूमिका खेल्न जरुरी छ । सङ्क्रमणको ‘रेडजोन’ बनिसकेको काठमाडौँ उपत्यकाभित्र महामारीबाट थप क्षति हुनबाट रोक्ने सबै सरकारी र सुरक्षा निकायको प्रभावकारी परिचालन आवश्यक छ । अधकल्चो प्रयासले मात्र महामारीको असर कम गर्न सकिने अवस्था छैन । समयमै उपयुक्त निर्णय गर्न अलमल गर्दा त्यसले पार्ने दीर्घकालीन प्रभाव अनियन्त्रित हुुनसक्छ ।
प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको आदेशले मानिसको आवतजावतमा कुनै कमी देखिएन । सङ्क्रमण सामुदायिक स्तरमै फैलिसकेको हुनाले मानिसलाई घरमै बसाल्नुबाहेक रोगको प्रतिरोध गर्ने अर्को विकल्प छैन । सरकारी कार्यालयहरू बन्द भए पनि अधिकांश निजी कार्यालयहरू खुलेकै छन् । सडकमा सवारी साधनको सङ्ख्यामा कुनै कमी आएको देखिन्न । त्यस्ता क्षेत्रमा सावधानीका अनुशासन कडाइपूर्वक पालना गर्नु गराउनु सबैको दायित्व हो ।
सरकारले सङ्क्रमित फेला परेको निश्चित स्थानलाई मात्र सिल गर्ने गरेको छ । स्वास्थ्य मन्त्रालयले सङ्क्रमण पुष्टि भएको व्यक्तिको सङ्ख्या सार्वजनिक गरेको भोलिपल्टमात्र सुरक्षाकर्मीले सङ्क्रमितको घर वरपर सिल गर्ने गरिएको छ । पीसीआर परीक्षण गरेको व्यक्ति अन्तिम नतिजा नआउँदासम्म एकान्तवासमा बस्नुपर्ने नियमको खास पालना भइरहेको छैन । अझ पीसीआर परीक्षणमा पोजेटिभ परिणाम आएका कति व्यक्तिहरू सम्बन्धित सरकारी निकायको सम्पर्कमा नरहेको बताइएको छ । पीसीआर परीक्षणको नतिजा पनि प्रयोगशालाअनुसार फरक फरक आएका खबर पनि सार्वजनिक भइरहेका छन् । कोरोना पोजेटिभ आएका व्यक्तिहरूलाई आइसोलेसनमा राख्न सरकारले शय्यासमेत पुग्दो बन्दोबस्त गर्न सकेको छैन । सङ्क्रमण पुष्टि भएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा उस्तै भद्रगोल छ ।
कोभिड–१९ बाहेक अन्य रोगका बिरामीहरूको उपचारमा उस्तै भद्रगोल र लापरबाही भइरहेको छ । उपचार नपाएर अन्य रोगका बिरामीहरूले कठिन समय व्यतीत गरिरहेका छन् । कतिको अस्पताल जान नपाई निधन भइरहेको छ ।
कोरोना केन्द्रित अस्थायी अस्पतालहरूको स्थापना नगर्दासम्म अरू रोगका बिरामीहरूसमेतले ज्यान गुमाउने अवस्था छ । त्यसकारण तत्काल अस्थायी अस्पतालहरूको निर्माण गर्न जरुरी छ । कम्तीमा विशेष उपचार गर्न नपर्ने कोभिड–१९ का सामान्य बिरामीलाई अस्थायी अस्पतालमा राख्न सक्दा रोगले च्यापेका सङ्क्रमितको निम्ति शय्याको बन्दोबस्त गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *