भर्खरै :

नामले होइन, कामले चिनौँ !

नेपालका बुद्धिजीवी, पत्रकार र आफूलाई माक्र्सवादी भन्ने व्यक्तिहरूसमेत नेकपा (एमाले+माओवादी) लाई साँच्चै कम्युनिस्ट र समाजवाद एवम् साम्यवादप्रति समर्पित सम्झन्छन् । यस भ्रम वा दलको नाममा लागेको शब्द र विशेषणलाई सत्य सम्झेसम्म ती बुद्धिजीवीहरूको कुनै हिसाब, अनुमान एवम् निष्कर्ष सही हुने छैन । प्राचीन दन्त्यकथाहरूमा कुनै एक वस्तु, राक्षस वा चराकै रूपलाई सत्य मानिरहँदा ती तुरुन्तै हात्ती, घोडा वा सानो तोरीको गेडामा परिवर्तन भइरहेका हुन्छन् । त्यस्तै, नेपालका वर्तमान शासक दलहरूका झन्डा, घोषणापत्र र कार्यक्रमहरू हेरेर नै तिनीहरूको मूल्याङ्कन गरेमा सरल मानिस वा पर्यवेक्षक सही टुङ्गोमा पुग्ने छैनन् । किन ?
तरकारी र कृषि उत्पादनका व्यापारी, तरकारी पसले र अन्नका ठूल–ठूला व्यापारीलाई किसानको मेहनत, सिँचाइ, मल, बाली बिगार्ने कीरा आदिबारे सरोकार हुँदैन, बरु उनीहरू कृषि उत्पादन कम भएमा मूल्य बढ्छ र सोअनुसार आफ्नो नाफा बढ्छ भन्ने सोच्छन् । त्यस्तै शासक ‘कम्युनिस्ट’ हरूलाई न कोरोनाबाट जनताको पीडा र दुःखको मतलब छ, न त बाढी–पहिरोबाट हुने जनधनको क्षतिको चिन्ता छ, न त औषधी व्यवस्थापन विभागको काम–कार्यवाही र गतिविधि, सरकारी गोदामको चामल महिनौँ पहिले कुहिएर जनता भोकभोकै मरेको स्थिति थाहा छ ¤ यस्ता शासक दल, नेता र कार्यकर्ताहरू कहिले ‘कम्युनिस्ट’ थिए र होलान् ¤?
मानिस मार्दैमा कम्युनिस्ट हुने भए, जेलमा हत्या, हिंसा र डकैती (मनी एक्सन) गर्ने बन्दीहरू धेरै छन्, तिनीहरू कम्युनिस्ट होइनन् । न झापाली कम्युनिस्ट थिए न त एमाओवादी कम्युनिस्ट हुन् । तिनीहरू कम्युनिस्टको नाउँमा राजनैतिक दलहरू – नेपाली काङ्ग्रेस, राप्रपा, मधेसवादी जस्तै हुन् ।
बिराम कहाँबाट भयो ?
युवा अवस्थामा कामदारवर्गको निःस्वार्थरूपले सेवा गर्ने भावनाबाट शिक्षित हुनुभन्दा कम्युनिस्टको नाममा चर्काचर्का कुरा गरी छिट्टै क्रान्ति गर्ने र सत्तामा जाने, जातिवादी एवम् व्यक्तिहत्याको उपायबाट समाजमा आमूल परिवर्तन ल्याएर जनताको सेवा गर्ने रुसी ‘नरोदवादी’ दृष्टिकोण नछोड्नेहरू नै आजको नेपालका शासक दलहरू हुन् । केही मानिसले गर्दा समाज बिग्रेको हो र केही वीरहरूबाट समाजमा तलैदेखि परिवर्तन ल्याउन सकिन्छ भन्ने अन्धविश्वासकै कारण तिनीहरू आज खोटपूर्ण बाटामा छन् । नेपाली समाजमा आज एक–दुई जना होइन लाखौँ भ्रष्टाचारीहरू छन्, लाखौँ शोषक, सरकारलाई ठग्ने तस्कर, ठेकेदार, घरजग्गाका दलाल, विदेशी पुँजीको सेवा गर्ने व्यापारी, विदेशी गैरसरकारी संस्थाका कार्यकर्ताहरू, विदेशी राजनीतिको सेवा गर्ने सेवकहरू छन् । फरक–फरक स्तरमा ती जनविरोधीहरूलाई भिन्नभिन्न नीति, नियम र उपायहरूबाट नियन्त्रणमा लिने तथा परिवर्तन गर्ने शासक दलहरूका नेता र कार्यकर्ताको काम हो । सत्तामा जाने, मन्त्री हुने, काठमाडौँमा घर बनाउने र आरामको जीवन बिताउने सूत्र कम्युनिस्टविरोधी हो ।
कोरोनाको महामारीसँग लड्न लाखौँ कार्यकर्ता दक्षिणी सीमादेखि उत्तरी सीमासम्म सञ्चालन गर्नुपर्ने बेला ‘प्याकेजमै सहमति’ (अन्नपूर्ण–४ भदौ २०७७), ‘ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवैबाट राजीनामा दिनुपर्ने’ (राजधानी–६ भदौ २०७७), ‘नियुक्ति बदर गर्नुपर्ने प्रचण्डको सर्त’ (समाचारपत्र– ५ भदौ २०७७), ‘नेकपामा मेलमिलापको खाका, कार्यदलको सुझाव… (अन्नपूर्ण–७ भदौ २०७७) जस्ता समाचारले वर्ग विचार र सिद्धान्त नमिल्ने पक्षसँग सङ्घर्ष गर्दाको खिचातानी सच्चा कम्युनिस्टको निम्ति लज्जास्पद हो भन्ने देखाउँछ । निजी स्वार्थको निम्ति बाँच्ने पुँजीवादीहरूमा त्यस्तो खिचातानी स्वाभाविक हुन्छ । नेपाली काङ्ग्रेस र अन्य पुँजीवादी दलहरूबीचको लुछाचुँडी पनि त्यही हो ।
यसकारण, सच्चा ‘कम्युनिस्ट’ हुँदा हुन् त सबै जिम्मेवार पार्टी नेता र कार्यकर्ताहरू आ–आफ्नो क्षेत्रमा जुटेका हुन्थे । तर, एउटा गम्भीर सत्य के हो भने कम्युनिस्ट नाउँका दलहरू र अन्य दलमा पनि पुँजीवादी सरकारको गुप्तचर विभाग र विदेशीहरूले आ–आफ्ना सहयोगीहरूमार्फत काम गराउँछन् । देखिने राजदूत र कूटनैतिक व्यक्तिहरूभन्दा नदेखिने सहयोगीहरू बढी हुन्छन् । हाम्रो देशमात्र त्यसको अपवाद हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *