भर्खरै :

भक्तपुर काण्डको उपहार “जेलका चिट्ठीहरू”

वि.सं २०४५ सालमा नेपाल मजदुर किसान पार्टीलाई पञ्चायती राज्यस्तरबाट समूल नष्ट पार्ने उद्देश्यले रचिएको षड्यन्त्र हो–भक्तपुर काण्ड । त्यतिबेला मरिचमान सिंहको सरकार र स्थानीय पञ्चायती प्रतिक्रियावादी तत्वहरू मिलेर राज्यस्तरको षड्यन्त्र रचिएको थियो । त्यस षड्यन्त्रबाट नेमकिपाका कैयौँ नेता तथा कार्यकर्ताले कुनै अपराध नगरिकनै सजाय पाएका थिए । कर्णप्रसाद ह्योजूको हत्याको आरोपमा कैयौँ भक्तपुरका जनता तथा किसानहरूले कष्टदायी पीडा भोग्नुप¥यो । अझ भक्तपुरका महिलाका लागि सा¥है निर्दयी र क्रूर थिए–ती दिनहरू । महिलाहरूले सामाजिकरूपमा थुप्रै अपमान र आर्थिकरूपमा ठूलो कठिनाइ सहनु परेको थियो । मुद्दामा परेका हरेक घरका सदस्यले आँसु नबगाएको रात थिएन । श्मशानजस्तै सुनसान थिए त्यसबेलाका दृश्यहरू । तर, भक्तपुर काण्डका पीडितहरूका आँसु नै समयान्तरमा आशाका किरण बने । जुन नयाँ युगको बीज बन्न सफल भए ।
पञ्चायतविरोधीहरूलाई एक एक गरी सिध्याउने एउटा अर्को चाल थियो भक्तपुर काण्ड । सिङ्गो नेपाल मजदुर किसान पार्टी (तत्कालीन सङ्गठन) र भक्तपुरका जनताका लागि यो अग्नि परीक्षा थियो । वि.सं २०४६ सालको जनआन्दोलनको सफलतापछि सबै बन्दीहरू रिहा भए । निरङ्कुश पञ्चायती व्यवस्था ढल्यो ।
वि.सं २०४५ सालको भूकम्पपछि भक्तपुरमा के–के भयो र सरकारले षड्यन्त्र सफल बनाउन के कस्ता कार्य गरे भन्ने विषयमा जानकारी दिन केही पुस्तकहरू प्रकाशित छन् । ती पुस्तकहरू अध्ययन गर्दा शरीरका रौँ ठाडा हुन्छन्, घटना भएको तीन दसक बितिसक्दा पनि मन अझै भक्कानिन्छ । भक्तपुर काण्डका भुक्तभोगीहरूको चाखलाग्दो बयान र अनुभवहरूले प्रतिक्रियावादीहरू र सामन्ती पुँजीवादी व्यवस्था कति क्रूर, निरङ्कुश र अत्याचारी हुन्छन् भन्ने कुरा प्रस्ट हुन्छ ।

‘के म कान्छी श्रीमती हुँ ?’ ‘किन ढिला विवाह गर्नुप¥यो ?’ भन्ने शोभा भाउजूको पूर्ण व्यक्तिगत प्रश्नको उत्तर दिने प्रयास गर्नुभएको छ । व्यस्त राजनीतिक गतिविधिको कारणले आफ्नो व्यक्तिगत जीवनको विषयमा सोच्न नभ्याएको कुरा चिट्ठीमार्फत बताउनुभएको छ । बिहान जनताको सेवा, दिउँसो स्कूल र ट्युसनबाट हातमुख जोर्ने, राति अध्ययन, भेटघाट नै लेखकको जीवन बनेको थियो सक्रिय युवा उमेरमा । एक केटीसँग विवाह हुने कुरा चलेपछि भेटघाटको लागि जान लाग्दा भ्रष्टाचारविरोधी आन्दोलनमा सहकर्मीहरू गिरफ्तार हुँदा भूमिगत जानु पर्दा केटीसँग भेट्न जान नपाएको रोचक प्रसङ्ग छ ।

नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ, केन्द्रीय समितिद्वारा प्रकाशित ‘जेलका चिट्ठीहरू’ नारायणमान बिजुक्छेँले आफू जेलमा रहँदा आफ्नी प्रिय जीवनसाथी शोभालाई लेख्नुभएका चिट्ठीहरूको सङ्कलन हो । वास्तवमा यी चिट्ठीहरू चिट्ठीमात्र नभई एक ऐतिहासिक दस्तावेज पनि हुन् । नेपाली चिट्ठी साहित्यमा यो कृति उल्लेखनीय उपलब्धि हो । पुस्तकका सङ्कलित चिट्ठीहरूमा नारायणमान बिजुक्छेँको जीवनशैली छ, अनुभव छ । भक्तपुरको सुन्दर कला र संस्कृतिको व्याख्या छ । इतिहास छ । बालमनोविज्ञान छ ।
तत्कालीन समयमा भक्तपुर, नेमकिपा र आफ्नै नातागोता, शत्रु र मित्र सबै चिनी नसकेकी जहान शोभालाई अचानक आएको बाढी सानो थिएन । कहालीलाग्दो कठिन परिस्थितिमा परिवारसम्म पु¥याइने अनेक झूटा हल्ला, आरोप, लोभलालच र विचलित पार्ने विषयबाट टाढा राख्न नारायणमान बिजुक्छेँले चिट्ठीको सहारा लिनुभयो । आज पनि यी चिट्ठीहरू त्यतिकै सान्दर्भिक छन् । अविचलित पारिवारिक एवं राजनीतिक यात्रा र अथक सङ्घर्ष पछाडि त्यस समयावधिमा यी चिट्ठीहरूले आफ्नो कर्तव्यप्रति उत्साह जगाउन महत्वपूर्ण भूमिका खेलेको हुनुपर्छ ।
पुस्तककोे लेखकीयमा उल्लेख एक अंश यहाँ उद्धृत गर्नु सान्दर्भिक हुन्छ– “एकजना राजनीतिक कार्यकर्ता स्वयम् एक जिम्मेवार अगुवा मानिस भएको हुँदा उनको मन पनि दुख्छ, रुन्छ तर शत्रु हाँस्ने हुँदा उसले आँसु बगाउने गर्दैन । यही भक्तपुर काण्डको कथाको एक पाटो हो ।”
साथै ‘राजनीतिमा देश र जनताको सेवा गर्नु पहाडकै यात्राजस्तै हो । कोही अगाडि, कोही बीच र कोही पछाडि पर्छन्, कहिलेकाहीँ पछाडि पर्नेहरू यात्रा छोडेर साथीहरूबाट टाढा जान्छन्’ भन्ने पाठ २०४५ सालको भक्तपुर काण्डले सिकाएको छ ।
‘जेलका चिट्ठीहरू’ पुस्तकमा मितिसहितका जम्मा २१ वटा छोटा मीठा जानकारीमूलक पत्रहरू छन् । पत्रको सुरु वा अन्त्यमा लेखकले आफ्नो स्वास्थ्यको बारेमा उल्लेख गर्नुभएको छ । अगाडिका पत्रहरूमा सञ्चो बिसञ्चो, खानेकुरा, आवश्यक सामान, लुगा, पुस्तक, पत्रपत्रिका, औषधि आदिबारे व्याख्या गरिएको छ । दोस्रो पत्रमा बङ्गाली संस्कृति र नेपाली संस्कृतिबीच तुलनात्मक अध्ययन भएको छ । आफ्नोपना र विविधता नै जीवन हो । हरेक जाति र देशको कला र संस्कृतिले त्यस देशको भूगोल र इतिहासलाई अभिव्यक्ति दिएको हुन्छ भनी उदाहरणसहित उक्त पत्रमा प्रस्तुत छ ।
अर्को पत्रमा लेखकले प्रगतिशील साहित्यको अध्ययन थालेपछि स्वाभाविक युवा सुलभ जीवनप्रति वितृष्णा बढ्दै गएको र आफूले ‘सरल जीवन र उच्च विचार’ अँगालेको कुरा उल्लेख गर्नुभएको छ । भिक्षु भई निःस्वार्थरूपले देश र जनताको सेवा गर्न युवा बौद्ध सङ्गठनमा समेत भर्ना भएको रमाइलो चर्चा चिट्ठीमा छ । उहाँले ‘अरूको खुसी र सुखमा आनन्द अनुभव गर्छु, अरूको दुःख कष्टले कहिलेकाहीँ मेरो आँखा रसाउँछ, विचलित पार्छ । अरूलाई मद्दत गरेको दिन मन हलुका हुन्छ’ भनी पाठकलाई अरूको लागि जीवन बाँच्ने प्रेरणा दिनुभएको छ ।
त्यस्तै लेखककी बङ्गाली साथी धिराको प्रसङ्ग पाठकको लागि रोचक हुनसक्छ । कलकत्ताबाट बिदा हुने क्रममा धिराले ‘हामी बिदा हुँदा हात नमिलाई नमस्तेमात्र गरौँ’ भन्ने अनुरोध गरेकी थिइन् । बङ्गाली सांस्कृतिक परिवेशमा धिरालाई बाँच्नु थियो । उनले देखाएको संवेदनशीलताबाट आफू प्रभावित भएको कुरा लेखक बताउनुहुन्छ । असल अनि राम्री धिराले लेखकलाई भाइसमान माया गर्थिन् । त्यसैले त बिदाइको समयमा उनले आँसु थाम्न सकिनन् ।
केही चिट्ठीहरू पाठकको मन प्रफुल्लित बनाउने खालका छन् । जेलभित्र रेडियोमार्फत सुनेका गीत–सङ्गीतले लेखकलाई गीत र प्रकृतिको विषयमा छलफल गर्न समय लागेन । उहाँ भन्नुहुन्छ, “नेपालको प्रकृतिको छाप नेपाली हृदयमा पर्छ र नेपालका सबै जातजातिहरू गीतैगीतमा आ–आफ्ना दुःख–सुखका भावनाहरू व्यक्त गर्छन् ।”
आफू जेल रहँदा परिवार अनि समाजमा भिज्न सहयोग होस् भनी लेखकले सहयात्रीलाई आफ्नो पुर्खाबारे जानकारी दिनुभएको छ । साथै भक्तपुरको इतिहास र संस्कृतिबारे चिट्ठीको बीच–बीचमा चर्चा गर्नुभएको छ । भक्तपुरका कतिपय कलाकृतिहरूमा विदेशको प्रभाव रहेको कुरा उदाहरणसहित प्रस्ट्याउनुभएको छ । जस्तैः सँझ्या (तिब्बती झ्याल), ५५ झ्याले दरबार आदि । जसमा कला र वास्तुकला चिनियाँ छ भने मूर्तिहरू हिन्दू धर्मशास्त्रसँग सम्बन्धित छन् ।
त्यस्तै लेखकले चिट्ठीमा भक्तपुरका कलात्मक झ्यालहरूलाई संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । भक्तपुरका परम्परागत शैलीका घरहरू चेतना र सांस्कृतिक स्तर नभएका व्यक्तिहरूबाट नास भएको र व्यक्तिगत, ऐतिहासिक र पुरातात्विक महत्व भएका घरको संरक्षण र संवद्र्धन गर्नुपर्ने प्रसङ्ग उठाउनुभएको छ । एउटै मात्र भएको भक्तपुरको बालाखु टोलको उँटे झ्याल दाजुभाइको झगडाको कारण अंशबन्डामा आधा गरिएबाट लेखकले चिन्ता पोख्नुभएको छ । अङ्गभङ्ग भएको उक्त उँटे झ्यालमा उँट, समुद्र, समुद्रको लहर र आकाशमा बादलहरू रहेबाट उक्त झ्यालका कलामा इरान वा अरब देशहरूको छाप देखिन्थ्यो ।
उहाँ थप्नुहुन्छ, “भक्तपुरको हरेक काठको टुक्रामा कला चियाउँछ, हरेक ढुङ्गो स्वयं मूर्तिमान छ र हरेक इँटा आफैँ वास्तुकलाको एक नमुना हो ।”
असोज ४ गतेको चिट्ठीमा ‘के म कान्छी श्रीमती हुँ ?’ ‘किन ढिला विवाह गर्नुप¥यो ?’ भन्ने शोभा भाउजूको पूर्ण व्यक्तिगत प्रश्नको उत्तर दिने प्रयास गर्नुभएको छ । व्यस्त राजनीतिक गतिविधिको कारणले आफ्नो व्यक्तिगत जीवनको विषयमा सोच्न नभ्याएको कुरा चिट्ठीमार्फत बताउनुभएको छ । बिहान जनताको सेवा, दिउँसो स्कूल र ट्युसनबाट हातमुख जोर्ने, राति अध्ययन, भेटघाट नै लेखकको जीवन बनेको थियो सक्रिय युवा उमेरमा । एक केटीसँग विवाह हुने कुरा चलेपछि भेटघाटको लागि जान लाग्दा भ्रष्टाचारविरोधी आन्दोलनमा सहकर्मीहरू गिरफ्तार हुँदा भूमिगत जानु पर्दा केटीसँग भेट्न जान नपाएको रोचक प्रसङ्ग छ । दुईतीन वर्ष कुर्दा पनि लेखकको जीवनशैलीमा कुनै परिवर्तन नआएपछि ती केटीको अर्कैसँग विवाह भयो । लेखक भन्नुहुन्छ, “पैसा, सुनचाँदी र घरसम्पत्तिले मेरो विवाहको फैसला हुन सकेन, यसैमा मलाई सन्तोष छ । विवाहको निम्ति मैले आफ्नो विचार र भावनालाई तिलाञ्जली दिन परेन ।” यसप्रकार सङ्गठन र राजनीतिकै कारण अनेकौँ नागबेली र बाधा व्यवधानपछि मात्रै ढिला विवाह भएको उत्तर दिनुभएको छ ।
एक चिट्ठीमा रौतहट जिल्लाको गौर बजारले लेखकको बाल हृदयमा परेको छापबारे विस्तृत रूपमा शोभा भाउजूलाई बताउनुभएको छ । गौरका अनेकौँ आध्यात्मिक, वैज्ञानिक र व्यवहारिक अध्ययन र घटनाहरूले नै उहाँको अवचेतन मनमा प्रगतिशील, साहित्यिक र राजनैतिक बीउ छरेको कुरा उल्लेख छ ।
२०४६ असोज २९ गतेको चिट्ठीमा पुस्तकको अध्ययनको सारसङ्क्षेप बताउने प्रयास गरिएको छ । जसमा लेखकले ‘जालझेल र षड्यन्त्रको इतिहास पढ्दा राजनीतिबाट घृणा उत्पन्न हुनु स्वाभाविक हो । हामीमध्ये कसैले राजनीतिबाट सन्यास लिए पनि राजनीतिले समाजबाट सन्यास लिने छैन, हामीले दुःख नपाए पनि अरूले दुःख पाउनेछन् भनी पाठकलाई सन्देश दिन खोजेको देखिन्छ  ।
कार्तिक ३ गतेको चिट्ठी पढेर एकक्षण नहाँस्ने पाठक सायदै होला । त्यसमा लेखिएको छ–‘शोभा, पत्र अरूलाई नदेखाउनु, भाइहरूले पनि हेर्ने छैनन्, पहिलेका मानिसहरू अरूको पत्र हेरेमा पाप लाग्छ भन्ने विश्वास गर्छन् । व्यावहारिकरूपले बुझ्ने हो भने अरूको गुप्त जीवन वा लोग्ने स्वास्नीको कुरा सुन्नु वा पत्र हेर्नु स्वयम् भलाद्मीपनमा गनिँदैन । पुराना दम्पत्तिहरू आफ्नो कुरा अरूले थाहा पाए लाज मान्छन् । त्यो भावना मसँग पनि छ, यस मामिलामा म पनि पुरानै छु ।’ लेखकको यो निजात्मक अभिव्यक्ति रोचक छ । २५ वर्षभन्दा बढी समयसम्म शोभा भाउजूले सम्हालेर राख्नुभएका यी चिट्ठीहरू अहिले प्रकाशित भएका छन् । तर, आज यिनै चिट्ठीहरू पाठकहरूका लागि जानकारीमूलक र ज्ञानबद्र्धक पठन सामग्री बनेका छन् ।
पुस्तकका चिट्ठीहरूमा नारायणमान बिजुक्छेँले आफ्नो स्वास्थ्यको विषयमा जानकारी दिनुका साथै परिवारका अन्य सदस्यहरूको विषयमा हालखबर पटक–पटक सोध्न भ्याउनुभयो । तर, शोभा भाउजूको स्वास्थ्यको विषयमा सोध्न नभ्याएको र औपचारिकतासमेत निभाउन नसकेकोमा उहाँलाई दुःख लागेको कुराले भावुक बनायो । लेखक आफ्ना छोराहरू सुवेग र सुवानको भविष्यबारे चिन्तित हुनुहुन्छ । “बाल मनोविज्ञानलाई बुझ्ने कोसिस गर ।’ ‘केटाकेटीहरूलाई केटाकेटी रहन देऊ ।” भनी बालमनोविज्ञानबारे केही सन्दर्भहरू जोड्नुभएको छ ।
‘जेलका चिट्ठीहरू’ शोभा भाउजूको लागि नारायणमान बिजुक्छेँलाई बुझ्ने एक सुनौलो अवसर हो भन्ने लाग्छ । घर बस्दा कुराकानी गर्न नपाए पनि आफ्नो जीवनका अनेकौँ उतारचढावहरूको विषयमा स–विस्तार चिट्ठीहरूमार्फत बताउनुभएको छ ।
राजनीति गुलाफको ओछ्यान होइन । जीवनमा थुप्रै समस्या तथा चुनौतीको सामना गर्नुपर्छ । अनेक हन्डरका बीचमा पनि देश र जनताको सेवामा जीवन समर्पित गर्नुपर्छ भन्ने सन्देश यस पुस्तकले दिएको छ ।
प्रतिकूलताका पहाडहरू छिचोली रहनुभएकी शोभा भाउजूको निम्ति जेलका साँघुरो कोठाबाट लेखिएका पत्रहरू प्रोत्साहनको चौतारी बनेको हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *