भर्खरै :

“भक्तपुर काण्ड विशेषाङ्क” भित्र

असल काम गर्ने मानिस धेरैको प्यारो हुन्छ अनि खराब काम गर्नेहरूका निम्ति त्यस्तो मानिस आँखाको कसिङ्गर हुन्छ । असल कामलाई छायाँमा पार्न र असल काम गर्ने हातलाई निमिट्यान्न पार्न खराब मतिका मानिसहरूले षड्यन्त्रको तानाबाना बुन्न सुरु गर्छन् । तर, हत्केलाले आकाशलाई छेक्न नसकेझैँ असल काम गर्ने हातहरूको विरोधमा बुनेका हरेक षड्यन्त्रका तानाबाना ढिलो वा चाँडो असफल हुन्छन् र अरूलाई खसाल्न खनेको खाल्डोमा आफैँ पुरिन्छ । यसैको ज्वलन्त उदाहरण हो–वि.सं २०४५ सालमा भक्तपुरमा राज्यस्तरले रचेको षड्यन्त्र–‘भक्तपुर काण्ड’ । नेमकिपालाई समूल नष्ट पार्न निरङ्कुश पञ्चायती राज्यस्तरले रचेको सो षड्यन्त्रले निरङ्कुश पञ्चायती व्यवस्थाकै अन्त्य भयो ।
९ भदौ २०६८ सालमा प्रकाशित ‘मजदुर’ दैनिकको ‘भक्तपुर काण्ड’ विशेषाङ्कमा त्यस समयका भुक्तभोगीहरूका १९ वटा संस्मरणहरू सङ्कलित छन् ।
विशेषाङ्कको पहिलो लेखमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको ‘२०४५ को काण्डको राजनैतिक शिक्षा’ शीर्षकको लेख पढ्न सकिन्छ । जसमा उहाँले भ्रष्ट, पञ्च, मण्डले र प्रतिक्रियावादीहरूको व्यक्तिगत स्वार्थ र भारतीय पक्षलाई झूटा सूचनाहरू दिने प्रतिगामीहरूकै कारण भक्तपुर काण्डको षड्यन्त्र रचिएको कुरा प्रस्ट पार्नुभएको छ ।
चोरले सधैँ अरूलाई चोर देख्छ र असलले सधैँ अरूलाई पनि असल नै देख्छ । यस दृष्टिकोणले जुनसुकै क्षेत्रमा अघि बढ्न कठिन हुन्छ । त्यसैले शत्रु र मित्र चिन्ने क्षमता सबैले राख्न सक्नुपर्छ । आफ्नो संस्मरणमा का. रोहित लेख्नुहुन्छ– “शत्रु र मित्र नचिन्ने हरेक वर्ग र राजनैतिक शक्तिले पछुताउनुपर्ने हुन्छ । राजनीति आवेशमा गरिने वा अहङ्कारको अभिव्यक्ति हुने गर्दैन बरु प्रगतिशील परिवर्तनको तर्क र घच्घच्याइबाट प्रेरित निर्णय हुने गर्छ । २०४५ सालको भक्तपुर काण्डको षड्यन्त्रको शिक्षा नै यही हो । ”
नेमकिपा सचिव एवम् सांसद प्रेम सुवालले आफ्नो संस्मरणमा बहुदल पुनःस्थापनाको १०÷१२ वर्षपछि भएको एउटा भेटघाटमा तत्कालीन प्रम मरिचमानसिं श्रेष्ठले भक्तपुरमा ह्योजू हत्या हुनु गलत भएको प्रसङ्ग उठाएको कुरा उल्लेख गर्नुभएको छ । त्यसैबेला मरिचमानलाई प्रम भएर ‘फाँसी दे ¤’ भनी नारा लगाउने तपाईँ नै हुनुहुन्छ, त्यसैले ह्योजूको हत्याको दोषी तपाईं नै हुनुहुन्छ भनेर दिनुभएको उत्तरले उनी चुप लागेको कुरा सांसद सुवालले आफ्नो संस्मरणमा लेख्नुभएको छ । संस्मरणमा उल्लेख भएझैँ आज घटना भएको ३२ ÷३३ वर्ष बितिसकेर गणतन्त्र आइसक्दासमेत नेमकिपामाथि हिलोछ्याप्ने काम रोकिएको छैन ।
नेताको काम आगामी चुनावबारे मात्र सोच्नु होइन, देशको भविष्यबारे सोच्नु हो । ‘दाइको सामीप्यमा बस्दा’ शीर्षकको चैत्यराज शाक्यको संस्मरणले हामीलाई यही कुरा स्मरण गराउँछ । उहाँले आफ्नो संस्मरणमा अहिलेको तराईसम्बन्धी समस्या जुन ढङ्गले अगाडि आइरहेको छ , दाइ (का.रोहित) ले त्यस विषयमा त्यतिबेलै कुराकानी गर्नुभएको कुरा उल्लेख गर्नुभएको छ ।
चन्द्रबहादुर उलकले लेख्नुभएको ‘मलाई पत्याउन गा¥हो भो’ शीर्षकको संस्मरणमा राज्यले बलिको बोको बनाएको ह्योजूलाई बचाउन साथीहरूले गर्नुभएको प्रयास उल्लेख गरिएको छ । २०४५ सालमा ह्योजूले भूकम्पपीडितहरूलाई राहत दिने भन्दै धाँधलीपूर्ण ढङ्गले राहत कुपन वितरण गरिरहेको स्थानमा भीडभाड बढेपछि ह्योजूसँग रहेका दुईजना प्रहरी एकाएक बाहिरिएको तथा सूर्यमढीमा ह्योजूलाई पेटमा लाती हान्ने व्यक्तिहरू स्थानीय नभएको जानकारी उहाँको संस्मरणबाट प्राप्त गर्न सकिन्छ ।

चोरले सधैँ अरूलाई चोर देख्छ र असलले सधैँ अरूलाई पनि असल नै देख्छ । यस दृष्टिकोणले जुनसुकै क्षेत्रमा अघि बढ्न कठिन हुन्छ । त्यसैले शत्रु र मित्र चिन्ने क्षमता सबैले राख्न सक्नुपर्छ । आफ्नो संस्मरणमा का. रोहित लेख्नुहुन्छ– “शत्रु र मित्र नचिन्ने हरेक वर्ग र राजनैतिक शक्तिले पछुताउनुपर्ने हुन्छ । राजनीति आवेशमा गरिने वा अहङ्कारको अभिव्यक्ति हुने गर्दैन बरु प्रगतिशील परिवर्तनको तर्क र घच्घच्याइबाट प्रेरित निर्णय हुने गर्छ । २०४५ सालको भक्तपुर काण्डको षड्यन्त्रको शिक्षा नै यही हो । ”

भनिन्छ, कि पढेर जानिन्छ कि परेर । त्यत्तिबेला घटनामा परेर जानेका आदरणीय काकी र दिदीहरूको संस्मरण पढ्दा अहिलेका हामी पढेर जानेका महिलाहरूले उहाँहरूको भूमिका र योगदानबाट धेरै कुरा सिक्न सक्छौँ ।
‘भक्तपुर काण्ड’ षड्यन्त्रमा फसाइएका नेता तथा कार्यकर्ताहरूले जति कठिनाइको सामना गर्नुभयो, त्यति नै कठिनाइ उहाँहरूका जहान परिवारले पनि सामना गर्न बाध्य हुनुभयो । ‘ज्यानमाराकी श्रीमती’ शब्दले उहाँहरूको छाती कति छियाछिया भयो होला भन्ने कुराको अनुमान उहाँहरूको संस्मरण पढ्दा लगाउन सकिन्छ । त्यस्तो विषम परिस्थितिमा शत्रुको अपमान तथा मानसिक यातना सामना गर्दै घरपरिवार र छोराछोरी सम्हालेर बस्न सक्ने उहाँहरूको साहस सम्मानयोग्य छ ।
यसमा सङ्कलित सबै संस्मरणहरूमा त्यत्तिबेला काकी र दिदीहरूले खेल्नुभएको भूमिका प्रस्ट पारिएको छ । त्यस्तो कठिन परिस्थितिमा पनि महिलाहरूले साहसपूर्वक राज्यस्तरबाट रचित षड्यन्त्रलाई नाङ्गेझार पार्न एवं निरन्तर सङ्घर्ष र आन्दोलनलाई अगाडि बढाउन सक्रिय भूमिका खेल्नुभयो । विशेषाङ्कमा समेटिएका नक्कली बासुकला, तारा शाक्य, मैयाँ दुवाल र कृष्णमाया लवजूका संस्मरणहरू पठनीय छन् ।
सुवेगमान बिजुक्छेँको ‘बालमस्तिष्कमा भक्तपुर काण्ड’ संस्मरणले त्यो कठिन समयले बालबालिकाहरूको मस्तिष्कमा समेत गहिरो असर पारेको बुझ्न सकिन्छ ।
योगेन्द्रमान बिजुक्छेँको ‘भक्तपुर काण्डका केही सम्झना’ संस्मरणमा कानुनी लडाइँको लागि प्रगतिशील तथा प्रजातन्त्र पक्षधर अधिवक्ता तथा सत्यतथ्य समाचार प्रकाशन गर्नका लागि पत्रकारहरूसँग गरेका भेटघाटबारे लेख्नुभएको छ । संस्मरणमा असोज १ गते शनिबारको दिन भएको एकपक्षीय सरजमीन खारेज गर्न जनताको हस्ताक्षर सङ्कलन अभियानसमेत चलेको र उक्त अभियानबारे समाचार पनि प्रकाशित भएको कुरा उल्लेख छ । उक्त संस्मरणको ‘भद्रगोलभित्रको नयाँ संसार’ उपशीर्षक पढ्दा व्यस्त कार्यतालिकाले जस्तोसुकै कठिन परिस्थिति पनि सामान्य बन्दै जाँदोरहेछ भन्ने कुरा अनुभव गर्न सकिन्छ ।
मानिसको परीक्षा कठिन परिस्थितिमै हुन्छ । ‘भक्तपुर काण्ड’ राजनैतिक नेता, कार्यकर्तादेखि सामान्य जनतासम्मको लागि परीक्षणकालको अवस्था थियो । त्यस परीक्षणकालमा जो उत्तीर्ण भए तिनीहरू सामान्य जनतामात्र भए पनि आजसम्म स्वाभिमानपूर्वक शिर उँचो पारेर बाँचेका दिन तर जो अनुत्तीर्ण भए तिनीहरू कार्यकर्ता नै भए पनि हिनताबोधले पीडित भएर बाँचे भन्ने जानकारी ज्ञानसागर प्रजापतिको संस्मरण ‘राजनीतिक विचारको परीक्षण’ र प्रधुम्न प्रजापतिको ‘२०४५ साल भदौ ९ गतेको संस्मरण’ बाट प्राप्त गर्न सकिन्छ ।
कवि दामोदर सुवाल भूमिगत हुने क्रममा चित्रकला सिकाउन धरानको पाख्रीबास पुग्नुभयो । राम्रो चित्रकलाकै कारण उहाँले जागिर पाउने निश्चित थियो । तर, त्यस समयको पन्ध्र हजारको आकर्षक तलबसहितको जागिर र बेलायत घुम्न पाउने मौकालाई चटक्कै छोडेर आफ्नो नैतिकता रोज्नुभएका कवि दामोदर सुवालको ‘भूतले लखेटेका दिनहरू’ शीर्षकको संस्मरण सबैका लागि प्रेरणादायी छ ।
आफू सामान्य समर्थकमात्र भएकोले त्यस्तो मुद्दामा फसाउला भन्ने कल्पना पनि गर्नुभएको थिएन ‘भक्तपुर काण्ड’ का भुक्तभोगी राजुभाइ अमात्यले । जेलमा उहाँलाई प्रहरीहरूले ‘ह्योजूलाई रोहितले मार्न लगाएको हो’ भन्न लगाउन खोजेका थिए । तर, त्यसलाई अस्वीकार गरेपछि यातनाको क्रम झन् बढ्दै गएको कुरा उहाँले संस्मरणमा उल्लेख गर्नुभएको छ । चलचित्रमा प्रहरीले असत्यलाई सत्य साबित गराउन अभियुक्तहरूलाई यातना दिएको दृश्य हामीले हेरेका छौँ । उहाँको जेलको चित्रण पनि चलचित्रको दृश्यजस्तै लाग्छ ।
‘२०४५ मा लोकमत बुझ्दै जाँदा’ शीर्षकको सीताराम कुम्पाखको संस्मरण पढ्दा प्रहरी रक्षक होइन, भक्षक भएको साबित हुन्छ । १०÷११ दिनकी उहाँकी सुत्केरी जहानलाई तत्कालीन प्रहरी इन्सपेक्टर अर्जुनजङ्ग शाहीले उहाँ बसेको घर देखाई दिनु भन्दै काखमा भएको शिशु नखसुञ्जेल घिसार्न नछोडेकोे कुरा पढ्दा भक्तपुरमा प्रहरी ज्यादतीको अनुमान लगाउन सकिन्छ ।
‘भक्तपुर काण्ड’ विशेषाङ्कमा भक्तलाल दुवाल, बालमुकुन्द बासुकला र गोविन्दराम थुसाका संस्मरणहरू पनि पठनीय छन् ।
यस विशेषाङ्कमा सङ्कलित संस्मरणहरू कथाजस्तै छन् जति पढे पनि पढूँ पढूँ लाग्ने । भक्तपुर काण्डको समयमा भक्तपुरका दिनहरू चुक घोप्टिएझैँ काला थिए । ती नै काला दिनहरूको स्मरणमा लेखिएका संस्मरणहरूमा भुक्तभोगीहरूका जेलजीवन र भूमिगत जीवनका अनुभवका साथसाथै उहाँहरूका आफ्नै कथाव्यथा पनि पढ्न सकिन्छ ।
विशेषाङ्क प्रकाशित भएको दस वर्ष भयो । तर, पनि यो विशेषाङ्क आज पनि त्यतिकै सान्दर्भिक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *